सन्तानको चाहना गरेका हरेक दम्पतीले गर्भावस्थामा शरीरमा देखा पर्ने परिवर्तनका बारेमा थाहा पाउनै पर्छ । हर्मोनमा हुने बदलावले गर्भावस्थामा विभिन्न खाले परिवर्तन देखा पर्छन् ।
यस्तै, परिवर्तनका कारण शरीरमा विभिन्न खाले सामान्य समस्या देखा पर्छन् । बिहान वाकवाकी लाग्ने, कब्जियत हुने, निन्द्रा नलाग्ने हुन सक्छ । पिसाब पोल्ने, सेतो पानी बग्ने र खुट्टा बाउँडिने/फर्किने हुन सक्छ ।
गर्भावस्थाको पहिलो बाह्र हप्तामा वाकवाकी अथवा बान्ता अक्सर बिहानको समयमा हुने गर्छ । वाकवाकी धेरै भइरहेमा भने तुरुन्त अस्पताल जानुपर्छ । कतिपयले भने खानाको बास्ना नै पटक्कै मन नपर्ने हुन सक्छ । यसका बारम्बार खाने तथा थोरै खाने गर्नुपर्छ । अनि बास्ना मन नपरेका खानाबाट टाढै बस्नुपर्छ । मसलादार, चिल्लो/पिरो र तातो खानेकुरा खानु हुँदैन ।
गर्भावस्थामा कतिपयलाई कब्जियतको समस्या देखिन सक्छ । कतिपयलाई भने कडा दिसा आउने, दिसा गर्न गाह्रो हुने र अनियमित रूपमा दिसा आउने पनि हुन सक्छ । यस्तो समस्या गर्भावस्थाको बाह्र सातासम्म देखिन सक्छ ।
पानी र झोलिलो पदार्थ प्रशस्त पिउने, रेसादार खानेकुरा खाने र पाचन प्रक्रिया सहज बनाउने केराजस्ता फलफूल खानु उपयुक्त हुन्छ । सधैँ एउटै समयमा शौच गर्ने बानी पार्ने र दैनिक व्यायाम गर्नु स्वास्थ्यलाई लाभदायी हुन्छ ।
कतिपयलाई भने निन्द्रामा गडबडी देखिन सक्छ । यसलाई कम गर्न दैनिक व्यायाम गर्ने, होहल्ला र राति अबेरसम्म बत्तीको उज्यालोमा बस्न कम गर्नुपर्छ । नियमित सुत्ने तालिका बनाउने, पर्याप्त आराम गर्ने र शरीरमा हल्का मालिस गर्नु उपयुक्त हुन्छ ।
गर्भावस्थामा पिसाब गर्दा पिसाब गर्ने ठाउँ वरिपरि पोल्ने वा दुख्ने हुन सक्छ । यो समस्या देखिएमा प्रशस्त मात्रामा पानी खानुपर्छ । योनीको भाग सफा राख्नुपर्छ । सेतो पानी बग्ने समस्या भएमा हल्का गन्ध आउन सक्छ । यसले गर्दा पनि चिलाउने हुन्छ । यस्तो अवस्थामा नियमित रूपमा प्याड फेर्ने, सरसफाइमा ध्यान दिने, कपास र कटनको भित्री कपडा लगाउने गर्नुपर्छ । रगत मिसिएको, गनाउने र चिलाउने पानी बगेमा उपचारका लागि तुरुन्तै अस्पताल जानुपर्छ ।
कतिपयमा गर्भावस्थामा खुट्टा बाउँडिने/फर्किने समस्या देखिन सक्छ । यस्तो बेला खुट्टा मालिस गर्ने, सामान्य व्यायाम र हिँडडुल गर्ने, सुत्नु अगाडि तातो पानीले नुहाउने गर्न सकिन्छ । सन्तुलित पौष्टिक आहार सेवन, प्रशस्त पानी खाने गर्नुपर्छ । धेरै दुखेमा मनतातो कपडाले सेक्न सकिन्छ । यो साधारण समस्या भएकाले डराउनु वा आत्तिनु पर्दैन । यसले गर्दा अन्य समस्या निम्तिँदैन ।
गर्भावस्थामा टाउको साह्रै दुख्ने, धेरै ज्वरो आउने, हात तथा मुख सुन्निने, तल्लो पेट धेरै दुख्ने, योनीबाट रगत बग्ने, आँखा तिरमिराएर धमिलो हुने, मुर्छा पर्ने जस्ता समस्या पनि देखिन सक्छ । यस्तो समस्या देखियो भनेचाहिँ तत्काल उपचारका निम्ति अस्पताल जानुपर्छ ।
गर्भावस्थामा चिया, कफी, चकलेट नखाँदा राम्रो । धूम्रपान र मद्यपानबाट भने टाढै बस्नुपर्छ । पर्याप्त आराम र तनावरहित जीवनशैली आवश्यक हुन्छ । सुरक्षित प्रसूतिका लागि गर्भावस्थादेखि नै तयारी गर्नुपर्छ । स–साना समस्यामा ख्याल पुर्याउन सकिएन भने स्वास्थ्य जटिलता देखा पर्न सक्छ ।
–वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.मिरा हाडासँग कुराकानीमा आधारित ।
