मिर्गौला रोगबारे किन थाहा पाइराख्नुपर्छ ?

असार १६, २०८२

प्रशान्त माली

Why should we know about kidney disease?

काठमाडौँ — मिर्गौला रोग किन र कसरी लाग्छ अनि यसका लक्षणहरू के-के हुन भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ । मिर्गौला सम्बन्धी समस्याबारे समयमै थाह पाउन सकियो भने जटिल अवस्थाबाट बच्न सकिन्छ ।

मिर्गौलाले शरीरको विषाक्त पदार्थलाई छानेर पिसाबको रूपमा बाहिर निकाल्न सघाउँछ । उच्च रक्तचाप, मधुमेह, संक्रमण, वंशाणुगत, पत्थरी, जथाभावी औषधी सेवनलगायत कारणले मिर्गौला सम्बन्धी रोग लाग्न सक्छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका अनुसार नेपालमा बर्सेनि करिब तीन हजार जना मिर्गौला फेल हुने समस्याबाट पीडित हुने गरेका छन् । 

 शरीर सुन्निने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने, खाना रुचि कम हुने, वाकवाक लाग्ने, शरीरमा रगत कम भएर सेतो हुँदै जाने, शरीरको छाला गाढा कालो भएर जाने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने जस्ता समस्याहरू देखियो भने मिर्गौला सम्बन्धी कुनै न कुनै समस्या हुन पनि सक्छ । त्यसैले आफ्नो मिर्गौला स्वस्थ छ कि छैन भनेर बेला बेलामा मिर्गौला परीक्षण गरिराख्नुपर्छ । 

कम उमेरमै उच्च रक्तचाप हुनुको एउटा कारण मिर्गौला सम्बन्धी रोग पनि हुन सक्छ । मिर्गौलामा ९० प्रतिशतसम्म खराबी हुँदासमेत यसबारे सम्बन्धित व्यक्तिलाई जानकारी हुँदैन । बिरामीलाई कुनै दुखाइ हुँदैन । अन्य प्रकारको लक्षणसमेत देखिँदैन । 

मिर्गौला रोगबाट बच्न के गर्ने ?

रक्तचाप र मधुमेहको नियमित परीक्षण गरी नियन्त्रणमा राख्नुपर्छ । स्वास्थ्य व्यक्तिहरूले पनि कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराई रगत र पिसाबको जाँच गराउनुपर्छ ।

प्रशस्त मात्रामा पानी पिउने र जथाभावी औषधी सेवन गर्नु हुँदैन । कम पानी पिउने बानीले मिर्गौला खराब असर पार्न सक्छ । तर एकैपटक धेरै पानी पिउने र घण्टौँसम्म पानी नपिनाले पनि मिर्गौलालाई असर गर्छ । त्यसैले समय मिलाएर थोरै थोरै गरी पटक–पटक पिउनुपर्छ ।

संयमित आहारको सेवन गर्ने, नियमित शारीरिक व्यायाम तथा शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ । सही स्रोतबाट सूचना लिने बानी बसाल्नुपर्छ । धेरै मात्रामा रातो मासुको सेवन गर्नु पनि मिर्गौला लागि हानिकारक मानिन्छ । मदिरा सेवन त अझ बढी जोखिमपूर्ण हो । 

हरियो सागसब्जी, रेसायुक्त खानाको मात्रा बढाउनु उपयुक्त हुन्छ । दुखाइ कम गर्ने औषधिको बढी प्रयोग मिर्गौला बिगार्ने अर्को कारण हो ।

मिर्गौलाजन्य  रोग लागेमा के गर्ने ?

दुवै मिर्गौलामा खराबी भइसकेपछि त्यसको उपचार भनेको प्रत्यारोपण हो । प्रत्यारोपण सम्भव नभए डायलिसिस गराउने हो । तर, डायलिसिसले बिरामीलाई नयाँ जीवन दिन सक्दैन ।

अंग प्रत्यारोपणका लागि सरकारले ब्रेन डेथ अर्थात् मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न मिल्ने कानुन त बनाएको छ तर कानुन बनेको ८ वर्षमा ५ जनाबाट मात्रै अंग प्राप्त भएको छ । विडम्बना दैनिक मस्तिष्क मृत्यु हुने व्यक्तिहरू भएतापनि अंग दान हुन सकेको छैन ।अंगदान नहुनुका विभिन्न कारणमध्ये मस्तिष्क मृत्यु बारे जनचेतनाको कमी मुख्य हो । यसलाई मध्यनजर गरेर हालै स्यस्यः समाज ललितपुर र ललितपुर महानगरपालिका वडा नम्बर १६ ले मस्तिष्क मृत्यु र मृत्युपश्चात् अंग दानको बारेमा सचेतना अभियान सुरु गरेको छ । कार्यक्रममा २१ जनाले अंगदान गर्ने घोषणा गरेका छन् । 

अहिले मुलुकभर दुवै मिर्गौला फेल भएर अंग प्रत्यारोपण गराउन पालो कुरिरहेका २१ हजार भन्दा बढी छन् । मस्तिष्क मृत्यु भएका व्यक्तिको फोक्सो, मिर्गौला, कलेजो, प्यांक्रियाज, मुटु र सानो आन्द्रा गरी कम्तीमा ८ वटा अंग प्रत्यारोपण गर्न मिल्छ । 

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित । 

प्रशान्त

Link copied successfully