स्वास्थ्य पत्रकार ढुंगेल पुरस्कृत 

असार ९, २०८२

कान्तिपुर संवाददाता

Health journalist Dhungel awarded

काठमाडौँ — गोरखापत्र दैनिकका स्वास्थ्य समाचारदाता सरोज ढुंगेल 'सुदर्शन देवकोटा स्मृति पाँचौं राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार-२०८२' बाट सम्मानित भएका छन् ।

पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आइतबार ढुंगेललाई सम्मान गरे । स्वर्गीय सुदर्शन देवकोटाको १८औं पुण्यतिथिको अवसर पारेर पुरस्कार हस्तान्तरण गरिएको हो । फाउन्डेसनले स्वास्थ्य पत्रकार मञ्चको सहकार्यमा उक्त पुरस्कार प्रदान गर्ने गरेको छ । 

कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री तथा एमाले नेता पदम गिरीले स्वास्थ्य पत्रकारिताको ठूलो भेग रहेको भन्दै आफ्नो विषयमा पोख्त भएर कलम चलाउनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा बेथितिविरुद्ध कलम चलाउन आग्रह गर्दै पत्रकारहरुले मात्र समाजलाई सही दिशामा अघि बढ्न प्ररित गर्ने भनाइ राखे ।

कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष डा. सुधा देवकोटाले आफ्ना बुबाले जिन्दगीभर पत्रकारितामा व्यतीत गरेको स्मरण गर्दै समाजमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताइन् । पत्रकारहरूले सत्यतथ्य छुट्याएर जिम्मेवार भएर तथा विस्तृत अध्ययन गरेर समाचार लेख्न आवश्यक रहेको उनको भनाइ थियो ।

पुरस्कृत ढुंगेलले स्वास्थ्य पत्रकारितामार्फत समाजलाई स्वस्थ बनाउने अभियानमा लाग्न पुरस्कारले थप हौसला प्रदान गरेको बताए ।

स्वास्थ्य पत्रकार मञ्चका कार्यवाहक अध्यक्ष बुद्धि कटेलले फाउन्डेसनले स्वास्थ्य पत्रकारिता विधालाई समेटेर स्वास्थ्य पत्रकार मञ्चसँग सहकार्य गरी पुरस्कार स्थापना गरेकामा आभार व्यक्त गरे ।

पाँच वर्षदेखि प्रदान गरिँदै आएको पुरस्कारको राशी ३३ हजार ३३३ रुपैयाँ रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully