काठमाडौँ — स्वास्थ्य बिमा कार्यक्रम पुनर्संरचना गरिने भएको छ । राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम लगभग असफल भइसकेको परिप्रेक्ष्यमा यसलाई सुधार गरेर अगाडि बढाउन स्वास्थ्य बिमाको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिने बजेट भाषणमा बताइएको छ ।
राष्ट्रिय स्वास्थ्य बिमाअन्तर्गत बिमा गरेका बिमितहरूको सुविधा थैलीलाई पनि बढाउँदै लगिने वाचा बजेटले गरेको छ । यस्तै स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता र दिगो आर्थिक व्यवस्थापनका लागि विभिन्न सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई पनि स्वास्थ्य बिमामा एकीकृत गरिने बजेट भाषणमा उल्लेख छ ।
साथै, बिमितहरूलाई फरक-फरक पोलिसी छनोटको सुविधा प्रदान गरिनुका साथै बिमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरोपन हटाइने पनि बताइएको छ । बिमामा भइरहेको चुहावट नियन्त्रण र संस्थागत सुधार र अनुशासन कायम गरिने पनि दाबी बजेट भाषणले गरेको छ ।
ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति दलित अति विपन्न तथा अल्पसंख्यक समुदायको बिमा सुविधालाई निरन्तरता दिइने छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरिएको छ । यस्तै, हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गरिने बताइएको छ ।
स्वास्थ्य बिमा बोर्डले आर्थिक अभावका कारण स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेका देशभरका सयौं अस्पताललाई अर्बौं रुपैयाँ दिन बाँकी छ । जसका कारण केही ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमका केही सेवामा कटौतीसमेत गरेका छन् ।
