स्वास्थ्य बिमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी गरिने

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

The balance of health insurance will be paid within one year

काठमाडौँ — स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अघिल्लो आव २०८१/८२ मा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

संघीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरिने छ। कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै स्वास्थ्य बिमाको दायरा विस्तार गरिने बताइएको छ। अघिल्लो आवमा स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

अर्थमन्त्री पौडेलले बीमितको सुविधा थैली क्रमशः वृद्धि गरिने, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गरिने, बीमितलाई फरक–फरक योजनाको सुविधा उपलब्ध गराइने र बिमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरोपन हटाइने बताएका छन्।

त्यस्तै, हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गरी एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने जानकारीसमेत अर्थमन्त्री पौडेलले दिए ।

कान्तिपुर

Link copied successfully