धुलिखेल अस्पतालमा १०० शैय्याको ट्रमा सेन्टर बन्ने

जेष्ठ १४, २०८२

ज्योती श्रेष्ठ

A 100-bed trauma center will be built at Dhulikhel Hospital

काभ्रे — धुलिखेल अस्पतालमा आधुनिक सुविधासहितको १०० शैय्याको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण हुने भएको छ। नेपाल सरकार र जापान सरकारको सहकार्यमा बन्न लागेको यस केन्द्रको शिलान्यास बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।

ट्रमा सेन्टरको निर्माणका लागि जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी र अर्थ मन्त्रालयबीच ३.८७९ बिलियन जापनीज ऐन लगानीको सम्झौता भइसकेको पत्रकार सम्मेलनमार्फत अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकाजुले  जानकारी दिए।

उनका अनुसार, यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस परियोजनाको कार्यकारी निकाय र धुलिखेल अस्पताल कार्यान्वयन निकायको रुपमा रहनेछ । सन् २०२७ सम्म पूरा हुने लक्ष्यसहित निर्माण हुने यो केन्द्रले काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा तराईका सडक सञ्जालमा पर्ने क्षेत्रका घाइते र आकस्मिक विरामीलाई अत्याधुनिक सेवा दिने लक्ष्य राखिएको उनले बताए ।

केन्द्र निर्माणले एमआरआई, सिटी स्क्यान, भेन्टिलेटर, एक्सरेजस्ता उपकरणको प्रयोगबाट बिरामीलाई समयमै उपचार दिन सक्षम हुने आशा लिइएको छ । तीन दशकदेखि गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको यस अस्पतालमा सुरु हुन लागेको नयाँ पहलले पूर्वी पहाडी क्षेत्रको स्वास्थ्य सुरक्षामा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएका उनको भनाई थियो ।  

धुलिखेल अस्पतालले सन् २०१४ देखि नै ट्रमा सेन्टरको अवधारणा अघि सारेको थियो । सवारी दुर्घटनाबाट हुने मृत्यु र गम्भीर चोटको दर बढिरहेका सन्दर्भमा अस्पतालमा ट्रमा सेन्टरको निर्माण अपरिहार्य रहेको अर्थोपेडिक सर्जन प्रा.डा. दिपक श्रेष्ठले बताए । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully