कुष्ठरोग निवारण कार्यक्रमलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Leprosy prevention program should be made more dynamic and effective: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको संख्यामा कुष्ठरोगी रहनुलाई सफलताको सूचकका रूपमा लिन सकिने भए पनि रोग पूर्ण उन्मूलन नभएसम्म आफूहरू सन्तुष्ट नहुने बताए  ।

उनले पहिला–पहिला पाचन प्रणाली राम्रो होस् भनेर आशीर्वाद दिइने गरेको प्रसङ्ग उल्लेख गर्दै आहारविहार र हेरचाहलाई विशेष ध्यान दिइ जीवनपद्धतिलाई सही ढङ्गबाट अघि बढाउने हो भने स्वस्थ रहन सकिने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पञ्चायतकालमा गोलघरमा चिसो भूइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गौला ‘फेल’ भएको सन्दर्भ उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन्। उनले कुष्ठरोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारका रोग लुकाउन हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठरोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully