चितवन — भरतपुरको सरकारी अस्पतालमा मुटु र मस्तिष्कघातको विशिष्ट उपचारका लागि क्याथल्याब सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार क्याथल्याब र अस्पतालले सञ्चालनमा ल्याएको आईसीयूसहितको जलन उपचार कक्ष, नि:सन्तान दम्पतीका लागि फर्टिलिटी सेन्टरलगायतका अस्पतालका विभिन्न आठ वटा नयाँ सेवाको उद्घाटन गरेका छन् ।
अस्पतालमा आईसीयूसहितको मुटुरोग युनिट लामो समयदेखि भए पनि क्याथल्याब नहुँदा हृदयघात र मष्तिस्किघात भएर आउनेलाई सेवा दिन नपाएको अवस्था अन्त्य भएको भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट (मेसु) डा.कृष्णप्रसाद पौडेलले बताए ।
क्याथल्याबका लागि चार जना मुटुरोग विज्ञ चिकित्सक, पाँच नर्स र पाँच जना प्राविधिक खट्ने डा.पौडेलले जानकारी दिए । भरतपुरका अन्य निजी अस्पताल र शिक्षण अस्पतालमा यो सुविधा पहिल्यैदेखि थियो । ‘अब यही सरकारी अस्पतालमा नै यो सुविधा थपिएपछि उपचार कम खर्चमा हुने छ । यहाँ २० हजारदेखि ३० हजार रुपैयाँमा हामी यो उपचार गर्छौं । बाहिर धेरै महंगो पर्छ,’ मेसु पौडेलले भने । क्याथल्याबका लागि १३ करोड ७० लाख रुपैयाँ खर्च भएको मेसु पौडेलले बताए । जसमध्ये सात करोड रुपैयाँ सरकारले दिएको थियो ।
गत वर्ष संघीय सरकारबाट प्राप्त रकमबाहेक अस्पताल विकास समितिले पाँच करोड रुपैयाँ खर्च गरेर मेसिनहरु खरिद गरेको र भवनका लागि एक करोड २० लाख रुपैयाँ खर्च गरेको पनि उनले बताए । क्याथल्याबबाट दिनमा १० जनासम्मलाई सेवा दिन सकिने मेसु पौडेलले बताए । भरतपुर अस्पतालले जलन उपचारका लागि दुई आईसीयुसहित सात शैय्याको ‘बर्न युनिट’ सुरु गरेको छ । जलेर शरीरको २४ प्रतिशतभन्दा बढी भागमा असर परेको छ भने त्यो खतरापूर्ण हुन सक्छ । ‘जलेका त्यस्ता व्यक्तिलाई राख्न आईसीयू चाहियो । त्यसैले सुविधा सम्पन्न बर्न युनिट सुरु गरेका छौं,’ मेसु डा.पौडेलले भने ।
त्यसैगरी नि:सन्तान दम्पतीलाई सेवा दिन फर्टिलिटी युनिट पनि सोमबारदेखि नै सञ्चालनमा आएको छ । निसन्तानको कारण पत्ता लगाएर उपचार पश्चात सन्तान प्राप्ति गर्न सक्ने बनाउन सो सेन्टर खुलेको हो । ‘यी मुख्य युनिटसहित सोमबार अन्य सेवा पनि शुभारम्भ भएको छ । सबै नयाँ सेवाका लागि १६ करोड रुपैयाँभन्दा धेरै लगानी गरेका छौं,’ मेसु डा.पौडेलले भने । मन्त्री पौडेलले भरतपुर अस्पताललाई सबैखाले उपचार सेवा उपलब्ध हुने बनाउने योजना रहेको बताए । उनले मृगौला प्रत्यारोपण सेवा पनि छिट्टै सुरु गर्ने गरेर काम गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।
गत चैतमा ६९ औं वार्षिकोत्सव मनाएको भरतपुर अस्पताल हाल ६ सय शय्यामा सञ्चालित छ । आउँदो कात्तिक महिनाभित्रै एक सय शय्या थपेर अस्पताल सात सय शय्यामा सञ्चालन हुने मेसु डा.पौडेलले बताए । तर सरकारी दरबन्दी निकै कम हुँदा अस्पताल विकास समितिअन्तर्गत धेरै चिकित्सक, कर्मचारी कार्यरत छन् । मेसु डा.पौडेलले अस्पताललाई शय्याअनुरूपको दरबन्दी र बजेट उपलब्ध गराउन मन्त्री पौडेलसमक्ष माग गरे ।
