अछाम — वीरगन्जको विर्ताका ३९ वर्षीय डाक्टर कमलेश यादवले जिल्ला अस्पतालको प्रमुखको जिम्मेवारी सम्हालेको ६ महिना भयो । ५० वर्ष पूरानो जीर्ण भवनबाट त्यसअघि प्रसुति सेवाको शल्यक्रिया मात्रै हुने गरेको जिल्ला अस्पतालमा अहिले एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिलका शल्यक्रिया जस्ता मेजर शल्यक्रिया समेत भइरहेका छन्।
एमडीजीपी विशेषज्ञ डाक्टर यादव जिल्ला अस्पतालको प्रमुख भएसँगै जटिल शल्यक्रिया पनि हुन थालेका हुन्।
यसअघि प्रसूति शल्यक्रिया मात्रै हुने गरेकोमा अहिले जिल्ला अस्पताल अछाम जटिल खालका शल्यक्रिया हुने रेफरल सेन्टरको रुपमा रहेको छ । जिल्लामै रहेको अर्को बयालपाटा अस्पतालमा पहिले शल्यक्रिया हुने गरेकोमा अहिले उक्त अस्पताल आर्थिक संकटबाट गुज्रिरहेको छ।
जसकारण पनि जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ। पहिले उतैबाट उपचार गराउने गरेका बिरामी पनि अहिले जिल्ला अस्पताल आउन थालेका डाक्टर यादवले बताए । उनका अनुसार अहिले यहाँ बाजुरा र दैलेखबाट समेत बिरामी आइपुग्छन्।
‘जिल्ला अस्पतालमा म पहिलो पटक आउँदा निकै अस्तव्यस्त थियो । पूरानै भवन भएपनि त्यसलाई व्यवस्थापन गरेका छौं । शल्यक्रिया गर्नका लागि पनि स्पेस बनाएर सुरु गरिएको छ,’ उनले भने ,‘सबैभन्दा धेरै समस्या स्टोरमा थियो । पानी पर्दा चुहिने भएकाले औषधि जोगाएर राख्न पनि सकिएको थिएन । ससाना कुरालाई व्यवस्थापन गरेर काम चलाउन सकेका छौं । अस्पतालभित्रको ९० प्रतिशत भौतिक व्यवस्थापन भएको छ ।’
२०८० साउनमा लोकसेवा मार्फत आठौं तहमा प्रवेश गरेका डाक्टर यादवको पहिलो कार्यक्षेत्र नै सुदूरपश्चिबाट सुरु भएको थियो । लोकसेवा उत्तीर्ण भए लगत्तै डडेलधुरा अस्पतालमा प्रवेश गरेर १४ महिना काम गरेका यादव त्यसपछि जिल्ला अस्पताल अछाम आएका हुन् ।
१० वर्ष अगाडि नेपाली सेनाको डाक्टरमा नाम निकालेर उनले १५ दिनमै जागिर छोडेका थिए । लामो समयसम्म निजी स्वास्थ्य संस्थामा काम गरेका उनले डेढ वर्षदेखि सरकारी जागिरमार्फत दुर्गम क्षेत्र रोजेर सेवा दिइरहेका छन् ।
‘सरकारी सेवामा आइसकेपछि आत्मसन्तुष्टिका लागि दुर्गम क्षेत्रमा आउन चाहेको हुँ,’ उनले भने ,‘केही समय जागिर मात्रै गरेर फर्किनलाई पनि गाह्रो भने थिएन । ठूलठूला शल्यक्रिया होस् भन्ने चाहना पनि कसैको थिएन । मैले आफूले पढेको पनि काम लागोस् र दुर्गमका बिरामीले सेवा पनि पाउँछन् भनेर जोडबल गरेको हुँ।’
६ महिनायता जिल्ला अस्पताल अछामबाट जटिल प्रकारका शल्यक्रिया आफ्नो नेतृत्वमा गरिरहेको उनले बताए। उनका अनुसार यो अवधिमा सिजेरियन सेक्सन ५० वटा, भ्यासेक्ट्रोमी ३, एपेन्डेक्टोमी १६, हर्नियोप्लास्टी ६, हेमोरोइडोक्टोमी (पायल्स)६ , हाइड्रोसिल २, सर्कमसिजन २ र ल्याप्रोटोमी २ गरी ८७ वटा ठूला शल्यक्रिया सम्पन्न भएका छन्। अस्पतालमा ठूला शल्यक्रियाको लागि १० हजार शुल्क तोकिएको उनले बताए।
आर्थिक अवस्था कमजोर भएका, विपन्न, असाह्य, अशक्तहरूलाई कागजातको आधारमा अस्पतालभित्र रहेको सामाजिक सुरक्षा इकाइबाट अवस्था हेरेर छुट पनि दिने गरिएको छ। ‘पहिले यी सबै शल्यक्रिया गर्नका लागि नेपालगञ्ज, काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता थियो । कतिपयको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न सक्ने अवस्था नै थिएन । त्यस्ता बिरामीका लागि सामान्य शुल्कमा ठूलो उपचार पाउँदा राहत भएको छ,' उनले भने , 'आफूले जानेको, बुझेको कुरालाई प्रयोग गरेर यसरी दुर्गममा बिरामीको अनुहारमा खुशी देख्दा सन्तुष्टि मिल्छ ।’
अस्पतालको सुविधा सम्पन्न भवन नभएका कारण दिन सक्ने अन्य सेवाहरू ओझेलमा परेको उनले बताए । उनका अनुसार जिल्ला अस्पतालमा अर्थोपेडिक सर्जन पनि छन् । तर सामाग्री र भवनको अभावले हड्डीको शल्यक्रिया र उपचार विस्तार हुन सकेको छैन । ‘हड्डीको उपचार र शल्यक्रियाको लागि पनि व्यवस्थापन गरिरहेका छौं । सम्भव भएसम्म छिट्टै सुचारु गर्छौं,’ उनले भने ।
