नागरिक आरोग्य सेवा सबै पालिकामा विस्तार गरिन्छ : स्वास्थ्यमन्त्री पौडेल

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

Citizen health services will be extended to all municipalities: Health Minister Paudel

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र, बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई सबै पालिकामा पु-याउने योजनाअनुसार सरकार अघि बढिरहेको जानकारी दिए ।

उनले आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने सरकारको प्रयास रहेको उल्लेख गर्दै नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्‍याउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरिने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले आयुर्वेद नेपालको मौलिक चिकित्सा प्रणाली हुनुका साथै जीवनपद्धति भएको र यो नेपालकै संस्कृति तथा सभ्यता भएको उल्लेख गरे । नेपाललाई आयुर्वेद क्षेत्रको हब बनाउनु पर्ने र आयुर्वेद नेपालबाटै उत्पत्ति भएको कुरा विश्वलाई बुझाउन सक्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘५ वर्षअघि क्यान्सर हुनेको संख्या कति थियो र आज कति छ? आज सर्भिकल क्यान्सरबाट मृत्यु हुने महिलाको संख्या दिनमा ४ जना पुगेको छ। १५ वर्षअघि यस्तो अवस्था थिएन। अटिजमको समस्या भएका व्यक्तिहरूको संख्या पनि ५ वर्षअघि भन्दा आज तीन गुणा बढी छ। यसरी नै बिरामीको संख्या बढ्दै जाने हो भने, हामीले उपचार सेवा उपलब्ध गराउन असाध्यै कठिन हुनेछ। राज्यले थेग्नै नसक्ने भार सिर्जना हुनेछ।’

त्यसैले, उनले रोगको उपचारभन्दा रोग हुन नदिने उपायहरू खोज्नुपर्छ भन्ने धारणा राख्दै त्यसअनुसारका कामहरू अघि बढाइरहेको बताए ।

‘हामीले निरोगी नेपाली बनाउने अभियान सुरु गरेका छौँ। स्क्रिनिङ कार्यक्रमलाई व्यापक बनाएका छौँ। आयुर्वेद स्वास्थ्य प्रणालीको ज्ञान सबै नेपालीमा हुन आवश्यक छ। किनभने यो हाम्रो मौलिक चिकित्सा प्रणाली मात्र नभई जीवनशैली, संस्कृति र सभ्यता पनि हो,’ मन्त्री पौडेलले भने।

नेपाललाई आयुर्वेदको हब बनाउनुपर्ने, र नेपालबाटै आयुर्वेद उत्पत्ति भएको सन्देशलाई विश्वभर फैलाउनु पर्नेमा उनले विशेष जोड दिए ।

मन्त्री पौडेलले सरकार बिरामी हुन नदिने उपायहरूको खोजीमा लागेको र यसका लागि दीर्घकालीन नीति निर्माण गर्दै अघि बढिरहेको बताए ।

कान्तिपुर

Link copied successfully