क्षयरोगको न्यूनीकरण गर्न प्रभावकारी रूपमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री पौडेल

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

We have to work effectively to reduce tuberculosis: Health Minister Paudel

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकताहरू परिवर्तन गरी प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका अहिलेसम्मका प्राथमिकताहरू परिवर्तन गरी नयाँ र प्रभावकारी ढंगबाट अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताए । साथै, यसको निदानका लागि मित्रराष्ट्रहरूसँग सहकार्य गर्ने साझा नीति अवलम्बन गर्न जरुरी रहेको उल्लेख गरे ।

उनले खर्च भइरहेको भए तापनि शतप्रतिशत उपलब्धि हासिल नभएको अवस्थालाई इंगित गर्दै, अब पूर्ण उपलब्धि हासिल गर्नेगरी नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले क्षयरोग केन्द्रमा सम्पूर्ण सेवा उपलब्ध हुने गरी अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले भने, 'क्षयरोगसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने अस्पताल सञ्चालनमा ल्याउनुपर्नेछ। आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरी यसलाई कार्यान्वयन गर्नेछौं।'

मन्त्री पौडेलले क्षयरोगका बिरामीहरू मन्त्रालय वा चिकित्सकहरूले खोजेर मात्र भेटिने होइन भन्दै, स्थानीय पालिकाहरूलाई नै सक्रिय भई क्षयरोगका बिरामीहरू पहिचान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

साथै, क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई अझ प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए । उनले भने, 'नेपालमा कुल ७५३ पालिका छन्, जसअनुसार १४९ पालिका केवल पाँच भागमध्ये एक भाग मात्र हो। बाँकी पालिकालाई कसरी अगाडि लैजाने भन्नेबारे स्पष्ट नीति आवश्यक छ।'

कान्तिपुर संवाददाता

Link copied successfully