गोरखामा क्षयरोगका बिरामी १३३ जना

चैत्र १०, २०८१

हरिराम उप्रेती

133 TB patients in Gorkha

गोरखा — चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा गोरखामा १३३ जना क्षयरोगका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार साउनदेखि फागुनसम्म परीक्षणको क्रममा ५५ महिला र ७८ पुरुषमा क्षयरोग देखिएको हो ।

सबैभन्दा बढी बारपाक सुलिकोटमा २६, भीमसेन थापा गाउँपालिकामा २५ जना तथा गोरखा नगरपालिकामा २१ जना क्षयरोगका बिरामी भेटिएका छन् । बारपाक सुलिकोटमा १३ महिला र १३ पुरुष, भिमसेन थापामा १२ महिला र १३ पुरुष तथा गोरखा नगर क्षेत्रका ८ पुरुष र १३ महिलामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काले बताए । १३३ मध्ये ६५ जनामा फोक्सोको क्षयरोग देखिएको छ ।

चालु आर्थिक वर्षदेखि स्वास्थ्य कार्यालयले एक्सरेद्वारा छातीरोगसम्बन्धी खोजपड्ताल कार्यक्रमबाट पनि क्षयरोगका बिरामीको खोजी थालेको छ । बारपाक सुलिकोट गाउँपालिका–१ र ४, भीमसेन थापाको ५ र ७, धार्चेको-१ र गोरखा नगरपालिकाको ५, ७ ८ मा भएको एक्सरेद्वारा छातीरोगसम्बन्धी खोजपड्ताल कार्यक्रमबाट २ हजार ३ सय २५ जनाको एक्सरे स्क्रिनिङ गरिएको थियो ।

स्क्रिनिङ गरिएकामध्ये ४४ जना क्षयरोगका बिरामी भेटिएका छन् । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ तय भएको छ ।

सोमबारको विश्व क्षयरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले सचेतनामूलक कार्यक्रममलाई जोड गरेको छ । क्षयरोग नङ र कपालबाहेक शरीरको जुनसुकै भागमा लाग्न सक्ने सूचना अधिकारी खड्काले बताए ।  प्रारभ्भिक चरणमा नै रोगको पहिचान गरी उपचार गराउन, नियमित र पूर्ण उपचार गरेमा क्षयरोग निको हुने र अरुलाई नसर्ने उनले बताए । क्षयरोगको औषधि सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क पाइन्छ ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा २३२ जना क्षयरोग देखिएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा २१४, २०७८/०७९ मा २१६ र २०७७/०७८ मा १८६ जनामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully