बर्दिया — सदरमुकाम गुलरियामा रहेको सीटी अस्पताल सात महिनादेखि अवैधरुपमा सञ्चालित छ। अस्पताल दर्ताविनै सञ्चालन भएको जानकारी पाएपछि पनि नियामक निकाय भने मौन छन्।
२५ शय्यासम्मको आधारभूत अस्पताल स्थानीय तहबाटै दर्ता, सञ्चालन र व्यवस्थापन गर्ने कानुनी व्यवस्था छ । तर सीटी अस्पतालले गुलरिया नगरपालिकाबाट त्यस्तो कुनै अनुमति पाएको छैन।
१५ शय्याको उक्त अस्पतालले ०८१ फागुन १९ गते दर्ताका लागि नगरपालिकामा निवेदन दिएको थियो। तर अस्पतालले आवश्यक प्रक्रिया नगरेकाले सञ्चालनका लागि अनुमति नदिइएको गुलरिया नगरपालिकाका जनस्वास्थ्य प्रमुख शिवकुमार चौधरीले बताए। अस्पताल भने ०८१ साउनदेखि नै सञ्चालित छ।
अस्पतालका सञ्चालक डाक्टर मुकेश झाले अस्पताल दर्ताका लागि नगरपालिकामा कागजात पेस गरेको, तर अहिलेसम्म दर्ता नभएको बताए। यता जनस्वास्थ्य कार्यालय बर्दियाले भने अस्पताल दर्ताविनै सञ्चालन भएका विषयमा अनुसन्धान थालिएको बताए।
जनस्वास्थ्य प्रशासक नारायण चौधरीले अवैधरुपमा सञ्चालनमा रहेको अस्पतालका सम्बन्धमा केही दिनअघि जानकारी आएको र त्यसबारे अनुसन्धान थालिएको बताए । उनले दर्ताविनै सञ्चालनमा रहेको अस्पतालका विषयमा अनुसन्धान गरी आवश्यक निर्णय लिइने बताए।
स्रोतका अनुसार उक्त अस्पतालमा काम गर्ने तीन जना करारका चिकित्सकसहित केही कर्मचारीले काम छाडेका छन्। डाक्टर स्मृति कार्कीले अस्पतालका सञ्चालक डाक्टर झाले पारिश्रमिक पूरा नदिएको गुनासो पोखिन् । उनले पनि अस्पतालबाट राजीनामा दिएकी छन्।
केही कर्मचारीले ३/४ महिनादेखि मासिक तलब समेत नपाएको गुनासो गरे। यस सम्बन्धमा सञ्चालक डाक्टर झाले बाहिरबाट पाउने रकम प्राप्त नभएकोले पारिश्रमिक दिन ढिलासुस्ती भएको बताए ।
