काठमाडौँ — स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मृगौला रोगबारे जनचेतना जगाउने कामलाई व्यवस्थित ढंगबाट अगाडि बढाउन आवश्यक परेमा नीति नियम बनाउन तयार रहेको बताएका छन् ।
विश्व मृगौला दिवसका पूर्वसन्ध्यामा आयोजित मृगौला प्रत्यारोपित समूह र चिकित्सक, कलाकार, राजनीतिकर्मीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा उनले मृगौलाको खराबी हुनुको कारण बारेमा बालबालिकालाई पाठ्यपुस्तक तथा ज्येष्ठ नागरिकलाई अभियानमार्फत जनचेतना जगाउन सकिने बताएका हुन् ।
सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको अगुवाइ भएको प्रतियोगिता २–२ गोलमा बराबरीमा टुंगिएको छ । केन्द्रले मृगौलापीडित पनि सामान्य मानिससरह जीवनयापन गर्न सकिन्छ भनेर सन्देश दिन प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार श्रेष्ठले मृगौला रोगको समयमै पहिचान गर्न सकेमा उपचार गर्न सकिने बताए । उनले यसका लागि बेला–बेलामा स्वास्थ्य जाँच गर्न सबैलाई आग्रह गरे ।
