स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Recommend three names for Health Secretary

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका लागि तीन जनाको नाम सिफारिस भएको छ । मन्त्रालयको सचिवका रुपमा कार्यरत डा. रोशन पोखरेल यही फागुन ११ गते आइतबारदेखि उमेर हदका कारण अनिवार्य अवकासमा गएपछि नयाँ सचिवको खोजी सुरु भएको हो ।

बढुवा समितिले वरीयताका आधारमा डा. संगीता कौशल मिश्रा, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको हो । सिफारिस भएका तीनै जनाले सचिव बन्न लबिङ गरिरहेका छन् ।

पहिलो नम्बरमा सिफारिस भएकी मिश्रा हाल मन्त्रालयमै अतिरिक्त सचिवको जिम्मेवारीमा छिन् । २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी उनी बीचमा ग्याप गरेर पुन: खुला प्रतिस्पर्धामार्फत् २०७० सालमा सरकारी सेवामा फर्किएकी हुन् । खुला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकालेकी मिश्राले कोसी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुखको जिम्मेवारी निभाएकी थिइन् ।

२०८० भदौ १३ देखि करिब एक वर्ष स्वास्थ्य सेवा विभागको महानिर्देशकको सफल भूमिका निर्वाह गरी मन्त्रालयमा आएकी उनले कुनै समय मन्त्रालयमै प्रवक्ताका रुपमा पनि काम गरेकी थिइन् । दोस्रो नम्बरमा सिफारिस भएका देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् ।

०५३ सालमा सेवा प्रवेश गरी २०७९ चैत १३ गते १२औं तह अर्थात् अतिरिक्त सचिवमा बढुवा भएका उनले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । २०८१ असोज ६ देखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा पुगेका हुन् । २०५६ सालमा सेवा प्रवेश गरेका बाराकोटी भने २०७९ चैत १३ मा नै १२औं तहमा बढुवा भएका थिए । त्यसअघि उनी प्रदेशिक अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्ट हुँदै मन्त्रालयमा आएका हुन् । 

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार १२औं तहका अतिरिक्त सचिव वा ११औं तहमा पाँच वर्ष काम गरेका कर्मचारीमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सचिव नियुक्त हुने व्यवस्था छ । १२औं तहमा बढुवाका आधारमा बाराकोटी र देवकोटाभन्दा मिश्रा दश महिना सिनियर हुन् ।

पहिलो पटक महिलालाई कामु मुख्यसचिव बनाएर प्रशंसा बटुलेको सरकारलाई यसपटक फेरि मधेशी महिलाको तर्फबाट मिश्रालाई सचिव बनाएर इतिहास रच्ने अवसर मिलेको छ । 

कान्तिपुर

Link copied successfully