काठमाडौँ — कोरोना भाइरसको नाम सुन्नेबित्तिकै अझै पनि आम मानिसमा त्रास कायमै छ । यस भाइरसका कारण लामो समयसम्म मानिस घरभित्रै बस्न बाध्य भए । कैयौंले आफन्तसमेत गुमाए भने केयौंको रोजीरोटी खोसियो ।
कोरोना भाइरसको त्यो प्रभावबाट अझै मानिस बाहिर उम्किन सकेका छैनन् । यसैबीच चिनियाँ वैज्ञानिकको एक समूहले चमेरामा एक नयाँ कोरोना भाइरस 'एचकेयू–५–सीओभी–२' का बारेमा पत्ता लगाएका छन् । जसले मानिसलाई संक्रमित गर्न सक्छ ।
वुहान इन्स्टिट्यूट अफ भाइरोलोजी (डब्ल्यूआईबी) का भाइरस सोधकर्ता शी ज्याङ्लीको नेतृत्वको टोलीले यसबारे अध्ययन गरेको थियो । भाइरस एचकेयू–५–सीओभी–२ कोरोना भाइरसको नयाँ रुप हो । जो पहिलोपटक हङकङमा जापानी 'पिपिस्ट्रेल' चमेरामा पहिचान गरिएको थियो ।
हङकङस्थित ‘साउथ चाइना मर्निङ पोस्ट’को खबरअनुसार यो नयाँ भाइरस ‘मेरबेकोभाइरस’ उपस्वरुपबाट उत्पन्न भएको हो । जसमा मध्यपूर्व श्वास सिन्ड्रोम (मर्स)को कारण बन्ने भाइरस पनि समावेश छ ।
सेल नामक पत्रिकामा प्रकाशित एक अध्ययनमा शी नेतृत्वको टोलीले लेखेको छ, ‘एचकेयू–५–सीओभी–२ को एक नयाँ प्रजाति हामीले पहिचान गरेका छौं । जो चमेरामा मात्र नभइ मानिस र समान मूलका एकै जेनेटिक गुण भएका विभिन्न स्तनधारी पशुमा पनि फैलिन सक्छ ।’
चमेराको नमुनाबाट अलग गर्दा यो भाइरसले मानव कोशिकाका साथै कृत्रिम रुपमा विकसित अन्य कोशिकाका स–साना समूहलाई पनि संक्रमित गर्नसक्ने अध्ययनमा पाइएको छ ।
न्यूजवीकमा प्रकाशित रिपोर्टअनुसार यो नयाँ भाइरस मानिसको 'एसीई–२ रिसेप्टर'सँग प्रभावकारी रुपमा जोडिनसक्ने क्षमता राख्छ । प्रयोगशालामा गरिएको परीक्षणमा यो भाइरसले मानिसको कोशिका र अन्य अंगमा संक्रमण फैलाउन सफल भएको थियो । जसकारण यो खतरनाक हुनसक्ने आशंका गरिएको छ ।
एचकेयू–५–सीओभी–२ को खोजपछि चमेरामा पाइने कोरोना भाइरसको निरीक्षण गर्नु निकै आवश्यक रहेको अध्ययनकर्ताको सुझाव छ । किनकी भविष्यमा यो मानिसका लागि ठूलो खतरा बन्ने जोखिम देखिन्छ ।
हाल यो भाइरसबाट तत्काल कुनै ठूलो खतरा उत्पन्न हुन्छ कि हुँदैन भन्ने स्पष्ट भने भइसकेको छैन । तर अध्ययनकर्ताले शतर्क रहनुपर्ने र भविष्यमा यस्ता महामारी रोक्नका लागि तयार रहन सुझाएका छन् । सन् २०१९ को अन्त्यतिरबाट फैलिएको कोभिड–१९ का कारण विश्वभर कैयौंले ज्यान गुमाएका थिए भने विश्व अर्थतन्त्र नै असन्तुलित बनेको थियो । साथै दुई वर्षसम्म लकडाउन हुँदा मानिसहरु बाहिर निस्कन पाएनन् र कैयौंको रोजगारीसमेत गुमेको थियो ।
एजेन्सीको सहयोगमा
