राति अबेरसम्म जाग्राम बस्नुहुन्छ ? हुन सक्छन् यस्ता समस्या !

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

Do you stay up late at night? There may be such problems!

काठमाडौँ — तपाईं रातको कति बजेसम्म फोन प्रयोग गर्नुहुन्छ ? यही हो अन्तिम, एउटा भन्दै कति वटा फिल्म वा सिरिजको एपिसोड हेर्नुहुन्छ ? ‘मी टाइम’ अर्थात् आफ्नो लागि समय दिएको भन्दै कतिबेरसम्म जागै बस्नुहुन्छ ? यसलाई ‘रिभेन्ज बेडटाइम प्रोक्रास्टिनेसन’ भनिन्छ र यो हाल धेरैको साझा समस्या हो ।

दिनभरिका जिम्मेवारीले आफूलाई दिन नपाएको समय दिन, रातिसम्म एक्लै ननिदाई बस्ने वा एक्लोपनामा रमाउने र सुत्ने समय ढाल्दै लानु रिभेन्ज बेडटाइम प्रोक्रास्टिनेसन हो । यसलाई आरबीपी पनि भनिन्छ । यस्तो अभ्यासले हामीलाई फाइदा गराउनेभन्दा पनि हानी गरिरहेको छ ।

मनोविद् खुश्बु अग्रवालका अनुसार सुत्नुको सट्टा अबेरसम्म जागा बसेर मनोरञ्जनात्मक कार्यमा लाग्नु हाम्रो व्यस्त दैनिक तालिकाविरुद्ध गरिएको ‘प्रतिशोध’ हो । त्यसैले यस्ता अभ्यासलाई ‘रिभेन्ज’ अर्थात् प्रतिशोध भनिएको उनले बताइन् । उनी भन्छिन्, ‘यो अभ्यासले अत्यधिक व्यस्त दिनचर्या भएका व्यक्तिहरूलाई केही समय फुर्सद निकालेर आफूलाई समय दिन सहयोग गर्छ । यद्यपि यसले निद्रासम्बन्धी गहिरो समस्या निम्ताउँछ ।’

मानिसहरू अबेरसम्म जागा बस्छन् तर कामका कारण बिहान चाँडै उठ्नुपर्छ । जसले निद्राको अभाव हुन्छ । निद्राको अभावले मानसिक, शारीरिक र भावनात्मक रूपमा क्षणिक र दीर्घकालीन दुवै खालका नकारात्मक असर पार्छ ।

आरबीपी र अन्य ‘इन्सोम्निया’ जस्ता निद्रा नलाग्ने समस्यामा धेरै फरक छ । त्यसतै कतिपय व्यक्तिलाई रातको समयमा काम गर्नु प्रभावकारी लाग्नसक्छ । ती व्यक्ति र निद्रा जानाजान ढकाल्ने व्यक्तिमा पनि फरक छ । अगरवालकाअनुसार प्रोक्रास्टिनेसन भनेको सुत्नुपर्ने समय भएको थाहा हुँदाहुँदै पनि जागा बस्नु हो । जसको कारणले बिहान थकान र निद्राले सताउने समस्या देखिन सक्छ । भने इन्सोम्निया भएकाहरूले निदाउन चाहेरै पनि निदाउन नसक्नु हो ।

‘जानाजान सुत्ने समय ढिला गर्नु पनि एक प्रकारको प्रतिशोध हो । आरबीपी हुनुको प्रमुख कारण मानिसहरूलाई दिनभरि आफ्ना व्यक्तिगत कामका लागि समय छैन भन्ने लाग्छ, उनीहरू फोन स्क्रोल गर्ने वा टिभी हेर्ने जस्ता व्यक्तिगत क्रियाकलापहरूका लागि अबेरसम्म जागा बस्छन्, जसले गर्दा निद्रा आवश्यक छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू सुत्दैनन्,’ उनी भन्छिन्, ‘यस्तो बानी व्यस्त दिनचर्या, कामको जिम्मेवारी, र दिनको समयमा कामहरू पूरा गर्न नसक्दा उत्पन्न हुन्छ ।’

व्यक्तिगत समयको कमी, तनावपूर्ण तालिका, आत्म नियन्त्रणको अभाव र डिजिटल विचलनहरू जस्तै: फोन र सामाजिक सञ्जाल पनि आरबीपीको कारण बन्न सक्छन् ।

यस्तो अभ्यास दिनचर्याको अन्य कामहरू धकेल्ने व्यक्तिहरूमा धेरै देखिने अगरवालले बताइन् । कोभिडपछि पनि यो अभ्यास धेरै देखिन थालेको उनको भनाइ छ ।

केही अध्ययनहरूका अनुसार पनि घरबाट काम गर्दा सामान्य काम गर्ने समय लम्बिएकाले, फुर्सदको समय घटाएको छ । यसले विशेष गरी महिलाहरूको फुर्सद घटाएको हो । विशेष गरी कोभिड–१९ महामारीपछि मानिसहरूमा तनाव र निद्रा टार्ने बानी बढेको छ जस कारण पनि आरबीपी बढेको हो । महामारी पछि मात्र करिब ४० प्रतिशत मानिसहरूलाई निद्राको समस्या देखिएको छ ।

मनोविद् अग्रवालले निद्रा टार्ने बानी हटाउन स्वस्थ निद्राको बानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएकी छन् । यसको लागि सुत्ने र उठ्ने समय नियमित बनाउने र निद्राका लागि अनुकूल वातावरण तयार पार्नु आवश्यक छ । राम्रो निद्रा बानी बनाउन समय र निरन्तर प्रयास चाहिन्छ । तर नियमित उही दिनचर्या अपनाउँदा सुत्नु स्वाभाविक जस्तो महसुस हुन्छ, जसले अबेरसम्म जागा बस्नुपर्ने इच्छा घटाउँछ । उनको अनुसार यसका लागि निम्न कुरा अपनाउन सकिन्छ :

– हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने, चाहे बिदाको दिन नै किन नहोस् । 

– साँझपख मदिरा र कफी जस्ता पदार्थहरूको सेवन नगर्ने । 

– सुत्नुअघि कम्तीमा ३० मिनेट मोबाइल र ट्याब्लेटजस्ता डिजिटल उपकरणहरूको प्रयोग नगर्ने । 

– सुत्नुअघि दिमाग र शरीरलाई आराम दिने नियमित दिनचर्या विकास गर्ने । 

त्यस्तै अग्रवालका अनुसार सुत्नुअघि पढ्ने, ध्यान गर्ने वा हल्का व्यायाम गर्ने जस्ता क्रियाकलापहरूले तनाव कम गर्न र निद्रा सजिलो बनाउन मद्दत गर्छ । साथै, आफू सुत्ने कोठा पनि अँध्यारो र शान्त हुनुपर्छ, ओछ्यान पनि आरामदायी हुनुपर्छ र सुत्दा लगाउने कपडाहरू पनि सहज हुन आवश्यक छ ।  

यदि लामो समयदेखि निद्रा सम्बन्धी समस्या हुने वा दिनभरि निद्राले सताउने समस्या भएमा स्वास्थ्यकर्मी, निद्रा विशेषज्ञ वा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुपर्ने अग्रवालको सुझाव छ । उनी भन्छिन्, ‘यदि लामो समयदेखि यस्तो समस्या देखिएको छ र यसले काम, पढाई, सामाजिक, पारिवारिक सम्बन्धमा असर गरिरहेको छ भने परामर्शलाई जानुपर्छ ।’

कान्तिपुर

Link copied successfully