काठमाडौँ — नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (एनसीसीए) स्थापना भएको छ । रमेश गुप्ता मेमोरियल ट्रस्ट, लियोनार्दो एडवर्ड श्रेष्ठ फाउन्डेसन, टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर र वर्ल्ड क्यान्सर यूकेको सहकार्यमा बाल क्यान्सरको उपचार, बिरामी र परिवारलाई आवश्यक सहयोग तथा लामो समयसम्मको पुनःस्थापना सेवालाई मजबुत बनाउने उद्देश्यले एलायन्स स्थापना गरिएको हो ।
काठमाडौंमा आइतबार आयोजित विशेष कार्यक्रममा डब्लूसीसी नेपालका संयोजक सम्राट रायमाझीले यो पहल केवल उपचारमा मात्र सीमित नरहेको जनाए ।
बाल क्यान्सरविरुद्ध लडिरहेका परिवारका लागि आर्थिक र समग्र रूपमा सहयोग गर्नु आवश्यक रहेको र त्यसमा एनसीसीए स्थापना गरिएको उनको भनाइ छ । ‘हामी कुनै पनि बालबालिकालाई क्यान्सरले असर नगर्दै सुरक्षित बनाउन काम गर्दै छौं,’ उनले भने ।
बाल क्यान्सरविरुद्ध लडिरहेका परिवारलाई समग्र रूपमा सहयोग गर्न पनि एनसीसीएले सघाउने उनले बताए । प्रारम्भिक पहिचान र सचेतना अभियान जगाउने, बिरामी परिवारका लागि आर्थिक र मानसिक सहयोग गर्ने, उपचारबाहेकका कठिनाइ कम गराउनेलगायत काम पनि यसले गर्ने रायमाझीको भनाइ छ ।
रोगको पहिचान गर्न आवश्यक रहेको र सर्ने रोगको अभियान चलाउन झनै अपरिहार्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले बताए । नेपालमा अत्याधुनिक उपकरण बोनम्यारो ट्रान्सप्लान्टको सेवा उपलब्ध नहुँदा बिरामीको ज्यान जाने अवस्था आउने गरेको डा. कृष्णसागर शर्माले बताए ।
अभिषेक अधिकारी/प्रशिक्षार्थी
