बागलुङ — दैनिक ५ सय जनासम्म बिरामी उपचारका लागि आइपुग्छन् । गत आर्थिक वर्ष यहाँ १ लाख १५ हजार बिरामीको उपचार भयो । ७ सय ५० जनाको त अपरेशन नै भयो । कोरोना संक्रमणका बेला स्थानीयस्तरमा स्रोतसाधन जुटाएर धौलागिरी अस्पतालमा १ सय १५ बेड संचालनमा ल्याइएको थियो।
तीमध्ये अहिले पनि १० जनासम्म आइसीयूमा राखेर उपचार गर्न सकिन्छ । ४ वटा एनआइसीयू समेत छ । प्रसूति, हाडजोर्नी, हाइड्रोसिललगायत विभिन्न अपरेसन सेवा पनि यहाँ नियमित छ ।
पछिल्लो तीन वर्षदेखि ‘हरि खड्का ट्रमा इकाइ’को रुपमा ट्रमाका बिरामीको उपचार समेत भइरहेको छ । मध्यपहाडी लोकमार्गले १ सय ४० किमी र कालीगण्डकी करिडोरले जिल्लामा ३६ किमी ओगटेकोले दुर्घटनाका बिरामी समेत यो अस्पतालमा धेरै आइपुग्छन् ।
१६ जना विशेषज्ञसहित २८ चिकित्सक र सबै बिभाग र प्रशासन समेत गरी डेढ सय कर्मचारी कार्यरत छन् । उनीहरु मध्ये केही अस्पताल व्यवस्थापन समिति, प्रदेश सरकार र छात्रबृत्ति करारबाट परिचालित हुन् । यतिधेरै सेवा प्रवाह गरिरहेको अस्पतालले अझै ५० शैय्याको मात्रै अनुमति पाएको छ ।
२०६७ सालमा समेत स्वास्थ्य मन्त्रालयले तत्कालीन जिल्लाबाट अञ्चल अस्पतालको मान्यता दिँदा पनि ‘ओएनएम’ गरेको थिएन । त्यतिबेला पनि अस्पतालले भएको जनशक्तिबाट संचालन गर्न अनुमति पाएको थियो । अहिले यहाँ १ सय १५ बेड संचालनमा छ । तर एक सय शैय्याको स्विकृति लिन दर्जनौंपटक व्यवस्थापन समिति मन्त्रालय धाइरहेको छ ।
थप बेड स्विकृतिका लागि अस्पताल व्यवस्थापन समिति र राजनीतिक नेतृत्व पटक पटक अर्थ र स्वास्थ्य मन्त्रालय धाइरहेको हो । ‘हामीले धेरै प्रयास गरिरहेका छौं, तर अर्थले दायित्व सिर्जना हुने भन्दै यो विषयमा अगाडि बढ्नै चाहेको छैन,’ अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले भने, ‘मन्त्रालयका सचिवले नै यो विषय मन्त्रीसम्म लैजान नमान्दा हामी स्विकृतिबाट बञ्चित छौं ।’ ओएनएम गर्दा केही दरबन्दी थप हुने र त्यसको दायित्व नेपाल सरकारमा पुग्ने भएपछि अस्पतालको सेवा बिस्तार बारे चासो कम भएको हो ।
अस्पताल व्यवस्थापन समिति सदस्य नरेश कँडेलका अनुसार ओएनएम गरेर १ सय बेडको स्विकृति दिए पनि तत्काल अस्पतालले सरकारको दायित्व सिर्जना हुने गरी बजेट नमाग्ने योजना बनाएको छ । ‘अहिले पनि १ सय १५ बेड नियमित संचालनमा छन्,’ कँडेलले भने, ‘हामीले आन्तरिक स्रोतबाट पनि धेरै काम गरेका छौं ।’
बागलुङ नगरपालिकाले समेत यहाँ कर्मचारी व्यवस्थापन, औषधि खरिदलगायतमा साथ दिएको छ । एक सय बेडको अनुमति पाएमा अस्पताल व्यवस्थापन समितिले स्टाफ नर्सलगायतको मेडिकल कलेजको तयारी गरिरहेको छ । ‘एक सय बेड स्विकृत नभएसम्म मेडिकल कलेजको अनुमति पनि नपाइने कानुनी प्रावधानले हामी अगाडि बढ्न सकेनौं,’ बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘३ सय रोपनीसम्म जग्गा हामी खोज्छौं, मेडिकल कलेज स्थापना गरौं भन्ने सहमति छ, तर ओएनएमको अभावले हामी पछि परेका छौं ।’
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले पनि पहल गरेर छिट्टै १ सय बेडको अनुमति दिलाउन प्रयास गर्ने बताए । गण्डकी सरकारले गठन गरेको अस्पताल व्यवस्थापन समितिमा नगरप्रमुख पदेन सदस्य छन् । हाल बागलुङ नगरसभाले पनि मेडिकल कलेज स्थापनाका लागि पहल गर्ने र आवस्यक जग्गाको व्यवस्थापन गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।
अस्पतालमा दैनिक २० देखि ३० जनासम्म मानसिक रोगका बिरामी समेत आउने गरेका छन् । तर यहाँ मनोचिकित्सकको दरबन्दी नहुँदा बिरामी रिफर गर्नुपरेको डा. तिवारीले बताए । ‘हामीलाई मनोचिकित्सक अति आवश्यक छ’ तिवारीले भने, ‘त्यसबाहेक रेडियोलोजिष्ट, फिजिसियन, एनेस्थियोलोजिष्ट र बालरोग विशेषज्ञ अभाव भएको छ ।’
उनीहरुको व्यवथापन भएमा अस्पतालले थप सेवा संचालन गर्न सक्ने तिवारीले बताए । अस्पतालमा अहिले तीन वटा ब्लक छन् । त्यसबाहेक अस्पतालले गुरुयोजना मार्फत अन्य थप दुई भवन बनाउने लक्ष्य राखेको छ । ती भवन बनिसक्दा गण्डकी प्रदेशमै ठूलो अस्पताल हुने व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए ।
‘सेवालाई पनि चुस्त बनाएर धेरै रोगको उपचार यहीं गर्न सकिने बन्दैछ, तर सामान्य निर्णयले काम रोकियो,’ थापाले भने, ‘राज्यले हेर्ने दृष्टिकोण फराकिलो भएन भने हामी रिफरल सेन्टर मात्रै बन्छौं ।’ अस्पताल व्यवस्थित बनाउन सक्दा जिल्लाको बसाइसराइ समेत रोक्न सकिने उनले बताए ।
