सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यका विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा

पुस २५, २०८१

ज्योती श्रेष्ठ

The government should prioritize the issue of safe motherhood and reproductive health: Foreign Minister Rana

काभ्रे — परराष्ट्रमन्त्री आरजु राणा देउवाले सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य अधिकारको संरक्षणका विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन् ।

बिहीबार काभ्रेको धुलिखेलमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले आयोजना गरेको काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको संरक्षणका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएकी हुन् । 

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारलाई नेपालको संविधान-२०७२मा समेट्न सफल भएको बताउँदै उनले भनिन्, ‘संविधानमा उल्लेख भएको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि अधिकारलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ, यस विषयलाई स्थानीय, प्रदेश र संघीय सरकारले पनि प्राथमिकिकरण गर्नुपर्छ ।’ ब्लाङ्केट वितरण गर्दै परराष्ट्र मन्त्री राणाले प्रसव पीडाका कारण ज्यान गुमाउने अवस्थामा पुगेपछि सुरक्षित मातृत्वको अभियानमा लागेको बताइन् ।

‘सन्तानलाई जन्म दिने बेलामा म जुन प्रसव पीडाबाट गुज्रिए, मर्छु कि बाँच्छु भन्ने अवस्थामा पुगेको थिएँ,’ उनले भनिन्, ‘म र मेरो सन्तान त बाँच्यो तर यही पीडा भएका अन्य महिला बाँच्न सक्लान् कि नसक्लान् भनेर यो अभियानमा जोडिएको हुँ ।’ 

गर्भवती र सुत्केरी विशिष्ट अवस्था रहेको तर्क गर्दै उनले सो अवस्थामा पोषणलगायतमा सहयोग गर्न सकिए देशमा सुयोग्य नागरिक तयार हुने बताइन् । बाग्मती प्रदेश सभा सदस्य तीर्थ लामाले सुरक्षित मातृत्व र प्रजनन अधिकार स्थापित गर्न सञ्जालले खेलेको भूमिकाको प्रशंसा गरे । संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित ६ स्थानीय तहका १ हजार ९० गर्भवती तथा सुत्केरीलाई  ब्लाङ्केट वितरण गरेको हो ।  पनौती नगरपालिकाका ३ सय १६, नमोबुद्ध नगरपालिकाका २ सय १७, बेथानचोक गाउँपालिकाका २ सय ३०, रोशीका १ सय ५३, भुम्लुका १ सय ३ र तेमालका ७१ गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरिएको सञ्जालका लक्ष्मी खनालले जानकारी दिइन् । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully