अटिजम भएका बालबालिकाको हेरचाह सम्बन्धी निर्देशिका तयार पार्न समिति गठन 

पुस १८, २०८१

कान्तिपुर संवाददाता

Committee formed to prepare guidelines for care of children with autism

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले स्नायु तथा नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने अपांगता अर्थात् अटिजम भएका बालबालिकाको हेरचाह, उपचार, रोकथाम सम्बन्धी निर्देशिका तयार पार्न मस्यौदा समिति गठन गरेको छ ।

डा. दिपक प्रकाश महराको संयोजकत्वमा गठित १० सदस्यीय समितिमा डा. सुनिता मलेकु, डा. मेरिना श्रेष्ठ, डा.अरुण कुँवर, दिपकराज सापकोटा, ध्रवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङसहित कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधि सदस्य छन् । स्वास्थ्य मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ । 

मन्त्रालयका अनुसार समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर सुझाव दिनेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्यको खाकासमेत तयार पार्ने जानकारी दिए । नेपालको २०७८ सालको जनगणना अनुसार अटिजम भएकाहरुको संख्या ४ हजार ८ सय ८४ जना छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully