काठमाडौँ — मंकीपक्सको संक्रमण पुष्टि भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत युवकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले ती युवकमा नयाँ घाउ नदेखिएको र अवस्था सामान्य रहेको बताए ।
‘घाउ लगभग ८० प्रतिशत सुकिसकेको छ,’ उनले भने, ‘केही दिनमा डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।’ गत पुस ५ गते साउदीबाट नेपाल फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा मंकीपक्स पुष्टि भएको थियो । यसअघि २०८० सालअसार १ गते नेपाल घुम्न आएकी ६० वर्षीया विदेशी महिलामा मंकीपक्स संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य सेवा विभागका अनुसार हालै मंकीपक्स पुष्टि भएका व्यक्ति साउदीबाटै लक्षण लिएर आएका थिए । उपचारका लागि एयरपोर्टबाट सिधै ग्राण्डी अस्पताल पुगेका थिए । तर, त्यहाँबाट शहिद शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकु अस्पताल रेफर गरिएको थियो ।
मंकीपक्स अथवा एमपक्स एक भाइरल रोग हो । जुन मंकीपक्स भाइरसले गर्दा मावनजाति तथा केहि अरु प्राणिमा लाग्ने गर्दछ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ ।
यसले सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ ।
