काठमाडौँ — नेपाल स्वयंसेवी रक्तदाता समाजले रगत निःशुल्क उपलब्ध गराउन माग गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
मानव रगत र रगतबाट तयार पारिएका रक्ततत्त्वलाई निःशुल्क उपलब्ध/वितरण गराउने/गर्ने नीति सरकारको भए पनि परीक्षण शुल्कका रूपमा बढी रकम लिने गरिएका कारण ज्ञापनपत्र बुझाइएको समाजका केन्द्रीय अध्यक्ष तथा नेपालमा सर्वाधिक रक्तदान गरेका प्रेमसागर कर्माचार्यले बताए ।
रगत परीक्षण शुल्कका नाममा बढी रकम लिँदा विपन्न वर्गका बिरामीलाई ठूलो आर्थिक भार परेको समाजले जनाएको छ । बर्सेनि मनाउने गरिएको राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस माघ १५ लाई राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसका रूपमा घोषणा गर्न पनि समाजले सरकारसँग माग गरेको छ ।
