स्वास्थ्य स्वयंसेविकाको माग : हामीलाई पनि सामाजिक सुरक्षामा समावेश गर्नुपर्छ

मंसिर २०, २०८१

बुनु थारू/रासस

Demand of health volunteers: We should also be included in social security

काठमाडौँ — उमेरले ५५ वर्ष टेकिसक्दा पनि कीर्तिपुरकी पार्वती महर्जनको जोश र जाँगरमा कुनै कमी आएको छन । घरदैलो कार्यक्रम गर्दै सुरक्षित मातृत्व, नवजात शिशु सरसफाइ, खोप तथा पोषण कार्यक्रमबारे जनचेतना फैलाउनु उनको मुख्य काम हो । 

कीर्तिपुर नगरपालिका–५ कि महर्जन विगत ३६ वर्षदेखि स्वास्थ्य सचेतना फैलाउने काममा सक्रिय छिन् । उनी अहिले सर्वसाधारण पनि स्वास्थ्यप्रति चनाखो हुन थालेको बताउँछिन् । तर हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अझै पनि धौधौ पर्ने गरेको उनको अनुभव छ । 

महर्जन सरकारले स्वास्थ्य स्वयंसेविकालाई हेर्ने धारणा परिवर्तन हुनुपर्ने उनको माग छ ।  'अरु जागिर भएको भए अहिलेसम्म त पेन्सन पाकिसक्थ्यो होला । हाम्रो पनि भत्ता बढाइदिएको भए हुन्थ्यो,' उनले भनिन् । 

श्रेष्ठ टोखा नगरपालिका–४ कि ४७ वर्षीया हिरामाया २०५२ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत छिन् । उनले सरकारले आफूहरूले पाउने सुविधा बढाउनुपर्ने धारणा राखिन् । 'सरकारले हामीलाई सार्वजनिक यातायातमा निःशुल्क भने पनि  हालसम्म लागू भएको छैन,' उनले भनिन्, 'आज पनि म कामकै लागि आउँदा गाडीमा छुट पाइनँ ।'

चन्द्रागिरी नगरपालिका–१७ की स्वास्थ्य स्वयंसेविका बसन्ती महर्जन आमाको प्रेरणा र सिकाइले नै आफू पनि स्वस्थ्य स्वंयसेविका बनेको बताइन् । ५३ वर्षीया महर्जन हाल नेपाल स्वास्थ्य स्वयंसेवक संघकी अध्यक्ष छिन् ।उनले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्यको खम्बा भनेर उपमा दिइए पनि उनीहरुबारेमा सरकारले ध्यान नदिएको गुनासो गरिन् । 'हामी घाम पानी नभनी काम गरेका छौँ । तर पनि खुसी छौँ । हामी आफ्नो कामप्रति रत्तिभर पनि थाकेका छैनौँ तर हाम्रो बारेमा खोइ सोचिएको ?,' उनको प्रश्न छ । महर्जनले स्वयंसेविकालाई दिइने ४ सय रुपैयाँ भत्ता न्यून भएको उल्लेख गर्दै यसलाई बढाउन आवश्यक रहेको धारणा राखिन् । 'हामी कति दुःख गरेर काम गरिरहका हुन्छौँ, तर सरकारले सो अनुसारको सुविधा दिन सकेको छैन,' उनले भनिन् ।आफूहरूलाई पनि योगदानमा आधारित साामाजिक सुरक्षामा समावेश गर्नुपर्ने उनको भनाइ छ । 

काठमाडौं महानगरपालिका–१६ कि गीता थिङ पौडेलको पनि भनाइ महर्जनसँग मिल्दोजुल्दो छ । उनले पनि स्वास्थ्य स्वयंसेविकाको कामको मूल्याङ्कन हुन नसकेको बताइन् । 'हामीलाई जे जिम्मेवारी दिए पनि पूरा गर्छौ, हामीले यसैबाट समाजमा पहिचान पनि बनाएका छौँ, हाम्रो माग सरकारले हाम्रो कामको उचित मूल्याङ्कन गरोस् भन्ने हो,' उनले भनिन् । 

नेपाल स्वास्थ्य स्वयंसेवी संघकी अध्यक्षसमेत रहेकी पौडेलले स्वास्थ्य स्वयंसेविकालाई श्रम शोषण गराउन नपाउने धारणा राख्छिन् । उनी भन्छिन्,'स्वास्थ्य स्वयंसेविका हुन् सित्तैमा काम गर्दिन्छन् भन्ने सोच छ । स्वास्थ्य बाहेकका काममा पनि हामीलाई सहभागी गराउँछन् ।'

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ६० वर्षको उमेरसम्म काम गर्न सक्ने भनिएको छ । त्यसैगरी उनीहरुको बिदाइका बेला २० हजार रुपैयाँ दिइने नियम छ । त्यत्तिका वर्ष निःस्वार्थ भावले दिदीबहिनीहरूले काम गर्नुहुन्छ । उहाँहरुको मूल्यांकन त्यति मात्र हो त ? कम्तीमा  एक लाख रुपैयाँसम्म बढाउनुपर्छ भन्ने हाम्रो माग हो,' उनको माग छ । 

स्वास्थ्य स्वयंसेविकालाई दिइने भत्ता पनि चार सयबाट एक हजार पाँच सय रुपैयाँ पुर्‍याउनुपर्ने उनको माग छ ।  'योगदानमा आधारित सामाजिक सुरक्षाबारेमा सरकारले सोच्नुपर्छ । ताकि हामीहरुको पनि काम गर्न जाँगर बढोस् । सरकारले ऊर्जा थप्ने काम गर्दिनुपर्छ । स्वयमसेविका भन्दैमा त्यसै काम लगाउन पाइँदैन,' उनले भनिन् । 

सरकारले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम विसं २०४५ सालदेखि २८ जिल्लाबाट सुरु गरेको थियो । स्वास्थ्य स्वयंसेविकाले पोषण तथा खोप कार्यक्रम, सरुवा तथा महामारी रोग नियन्त्रणमा सहयोग, वातावरणीय तथा व्यक्तिगत सरसफाइ, परिवार नियोजनसम्बन्धी सल्लाह दिने, सुरक्षित मातृत्व तथा नवजात शिशु सरसफाइसम्बन्धी समाजमा भूमिका निर्वाह गर्दै आइरहेका छन् । 

प्रतिकरात्मक तथा प्रबद्र्धनात्मक सेवा पुर्‍याउन सहयोग गरिरहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हाल देशभर सेवारत छन् । हाल ५१ हजार चार सय २३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सेवारत रहेको तथ्याङ्क छ ।

बुनु थारू/रासस

Link copied successfully