अवरुद्ध बेंसीसहर-चामे सडक खुल्यो

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, श्रीचौरमा पहिरो गएपछि अवरुद्ध बेंसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।

चैत्र १८, २०८२

आश गुरुङ

Blocked Besisahar-Chame road reopened

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, श्रीचौरमा पहिरो गएपछि अवरुद्ध बेंसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।

वर्षासंगै मंगलबार दिउँसो २ बजेतिर पहिरो गएर सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको थियो । सडकमा आएको पहिरो पन्छाउनुका साथै बगाएको ठाउँमा मर्मत गरेसंगै सडक मंगलबार साँझबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

लमजुङ उद्योग बाणिज्य संघ खुदी इकाई अध्यक्ष खुसीराम गुरुङले सडक खुलेसंगै मंगलबार साँझदेखि सवारी आवागमन भइरहेको बताए। सुरुमा सवारी साधन हिँड्नलाई एकतर्फी सडक खुलाएको र रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाएपछि बाटो फराकिलो पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख जितेन्द्रकुमार बस्नेतले वडासंगको समन्वयमा सडक खुलाइएको बताए । सडक खुलेसंगै बेंसीसहरबाट मनाङतर्फ र मनाङबाट बेंसीसहरतर्फ सवारी आवागमन भइरहेको उनले बताए।

पहिरो गएको ठाउँ श्रीचौर लमजुङ सदरमुकाम बेंसीसहरबाट २५ किलोमिटर उत्तरतर्फ पर्छ । यस ठाउँमा केही वर्षअघि समेत पहिरो गएको थियो । पहिरो गएर सडक निर्माण गरिएको ठाउँमा पुनः पहिरो गएको हो । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully