बेंसीसहर–चामे सडक अवरुद्ध

वर्षासँगै मंगलबार दिउँसो २ बजेतिर पहिरो गएको र त्यसपछि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

चैत्र १७, २०८२

आश गुरुङ

Besisahar-Chame road blocked

लमजुङ — वर्षासँगै मंगलबार दिउँसो २ बजेतिर पहिरो गएको र त्यसपछि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, श्रीचौरमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

वर्षासँगै मंगलबार दिउँसो २ बजेतिर पहिरो गएको र त्यसपछि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई अध्यक्ष खुसीराम गुरुङका अनुसार माथिबाट आएको पहिरोले सडक पुर्नुका साथै बगाएपछि सवारी वारपार हुन सकेको छैन । मनाङबाट आएका र लमजुङबाट जाँदै गरेका सवारी साधन पहिरोमा रोकिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख जितेन्द्रकुमार बस्नेतले मंगलबार दिउँसो २ बजेतिर माथिबाट पहिरो खसेको र त्यसले सडकमा क्षति पुर्‍याउँदा सडक अवरुद्ध भएको बताए । उनका अनुसार अहिले बाटो खुलाउन मेसिनरी सामग्री ब्याक्होलोडर प्रयोग भइरहेको छ । 'पानी परेर काम गर्न नदिएर दिउँसो साढे ३ बजेतिरबाट मात्रै सडक खुलाउने काम भएको छ’ उनले भने ।

पहिरो गएको ठाउँ श्रीचौर लमजुङ सदरमुकाम बेंसीसहरबाट २५ किलोमिटर दूरीमा पर्छ । यस ठाउँमा केही वर्षअघि समेत पहिरो गएको थियो ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully