बागलुङमा सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो

श्रावण २३, २०७८

कान्तिपुर संवाददाता

बागलुङ — पछिल्लो समय घट्दो दरमा देखिएको कोरोना संक्रमणले बागलुङलाई फेरि च्यापेको छ । शुक्रबार दिउँसोसम्म जिल्लामा ५ सय १४ सक्रिय संक्रमित पुगेका छन् । तीमध्ये बागलुङ नगरपालिकामा मात्रै २ सय ६, बरेङ गाउँपालिकामा ९८ र जैमिनी नगरपालिकामा ४७ जना पुगेका छन् ।

‘अधिकांश पालिकामा लक्षणसहितका बिरामी देखिएपछि पीसीआर परीक्षण बढाइएको छ’ स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले भने, ‘ग्रामीण तहमा सक्रिय संक्रमितको आनीबानी र सुरक्षित बस्न नसक्दा संख्या बढेको छ ।’

होम आइसोलेसनमा बस्ने प्रावधान भए पनि सुरक्षित बनाउन नसकिएको उनले बताए । शुक्रबार मात्रै ८४ जना सक्रिय संक्रमित थपिएका छन् । तीमध्ये सबैभन्दा धेरै बरेङका ४१ जना छन् । बडिगाड गाउँपालिकामा पनि ३० जना थपिएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा मात्रै ८० बढी सक्रिय संक्रमित छन् । 

‘वैशाख पहिलो सातादेखि यो वडाभर सक्रिय संक्रमितको संख्या बढेको बढ्यै छ,’ वडाध्यक्ष चक्रबहादुर खत्रीले भने, ‘धेरै कसरत गरे पनि संख्या घटाउन सकिएन ।’ जबरजस्ती बाहिरबाट आउने जाने क्रम नरोकिएको, घरमा सुरक्षित नबस्ने र सार्वजनिक स्थानमा स्वास्थ्यका मापदण्ड पालना नभएको उनले बताए । ग्रामीण क्षेत्रमा मास्क, सेनिटाइजर र स्वास्थ्य सामग्री पुर्‍याउन नसकेको समेत उनले गुनासो गरे । 

‘घरघरमा संक्रमित छन् तर गाउँमा खेतीपाती पनि नगरी सुख छैन,’ उनले भने, ‘नगरपालिकासहित अन्य संस्थामा पनि मास्क र स्वास्थ्य सामग्रीको खोजी गरिरहेको छु ।’ मानवअधिकार संगठनसहितका संस्थाले केही सामग्री पठाएपनि नगरपालिकाबाटै सहयोग पाउन नसकेको खत्रीको टिप्पणी छ । संक्रमित बढेपछि खत्रीले जिल्ला कोभिड संकट व्यवस्थापन समिति डीसीसीएमसीलाई पत्र लेखेर कडा निषेधाज्ञा लगाइदिन आग्रह गरेका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully