गाउँगाउँमा फैलियो कोरोना

वैशाख ३०, २०७८

कान्तिपुर संवाददाता

बागलुङ — वैशाख ८ गतेदेखि निषेधाज्ञा लगाएको बलेवास्थित पैयुँपाटामा मात्रै मंगलबार ४४ जना कोरोनाका संक्रमित भेटिए । यहाँ परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा संक्रमण देखिएको हो । 

‘तीन साता बित्यो, चेनब्रेक होला भन्दा झन् झाँगिएको छ,’ स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले भने, ‘निषेधाज्ञा पालना नगरी विवाह, व्रतबन्ध र चौरासी पूजा गर्ने र भोज खुवाउने क्रम बढेपछि समस्या आएको देखिन्छ ।’ निषेधाज्ञाकै समयमा बैंकमा वृद्धाभत्ता निकाल्नेको समेत भीड हुने गरेको छ ।

ग्रामीण क्षेत्रमा मानिस जम्मा हुने, क्यारिमबोर्ड, जुवातास र अन्य समूहगत खेल खेल्ने गरेकोले संक्रमण बढेको स्वास्थ्यकर्मीले बताए । निषेधाज्ञाकै समयमा बलेवामा दर्जनौं विवाह सम्पन्न भएका छन् । भोज खाएका पैयुँपाटा र नारायणस्थानमा बुधबार पनि ८९ जना संक्रमित भेटिएका थिए । स्वास्थ्य शाखा प्रमुख चूडामणि कँडेलले भने, ‘घरभित्रै बसिदिनुहोस् भन्दा पनि यो बेला भोजभतेर गर्दा असर परेको छ ।’

जैमिनी नगरपालिका–५ मा परीक्षण गरिएका सबैको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेकाले स्वाब दिनै नमानेको स्थानीयले बताए । संक्रमण फैलिएका गाउँमा सहरी क्षेत्र र भारतबाट आएकाहरू सिधै घरमा पुगेको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत सूर्यलाल विकले बताए । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully