लमजुङ — सरकारले लकडाउन घोषणा गरेर कडाइ गर्न निर्देशन दिएपनि काठमाडौंदेखि ५ जिल्ला कटेर झन्डै १ हजार मनाङी गाउँ पुगेका छन् ।
सरकारले लकडाउन गरेपछि केही खुकुलो पारेको मौका छोपी मनाङी काठमाडौंदेखि गाउँ फर्केका हुन् । जाडो छल्न गत कात्तिक मंसिरमा सहर–बजार झरेका मनाङी अहिले गाउँ फर्केका हुन् । काठमाडौंबाट धादिङ, चितवन, गोरखा, तनहुँ, लमजुङ हुँदै उनीहरु आफ्नो गाउँ फर्केको मनाङ ङिस्याँ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार यसअघि काठमाडौं बस्दै गरेका पनि कोरोना संक्रमण हुने डरले गाउँ फर्केका छन् ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी शारदा चालिसेका अनुसार चैत १ गतेदेखि मनाङमा ९ सय ८५ जना भित्रिएका छन् ।
गाडी रिजर्भ गरेर आएका उनीहरुलाई सांसद तथा स्थानीय तहसँगको सहयोगमा जिल्ला आएको बुझिएको छ । जिल्ला भित्रने नागरिकलाई मनाङको तालस्थित स्थापना गरिएको हेल्थ डेक्समा अनिवार्य स्वास्थ्य जाँच गर्ने गरिएको छ । मनाङका डीएसपी मेखबहादुर कुँवरले सबैको अनिवार्य स्वास्थ्य परीक्षण गराएरमात्रै जिल्ला प्रवेश गर्न दिइएको र क्वारेन्टाइनमा बस्न भनिएको बताए ।
मनाङमा हरेक वर्ष मनाङ ङिस्याङ, नार्पाभूमि र चामे गाउँपालिकाका बासिन्दा जाडो छल्न काठमाडौंलगायत सहरबजार झर्छन् । चैतमा फर्किसक्नुपर्नेमा उनीहरु यसपटक लकडाउनमा परेका हुन् । कतिपय अझै काठमाडौंमै रहेको उनीहरु बताउँछन् ।
