बसपार्क सरेसँगै बदलिँदै धरानको भानुचोक

पूर्वी पहाडतर्फ लाग्नेहरूका लागि यहाँबाट उकालो सुरु हुन्थ्यो भने पहाडबाट ओरालो झर्नेहरूका लागि यही चोक तराईको मुख्य प्रवेशद्वार बन्ने गरेको थियो ।

श्रावण ६, २०८३

एलिना राई

With the relocation of the bus park, Dharan's Bhanuchowk is changing

What you should know

धरान — सहरहरू समयसँगै बदलिन्छन् । सडक फराकिला बन्छन्, नयाँ संरचना निर्माण हुन्छन् र पुराना केन्द्रले नयाँ परिचय पाउँछन् । धरानको भानुचोक पनि यतिबेला यस्तै परिवर्तनको साक्षी बनेको छ। वर्षौंसम्म यात्रुको भीड, सवारी साधनको चाप  र व्यापारिक चहलपहलले परिचित यो चोक अहिले फरक रूपमा देखिन थालेको छ । झण्डै तीन दशक पुरानो बसपार्क योजनाले मुर्त रुप पाएसँगै बसपार्क नयाँ स्थानमा सारिएको छ । बसपार्क सरेसँगै भानुचोकको परिचय पनि बिस्तारै बदलिन थालेको हो।

कुनै समय बिहानदेखि साँझसम्म यात्रुहरूको हतार, टेम्पो चालकको आवाज, होटलमा चिया पिउँदै बसको प्रतीक्षा गर्ने यात्रु र सडकभरि गुड्ने बसहरूले भानुचोकलाई जीवन्त बनाउँथे। अहिले त्यही ठाउँमा सवारीको चाप कम छ, सडक खुला देखिन्छ र वातावरण पहिलेभन्दा शान्त छ। यो परिवर्तनले धेरैलाई अचम्मित त बनाएको छ तर धेरैले यसलाई आधुनिक सहरी व्यवस्थापनको संकेतका रूपमा पनि हेरेका छन् ।

भानु चोक केबल चोक मात्र थिएन । यहाँको अर्थतन्त्रको मेरुदण्ड र धरान पुग्ने प्रायः यात्रुका लागि एउटा ‘ट्रान्जिट-प्वाइन्ट’ पनि थियो । पूर्वी पहाडतर्फ लाग्नेहरूका लागि यहाँबाट उकालो सुरु हुन्थ्यो भने पहाडबाट ओरालो झर्नेहरूका लागि यही चोक तराईको प्रवेशद्वार बन्ने गरेको थियो । यो धरानका बासिन्दाहरूका लागि मात्र नभई बाहिरबाट आउने यात्रुहरूका लागि पनि पहिलो भेट हुने स्थान थियो । त्यसैले भानुचोकले अर्को पहिचान पनि बनाएको थियो- 'धरानको मुटु' । बसपार्क स्थानान्तरणसँगै धरानले केवल एउटा बस स्टेसन सारेको छैन, यात्रुका लागि एउटा ‘ट्रान्जिसन पोइन्ट’ नै परिवर्तन गराएको छ ।

स्थानीयवासीका अनुसार बसपार्क स्थानान्तरणपछि सबैभन्दा ठूलो परिवर्तन वातावरणमा आएको छ। पहिलेको धूलो, धूवाँ, ट्राफिक जाम र लगातारको हर्न बजाइ अहिले निकै कम भएको छ । धरान–१० का स्थानीय प्रतीक राई भन्छन्, 'अहिले पैदल हिँड्न सहज भएको छ, वातावरण पनि धेरै शान्त भएको महसुस हुन्छ ।’बसपार्क हुँदा मानिसहरूको चहलपहल र सवारीसाधनको चापले धरानको भानुचोक अन्य ठाउँको तुलनामा व्यस्त चोकका रुपमा हेरिन्थ्यो । तर आज भानुचोक शान्त छ । 'यसले मलाई नरमाइलो त लागिरहेको छ । तर सहर विकसित हुनका लागि परिर्वतन आवश्यक छ । धरान पनि विकसित हुँदै छ, यसमै खुसी लागिरहेको छ,' उनले अगाडि थपे ।

विशेषगरी विद्यार्थी, ज्येष्ठ नागरिक र पैदल यात्रुका लागि यो परिवर्तन सहज बनेको स्थानीयको अनुभव छ।  सडकको प्रयोग अब केवल सवारीका लागि मात्र नभई मानिसका लागि पनि सुरक्षित बन्दै गएको  स्थानीय ६० वर्षीय हरिलाल यादव बताउँछन्।

लामो समयदेखि साँघुरो ठाउँमा संचालनमा रहेको बसपाकले धरानको मुख्य बजार भानुचोक साँघुरिएको थियो, मान्छेको भीड, सवारीको चापले धरानको सौन्दर्य नै बिग्रिएको थियो तर अहिले धरानले आधुनिक स्मार्ट बसपार्क पाएको जीवन राई बताउँछन् । यसले यात्रुलाई मात्र नभई सम्रग स्थानीयलाई पनि सहज, सुविधासम्पन्न र विकसित सहर बनाउन सहयोग पुर्‍याएको उनले बताए ।

तर परिवर्तनसँगै केही चुनौती पनि आएका छन्। पसलका अगाडि बसेका व्यापारी भने ग्राहकको प्रतीक्षामा टोलाइरहेका छन्। परिवर्तन केवल बसपार्कको स्थानान्तरणले ल्याएको हो, तर यसको प्रभाव हजारौं मानिसको दैनिक जीवनमा परेको छ।

धरानको प्रमुख यातायात केन्द्रका रूपमा परिचित भानुचोक लामो समयसम्म पूर्वी पहाडी जिल्ला र मधेशलाई जोड्ने प्रवेशद्वार थियो । यात्रुहरू बस चढ्न वा ओर्लिन यहीँ आइपुग्थे। त्यसैसँग जोडिएका होटल, रेष्टुरेन्ट, फलफूल पसल, मोबाइल पसल, कपडा व्यवसाय र सार्वजनिक यातायातले यही भीडबाट आफ्नो जीविका चलाउँदै आएका थिए। तर नयाँ बसपार्क सञ्चालनमा आएपछि त्यो चहलपहल यहाँ कम हुँदै गएको छ।

स्थानीयका लागि यो परिवर्तन सकारात्मक भए पनि व्यापारीका लागि भने यही शान्ति आर्थिक चिन्ताको विषय बनेको छ। धरान–१३ मा मोबाइल पसल सञ्चालन गर्दै आएका अशोक कार्कीका अनुसार बसपार्क सरेपछि व्यापार आधाभन्दा बढी घटेको छ। 'पहिले दिनभर ग्राहक आउँथे। अहिले त दिनभरमा पाँच सय रुपैयाँको कारोबार गर्न पनि गाह्रो हुन्छ। व्यवसाय यस्तै भयो भने पसलको भाडा तिर्नसमेत समस्या हुने उनी पीडा व्यक्क्त गर्छन्

उनका अनुसार भानुचोक केवल बस रोकिने ठाउँ थिएन, व्यापारिक केन्द्र पनि थियो। यात्रुहरूले बसको प्रतीक्षामा यहीँबाट फलफूल, मोबाइल सामग्री, कपडा, औषधि र अन्य आवश्यक सामग्री किन्थे। अहिले अधिकांश बस नयाँ बसपार्कबाट सिधै गन्तव्यतर्फ जाने भएकाले यात्रु भानुचोकमा रोकिन छाडेका छन्।

फलफूल व्यवसायी रमेश सुनुवारको अनुभव पनि उस्तै छ। 'पहिले दैनिक १०–१५ हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो। अहिले दिनमा ३ हजारको पनि सामान बिक्री हुँदैन । बसपार्क सरेसँगै किनमेल गर्ने ग्राहक पनि घट्दै गएको उनको गुनासो छ।

यातायात व्यवसायमा पनि परिवर्तन स्पष्ट देखिन्छ । धरान–१५ का टेम्पो चालक अविचन्द्र सुब्बा भन्छन्, 'पहिले स्टेसनमै यात्रु पाइन्थ्यो। अहिले यात्रु खोज्दै बजारभरि घुम्नुपर्छ । इन्धन खर्च बढेको छ तर आम्दानी घटेको छ।' उनका अनुसार अहिले सिधै नयाँ बसपार्कबाटै यात्रु चढ्ने ओर्लिने भएकाले भानुचोकतिर यात्रु कमै पाइन्छन् ।

भानुचोकका व्यापारीहरू बसपार्क सार्ने निर्णयको विरोधमा छैनन्। उनीहरू सहरी व्यवस्थापन आवश्यक रहेको स्वीकार गर्छन्। तर विकासका योजनाले प्रत्यक्ष असर पर्ने व्यवसायी र श्रमिकका लागि वैकल्पिक व्यवस्था किन सोचिएन ? भानुचोकबाट बसपार्क सर्दा व्यापारमा धेरै असर परेको सुनसरी उद्योग वाणिज्य संघका  प्रथम उपाध्यक्ष रामस्वरूप शर्मा बताउँछन । भानुचोक चलायमान बनाउन बजारको चहलपहल बढाउने योजना ल्याउनु पर्ने उनको भनाइ छ ।  उनका अनुसार भानुचोक मात्र होइन, पुतलीलाइन, देशीलाइन र सब्जीमण्डी क्षेत्रको व्यापार पनि घटेको छ। यात्रुको चहलपहल कम भएसँगै ती क्षेत्रका होटल, चिया पसल, किराना, कपडा र फुटकर व्यवसाय सबै प्रभावित भएका छन्।

व्यापारी अशोक कार्की समाधानको उपाय पनि सुझाउँछन् । उनका अनुसार पहाडतर्फ जाने यात्रुलाई भानुचोकमा झारेर त्यसपछि मात्र बस नयाँ बसपार्क लैजाने व्यवस्था गर्न सके बजारमा केही चहलपहल फर्कन सक्ने उनी बताउँछन्।

यता धरान उपमहानगरपालिकाले भने भानुचोकलाई पुनः जीवन्त बनाउने तयारी गरिरहेको जनाएको छ। कार्यवाहक नगर प्रमुख आइन्द्र विक्रम बेघाका अनुसार भानुचोकको माथिल्लो भागमा स्थायी मञ्च निर्माण गरी दैनिक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजना छ। सर्वसाधारणले निःशुल्क रूपमा हेर्न सक्ने कार्यक्रममार्फत मानिसको आवागमन बढाउने र त्यसले व्यापारलाई पनि टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए । पहिले बसपार्क र यातायातले ओगटेका क्षेत्रहरूलाई बिस्तारै नागरिकमैत्री खुला स्थान, सांस्कृतिक केद्र र पर्यटन प्रवर्द्धनका थलोका रूपमा विकास गर्ने कार्यक्रम अघि सारिएको नगर प्रमुख बेघाको भनाइ छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully