एक्लिएका बाआमा : स्क्रिनमा भेट, आँगनमा प्रतीक्षा

सन्तान विदेशिएका कारण घरमा भएका बाआमामा एक्लोपनको अनुभूति बढे पनि मोबाइल, भिडियो कल र सामाजिक सञ्जालले अभिभावकको दैनिकीमा केही राहत ल्याएको छ ।

श्रावण ५, २०८३

आरती पौडेल

Lonely parents: Meeting on the screen, waiting in the yard

What you should know

काठमाडौँ — सिन्धुपाल्चोक मेलम्चीका कमलनाथ दाहाल काठमाडौंको चाबहिलस्थित एउटा कोठा बस्छन् । उनको दैनिकी आम नेपालीको भन्दा फरक छैन, विहान पूजापाठ, खाना पकाउने, पुस्तक पढ्ने, समाचार सुन्ने र कहिलेकसो साथीभाइसँग भेटघाट गर्ने ।

केही समयअघि उनको श्रीमतीको मृत्यु भएपछि यो कोठामा उनी एक्लै छन् । उनका दुई छोरा, बुहारी र तीन वर्षीया नातिनी जापानमा छन् । जसोतसो दिन कटे पनि साँझ भने उनी एउटा पर्खाइमा हुन्छन्- जापानमा रहेका सन्तानसँगको भिडियो कलमा कुराकानी । मोबाइल स्क्रिनमा देखिने मुस्कान, सन्तानसँगको कुराकानीले केहीबेर भए पनि उनी एक्लोपन बिर्सन्छन् ।  

उनी जागिर पनि गरिरहेका छन् । उनी आफैंलाई व्यस्त राख्न खोज्छन् । ‘मन भुलाउने बाटो त्यहि एउटा जागिर छ,’ उनले भने । 

फोनमा हरेक दिन बोले पनि घरमा सँगै बसेको जस्तो भने महसुस नहुने कमलनाथ सुनाउँछन् । ‘फोनमा धेरै कुरा गर्छौं । सबै खबर थाहा हुन्छ । तर परिवारसँग नेपालमै बसेर एउटै भान्छामा जेजसो भए पनि खाएको जस्तो खुसी त भिडियो कलसँग तुलना हुन सक्दैन,’ मलिन स्वरले उनले भने ।

 आमा–बुबालाई सन्तानको याद त जहिले पनि आउँछ । चाडपर्वमा सबैका परिवार जम्मा भएको देख्दा आफू एक्लै हुँदा मेरा पनि छोराहरू सँगै भएको भए कति राम्रो हुन्थ्यो भन्ने लाग्छ - कमलनाथ दाहालउनी सन्तानको याद सबैभन्दा धेरै चाडपर्वमा आउने सुनाउँछन् । ‘आमा–बुबालाई सन्तानको याद त जहिले पनि आउँछ । तर विशेषगरी चाडपर्वमा सबैका परिवार जम्मा भएको देख्दा आफू एक्लै हुँदा मेरा पनि छोराहरू सँगै भएको भए कति राम्रो हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने । यद्यपि, प्रविधिले जीवनलाई सहज गराएको महसुस गराएको सुनाउँन् । टाढा रहेको परिवारलाई जोड्ने माध्यमका रूपमा मोबाइललाई ठूलो काम गरेको सोच्छन् । ‘मोबाइल त हाम्रा लागि भगवान जस्तै भयो । टाढाको मान्छेलाई नजिक बनाइदिन्छ, छोरा–बुहारी र नातिनीसँग कुरा गराइदिन्छ,’ उनले भने, ‘यसलाई राम्रो तरीकाले चलाउने हो भने त संसार नै त्यसैमा देख्न पाइदो रहेछ ।’

उनकी नातिनी अहिले ३ वर्षकी भइन् । जापानमै जन्मेकी नातिनीले नेपाली भाषा र सम्बन्धका शब्द नबिर्सिउन् भन्नेमा उनी विशेष ख्याल राख्छन् ।  भिडियो कलमा नातिनीलाई स्क्रिनमा देखिनेबित्तिकै उनको पहिलो वाक्य हुन्छ, ‘नानी बा भन त’ । नातिनीले उत्सुकतापूर्वक ‘बा’ भन्छिन् । 

कमलनाथ खुसी हुन्छन् । त्यसरी नै उनी अन्य शब्दहरू पनि उच्चारण गर्न सिकाइरहन्छन् । ‘मैले फोनबाट नातिनीलाई ‘बा’, ‘आमा’, ‘काका’, ‘काकी’ भन्न सिकाएको छु’, उनी मुस्कुराउँदै सुनाउँछन्, ‘जता भए पनि बालबच्चाले आफ्नो देश र भाषा नबिर्सिउन् भन्ने लाग्छ ।’ 

छोराहरूले धेरै पटक जापान घुम्न बोलाए पनि अहिलेसम्म जान नपाएको उनले बताए । उनले एकपटक घुमेर आउने सोच भने रहेको सुनाए । 

विदेशबाट सीप, अनुभव र पुँजी लिएर एक दिन परिवार नेपाल फर्कुन् भन्ने रहेको उनी सुनाउँछन् । ‘विदेश भनेको सिक्ने ठाउँ हो, सधैं बस्ने ठाउँ होइन,’ उनले भने, ‘त्यहाँ परिश्रम गर्न सिक्ने, कमाउने, अनुभव बटुल्ने । तर लगानी आफ्नै देशमा गर्ने, नेपालमै उद्योग खोल्ने, रोजगारी सिर्जना गर्ने, देशलाई बनाउने गर्नुपर्छ भनेर छोराहरूलाई भनेको छु ।’ मोबाइलको स्क्रिनले अहिले कमलनाथलाई छोराबुहारीसँग दैनिक भेटाइरहेको छ । तर उनको प्रतीक्षा भने अझै उही छ । ‘कुनै दिन छोराहरू सधैंका लागि नेपाल फर्कून्, एउटै भान्सामा फेरि सँगसँगै खाना खाने दिन आओस् ।’  

०००

पोखरा रत्नचोकस्थित एउटा सानो गल्लीभित्र दुईतले घरको पहिलो तलाको एउटा कोठाको भित्ताभरि लस्करै टासिँएका तस्बिरहरू छन् । तस्बिरमा सबै छन्, बा–आमा, छोरी–ज्वाई, नाति–नातिना । कोठाको एउटा लोबेडमा बसेर मोबाइल चलाइरहेकी थिइन् ६९ वर्षीया सरस्वती महर्जन । उनका २ छोरी छन् । जेठी छोरी १३ वर्षदेखि जापानमा छन् भने, कान्छी विवाहपछि जनकपुर पुगेकी छन् । ‘नेपालमै भएर पनि जागिर, छोराछोरी र टाढा भएपछि भेट्न गाह्रो हुने रहेछ । जापानबाट जेठी छोरी नेपाल आउँदा कान्छी पनि आएकी थिइन्,’ उनले भनिन्, ‘नेपाल भएर पनि विदेश भए बराबर छ । त्यसपछि आएकी छैन ।’ 

सरस्वतीका श्रीमान् केही वर्ष अघिसम्म पोखराको एक होटलमा सेफ थिए । कामकै सिलसिलामा उनलाई प्रेसरले हान्यो । त्यसपछि ३ महिनासम्म अस्पताल राखेर उपचार गर्दा दुवै छोरी बुबाको हेरचाह गर्न आएको महर्जनले सुनाइन् । केही समयपछि उनीहरू पर्के । अहिले उनका श्रीमान उठेर घर वरपर हिँड्न सक्ने त भएका छन् तर आवाज भने आएन । ‘पहिाल दुईजना गफ गरेर समय बिताइन्थ्यो । कहिले कसो मेला, चाडपर्वमा बाहिरतिर घुम्न जान्थौं,’ उनले भनिन्, ‘अहिले त्यस्तो छैन । उहाँको बोली अझै आएन । बोल्न कहिले मिल्ला भन्ने प्रतिक्षा गरेर बसेकी छु,’ उनले भनिन् । 

छोरीहरू टाढा भए पनि मोबाइलमार्फत बोल्न सहज भएको सुनाउँछिन् । ‘छोरीहरू मबाट टाढा छन् भन्ने नै हुँदैन । हरेक दिन बिहान बेलुकी समय मिल्ने बित्तिकै बोल्ने गर्छौं,’ उनले भनिन्, ‘भिडियो कलमा बोलेपछि के गर्दै छन् भन्ने सबै देखिन्छ । ढुक्क हुन्छौं ।’ छोरीहरूसँग संवाद गर्न म्यासेन्जरमा ग्रुप च्याट बनाएको र सबैजना प्रायः त्यसैमा भिडियो कल गरेर बोल्ने गरेको सरस्वतीले सुनाइन् । सरस्वतीले पनि सन्तानको याद चाडपर्वमा धेरै आउने गरेको सुनाइन् । ‘सबैभन्दा नरमाइलो दसैं, तिहार, तिजमा हुने रहेछ । सबैको घरमा छोरीचेली आउँदा आफ्नो घर भने खाली हुन्छ । त्यतिबेला मन भक्कानिने रहेछ,’ उनले भनिन् । यद्यपि, छोरीहरू विदेश जानुको कारण उनले राम्रोसँग बुझेकी छिन् । ‘उनीहरू नेपालमै भएको भए राम्रो काम हुँदैनथ्यो होला । महंगी बढेको छ । उनीहरूले सोचेजस्तो नभएरै उतै बसे । सबैकुरा एउटै तरीकाले मात्र हेरेर भएन, उनीहरूको भविष्य पनि महत्वपूर्ण छ,’ उनले भनिन् ।

अहिलेको पुस्ता नेपालमा भन्दा विदेशमा अवसर राम्रो पाउने सोचले जाने गरेको महर्जनको बुझाइ छ । ‘हामी नेपाल छोडेर कतै गएनौं । खासै पढेनौं विदेश जाने भन्ने भएन,’ उनले भनिन्, ‘तर सन्तानलाई संघर्ष गरेर पढायौं । उनीहरू पढे, पखेटा लागेपछि उडाउनै पर्छ । संसार त देख्नै पर्यो ।’

सरस्वतीले खाना पकाउने खाने, मोबाइल हेर्ने, छोरीहरूको खाली समयमा फोनमा बोल्ने, श्रीमान्लाई समयमा औषधि खुवाउने गरी दिन बित्ने गरेको सुनाउँछिन् । ‘पहिला त स्वीटर, गल्बन्दी बुन्थे । अहिले आँखा पनि खासै देख्दिन,’ उनले भनिन्, ‘श्रीमानको हेरचाह पनि गर्नुपर्छ । छोरीहरूले पनि किन दुःख गर्नुपर्यो हामीले हेर्छौं भन्छन्, त्यसैले स्वीटर बुन्न छोडे,’ उनले भनिन् । सरस्वती जेठी छोरी नेपाल फर्केर परिवारसँगै बसुन् भन्ने लाग्ने गरेको सुनाउँछिन् । 

०००

वैदेशिक रोजगारी र बुढ्यौलीमा एक्लोपन नेपाली परिवारहरूको साझा कथा जस्तै बन्न थालेको छ । प्रविधिले दुरी घटाएको छ तर आंगालोको न्यानोपन हजारौं किलोमिटर टाढा छ । यस्तै अनुभूति काठमाडौं टोखामा बस्ने हरि र मीना गुरुङको (नाम परिर्वतन)ले पनि गरेका छ । ६४ वर्षीय हरि र ६१ वर्षीय मीना एक्लै बस्न थालेको ९ वर्ष भयो । उनीहरूका दुई छोरी छन् । एक छोरी ९ वर्ष अगाडि अध्ययनका लागि अष्ट्रेलिया गएकी उतै छिन् । अर्की छोरी भने सन् २०१२ मै अष्ट्रेलिया गएकी र दुई वर्षअघि नेपाल फर्केर विवाहवारी गरिसकेकी छन् । 

सुरूका दिनमा आफ्ना बालबच्चा पनि विदेश पढ्न जाउन् भन्ने सोच आए पनि अहिले नेपालमै बसुन् भन्ने हुने गरेको हरि सुनाउँछन् । ‘त्यतिबेला विदेशमा पढाइ राम्रो हुन्छ । हाम्रा पनि छोराछोरी विदेश पढेर अरुकोभन्दा राम्रो गरुन् । भन्ने उत्साह र खुसी थियो,’ उनले भने, ‘पढाइ सकेपछि र त्यहाँको रहनसहन बुझेपछि उनीहरूमा उतै सेटल हुने, देशै बिर्सिने खालको वातावरण बन्दो रहेछ । त्यसले कता कता खल्लो महसुस हुँदो रहेछ ।’ 

छोरीहरू पालैपालो विदेश गएपछि मीना र हरि बिगत सम्झिँदै दिन बिताइरहेका छन् । ‘पहिला छोरीहरू आँखैअघि थिए । घरमा छुट्टै खालको रमाइलो हुन्थ्यो । एक पछि अर्को गर्दै विदेश गए । अहिले घर शून्य छ,’ उनले भने । उनीहरू विदेश पढ्न गएकाहरू त्यहा सिप सिकेर नेपालमै फर्किएर पेशा, व्यवसाय गरेर बसे हुन्थ्यो भन्ने चाहना राख्छन् । 

हरि र मिनाको दैनिकी प्रायः घरमै बित्छ । बिहान एक–डेढ घण्टा हिँड्छन् र जिम जान्छन् । घर आएर खाजा खाएपछि पत्रपत्रिका पढ्ने गरेको उनीहरू सुनाउँछन् । त्यसपछि घरकै काम, कुखुरापालन र करेसाबारीको काममा समय बित्ने उनीहरू बताउँछन् । छोरीहरूको समय मिल्ने बेलामा फोनमा बोल्ने गरेको हरि सुनाउँछन् । ‘मोबाइल छ र फोनमा जुन समयमा पनि बोल्न सहज भएको छ । फोन लगाउन साथै भ्वाइस म्यासेज, म्यासेस छोड्छन् । हामीलाई त्यति भएपछि ढुक्क हुन्छ,’ उनले भने । 

हरि दिनमा दुई पटक जति छोरीहरूसँग भिडियो कलमा बोल्ने गरेको सुनाउँछन् । ‘ठूली छोरी काममा जाने बेला र फर्केने बेलामा बाटोमा कुरा गर्दै जान्छिन् । नेपालमा भएकी कान्छी छोरीसँग बिहान कुरा हुन्छ,’ उनले भने । 

हरिकी श्रीमती मीनालाई भने, घुँडा दुख्ने समस्या छ । त्यसैले धेरै हिँडडुल गर्न सक्दिनन् । ‘पूजापाठ, घर सफाइमैसमय बित्छ,’ उनले भनिन्, ‘छोरीहरूको खाली समय हुनेबित्तिकै फोन आउँछ । फोनमा बोल्ने, आफन्तहरूसँग भेटघाट गर्ने त्यसरी नै दिन बितेको छ ।’ 

छोराछोरीको सबैभन्दा धेरै अभाव चाडबाड र बिरामी हुँदा खड्किने गरेको मिना सुनाउँछिन् । ‘अहिले त एक छोरी नेपाल आइन् र थोरै सहज भएको छ । पहिला हामी मात्र हुँदा एकैचोटि बिरामी परे छोराछोरी साथमा भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले भनिन् ,‘एक पटक दुवै जना अकुपञ्चर गर्न बेडमा हुँदा छोरीहरू भएको भए हेरचाह गर्थे होलान् भनेर बुढाबुढी कुरा गरेका थियौं ।’

तर त्यतिब्ला आफन्तले निकै सहयोग गरेको उनीहरूको भनाइ छ । ‘हाम्रो परिवार ठूलो भएकाले दाजुभाईका छोराछोरी, भाइबुहारी र भान्जीहरूले अप्ठ्यारो पर्दा सहयोग गर्नुहुन्छ,’ उनले भनिन् । 

विदेशमा रहेकी उनकी छोरी सफ्टवेयर इन्जिनियर हुन् । अहिले नेपालमा भएकी छोरी स्टार्फ नर्स हुन् । दुईपटक विदेश गइसकेका उनीहरू विदेश घुम्नका लागि मात्रै राम्रो भएको सुनाउँछन् । ‘लामो समय विदेशमा बस्न मन लाग्दैन । छोराछोरी काममा जान्छन्,’ उनले भनिन्, ‘बुढाबुढी घरमै बस्नुपर्ने, सार्वजनिक यातायातमा हिँड्न गाह्रो हुने र सधैं छोराछोरीले घुमाउन लैजान नभ्याउने हुँदा तीन महिनाभन्दा बढी बस्न गाह्रो हुदो रहेछ ।’ अध्ययन, रोजगारी र स्थायी बसाइँसराइका लागि विदेशिने नेपालीको संख्या बढ्दै जाँदा नेपालमा एक्लै बस्ने अभिभावकको संख्या पनि बढ्दो रहेको विज्ञहरू बताउछन् । 

                    ०००

सबै अभिभावकले सन्तान विदेश बस्नुलाई एउटै दृष्टिले भने हेरेका छैनन् । 

ललितपुर कुपण्डोलकी ६३ वर्षीया डा. सम्झना ढकालका एक छोरा छन् । उनी केही वर्षयता स्कटल्यान्डमा छन् । छोराको विदेश बसाइलाई स्वाभाविक रूपमा स्वीकार्छिन् । 

सम्झना हरेक दिन संवाद हुने भएर दुरीले खासै असहज नभएको सुनाउँछिन् । ‘छोराबुहारी, नातीनातीनासँग हरेक दिन कुरा हुन्छ । बिहान–साझ नियमित भिडियो कल हुन्छ, सन्देश आदानप्रदान हुन्छ,’ उनले भनिन्, ‘उनीहरूको दैनिक गतिविधि मलाई थाहा हुन्छ, मेरोबारे उनीहरूलाई थाहा हुन्छ । अहिले प्रविधिले संसार नै सानो बनाइदिएको छ । त्यसैले खासै गाह्रो भएको छैन ।’

चाडपर्वको समयमा कहिले सम्झना विदेश जाने त कहिले छोराहरू नेपाल आउने गरेको उनी सुनाउँछिन् । ‘कहिले म उता पुगेर दसैं, तिहारसँगै मनाउँछौं, उनीहरू पनि वर्षमा एकपटक नेपाल आउँछन् । त्यसैले भौतिक दूरी मात्र हो, सम्बन्धमा कहिल्यै दूरीको महसुस भएको छैन,’ उनले भनिन् । 

सुरुवाती दिनमा पढ्न गए पनि अवसर राम्रो पाएपछि त्यहि काम गर्न थालेको सम्झनाले सुनाइन् । ‘उनीहरूले आफ्नै मिहिनेतले करियर बनाएका छन् । कहिले काहीसँगै भएको भए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भनिन्, ‘तर अभिभावकका रूपमा केवल मेरो साथ चाहियो भनेर म स्वार्थी भएर मात्रै भएन् । उनीहरूको भविष्यमा असर पर्ने निर्णय गर्न म चाहन्न । सन्तानको प्रगति नै अभिभावकको सबैभन्दा ठूलो खुसी हो ।’ उनका छोरा अर्थशास्त्री हुन् भने, बुहारी कम्प्युटर इन्जिनियर हुन् । सम्झना आफै पनि अध्ययनको क्रममा वर्षौ विदेश बसेको कारण छोराको निर्णयलाई सहजै बुझ्न सकेको सुनाउँछिन् ।

‘एमबीबीएस पढ्दा वर्षौं भारतमा बसेँ, पछि उच्च अध्ययनका लागि अमेरिका पनि गएँ,’ उनले भनिन्, ‘विवाहपछि पनि श्रीमान् र सानो छोरालाई छोडेर ४ वर्ष अध्ययनका लागि भारत गएँ । त्यसबेला मेरो श्रीमान्, आमा र परिवारले धेरै त्याग गर्नुभएकै थियो । आज म आफ्ना सन्तानका लागि त्यही त्याग दोहोर्याइरहेकी छु ।’ 

उनी हरेक बिहान हिँडडुल, दिउँसो पुस्तक पढ्ने, समाचार हेर्ने, साथीभाई र परिवारसँग फोनमा कुरा गरेर समय बित्ने गरेको सुनाउँछिन् । ‘सामाजिक सञ्जालले पूराना साथीहरूसँगको सम्बन्ध पनि जोगाइराखेको छ । मेडिकल पढ्दाका साथीहरू अहिले बेलायत, अमेरिका, अस्ट्रेलियालगायत देशमा छन् । तर हामी नियमित सम्पर्कमा छौँ,’ उनले भनिन्, ‘उमेर बढ्दै जाँदा मानिसलाई साथ र संवादको महत्व अझ बढी महसुस हुँदोरहेछ । त्यस अर्थमा प्रविधिले हाम्रो पुस्तालाई पनि धेरै सहज बनाइदिएको छ ।’

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully