ढोरपाटनका ५० भन्दा घोडामा पर्यटक डुलाउने व्यवसायीमध्ये आशा एक्ली हुन्। ६ वर्षदेखि उनी पर्यटकलाई बुकीपाटन, निसेलढोर, जलजला र ढोरपाटन उपत्यका घुमाउँदै आएकी छन्।
What you should know
बागलुङ — बिहान ५ बज्दै थियो। नजिकैको होमस्टेमा बसेका पर्यटकले बुकीपाटन घुम्न घोडा चाहिएको भन्दै फोन गरे। ढोरपाटन नगरपालिका–७ की २६ वर्षीया आशा विक हतारिँदै उठिन्। घोडालाई चना र उसिनेको मकै खुवाइन्, पानी दिइन्। फापरको रोटी, आलुको तरकारी र एक बोतल पानी झोलामा राखिन्। बिहान ६ बज्न नपाउँदै घोडा तयार पारेर उनी पर्यटक लिन होमस्टेतर्फ लागिन्।
दिनभर पर्यटकलाई घोडामा राखेर बुकी घुमाउनुपर्ने भएकाले उनले बाबु पानबहादुरलाई खबर गरिन्। छिमेकी भूमिराज विक, मैतराम विक र टेककुमार विकसँगै उनी पाखाथर सामुदायिक होमस्टे पुगिन्। त्यहाँबाट पर्यटकलाई घोडामा चढाएर टोली बुकीपाटनतर्फ लाग्यो।
ढोरपाटनका ५० भन्दा बढी घोडामा पर्यटक डुलाउने व्यवसायीमध्ये आशा एक्ली महिला हुन्। ढोरपाटन नगरपालिका–७ स्थित ज्ञानोदय माविबाट एसईई र उत्तरगंगा माविबाट कक्षा १२ उत्तीर्ण गरेकी उनले जागिरको बाटो रोजिनन्। बरु बाबुबाजेकै पेसालाई निरन्तरता दिने निर्णय गरिन्। पछिल्लो ६ वर्षदेखि उनी घोडामा पर्यटक राखेर बुकीपाटन, निसेलढोर, जलजला र ढोरपाटन उपत्यका घुमाउँदै आएकी छन्।
४ वर्षअघि ६० हजार रुपैयाँमा किनेको उनको सेतो घोडा अहिले करिब ८० हजार रुपैयाँ पर्छ। घोडा किन्न उनले छिमेकी होटल व्यवसायीसँग ऋण लिएकी थिइन्। त्यही ऋण तिर्न दैनिक घोडाचढी गर्नुपरेको उनी सम्झिन्छिन्। अहिले ऋण चुक्ता गरेर घोडा आफ्नै बनाइसकेकी छन्।
नजिकका गन्तव्य घुमाउनेदेखि बुकीपाटन, गार्पा र टिकाधारासम्म लैजाने पर्यटकको माग अनुसार उनी कहिले एक्लै त कहिले अन्य घोडाचढीसँग टोली बनाएर यात्रामा निस्किन्छिन्। केही पर्यटकले अघिल्लो दिन नै सम्पर्क गरेर तयारी अवस्थामा रहन आग्रह गर्छन् भने कतिपयले बिहानै योजना बनाउँछन्। पर्यटकको चाहना अनुसार ढोरपाटन उपत्यका, निसेलढोर, जलजला वा बुकीपाटनमध्ये गन्तव्य तय हुन्छ।
ढोरपाटन उपत्यकाबाट उकालो चढेपछि पुगिने बुकीपाटन ढोरपाटन क्षेत्रकै लोकप्रिय गन्तव्य हो। ढोरपाटन उपत्यकासम्म मात्रै सडक पुगेको छ। त्यसपछि सिकार आरक्षभित्र पैदलमार्ग मात्रै छन्। स्थानीयले यही बाटो हुँदै भेडाबाख्रा र चौपाया चरनका लागि बुकी लैजान्छन्।
करिब ४ हजार मिटर उचाइमा रहेको बुकीपाटनसम्म पैदल पुग्न कठिन हुने र धेरैलाई लेक लाग्ने जोखिम हुने भएकाले अधिकांश पर्यटक घोडाकै सहारा लिन्छन्। बिहान ६ बजे यात्रा सुरु गरेपछि राति अबेर मात्रै फर्किन सकिन्छ। त्यसैले आशाले आफ्ना झोलामा नुन, अदुवा र टिमुरको अचार वा धुलो चटनी पनि राख्ने गरेकी छन्। 'लेक लागेमा पर्यटकलाई यही खान दिन्छु,' उनले भनिन्। यस्तो उपाय उनलाई छिमेकी भूमिराज विकले सिकाएका हुन्।
बुकीपाटनसम्मको घोडा सवारीको शुल्क ४ हजार ५ सय रुपैयाँ तोकिए पनि प्रायः ४ हजार रुपैयाँमै सेवा दिने गरिएको छ। सिकार आरक्ष कार्यालय र विमानस्थल वरपर घुम्न २ सय रुपैयाँ, ढोरपाटन उपत्यका वरिपरि घुम्न १ हजार र निसेलढोरसम्म जान १ हजार ५ सय रुपैयाँ लाग्छ।
'घोडा चढ्ने धेरैजसो पर्यटक टिकटक र भिडियो बनाउन चाहनुहुन्छ,' आशाले भनिन्, 'उहाँहरूले चाहेको ठाउँमा लगिदिने, फोटो र भिडियो खिचिदिने काम पनि गर्छौं।' उनका अनुसार बुकीपाटन जाने अधिकांश पर्यटक साहसिक यात्रा रुचाउने हुन्छन्।
बुर्तिवाङ–ढोरपाटन सडक खुलेपछि यहाँ पर्यटकको संख्या बढ्न थालेको हो। सडक विस्तारसँगै पर्यटक बढेको ढोरपाटन सिकार आरक्षको तथ्यांकले देखाउँछ। यसअघि सडक नपुग्दा ढोरपाटन पुग्ने सबै यात्रु घोडामै यात्रा गर्थे। पछिल्लो आठ वर्षदेखि घोडाचढी व्यवसाय व्यवस्थित रूपमा सञ्चालन हुन थालेको हो। नगरपालिकामा दर्ता भएर व्यवसाय सञ्चालन गर्ने घोडाचढीहरूले करसमेत तिर्न थालेका छन्।
अहिले वर्षातमा सडक अवरुद्ध हुँदा, जनैपूर्णिमाको ढोरबराह मेलाका बेला तथा आलु ढुवानी गर्न पनि घोडाकै प्रयोग हुन्छ। कुनै समय पाल्पा, रिडी, तम्घास र बुटवलबाट दैनिक उपभोग्य सामग्री घोडामै बोकेर ढोरपाटन ल्याइन्थ्यो। 'पहिले सामान बोक्न घोडाको भर पर्थ्यो, अहिले गाडीले गाउँमै ल्याइदिन्छ,' स्थानीय चकबहादुर अदैले भने, 'अब घोडा मुख्यतः पर्यटक घुमाउने र मनोरञ्जनका लागि प्रयोग हुन्छ।'
ढोरपाटन सिकार आरक्ष स्थापना भएपछि वार्डेन, कर्मचारी, प्रमुख जिल्ला अधिकारीलगायत सरकारी अधिकारीसमेत घोडामै यात्रा गरेर पुग्ने गर्थे। अहिले सडक पुगे पनि बुकी र अन्य पदमार्गमा घोडाको विकल्प छैन।
आशाका छिमेकी मैतराम विक र टेककुमार विक पनि लामो समयदेखि घोडाचढी व्यवसायमा छन्। उनीहरूका अनुसार जिल्लाबाट आउने नेता, कर्मचारीदेखि हिँड्न नसक्ने सर्वसाधारणसम्मलाई घोडामा ढोरपाटन पुर्याउने गरेका छन्। 'पढाइ सकिएपछि जागिर पाइएन,' आशाले भनिन्, 'बरु बाबुबाजेको पेसा समातेर आफ्नै कमाइ गरिरहेकी छु। महिलामध्ये म मात्रै यो पेसामा छु।'
उनका अनुसार घोडाचढीबाट मासिक ४० हजार रुपैयाँभन्दा बढी आम्दानी हुन्छ। घोडाको दाना, औषधि र स्याहारमा खर्च धेरै लागे पनि परिवार चलाउन र केही बचत गर्न सकेको उनी बताउँछिन्।
घोडा तीन वर्षको भएपछि हल्का भारी बोकाएर दाउन सुरु गरिन्छ। करिब चार वर्ष पुगेपछि मात्रै मानिस बोक्न योग्य हुने घोडाचढी व्यवसायी भूमिराज विक बताउँछन्। '४ देखि २२ वर्षसम्म घोडाले नियमित काम गर्छ,' उनले भने, 'राम्रो स्याहार र आराम मिल्यो भने २४ वर्षसम्म पनि काम गर्न सक्छ।' उनका अनुसार चार वर्ष पुगेपछि घोडाको बन्ध्याकरण गर्नुपर्छ। 'नत्र घोडी देखेपछि उफ्रिन्छ र चढेको मान्छे खसाल्न सक्छ,' उनले भने।
ढोरपाटनमा अहिले सयौं घोडा छन्। तीमध्ये पर्यटक घुमाउने ५० जना व्यवसायी मात्रै नगरपालिकामा सूचीकृत छन्। उनीहरूले वार्षिक ५ सय रुपैयाँ कर तिरेर सदस्यता नवीकरण गर्छन्। टेककुमार विक अध्यक्ष रहेको घोडाचढी सञ्चालक समितिकी कोषाध्यक्ष आशा हुन्। घोडालाई आवश्यक भिटामिन र औषधिमा नगरपालिकाको पशु विकास शाखाले पनि सहयोग गर्दै आएको उनले बताइन्।
