भुइँकाफल टिप्ने, देउडा खेल्ने र सामूहिक भोज गर्दै सिँजालीहरूले असारको अन्तिम दिन पुर्ख्यौली परम्परा झल्काउने सांस्कृतिक पर्व मनाएका छन् ।
What you should know
जुम्ला — बिहानको घाम पाटनसम्म आइपुगेको थिएन। गाउँका गोरेटाहरूमा चहलपहल सुरु भइसकेको थियो। कसैले निगालोबाट बुनेको डोको बोकेका थिए, कसैले प्लास्टिकको झोला। युवतीहरू हाँस्दै उकालो चढ्दै थिए। युवाहरू उनीहरूलाई पछ्याइरहेका थिए। सबैको गन्तव्य एउटै थियो-जंगलको बीचमा राताम्मे भएर पाकेको भुइँकाफल टिप्ने ।
जुम्लाको सिँजा क्षेत्रमा असारको अन्तिम दिन बिहान हरेक वर्ष यस्तै देखिन्छ। यो केवल जंगली फल टिप्ने दिनमात्र होइन, पुस्तौँदेखि जोगिएको संस्कृतिसँग भेट हुने दिन हो। असारकाे अन्तिम दिन यहाँका युवायुवती पाटन गएर देउडा खेल्ने, चड्किला गाउने गर्छन् । गीतबाटै मायाप्रेमका कथा पोख्छन्। कतिपय प्रेमकथा यहींबाट सुरु हुने गर्छन्। यसबाटै सुरु भएका कतिपय सम्बन्ध विवाहसम्म पुगेको बुढापाकाले बताउने गर्छन्।यो दिन काफल टिप्ने र खानेसँगै सम्बन्ध गाँस्ने दिनका रूपमा पनि परिचित बनेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।
सिँजा, हिमा र कनकासुन्दरीका धेरै गाउँमा अहिले पनि असारको अन्तिम दिन काफल नखाई महिनाको बिदाइ हुँदैन भन्ने विश्वास छ। जेठको मध्यदेखि पाक्न थालेको काफल यही बेला सबैभन्दा स्वादिलो हुन्छ। असार अन्तिम दिनको काफल छुट्यो भने अर्को वर्ष कुर्नुपर्ने कथन यहाँ प्रचलित छ।
यो दिन पाटनमा काफल, दही, दूध, जुम्ली मार्सीको खिर, मासु, पुरी र तरकारीको सामूहिक भोज पनि हुने गरेको छ। यही दिनदेखि गाईको गलामा पहिलोपटक घाँडो बाँध्ने चलन पनि छ। यसै दिन दिनदेखि लेकतिर गोठालो जाने दैनिकी पनि सुरु भएको मानिन्छ।
असारको अन्तिम दिन वर्षा हुनुलाई पनि यहाँ शुभ मानिन्छ। पाटनमा पर्ने सिमसिमे झरीमा भिज्दै देउडा खेल्नेहरूको अनुहारमा थकाइभन्दा बढी खुसी देखिने गरेको स्थानीय सुनौलो क्षेत्री बताउँछन् । 'हामी काफल टिपेर असारलाई बिदाइ गर्छौं। पानी परेपछि साउन आएको मानिन्छ। यही दिन नयाँ मौसम सुरु भएको जस्तो लाग्छ,' उनले भने ।
सिँजा–६ का मानबहादुर बुढाले जंगलमा चराचुरुङ्गीको आवाज पनि यो संस्कृतिसँग जोडिएको बताए। चराले कराउन थालेपछि काफल पाकेको थाहा हुन्छ। 'जंगल राताम्मे हुन्छ, चरा पनि रमाउँछन्, मानिस पनि,' उनले भने । बुढापाकाका अनुसार ज्वरो, घाँटी दुख्ने, दम वा खानामा अरुचि हुँदा यो काफल उपयोगी मानिन्छ। आधुनिक विज्ञानले सबै दाबी पुष्टि नगरे पनि स्थानीयले यसलाई प्रकृतिको अमूल्य उपहार मानेर सम्मान गरेका छन्।
पछिल्लो पटक समयसँगै धेरै कुरा फेरिएका छन्। गाउँका धेरै युवा अध्ययन र रोजगारीका लागि बाहिर गएका छन्। पहिलाजस्तो हरेक घरमा जुम्ली मार्सीको खिर पाक्दैन। केही पाटन पहिलेजस्तो भरिभराउ पनि देखिँदैनन्। 'तर परम्परा अझै बाँचेको छ,' मानबहादुरले भने।
यही पहिचान जोगाउन सिँजा गाउँपालिकाले काफल खाने दिनलाई औपचारिक रूपमा ‘काफल दिवस’ का रूपमा मनाउन थालेको छ। गाउँसभाले यसलाई संस्थागत गरेपछि हरेक वर्ष यो परम्परा अझ व्यवस्थित रूपमा मनाइँदै आएको अध्यक्ष धितालले जानकारी दिए।
यस वर्ष पनि गोवानी, दमाईमारे, डिके, दिलौरी, माजखर्क र चौरीमेलका पाटनमा सयौँ स्थानीय भेला भए । यी ठाउँमा देउडाको धु्न गुञ्जियो, चड्किला घन्किए र काफल टिप्न लगिएका भाडा भरिए। साँझ घर फर्कंदा हरेकका हातमा काफलसँगै अनुहारमा मुस्कान र अर्को असारमा यसैगरी भेला हुने आशा ।
सिँजा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू पनि काफल खान पाटन पुग्ने गर्छन्। यसले पाटनको शोभा बढ्नुका साथै स्थानीय परम्परा जोगाउने हौसला मिलेको स्थानीयले बताए। अध्यक्ष धितालले आगामी दिनमा काफल खानेसँगै काफलको संरक्षण गर्ने विषयलाई समेत प्राथमिकताका साथ अघि बढाइने बताए। 'यो हाम्रो संस्कृति हो, पुर्खाले छाडेर गएको चिनो हो,' धितालले भने, 'यसको उत्थान गर्दै अझ परिमार्जित बनाउँदै लैजाने तयारी छ।'
