थाइल्यान्डमा प्रख्यात भिक्षु सुगन्ध

चिबर भेषमा कारागारमा मात्रै होइन, बेलायतको अक्सफोर्ड र अमेरिकाको सान्टा क्लारालगायत विश्वविद्यालयमा पढाउने भिक्षु सुगन्ध अर्थात् अनिलमान शाक्यले बेलायतकै ब्रुनेल विश्वविद्यालयबाट सोसल एन्थ्रोपोलोजीमा पीएचडी गरेका छन् । थाई राजाको छात्रवृत्तिमा पढेका उनी त्यहाँको भिक्षु संघको उच्च ओहदामा पुग्ने विरलै व्यक्तित्वमा गनिन्छन् ।

असार ३०, २०८३

मनोज पौडेल

Famous monk fragrance in Thailand

लुम्बिनी — शान्ति, करुणा र मैत्रीका अनुयायी ६६ वर्षीय अनिलमान शाक्य बुद्ध धर्म, संघ र गुणका ज्ञाता मानिन्छन् । पहेँलो बस्त्र (चिबर) पहिरिएको देखेपछि सबैले भिक्षु मात्र भन्ठान्छन् । तर, उनको परिचय यतिमात्रै छैन । भिक्षु पहिरनमा पढाउने उनले विद्यावारिधि पूरा गरेका छन् । बेलायतको अक्सफोर्ड र अमेरिकाको सान्टा क्लारालगायत विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत छन् । 

नेपालमा जन्मिए पनि थाइल्यान्डमा बसोबास रहेका उनी थेरबादी बुद्ध धर्मका कहलिएका लेखक, व्याख्याता र अन्वेषक हुन् । भिक्षु नाम सुगन्ध हो । उनी थाइल्यान्डमा फ्रा ब्रह्मा शाक्यवंश विशुद्धि शाही धार्मिक उपाधिबाट विभूषित छन् । थाइल्यान्डमा सम्मानित र प्रतिष्ठित भिक्षुका रूपमा चिनिन्छन् । १४ वर्षको उमेरमा श्रामनेर भिक्षु बनेका उनको जीवनमा थाइल्यान्ड जाने अवसर ‘टर्निङ प्वाइन्ट’ बन्यो । सुरुमा उनका दाजु डा. केशवमान शाक्य थाइल्यान्डका लागि छनोटमा परेका थिए । तर, केशवमानले एसएलसी बोर्ड टप गरेपछि छात्रवृत्तिमा भारत पढ्न जाने मौका पाए । त्यसपछि अनिलका लागि थाइल्यान्डको ढोका खुल्यो । लगनशील, जिज्ञासु र अध्ययनशील उनले सुरुमै थाई संघमा गएर काम गर्ने मौका पाए । 

त्यसक्रममा थाई संघ राजा/उपसंघ राजासित सामीप्य बढ्यो । विनयशील बनेर काम गर्दै जाँदा संघ राजाकै सहायक सचिव भएर काम गर्न थाले । त्यसपछि एकाएक उनको उचाइ बढ्यो । अहिले थेरबादी बुद्धिज्मका व्याख्याता छन् । संयुक्त राष्ट्र संघअन्तर्गत दिगो विकास थिंक ट्यांकका रूपमा काम गर्छन् । थाई संघको उच्च तहमा पुग्ने पहिलो विदेशी नागरिक हुन् । थाई संघका प्रमुख संघ राजा र उपसंघ राजापछि उनी तेस्रो वरीयतामा छन् । सन् १९७५ मा १५ वर्षको उमेरमा थाइल्यान्ड गएका उनी ५१ वर्षदेखि त्यहीँ छन् । Famous monk fragrance in Thailandथाइल्यान्डको कारागारका कैदीबन्दीलाई समाजमा कसरी पुनर्स्थापना हुने भन्नेबारे शिक्षा दिँदै  भिक्षु सुगन्ध ।  

सन् १९७२ थाइल्यान्डका उपसंघ राजा यान संगर बंगलादेशमा बाढीले बौद्ध धर्मावलम्बीलाई पारेको असरबारे बुझ्न आएका थिए । त्यहाँबाट फर्किने क्रममा नेपाल भ्रमणमा आए । नेपालमा भिक्षु अमृतानन्दलाई भेटे । अनिलमानका अनुसार त्यसक्रममा उपसंघ राजाले अमृतानन्द भिक्षुसित ‘बुद्ध जन्मे हुर्केको ठाउँमा बुद्ध धर्म, शिक्षा, देशनाको राम्रो अवस्था नभएको सुनेको र त्यसका लागि के सहयोग गर्न सक्छु ?’ भनेर सोधे । भेटघाटका क्रममा उपसंघ राजाले ‘थाइल्यान्ड नेपालप्रति कृतज्ञ रहेको र नेपाली हावापानी, माटोमा जन्मेका शान्तिका अनुयायी बुद्धको शिक्षाको अनुशरण गरेरै थाइल्यान्ड उन्नति प्रगति गर्ने मुलुकमा स्थापित भएको एवं बुद्ध धर्मको कृपा र नेपालको सदासयताले थाइल्यान्डको शिर विश्व मञ्चमा उँचो बन्दै गएको’ बताए । 

‘यस्तोमा केही सहयोग गर्न सक्छु कि !’ भनेर भिक्षु अमृतानन्दसित थप सोधे । त्यसबेला भिक्षु अमृतानन्दले दुईवटा कुरा बताएको अनिलमानले यस संवाददातासँगको कुराकानीमा सुनाए । ‘पहिलो, नेपालमा थाई धर्मदूत पठाएर बुद्ध शिक्षालाई गाउँबस्तीमा फैलाउन र अर्को केही नेपाली युवालाई थाइल्यान्डमा लगेर बुद्ध धर्म, शिक्षा र ज्ञान दिन आग्रह गरे,’ उनले भने । उपसंघ राजाले दोस्रो माग तत्काल पूरा गर्ने प्रतिबद्धता जनाए भने पहिलो माग थाई संघमा लगेर राख्ने बताए ।

‘त्यसपछि नेपालबाट थाइल्यान्ड जाने व्यक्तिका रूपमा म छनोटमा परेको हुँ,’ अनिलमानले भने । नौ महिना नेपालमा तालिम लिएर अनिलसँगै तीन जना नेपाली थाइल्यान्ड गए । अनिललाई उपसंघ राजा यान संगरले आफैंसित राखे । उपसंघ राजा यान संगर थाई राजा भूमिवल अदुल्यादेजका राजगुरु थिए । अनिलसँगै गएका दुई जनामध्ये एक जना थाइल्यान्डमै विवाह गरेर बसे । अर्का व्यक्ति नेपाल फर्किए । टाठाबाठा र आज्ञाकारी अनिललाई गुरुले सधैं समीपमा राख्थे । विहारमा राजा, युवराज, युवराज्ञी, प्रधानमन्त्री र मन्त्री लगायत नियमित आई राख्थे । बारम्बार भेट हुँदा अनिल सबैको नजरमा परे । 

अध्ययनमा अब्बल 

विहारमै रहेको महामुकुट बुद्धिष्ट विश्वविद्यालयबाट अनिलमानले सन् १९८० मा स्नातक उत्तीर्ण गरे । त्यही वर्ष थाइल्यान्डका १९ औं सर्वोच्च धर्मगुरु स्व. फ्रा सोमडेट न्याना संभार उपसंपदा लिएर पूर्ण भिक्षु बने । त्यसपछि नेपाल फर्किने चाहना राख्दा गुरुले दिएनन् । ‘मलाई आफ्नै विहारको असिस्टेन्ट सेक्रेटरी बनाइयो । त्यसले चौतर्फी सम्पर्क समन्वय बढ्यो,’ अनिलमानले सुनाए । १० वर्ष त्यहीँ काम गरे । नेपालका प्रतिष्ठित भिक्षु सुदर्शनका अनिल चेला थिए । अनिललाई उनले पुरातत्त्व पढ्न उत्प्रेरित गरेका थिए । अध्ययनशील अनिललाई थाई राजगुरुले थप अध्ययनका लागि मुलुकबाहिर जाने अनुमति दिए । कोलम्बो प्लानअन्तर्गत पुरातत्त्व अध्ययनका लागि भारतको कलकत्तामा छात्रवृत्ति पाए । विश्वविद्यालय हेर्न गए । तर, भिक्षु बस्ने वातावरण राम्रो नभएको र विनय नियमअन्तर्गत उत्खनन गर्न नपाउने भएपछि पुरातत्त्व पढ्ने इच्छा साकार भएन । Famous monk fragrance in Thailand

अमेरिकाका १० र बेलायतका ५ विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएकामा सबैबाट सकारात्मक प्रत्युत्तर आयो । सुरुमा गुरुले जान नदिने भने । संझाइबुझाइ गरेर मनाएपछि गुरु छात्रवृत्ति दिन राजी भए । आफू पढ्न जान लागेकाले विहारको सचिवालयमा नरहने जानकारी राजप्रासादमा पठाए । ‘तर, उताबाट नजान आदेश आएपछि चिन्ताले थलिएँ,’ भिक्षु अनिलमानले भने, ‘फेरि गुरुमार्फत राजदरबारमा अनुनयविनय गरेँ । त्यसपछि पढ्ने अनुमतिका लागि एउटा गुरु र अर्को आफ्नातर्फबाट दरबारमा निवेदन पठाएँ । दरबारबाट फोन गरेर सोधखोज भयो । यसरी राजा भूमिवल अदुल्यादेज पूर्ण छात्रवृत्ति दिन तयार भए ।’ 

विशेष गरी शाही छात्रवृत्तिमा राजाले नै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा पठाए । विहार छाडेर क्याम्ब्रिजमा अध्ययन गरेर मास्टर्स अफ फिलोसोफी (एमफिल) उत्तीर्ण गरे । त्यसअघि थाइल्यान्डबाट नेपाल आई त्रिभुवन विश्वविद्यालयबाट एन्थ्रोपोलोजीमा स्नाकोत्तर पूरा गरिसकेका थिए । बेलायतकै ब्रुनेल विश्वविद्यालयबाट सोसल एन्थ्रोपोलोजीमा फीएचडी गरे । बौद्धिक व्यत्तृत्व, ज्ञान, सीप र क्षमताको फ्रोफाइल बनेपछि अनिलमानलाई अमेरिकाबाट पढाउन प्रस्ताव आयो । तर, राजाको गुन तिर्न सन् २००० मा थाइल्यान्ड नै फर्किए । विदेशमा सिकेको ज्ञान, शिक्षा र सीप प्रयोग गर्दै थाइल्यान्डमा शिक्षा दिन थाले । त्यसपछि उनको ख्याति अझ बढ्दै गयो । 

अहिले भिक्षु अनिमान शाक्य थाइल्यान्डकै प्रसिद्ध चुलालोङकोन र महिदोल विश्वविद्यालयमा पढाउँछन् । थाइल्यान्डकै महामुकुट र वर्ल्ड बुद्धिष्ट युनिभर्सिटीका सल्लाहकार हुन् । बुद्ध दर्शन र शिक्षा मात्र नभएर मानव शास्त्र, अर्थशास्त्र र कानुन लगायत विषयमा भिजिटिङ प्रोफेसर छन् । अमेरिकाको सान्टा क्लारा र क्यालिफोर्निया तथा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा वर्षको दुई/चार पटक पढाउन पुग्छन् । एक वर्ष अमेरिका र अर्को वर्ष बेलायतमा स्नातकका विद्यार्थीलाई पढाउँछन् । थाइल्यान्डमै न्यायाधीशलाई बेलाबेला कक्षा लिन्छन् । थाइल्यान्डमा सरकारी कर्मचारी पढ्ने स्टाफ कलेजमा समेत उनी बेलाबेला पढाउन पुग्छन् । थाइल्यान्डमा निर्णायक तहमा काम गर्ने उच्च अधिकारीलाई शिक्षा दिन्छन् । अमेरिकाको सान्डियागोमा १ हजार ५ सय विजनेस सीईओलाई कक्षा दिएका छन् । श्रीलंका र म्यानमारका विश्वविद्यालयमा थेसिस एक्जामिनेसनका लागि गइरहन्छन् । 

उच्च तहका भिक्षु 

थाइल्यान्डको महामुकुट विश्वविद्यालयको डेपुटी रेक्टर र वर्ल्ड बुद्धिष्ट विश्वविद्यालयको रेक्टर भएर पनि काम गरे अनिलमानले । ६० वर्षमा अवकाश भएपछि थाइल्यान्डको सर्वोच्च निकाय थाई भिक्षु संघको सचिवालयमा बसे । उनलाई प्रशासनिक काम गर्ने जिम्मा तोकियो । अहिले थाई संघको उच्च तहमा पुग्ने पहिलो विदेशी नागरिक अनिलमान बनेका छन् । थाई संघका प्रमुख संघ राजा र उप संघ राजापछि उनी तेस्रो वरीयतामा छन् । थाइल्यान्डमा ४० हजार भन्दा बढी विहार छन् । तिनलाई कानुनी दायरामा ल्याउने, नीति नियम बनाउने, नियमन गर्ने काम संघले गर्छ । भिक्षु संघको सचिवालयमा चार वर्ष काम गरेपछि अहिले सल्लाहकार भएका छन् । अहिले थाई संघअन्तर्गत नर्थका आठवटा अञ्चल प्रमुखका रूपमा उनले काम गरिरहेका छन् ।Famous monk fragrance in Thailand

‘थाई संघको निर्यायक तहमा विदेशीको पहुँच कठिन विषय हो,’ भिक्षु अनिलमानले भने, ‘मेरो ज्ञान, इमान्दारी, लगाव र नेपालप्रतिको सद्भावका कारण संघको उच्च तहमा पुग्न सकेँ ।’ भर्खरै थाइल्यान्डको साओ सेमा धर्मचक्रजस्तो उच्च पदक प्राप्त गरेका छन् । महारानी राजकुमारी महाचक्री सिरिन्धोर्नले उनलाई उक्त पदक प्रदान गरेकी हुन् । थाइल्यान्डको संस्कृति मन्त्रालयअन्तर्गत धार्मिक मामिला विभागद्वारा प्रदान गरिएको प्रतिष्ठित सम्मान हो यो । यस्ता धेरै पदक, विभूषण र सम्मान उनले प्राप्त गरेका छन् ।

गत जुन ११ गते दिवंगत भएकी ४७ वर्षीया थाई युवराज्ञी बज्रकितियाभाको अपराध रोकथाम, जेलका कैदीबन्दी सुधार योजना र जीवनयापन सहज बनाउने परियोजनाका उनी प्रमुख सहयोगी थिए । थाई युवराज्ञीको आग्रहमा जेलका कैदीबन्दीका लागि उनले कग्नेटिभ ट्रान्सफरमेसन थेरापी भनेर नयाँ अवधारणाको विकास गरेका छन् । ज्ञान र बुझाइका लागि मानसिक प्रक्रियासँग सम्बन्धित नयाँ अवधरणा ल्याए ।

थाइल्यान्डमा संसारभरका कैदीबन्दी छन् । कुनै एक ठाउँलाई लक्षित गरेर मात्र परामर्श योजना सफल हुँदैन । त्यसैले विविधता राखेर परामर्श योजना बनाए । त्यसमा पनि मृत्युदण्ड सजाय पाएका र जघन्य अपराध गरेकालाई लक्षित गरेर कार्यक्रम गरे । उनीहरू कसरी जीवनयापन गर्ने र आफूलाई सुधार गर्दै सामान्य अवस्था फर्केर समाजमा कसरी घुलमिल हुने भन्नेबारेमा कक्षा लिन्छन् । थाई कारागार कानुन मन्त्रालयअन्तर्गत छन् । उनलाई जेलमा लैजाने ल्याउने र परामर्शका लागि मन्त्रालयले समन्वय गर्छ । उनी साताको एक दिन बिहान ९ देखि ३ बजेसम्म जेलभित्रै बसेर परामर्श दिन्छन् । केन्द्रीय कारागारमा रहेका विदेशी महिला कैदीबन्दीका लागि महिनामा एकपटक र बाँकी एक साता मृत्युदण्ड पाएका, क्रुर र जघन्य अपराध गरेका कैदीबन्दीसित परामर्श गर्छन् । 

‘कैदीबन्दीका बेडसम्म पुग्दा जोखिम र डरत्रास हुन्थ्यो,’ उनले भने, ‘तर, हिम्मत गरेर पुग्थेँ । संसारकै छैटौं नम्बरमा पर्ने क्यानाडाका सिरियस किलरलाई पनि मोटिभेसन गर्न सफल भएँ ।’ ७ हजारभन्दा बढी कैदीबन्दी रहेकाले उच्च सुरक्षा रहेको रायोङ सेन्ट्रल कारागारमा समेत उनी नियमित कग्नेटिभ ट्रान्सफरमेसन थेरापीका लागि जान्छन् । २० वर्षभन्दा बढी समयदेखि विभिन्न कारागारमा रहेका कैदीबन्दीको जीवनयापनलाई सहज, उनीहरूको सोचविचारमा परिवर्तन र जेलबाट छुटेपछि समाजमा घुलमिल भएर बस्न सक्ने बनाएर राम्रो काम गरेकाले बीबीसी थाइल्यान्डले समाचार प्रसारण गरेको थियो । सन् २०२० तिर बेलायतबाटै बीबीसीको टोली आएर टेलिभिजन र रेडियोका लागि रिपोर्ट प्रसारण गरेपछि आफ्नो कामले विश्वव्यापी चर्चा पाएको अनिलमानले सुनाए । ‘थाइल्यान्डमा गरिएको एक अध्ययनअनुसार कारागारबाट रिहा भएका एकतिहाइ व्यक्ति तीन वर्षभित्र अपराधमा संलग्न हुन्छन् भन्ने देखिएको छ,’ उनले भने, ‘मैले कक्षा दिएका १० जनामध्ये ९ जना पुनः जेल जानु नपरेको पाएको छु ।’

शाही विहारका उपप्रमुख

उनी बैंककस्थित शाही वाट वावोनिबेट विहारका उपप्रमुख (असिस्टेन्ट एबर्ड) हुन् । प्रतिष्ठित उक्त शाही विहार राजसंस्थाका लागि महत्त्वपूर्ण मानिन्छ । त्यहाँका राजा र युवराज बौद्ध शिक्षा र प्रशिक्षण प्राप्त गर्छन् । त्यहाँ रहेका भिक्षुको सेवा गर्न नियमित पुग्छन् । धेरैजसो संघ राजा पनि यहीँबाट बन्छन् । लुम्बिनीप्रति थाईहरूको आस्था र सम्मान उच्च रहेको र लुम्बिनीको माटो छुँदा गर्व महसुस गर्ने भएकाले लुम्बिनीको सम्झना गर्दै थाइल्यान्डमा पार्क बनाइएको अनिलमानले सुनाए ।

‘बैंककको सबैभन्दा ठूलो पार्क पनि यही हो । लुम्बिनीमा गजबको आध्यात्मिक ऊर्जा संचय गर्न पाइन्छ भन्ने जनविश्वास थाइल्यान्डबासीमा छ,’ उनले भने, ‘त्यही भएर लुम्बिनी आउन उनीहरू लालायित देखिन्छन् । लुम्बिनी दर्शन गरे धार्मिक पुण्य प्राप्त हुने विश्वास छ । करुणा, मैत्री र भातृत्व भावका लागि उनीहरू लुम्बिनी आउन मरिहत्ते गर्छन् ।’ उनका अनुसार थाइल्यान्डका धेरै मानिस लुम्बिनी र कपिलवस्तुको माटो छुने इच्छा राख्छन् । Famous monk fragrance in Thailand

अहिले विश्वमा अशान्ति र द्वन्द्व बढिरहेका बेला लुम्बिनी आएर विश्व शान्तिको कामना गर्न चाहन्छन् । बुद्ध सम्बन्धित चार धाम लुम्बिनी, सारनाथ, बौद्धगया र कुशीनगर पुग्न सकेमा पुण्यलाभ र सुखी भइने उनीहरूमा विश्वास छ । तीन महिना वर्षावास बस्ने थाइल्यान्डमा कर्मचारीलाई चार महिना तलब सहित बिदा दिने प्रचलन छ । जीवनमा एक पटक थाई नागरिक कम्तीमा १५ दिन भिक्षु बन्नुपर्ने प्रचलन छ ।

नेपाली नागरिक थाई संघको नजरमा परेर राजाकै छात्रवृत्तिमा पढेर थाइल्याडमा सम्मानित र प्रतिष्ठित पदमा पुग्नु गर्वको कुरा भएको लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्री महास्थवीरले बताए । ‘स्वर्गीय राजा भूमिवल अदुल्यादेजसँग नजिक भएर काम गर्दा उनका छोरा तथा अहिलेका राजा वजिरलोङकोर्नसँग राम्रो चिनजान छ,’ उनले भने, ‘अनिलको निष्ठा र लगनका कारण उनी अघोषित रूपमा राजाका सल्लाहकार भएर काम गरिरहेका छन् ।’ बर्सेनि थाई सरकारबाट ठूल्ठूला सम्मान पाउँछन् ।

सुगन्ध अर्थात् अनिलमानले थाइ राज–परिवारको धर्म उपदेशक (धार्मिक सल्लाहकार)का रूपमा काम गर्न पाउनु नेपालीका लागि उच्च सम्मान र गर्वको विषय भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु सिरी वजिरले बताए । ‘उनी संसारभर हुने ठूला धम्म देशना गर्न पुग्छन्,’ उनले भने, ‘यसले नेपाल र नेपालीको छाती चौडा हुन्छ ।’

अभिलेखमा फरक मत

आफू मानवशास्त्री भएको र मानव विज्ञानका धेरै कुरा अन्वेषण अनुसन्धान गरेकाले लुम्बिनीको अशोक स्तम्भमा रहेको अभिलेखबारे फरक मत रहेको उनले बताए । अभिलेखको फरक रूपान्तरण भई अर्थको अनर्थ भइरहेको उनले दाबी गरे । विदेशीले आफ्नै अर्थ लगाएर एउटा प्रस्पेक्टिभले मात्र उल्था गरेको उनको भनाइ छ । वैदिक धर्मका हिसाबले उल्था गरेको उनले बताए । बुद्धिष्ट वा अशोकन प्रस्पेक्टिभले उल्था नगर्दा समस्या आएको उनले बताए । पाँच पंक्तिको अशोक अभिलेखमा चौथो पंक्तिको अन्तिम शब्द ‘उवलिकेकटे’ र पाँचौं पंक्तिको एकमात्र शब्द ‘अठभागियेच’ को फरक अर्थ लगाउँदा अर्थको अनर्थ भइरहेको उनको भनाइ छ ।Famous monk fragrance in Thailandथाई राजपरिवारका साथ भिक्षु सुगन्ध ।

विद्वान‍्हरूले चौथो लाइनको अनुवाद गर्दा यहाँ शाक्यमुनिको जन्म भएकाले लुम्बिनी गाउँको बलि (कर) घटाई आठौं भागमात्र कायम गर्नु भयो भनेर उल्लेख गरेका छन् । ‘यो अनुवाद मिल्दै मिल्दैन,’ उनले भने, ‘वली भनेको पाली भाषामा पूजा गर्नु हो । संस्कृत र हिन्दु धर्मको हिसाबले वली भनेको कर वा वली (काटमार) गर्नु हो ।’ उ भनेको नकारात्मक कुरा भएको र कर नलिने, फेरि आठ भागको एक भाग लिने भन्ने कुराले अर्थ नदिने उनले बताए । ‘नलिने भनिसकेपछि फेरि लिने कुरा कसरी आयो ?,’ उनले भने, ‘भारतभरि फेला परेका अशोक स्तम्भमा कहीँ पनि करको कुरा उल्लेख गरेको पाइँदैन । नेपालमा मात्र कसरी आयो यो कुरा ?’ 

अशोकले अभिलेखमा धर्म, लडाइँ–झगडा नगर भन्ने कुरा उल्लेख गरेका छन् । ‘लुम्बिनीमा बुद्धसँग सम्बन्धित अभिलेखमा करको कुरा ल्याएर कसरी ब्याख्या गरियो ?,’ उनले भने, ‘यो सन्दर्भ मिल्दैन । अर्को अर्थ हुनु पर्छ । उवलिकेकटेको अर्थ वली नदेऊ (पूजाआजा गर) र अर्को शब्द अठभागियेच भनेको आर्यअष्टाङ्गिक मार्ग पालन गर भनेको हो ।’ आर्य अष्टाङ्गिक मार्ग भनेको बुद्ध भगवानको मूल मन्त्र हो । यही करकै कुरा गरेको भने पनि ग्रन्थ र पुस्तकमा आठौं भाग भनेको कति हो कहीँकतै उल्लेख भएको नपाएको बताए । ‘पहिलो लुम्बिनीमा वली दिने चलन थियो होला,’ उनले भने, ‘त्यही भएर वली नदेऊ भनेको अभिलेख राखे । उता शान्तिका अनुयायी बुद्ध जन्मेको ठाउँमा करको कुरा गर्न सुहाउँदैन ।’

विज्ञ, विद्वान् र धर्मगुरुहरूलाई ल्याएर अन्तर्राष्ट्रिय सम्मेलन गरेर निष्कर्ष निकालेर विधिपूर्वक सच्याउनु पर्ने उनले बताए । पुराना असार्न्दभिक रूपान्तरणलाई परिवर्तन गर्न सक्यौं भने अशोकको इतिहासै फेरिन्छ । सम्राट अशोकले भारतमा बनाएका कुनै पनि स्तम्भमा बुद्धका नाम उच्चारण गरेका छैनन् । शान्ति, करुणा, मैत्री र भाइचाराको कुरा उल्लेख गरेका छन् । तर, लुम्बिनीको स्तम्भमा अठभागियेच भनेको आर्य अष्टाङ्गिक मार्ग पालन गर भनेको हो । ‘आर्य अष्टाङ्गिक मार्ग भनेको बुद्ध भगवानको मूल मन्त्र हो । यो सच्चिन सक्यो भने नेपालको स्टाटसै परिवर्तन हुन्छ,’ उनले भने । 

ग्लोबल स्पिकर

उनी संयुक्त राष्ट्र संघ (यूएन)को दिगो विकास थिंक ट्यांकका रूपमा रहेका छन् । वानकी मुन महासचिव हुँदा यूएन सभामा गएर आफ्ना विचार र मन्तव्य राखेका थिए । भिक्षुको रूपमा मात्र नभएर विद्वानका रूपमा युनेस्को, यूएन स्क्याप र यूएन ओएचसीएचआर लगायतका कार्यक्रममा सम्बोधन गर्न विभिन्न मुलुक पुग्छन् । ओमेप वर्ल्ड कन्फरेन्स, बैशाख डे, विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा उनले आफ्ना मन्तव्य, भनाइ र कार्यपत्र प्रस्तुत गर्दै आएका छन् ।

अस्ट्रेलियन ब्रोडकास्ट कर्पोरेसन, फाइनान्सियल टाइम्स, बैंकक पोस्ट अनलाइन, रेडियो थाइल्यान्ड वर्ल्ड सर्भिस, स्टडी बुद्धिज्म डटकम र थाई एयरवेज लगायतका धेरै सञ्चारमाध्यम र सोसल मिडियाका प्लेटफर्ममा उनका अन्तर्वार्ता, वायोग्राफी, लेख र रचना प्रकाशित छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully