चिबर भेषमा कारागारमा मात्रै होइन, बेलायतको अक्सफोर्ड र अमेरिकाको सान्टा क्लारालगायत विश्वविद्यालयमा पढाउने भिक्षु सुगन्ध अर्थात् अनिलमान शाक्यले बेलायतकै ब्रुनेल विश्वविद्यालयबाट सोसल एन्थ्रोपोलोजीमा पीएचडी गरेका छन् । थाई राजाको छात्रवृत्तिमा पढेका उनी त्यहाँको भिक्षु संघको उच्च ओहदामा पुग्ने विरलै व्यक्तित्वमा गनिन्छन् ।
लुम्बिनी — शान्ति, करुणा र मैत्रीका अनुयायी ६६ वर्षीय अनिलमान शाक्य बुद्ध धर्म, संघ र गुणका ज्ञाता मानिन्छन् । पहेँलो बस्त्र (चिबर) पहिरिएको देखेपछि सबैले भिक्षु मात्र भन्ठान्छन् । तर, उनको परिचय यतिमात्रै छैन । भिक्षु पहिरनमा पढाउने उनले विद्यावारिधि पूरा गरेका छन् । बेलायतको अक्सफोर्ड र अमेरिकाको सान्टा क्लारालगायत विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत छन् ।
नेपालमा जन्मिए पनि थाइल्यान्डमा बसोबास रहेका उनी थेरबादी बुद्ध धर्मका कहलिएका लेखक, व्याख्याता र अन्वेषक हुन् । भिक्षु नाम सुगन्ध हो । उनी थाइल्यान्डमा फ्रा ब्रह्मा शाक्यवंश विशुद्धि शाही धार्मिक उपाधिबाट विभूषित छन् । थाइल्यान्डमा सम्मानित र प्रतिष्ठित भिक्षुका रूपमा चिनिन्छन् । १४ वर्षको उमेरमा श्रामनेर भिक्षु बनेका उनको जीवनमा थाइल्यान्ड जाने अवसर ‘टर्निङ प्वाइन्ट’ बन्यो । सुरुमा उनका दाजु डा. केशवमान शाक्य थाइल्यान्डका लागि छनोटमा परेका थिए । तर, केशवमानले एसएलसी बोर्ड टप गरेपछि छात्रवृत्तिमा भारत पढ्न जाने मौका पाए । त्यसपछि अनिलका लागि थाइल्यान्डको ढोका खुल्यो । लगनशील, जिज्ञासु र अध्ययनशील उनले सुरुमै थाई संघमा गएर काम गर्ने मौका पाए ।
त्यसक्रममा थाई संघ राजा/उपसंघ राजासित सामीप्य बढ्यो । विनयशील बनेर काम गर्दै जाँदा संघ राजाकै सहायक सचिव भएर काम गर्न थाले । त्यसपछि एकाएक उनको उचाइ बढ्यो । अहिले थेरबादी बुद्धिज्मका व्याख्याता छन् । संयुक्त राष्ट्र संघअन्तर्गत दिगो विकास थिंक ट्यांकका रूपमा काम गर्छन् । थाई संघको उच्च तहमा पुग्ने पहिलो विदेशी नागरिक हुन् । थाई संघका प्रमुख संघ राजा र उपसंघ राजापछि उनी तेस्रो वरीयतामा छन् । सन् १९७५ मा १५ वर्षको उमेरमा थाइल्यान्ड गएका उनी ५१ वर्षदेखि त्यहीँ छन् ।
थाइल्यान्डको कारागारका कैदीबन्दीलाई समाजमा कसरी पुनर्स्थापना हुने भन्नेबारे शिक्षा दिँदै भिक्षु सुगन्ध ।
सन् १९७२ थाइल्यान्डका उपसंघ राजा यान संगर बंगलादेशमा बाढीले बौद्ध धर्मावलम्बीलाई पारेको असरबारे बुझ्न आएका थिए । त्यहाँबाट फर्किने क्रममा नेपाल भ्रमणमा आए । नेपालमा भिक्षु अमृतानन्दलाई भेटे । अनिलमानका अनुसार त्यसक्रममा उपसंघ राजाले अमृतानन्द भिक्षुसित ‘बुद्ध जन्मे हुर्केको ठाउँमा बुद्ध धर्म, शिक्षा, देशनाको राम्रो अवस्था नभएको सुनेको र त्यसका लागि के सहयोग गर्न सक्छु ?’ भनेर सोधे । भेटघाटका क्रममा उपसंघ राजाले ‘थाइल्यान्ड नेपालप्रति कृतज्ञ रहेको र नेपाली हावापानी, माटोमा जन्मेका शान्तिका अनुयायी बुद्धको शिक्षाको अनुशरण गरेरै थाइल्यान्ड उन्नति प्रगति गर्ने मुलुकमा स्थापित भएको एवं बुद्ध धर्मको कृपा र नेपालको सदासयताले थाइल्यान्डको शिर विश्व मञ्चमा उँचो बन्दै गएको’ बताए ।
‘यस्तोमा केही सहयोग गर्न सक्छु कि !’ भनेर भिक्षु अमृतानन्दसित थप सोधे । त्यसबेला भिक्षु अमृतानन्दले दुईवटा कुरा बताएको अनिलमानले यस संवाददातासँगको कुराकानीमा सुनाए । ‘पहिलो, नेपालमा थाई धर्मदूत पठाएर बुद्ध शिक्षालाई गाउँबस्तीमा फैलाउन र अर्को केही नेपाली युवालाई थाइल्यान्डमा लगेर बुद्ध धर्म, शिक्षा र ज्ञान दिन आग्रह गरे,’ उनले भने । उपसंघ राजाले दोस्रो माग तत्काल पूरा गर्ने प्रतिबद्धता जनाए भने पहिलो माग थाई संघमा लगेर राख्ने बताए ।
‘त्यसपछि नेपालबाट थाइल्यान्ड जाने व्यक्तिका रूपमा म छनोटमा परेको हुँ,’ अनिलमानले भने । नौ महिना नेपालमा तालिम लिएर अनिलसँगै तीन जना नेपाली थाइल्यान्ड गए । अनिललाई उपसंघ राजा यान संगरले आफैंसित राखे । उपसंघ राजा यान संगर थाई राजा भूमिवल अदुल्यादेजका राजगुरु थिए । अनिलसँगै गएका दुई जनामध्ये एक जना थाइल्यान्डमै विवाह गरेर बसे । अर्का व्यक्ति नेपाल फर्किए । टाठाबाठा र आज्ञाकारी अनिललाई गुरुले सधैं समीपमा राख्थे । विहारमा राजा, युवराज, युवराज्ञी, प्रधानमन्त्री र मन्त्री लगायत नियमित आई राख्थे । बारम्बार भेट हुँदा अनिल सबैको नजरमा परे ।
अध्ययनमा अब्बल
विहारमै रहेको महामुकुट बुद्धिष्ट विश्वविद्यालयबाट अनिलमानले सन् १९८० मा स्नातक उत्तीर्ण गरे । त्यही वर्ष थाइल्यान्डका १९ औं सर्वोच्च धर्मगुरु स्व. फ्रा सोमडेट न्याना संभार उपसंपदा लिएर पूर्ण भिक्षु बने । त्यसपछि नेपाल फर्किने चाहना राख्दा गुरुले दिएनन् । ‘मलाई आफ्नै विहारको असिस्टेन्ट सेक्रेटरी बनाइयो । त्यसले चौतर्फी सम्पर्क समन्वय बढ्यो,’ अनिलमानले सुनाए । १० वर्ष त्यहीँ काम गरे । नेपालका प्रतिष्ठित भिक्षु सुदर्शनका अनिल चेला थिए । अनिललाई उनले पुरातत्त्व पढ्न उत्प्रेरित गरेका थिए । अध्ययनशील अनिललाई थाई राजगुरुले थप अध्ययनका लागि मुलुकबाहिर जाने अनुमति दिए । कोलम्बो प्लानअन्तर्गत पुरातत्त्व अध्ययनका लागि भारतको कलकत्तामा छात्रवृत्ति पाए । विश्वविद्यालय हेर्न गए । तर, भिक्षु बस्ने वातावरण राम्रो नभएको र विनय नियमअन्तर्गत उत्खनन गर्न नपाउने भएपछि पुरातत्त्व पढ्ने इच्छा साकार भएन । 
अमेरिकाका १० र बेलायतका ५ विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएकामा सबैबाट सकारात्मक प्रत्युत्तर आयो । सुरुमा गुरुले जान नदिने भने । संझाइबुझाइ गरेर मनाएपछि गुरु छात्रवृत्ति दिन राजी भए । आफू पढ्न जान लागेकाले विहारको सचिवालयमा नरहने जानकारी राजप्रासादमा पठाए । ‘तर, उताबाट नजान आदेश आएपछि चिन्ताले थलिएँ,’ भिक्षु अनिलमानले भने, ‘फेरि गुरुमार्फत राजदरबारमा अनुनयविनय गरेँ । त्यसपछि पढ्ने अनुमतिका लागि एउटा गुरु र अर्को आफ्नातर्फबाट दरबारमा निवेदन पठाएँ । दरबारबाट फोन गरेर सोधखोज भयो । यसरी राजा भूमिवल अदुल्यादेज पूर्ण छात्रवृत्ति दिन तयार भए ।’
विशेष गरी शाही छात्रवृत्तिमा राजाले नै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा पठाए । विहार छाडेर क्याम्ब्रिजमा अध्ययन गरेर मास्टर्स अफ फिलोसोफी (एमफिल) उत्तीर्ण गरे । त्यसअघि थाइल्यान्डबाट नेपाल आई त्रिभुवन विश्वविद्यालयबाट एन्थ्रोपोलोजीमा स्नाकोत्तर पूरा गरिसकेका थिए । बेलायतकै ब्रुनेल विश्वविद्यालयबाट सोसल एन्थ्रोपोलोजीमा फीएचडी गरे । बौद्धिक व्यत्तृत्व, ज्ञान, सीप र क्षमताको फ्रोफाइल बनेपछि अनिलमानलाई अमेरिकाबाट पढाउन प्रस्ताव आयो । तर, राजाको गुन तिर्न सन् २००० मा थाइल्यान्ड नै फर्किए । विदेशमा सिकेको ज्ञान, शिक्षा र सीप प्रयोग गर्दै थाइल्यान्डमा शिक्षा दिन थाले । त्यसपछि उनको ख्याति अझ बढ्दै गयो ।
अहिले भिक्षु अनिमान शाक्य थाइल्यान्डकै प्रसिद्ध चुलालोङकोन र महिदोल विश्वविद्यालयमा पढाउँछन् । थाइल्यान्डकै महामुकुट र वर्ल्ड बुद्धिष्ट युनिभर्सिटीका सल्लाहकार हुन् । बुद्ध दर्शन र शिक्षा मात्र नभएर मानव शास्त्र, अर्थशास्त्र र कानुन लगायत विषयमा भिजिटिङ प्रोफेसर छन् । अमेरिकाको सान्टा क्लारा र क्यालिफोर्निया तथा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा वर्षको दुई/चार पटक पढाउन पुग्छन् । एक वर्ष अमेरिका र अर्को वर्ष बेलायतमा स्नातकका विद्यार्थीलाई पढाउँछन् । थाइल्यान्डमै न्यायाधीशलाई बेलाबेला कक्षा लिन्छन् । थाइल्यान्डमा सरकारी कर्मचारी पढ्ने स्टाफ कलेजमा समेत उनी बेलाबेला पढाउन पुग्छन् । थाइल्यान्डमा निर्णायक तहमा काम गर्ने उच्च अधिकारीलाई शिक्षा दिन्छन् । अमेरिकाको सान्डियागोमा १ हजार ५ सय विजनेस सीईओलाई कक्षा दिएका छन् । श्रीलंका र म्यानमारका विश्वविद्यालयमा थेसिस एक्जामिनेसनका लागि गइरहन्छन् ।
उच्च तहका भिक्षु
थाइल्यान्डको महामुकुट विश्वविद्यालयको डेपुटी रेक्टर र वर्ल्ड बुद्धिष्ट विश्वविद्यालयको रेक्टर भएर पनि काम गरे अनिलमानले । ६० वर्षमा अवकाश भएपछि थाइल्यान्डको सर्वोच्च निकाय थाई भिक्षु संघको सचिवालयमा बसे । उनलाई प्रशासनिक काम गर्ने जिम्मा तोकियो । अहिले थाई संघको उच्च तहमा पुग्ने पहिलो विदेशी नागरिक अनिलमान बनेका छन् । थाई संघका प्रमुख संघ राजा र उप संघ राजापछि उनी तेस्रो वरीयतामा छन् । थाइल्यान्डमा ४० हजार भन्दा बढी विहार छन् । तिनलाई कानुनी दायरामा ल्याउने, नीति नियम बनाउने, नियमन गर्ने काम संघले गर्छ । भिक्षु संघको सचिवालयमा चार वर्ष काम गरेपछि अहिले सल्लाहकार भएका छन् । अहिले थाई संघअन्तर्गत नर्थका आठवटा अञ्चल प्रमुखका रूपमा उनले काम गरिरहेका छन् ।
‘थाई संघको निर्यायक तहमा विदेशीको पहुँच कठिन विषय हो,’ भिक्षु अनिलमानले भने, ‘मेरो ज्ञान, इमान्दारी, लगाव र नेपालप्रतिको सद्भावका कारण संघको उच्च तहमा पुग्न सकेँ ।’ भर्खरै थाइल्यान्डको साओ सेमा धर्मचक्रजस्तो उच्च पदक प्राप्त गरेका छन् । महारानी राजकुमारी महाचक्री सिरिन्धोर्नले उनलाई उक्त पदक प्रदान गरेकी हुन् । थाइल्यान्डको संस्कृति मन्त्रालयअन्तर्गत धार्मिक मामिला विभागद्वारा प्रदान गरिएको प्रतिष्ठित सम्मान हो यो । यस्ता धेरै पदक, विभूषण र सम्मान उनले प्राप्त गरेका छन् ।
गत जुन ११ गते दिवंगत भएकी ४७ वर्षीया थाई युवराज्ञी बज्रकितियाभाको अपराध रोकथाम, जेलका कैदीबन्दी सुधार योजना र जीवनयापन सहज बनाउने परियोजनाका उनी प्रमुख सहयोगी थिए । थाई युवराज्ञीको आग्रहमा जेलका कैदीबन्दीका लागि उनले कग्नेटिभ ट्रान्सफरमेसन थेरापी भनेर नयाँ अवधारणाको विकास गरेका छन् । ज्ञान र बुझाइका लागि मानसिक प्रक्रियासँग सम्बन्धित नयाँ अवधरणा ल्याए ।
थाइल्यान्डमा संसारभरका कैदीबन्दी छन् । कुनै एक ठाउँलाई लक्षित गरेर मात्र परामर्श योजना सफल हुँदैन । त्यसैले विविधता राखेर परामर्श योजना बनाए । त्यसमा पनि मृत्युदण्ड सजाय पाएका र जघन्य अपराध गरेकालाई लक्षित गरेर कार्यक्रम गरे । उनीहरू कसरी जीवनयापन गर्ने र आफूलाई सुधार गर्दै सामान्य अवस्था फर्केर समाजमा कसरी घुलमिल हुने भन्नेबारेमा कक्षा लिन्छन् । थाई कारागार कानुन मन्त्रालयअन्तर्गत छन् । उनलाई जेलमा लैजाने ल्याउने र परामर्शका लागि मन्त्रालयले समन्वय गर्छ । उनी साताको एक दिन बिहान ९ देखि ३ बजेसम्म जेलभित्रै बसेर परामर्श दिन्छन् । केन्द्रीय कारागारमा रहेका विदेशी महिला कैदीबन्दीका लागि महिनामा एकपटक र बाँकी एक साता मृत्युदण्ड पाएका, क्रुर र जघन्य अपराध गरेका कैदीबन्दीसित परामर्श गर्छन् ।
‘कैदीबन्दीका बेडसम्म पुग्दा जोखिम र डरत्रास हुन्थ्यो,’ उनले भने, ‘तर, हिम्मत गरेर पुग्थेँ । संसारकै छैटौं नम्बरमा पर्ने क्यानाडाका सिरियस किलरलाई पनि मोटिभेसन गर्न सफल भएँ ।’ ७ हजारभन्दा बढी कैदीबन्दी रहेकाले उच्च सुरक्षा रहेको रायोङ सेन्ट्रल कारागारमा समेत उनी नियमित कग्नेटिभ ट्रान्सफरमेसन थेरापीका लागि जान्छन् । २० वर्षभन्दा बढी समयदेखि विभिन्न कारागारमा रहेका कैदीबन्दीको जीवनयापनलाई सहज, उनीहरूको सोचविचारमा परिवर्तन र जेलबाट छुटेपछि समाजमा घुलमिल भएर बस्न सक्ने बनाएर राम्रो काम गरेकाले बीबीसी थाइल्यान्डले समाचार प्रसारण गरेको थियो । सन् २०२० तिर बेलायतबाटै बीबीसीको टोली आएर टेलिभिजन र रेडियोका लागि रिपोर्ट प्रसारण गरेपछि आफ्नो कामले विश्वव्यापी चर्चा पाएको अनिलमानले सुनाए । ‘थाइल्यान्डमा गरिएको एक अध्ययनअनुसार कारागारबाट रिहा भएका एकतिहाइ व्यक्ति तीन वर्षभित्र अपराधमा संलग्न हुन्छन् भन्ने देखिएको छ,’ उनले भने, ‘मैले कक्षा दिएका १० जनामध्ये ९ जना पुनः जेल जानु नपरेको पाएको छु ।’
शाही विहारका उपप्रमुख
उनी बैंककस्थित शाही वाट वावोनिबेट विहारका उपप्रमुख (असिस्टेन्ट एबर्ड) हुन् । प्रतिष्ठित उक्त शाही विहार राजसंस्थाका लागि महत्त्वपूर्ण मानिन्छ । त्यहाँका राजा र युवराज बौद्ध शिक्षा र प्रशिक्षण प्राप्त गर्छन् । त्यहाँ रहेका भिक्षुको सेवा गर्न नियमित पुग्छन् । धेरैजसो संघ राजा पनि यहीँबाट बन्छन् । लुम्बिनीप्रति थाईहरूको आस्था र सम्मान उच्च रहेको र लुम्बिनीको माटो छुँदा गर्व महसुस गर्ने भएकाले लुम्बिनीको सम्झना गर्दै थाइल्यान्डमा पार्क बनाइएको अनिलमानले सुनाए ।
‘बैंककको सबैभन्दा ठूलो पार्क पनि यही हो । लुम्बिनीमा गजबको आध्यात्मिक ऊर्जा संचय गर्न पाइन्छ भन्ने जनविश्वास थाइल्यान्डबासीमा छ,’ उनले भने, ‘त्यही भएर लुम्बिनी आउन उनीहरू लालायित देखिन्छन् । लुम्बिनी दर्शन गरे धार्मिक पुण्य प्राप्त हुने विश्वास छ । करुणा, मैत्री र भातृत्व भावका लागि उनीहरू लुम्बिनी आउन मरिहत्ते गर्छन् ।’ उनका अनुसार थाइल्यान्डका धेरै मानिस लुम्बिनी र कपिलवस्तुको माटो छुने इच्छा राख्छन् । 
अहिले विश्वमा अशान्ति र द्वन्द्व बढिरहेका बेला लुम्बिनी आएर विश्व शान्तिको कामना गर्न चाहन्छन् । बुद्ध सम्बन्धित चार धाम लुम्बिनी, सारनाथ, बौद्धगया र कुशीनगर पुग्न सकेमा पुण्यलाभ र सुखी भइने उनीहरूमा विश्वास छ । तीन महिना वर्षावास बस्ने थाइल्यान्डमा कर्मचारीलाई चार महिना तलब सहित बिदा दिने प्रचलन छ । जीवनमा एक पटक थाई नागरिक कम्तीमा १५ दिन भिक्षु बन्नुपर्ने प्रचलन छ ।
नेपाली नागरिक थाई संघको नजरमा परेर राजाकै छात्रवृत्तिमा पढेर थाइल्याडमा सम्मानित र प्रतिष्ठित पदमा पुग्नु गर्वको कुरा भएको लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्री महास्थवीरले बताए । ‘स्वर्गीय राजा भूमिवल अदुल्यादेजसँग नजिक भएर काम गर्दा उनका छोरा तथा अहिलेका राजा वजिरलोङकोर्नसँग राम्रो चिनजान छ,’ उनले भने, ‘अनिलको निष्ठा र लगनका कारण उनी अघोषित रूपमा राजाका सल्लाहकार भएर काम गरिरहेका छन् ।’ बर्सेनि थाई सरकारबाट ठूल्ठूला सम्मान पाउँछन् ।
सुगन्ध अर्थात् अनिलमानले थाइ राज–परिवारको धर्म उपदेशक (धार्मिक सल्लाहकार)का रूपमा काम गर्न पाउनु नेपालीका लागि उच्च सम्मान र गर्वको विषय भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु सिरी वजिरले बताए । ‘उनी संसारभर हुने ठूला धम्म देशना गर्न पुग्छन्,’ उनले भने, ‘यसले नेपाल र नेपालीको छाती चौडा हुन्छ ।’
अभिलेखमा फरक मत
आफू मानवशास्त्री भएको र मानव विज्ञानका धेरै कुरा अन्वेषण अनुसन्धान गरेकाले लुम्बिनीको अशोक स्तम्भमा रहेको अभिलेखबारे फरक मत रहेको उनले बताए । अभिलेखको फरक रूपान्तरण भई अर्थको अनर्थ भइरहेको उनले दाबी गरे । विदेशीले आफ्नै अर्थ लगाएर एउटा प्रस्पेक्टिभले मात्र उल्था गरेको उनको भनाइ छ । वैदिक धर्मका हिसाबले उल्था गरेको उनले बताए । बुद्धिष्ट वा अशोकन प्रस्पेक्टिभले उल्था नगर्दा समस्या आएको उनले बताए । पाँच पंक्तिको अशोक अभिलेखमा चौथो पंक्तिको अन्तिम शब्द ‘उवलिकेकटे’ र पाँचौं पंक्तिको एकमात्र शब्द ‘अठभागियेच’ को फरक अर्थ लगाउँदा अर्थको अनर्थ भइरहेको उनको भनाइ छ ।
थाई राजपरिवारका साथ भिक्षु सुगन्ध ।
विद्वान्हरूले चौथो लाइनको अनुवाद गर्दा यहाँ शाक्यमुनिको जन्म भएकाले लुम्बिनी गाउँको बलि (कर) घटाई आठौं भागमात्र कायम गर्नु भयो भनेर उल्लेख गरेका छन् । ‘यो अनुवाद मिल्दै मिल्दैन,’ उनले भने, ‘वली भनेको पाली भाषामा पूजा गर्नु हो । संस्कृत र हिन्दु धर्मको हिसाबले वली भनेको कर वा वली (काटमार) गर्नु हो ।’ उ भनेको नकारात्मक कुरा भएको र कर नलिने, फेरि आठ भागको एक भाग लिने भन्ने कुराले अर्थ नदिने उनले बताए । ‘नलिने भनिसकेपछि फेरि लिने कुरा कसरी आयो ?,’ उनले भने, ‘भारतभरि फेला परेका अशोक स्तम्भमा कहीँ पनि करको कुरा उल्लेख गरेको पाइँदैन । नेपालमा मात्र कसरी आयो यो कुरा ?’
अशोकले अभिलेखमा धर्म, लडाइँ–झगडा नगर भन्ने कुरा उल्लेख गरेका छन् । ‘लुम्बिनीमा बुद्धसँग सम्बन्धित अभिलेखमा करको कुरा ल्याएर कसरी ब्याख्या गरियो ?,’ उनले भने, ‘यो सन्दर्भ मिल्दैन । अर्को अर्थ हुनु पर्छ । उवलिकेकटेको अर्थ वली नदेऊ (पूजाआजा गर) र अर्को शब्द अठभागियेच भनेको आर्यअष्टाङ्गिक मार्ग पालन गर भनेको हो ।’ आर्य अष्टाङ्गिक मार्ग भनेको बुद्ध भगवानको मूल मन्त्र हो । यही करकै कुरा गरेको भने पनि ग्रन्थ र पुस्तकमा आठौं भाग भनेको कति हो कहीँकतै उल्लेख भएको नपाएको बताए । ‘पहिलो लुम्बिनीमा वली दिने चलन थियो होला,’ उनले भने, ‘त्यही भएर वली नदेऊ भनेको अभिलेख राखे । उता शान्तिका अनुयायी बुद्ध जन्मेको ठाउँमा करको कुरा गर्न सुहाउँदैन ।’
विज्ञ, विद्वान् र धर्मगुरुहरूलाई ल्याएर अन्तर्राष्ट्रिय सम्मेलन गरेर निष्कर्ष निकालेर विधिपूर्वक सच्याउनु पर्ने उनले बताए । पुराना असार्न्दभिक रूपान्तरणलाई परिवर्तन गर्न सक्यौं भने अशोकको इतिहासै फेरिन्छ । सम्राट अशोकले भारतमा बनाएका कुनै पनि स्तम्भमा बुद्धका नाम उच्चारण गरेका छैनन् । शान्ति, करुणा, मैत्री र भाइचाराको कुरा उल्लेख गरेका छन् । तर, लुम्बिनीको स्तम्भमा अठभागियेच भनेको आर्य अष्टाङ्गिक मार्ग पालन गर भनेको हो । ‘आर्य अष्टाङ्गिक मार्ग भनेको बुद्ध भगवानको मूल मन्त्र हो । यो सच्चिन सक्यो भने नेपालको स्टाटसै परिवर्तन हुन्छ,’ उनले भने ।
ग्लोबल स्पिकर
उनी संयुक्त राष्ट्र संघ (यूएन)को दिगो विकास थिंक ट्यांकका रूपमा रहेका छन् । वानकी मुन महासचिव हुँदा यूएन सभामा गएर आफ्ना विचार र मन्तव्य राखेका थिए । भिक्षुको रूपमा मात्र नभएर विद्वानका रूपमा युनेस्को, यूएन स्क्याप र यूएन ओएचसीएचआर लगायतका कार्यक्रममा सम्बोधन गर्न विभिन्न मुलुक पुग्छन् । ओमेप वर्ल्ड कन्फरेन्स, बैशाख डे, विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा उनले आफ्ना मन्तव्य, भनाइ र कार्यपत्र प्रस्तुत गर्दै आएका छन् ।
अस्ट्रेलियन ब्रोडकास्ट कर्पोरेसन, फाइनान्सियल टाइम्स, बैंकक पोस्ट अनलाइन, रेडियो थाइल्यान्ड वर्ल्ड सर्भिस, स्टडी बुद्धिज्म डटकम र थाई एयरवेज लगायतका धेरै सञ्चारमाध्यम र सोसल मिडियाका प्लेटफर्ममा उनका अन्तर्वार्ता, वायोग्राफी, लेख र रचना प्रकाशित छन् ।
