नयाँ पुस्ताको उद्यम उडान

सानै उद्यम भए पनि कतिपय युवाले आफ्नो पढाइ खर्चदेखि परिवारलाई समेत हेर्दै आएका छन् । केहीले त धेरैलाई रोजगारी समेत दिएका छन् । ‘अवसर खोजेर होइन, सिर्जना गरेर पनि सम्भव हुन्छ’ भन्ने सोच राखेका केही युवाका प्रेरणादायी उद्यम यात्रा :

असार ३०, २०८३

आरती पौडेल

New generation enterprise flight

काठमाडौँ — उद्यमशीलता अब ठूलो पुँजी वा परम्परागत व्यवसायमा मात्र सीमित छैन । आफैंले सिर्जना गरेका सीपलाई आधार बनाएर होस् वा नयाँ सीप सिकेर होस् अहिले नयाँ पुस्ताका केही युवा आफ्नै व्यवसाय सिर्जना गर्दै आत्मनिर्भरताको बाटो निर्माण गरिरहेका छन् 

प्रायः युवा विदेश जाने सपना बुनिरहेका देखिन्छन् । नेपालमा विदेश जाने युवाहरूको लर्को पनि उत्तिकै देख्न सकिन्छ । तर त्यही भीडबीच केही त्यस्ता युवा पनि छन् । जो आफ्नै देशमा बसेर उद्योग गर्न अगाडि बढिरहेका छन् ।

New generation enterprise flight

उनीहरू आगामी दिनमा आफ्नो व्यवसायलाई अझ विस्तार गर्ने सोच बनाएर मेहनत र संघर्ष गरिरहेका छन् । सानै उद्यम भए पनि कतिपय युवाले आफ्नो पढाइ खर्चदेखि परिवारलाई समेत हेर्दै आएका छन् । केहीले त धेरैलाई रोजगारी समेत दिएका छन् । ‘अवसर खोजेर होइन, सिर्जना गरेर पनि सम्भव हुन्छ’ भन्ने सोच राखेका केही युवाका प्रेरणादायी उद्यम यात्रालाई कान्तिपुरले पस्किएको छ ।

क्राफ्टिङमा जमेकी अञ्जना

कोभिड–१९ महामारीका कारण देशभर लकडाउन थियो । मानिसहरू घरभित्र मात्र सीमित थिए । अञ्जना थापा इन्स्टाग्राम चलाउँदै थिइन् । स्क्रोल गर्दै जाँदा उनले एउटा क्राफ्टिङ भिडियो देखिन् । भिडियो हेरेपछि उनलाई पनि त्यस्तै सामग्री बनाउन मन लाग्यो । उनले आवश्यक सामान जुटाइन् र आफ्नै शैलीमा क्राफ्ट तयार पारिन् । संयोगवश, उनले बनाएको सामग्री भिडियोमा देखाइएको भन्दा अझ आकर्षक बन्यो । त्यही क्षणले अञ्जनालाई हस्तकलाप्रति अझ आकर्षित गरायो । 

New generation enterprise flight

अञ्जना लकडाउनको समयदेखि मात्र उदाएकी भने होइनन् । उनी सानैदेखि हस्तकलादेखि विभिन्न क्रियाकलापमा अब्बल थिइन् । उनी कलात्मक सिर्जनामा सधैं अगाडि थिइन् । पेन्टिङदेखि हस्तकलाका सामग्री बनाउन उनलाई सानैदेखि रुचि थियो । त्यसैले अञ्जना आफ्नै क्षमता, कला र संघर्षले अहिले वेडिङ एम्ब्रोइडरी, पेन्टिङ, साथै हस्तकलाका विभिन्न सामग्री आफैंले बनाएर बिक्री गर्दै आएकी छिन् । ‘आफूले सानैदेखि मन पराएको काममा नै बिजनेसका रूपमा ग्रो गर्न पाउँदा खुसी लागेको छ,’ उनले भनिन् । 

अञ्जनाकी ममी पनि हस्तकलामा निकै अब्बल छिन् । लकडाउनको समयमा उनले आमाको सहयोग र युट्युबको भिडियो हेरेर हस्तकलाका सामग्री बनाउन सिकेकी थिइन् । त्यसपछि अञ्जनाले बालबालिकाका स्कट, पेन्टिङ, स–साना जुत्ता बनाएर बेच्थिन् । उनले बनाएका सामग्री ग्राहकहरूले निकै मन पराउँथे । सुरुवाती दिनमा घर वरपरका ग्राहकहरूले नै सामान मन पराएर अर्डर गर्थे,’ उनले भनिन्, ‘बनाउनेबित्तिकै व्यापार हुने भएपछि सोसल मिडियामा राख्नै परेन ।’ विस्तारै उनले आफैंले नयाँ डिजाइनका सामान सिर्जना गर्न थालिन् । New generation enterprise flight

व्यवसाय गरेको सुरुवाती दिनमा आफूले निकै संघर्ष गरेको अञ्जना सुनाउँछिन् । ‘सुरुका दिनमा आवश्यक परेका सामग्री खोज्न निकै गाह्रो हुन्थ्यो । सामान खोज्दा नभेटिने, भेटिए पनि निकै महँगो पर्थ्यो । मेरो बजेटभन्दा पनि महँगा सामान भेटिन्थे,’ उनले भनिन्, ‘चाहिएको सामान खोज्न निकै ठाउँ खोज्नुपर्ने र समय पनि त्यसरी नै खर्च हुने खालको बाध्यता थियो ।’ तर आफ्नो क्षमता र काममा विश्वास राखेकी अञ्जनाले हार खाइनन् । सुरुमा विभिन्न चुनौती भोगे पनि अहिले भने अञ्जनाले आफ्नै कला र क्षमताले गर्दा सबैले मन पराइरहेका छन् ।

अनलाइनमार्फत अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्सलगायतका देशमा रहेका ग्राहकहरूले फरक–फरक डिजाइनमा सामान अर्डर गर्छन् । ‘विदेशबाट आफन्त आउँदा मगाउने ग्राहक धेरै छन् । आफूले बनाएका सामान अरुभन्दा फरक र निकै राम्रो भनी बारम्बार अर्डर गर्दा खुसी लाग्ने रहेछ,’ उनले भनिन् । उनले बनाएका प्रडक्टलाई नेपालमा मात्र नभएर विदेशमा पनि मन पराइरहेका छन् । 

पाटन कलेजबाट एमबीएस पूरा गरेकी २७ वर्षकी अञ्जनाको क्षमता र कलालाई धेरैले प्रशंसा गरिरहेका छन् । उनले आगामी दिनमा आफ्नो कामलाई निरन्तरता दिएर अगाडि बढ्ने सोच रहेको सुनाइन् । ‘लकडाउनबाट काम गर्न सुरु गरेपछि बीचमा केही समय छोडेकी थिएँ । अब भने कामलाई निरन्तरता दिएर अगाडि बढ्ने सोचमा छु,’ उनले भनिन् । अञ्जनाले वेडिङ एम्ब्रोइडरी, एनिभर्सरी फ्रेम, बर्थ डे गिफ्ट, पास्नी गिफ्ट, पेन्टिङ बनाउँछिन् र उक्त सामानहरू धेरै बिक्री हुने बताइन् । अञ्जनाको ‘एबिटी क्राफ्टिङ’ नामको अनलाइन सप छ । जसलाई सन् २०२५ पूर्ण रूपमा निरन्तरता दिँदै आएकी छिन् ।

New generation enterprise flight

एउटा सामान्य डिजाइनको क्राफ्ट तयार पार्न एकदेखि दुई दिन र नयाँ डिजाइनको केही सामग्री बनाउन भने एक हप्ता लाग्ने गरेको उनले सुनाइन् । सामानको मूल्य, डिजाइन र साइजअनुसार एक हजारदेखि १० हजारसम्म हुने उनले सुनाइन् ।  काठमाडौंमै जन्मे–हुर्केकी अञ्जनाले आफ्नै व्यवसायबाट आउने आम्दानीले सानो परिवार सहज रूपमा खर्च धान्न पुगिरहेको छ ।

उनी सामाजिक सञ्जालले पनि ठूलो भूमिका खेलेको सुनाउँछिन् । ‘पुराना ग्राहकहरू पनि धेरै छन् । भिडियो बनाई टिकटकमा राख्ने भएर विदेशबाट पनि अर्डर आउँछ ।’ उनले आफ्नो व्यवसायको नाम ‘एबिटी क्राफ्टिङ’ बाट भिडियोहरू सामाजिक सञ्जालमा राख्ने गर्छिन् ।

आफ्नो काममा चुनौती पनि रहेको उनी सुनाउँछिन् । ‘कति दुःख गरेर आफैंले डिजाइन सिर्जना गरेपछि अरुले त्यही डिजाइन कपी गरेर कम मूल्यमा बेचेको समेत देखिन्छ,’ उनले भनिन्, ‘डिजाइन, क्वालिटी र बनाइमा धेरै फरक हुन्छ ।’ उनले कोरेका चित्र, क्राफ्टिङले जसरी मौलिकता भरेको हुन्छ । त्यसरी नै भावनात्मक रूपले मानिससँग जोडिरहेको छ ।

‘एम्ब्रोइडरी, क्रोसेट र चित्रकलाले मलाई साधारण कपडा र सामान्य वस्तुहरूबाट अमूल्य क्षण र सम्झनाहरू सिर्जना गर्न प्रेरित गर्छन्,’ उनले भनिन्, ‘मैले कसैको महत्त्वपूर्ण दिनलाई हस्तकलामार्फत सधैंका लागि जीवन्त राख्न सकें भन्ने हुन्छ ।’ उनले बनाएका हस्तकलाका सिर्जनामा भावना, सम्झना र जीवनभर रहिरहने भिन्न–भिन्न कथा समेटिएका छन् । त्यसैले पनि अञ्जना आफ्नो काम निकै मन पर्ने सुनाउँछिन् । ‘आफूलाई मन परेको कामलाई निरन्तरता दिएमा सफलता अवश्य प्राप्त हुन्छ भन्ने कुरामा विश्वास गर्छु,’ उनले भनिन् ।

धागो र कुरुससहित सिर्जनामा रिदिमा 

रिदिमा कुलुङ राई सानैदेखि पढाइमा अब्बल थिइन् । संखुवासभामा जन्मिएकी उनी बाल्यकालदेखि नै काठमाडौंमा बसेर अध्ययन गरिरहेकी थिइन् । उनको परिवारका सदस्य भने मोरङ बस्ने गर्थे । केही वर्षअघिको कुरा हो, उनी कक्षा ११ को परीक्षा सकेर फुर्सदमा थिइन् । त्यही समय साथीका हातले बुनेका रंगीन सामग्री देख्दा रिदिमालाई पनि खाली समयमा यस्तो कला सिक्न पाए हुन्थ्यो भन्ने लागेको थियो । साथीले पनि सिक्न हौसला दिइन् । त्यसपछि रिदिमाले गाउँमा बस्ने आफ्नी आमासँग क्रोसेट सिक्ने रहर भएको सुनाइन् ।

New generation enterprise flight

सुरुमा आमाले आफ्नी छोरीले नयाँ काम सिक्ने चाहना राखेकीले गाउँबाटै धागो र कुरुसहरू किनेर पठाइदिइन् । सुरुको केही समय उनले युट्युब हेरेर धागो चलाउन सिकिन् । त्यसपछि रिदिमा र उनकी साथी मिलेर अनलाइन बिजनेस खोल्ने सोच बनाए । दुवैले १/१ हजार रुपैयाँ लगानी गरेर काम सुरु गरे । ‘हामीसँग लगानी गर्नका लागि धेरै पैसा थिएन । त्यही पनि काम गर्ने रहर लागेर दुवैजना मिलेर अगाडि बढेका थियौँ,’ उनले भनिन् । सुरुका दिनमा उनीहरूले आफन्त, साथीभाइका साथै विभिन्न स्थानमा पुगेर आफ्नो सामानका बारेमा प्रचार गर्थे । र अर्डरअनुसार बनाउने बताउँथे । अलिअलि अर्डर पनि आइरहेको थियो । 

उनीहरूले आफ्नो पेजमार्फत सामाजिक सञ्जालमा आफूहरूले बनाएको सामानको भिडियो राख्न थालेका थिए । यसले उनीहरूले बनाएको सामानको अर्डर आउन ठूलो सहयोग गरेको थियो । ‘सबैले थाहा पाऊन् । हाम्रो बिजनेस ग्रो होस् भनेर नै भिडियो, फोटो बनाएर टिकटक, इन्स्टामा राख्थ्यौं ।’रिदिमाले हरेक तरिकाले मेहनत गरिरहेकी थिइन् । उनलाई सानैदेखि नाच्न मन लाग्थ्यो ।

समय–समयमा आफ्नो टिकटक एकाउन्टमा नाचेको भिडियो हाल्थिन् । विस्तारै उनले आफ्नो टिकटक आइडीबाट पनि आफूले धागोबाट बनाएका टप्स, कार्डिगन लगाएर फरक शैलीमा राख्न थालिन् । ‘धेरै भन्दा धेरै ग्राहकसम्म हामीले बनाएको सामान पुगोस् भनेर आफ्नै टिकटक आइडीबाट पनि भिडियो हाल्न थालेकी थिएँ । कार्डिगन, टप्स लगाएर डान्स गर्दै पनि राख्थें । धेरैले मन पराउनु भयो,’ उनले भनिन्,‘मेरो पर्सनल एकाउन्टमा नै अर्डरको धेरै म्यासेज आउन थाल्यो । साथी र मेरो सम्बन्धमा नराम्रो कहिल्यै नहोस् भनेर मैले साथीलाई हामीले क्रेट गरेको एकाउन्ट ह्यान्डल गर्न दिएँ ।’

New generation enterprise flight

त्यसको केही समयमा उनीहरू एक्लाएक्लै काम गर्न थाले । रिदिमाले संघर्ष गर्दै गइन् । उनी कार्डिगन र टप्स बनाउन मात्र सीमित भइनन् । स्वेटर, डल, बुके पनि बनाउन थालिन् । उनले बनाएका हरेक सामान ग्राहकहरूले मन पराउन थाले । रिदिमाले आफूले बनाएको कपडामा भिडियो बनाएर आफ्नो टिकटक आइडी ‘क्रोसेट विथ रिदिमा’ मा राखेका केही भिडियोमा मिलियन भ्युज समेत कटेको छ । काठमाडौं बस्दा घरबाट पैसा पठाएर पढ्ने, कोठाभाडा तिर्ने र रासन खर्च गर्ने गरेकी रिदिमा विस्तारै आफूले कमाएको पैसाले सबै काम गर्दै गइन् ।

‘मैले बिजनेस गर्न भन्दा अगाडिसम्म हरेक कुराका लागि पैसा घरबाट नै पठाउनुपथ्र्थो । पछि आफैले कमाएर घरबाट पठाउनु परेन,’ उनले भनिन् । रिदिमामा आत्मविश्वास पनि बढ्दै गयो । गाउँमा बसेकी आमा र बहिनीलाई आफूसँगै ल्याउने निर्णय गरिन् । ‘पहिलेदेखि नै आमाबुवाबाट टाढा बसें । अब आफैंले कमाएर बहिनीलाई राम्रो स्कुलमा पढाउँछु । घरपरिवारलाई खुसी दिन्छु भन्ने सोचेर काठमाडौं ल्याएँ,’ उनले भनिन्, ‘सुरुका दिनमा आमाहरूलाई काठमाडौं ल्याएँ । तर मेरो कमाइले पुग्छ कि पुग्दैन भन्ने चिन्ताले सताउँथ्यो । तर राम्रो भएको छ । पछाडि फर्केर कहिल्यै हेर्नुपरेको छैन ।’

रिदिमा सुरुका दिनमा एक्लै एउटा सानो कोठामा बसिरहेकी थिइन् । आफैंले कमाउन थालेपछि र आफ्नो परिवार काठमाडौं ल्याएपछि आफ्नै मेहनतले राम्रो ठाउँमा बसेकी छिन् । रिदिमाका बुवा विदेश छन् । तर हरेक तरिकाले रिदिमालाई हौसला दिँदै आइरहेका छन् । ‘परिवारको साथ र सहयोग नै सबैभन्दा ठूलो कुरा रहेछ । जुन मैले पाएकी छु । एकदमै खुसी लाग्छ,’ उनले भनिन् । रिदिमाको आम्दानीको स्रोत व्यवसाय मात्र भने होइन । उनले सामाजिक सञ्जालमार्फत पनि आम्दानी गर्दै आएकी छिन् । ‘भिडियो बनाउने, इडिट गर्ने काममा व्यस्त हुँदा फुर्सद हुँदैन । । तर भिडियो राख्दा फेसबुक र युट्युबबाट पनि राम्रो पैसा आउँछ,’ उनले भनिन् ।

रिदिमा हरेक समय मेहनत गरिरहन्छिन् । उनलाई एउटा कार्डिगन बनाउन दुई दिन लाग्छ । रिदिमा अनिँदो बसेर काम गरेका धेरै रात छन् । ‘ग्राहकहरूले भनेको समयमा पुर्‍याउनुपर्‍यो । त्यसैले कहिले राति ४ बजेसम्म पनि काम गरेर बसेका क्षणहरू छन्,’ उनले भनिन् ।

उनको  कामप्रतिको लगाव, संघर्ष र आत्मविश्वासले अहिले उनले बुनेका सामानहरू विभिन्न देशमा पुगेका छन् । उनले अहिले तीन जनालाई रोजगार दिइरहेकी छिन् । आफूलाई खुसी लाग्ने क्षण धेरै रहेको सुनाइन् । ‘मेरो नामबाट, मैले गरेको कामबाट मलाई सबैले चिनेको देख्दा निकै खुसी लाग्छ,’ उनले भनिन्, ‘आफ्नो गाउँघरमा मात्र नभएर विदेशमा भएका नेपालीले पनि मेरो काम देखेर प्रशंसा गर्दा खुसी लाग्छ ।’

सानै उमेरबाट नै मेहनत गर्दै अगाडि बढेकी रिदिमा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेकी छिन् । २१ वर्षकी उनले भविष्यमा आफ्नो व्यवसायलाई ठूलो बनाउने सोच रहेको सुनाइन् । ‘आफ्नो कामलाई निरन्तरता दिने सोचमा छु । आफ्नै ठूलो सप खोल्ने मन छ,’ उनले भनिन् ।

विश्वबजारमा सिर्जना पुर्‍याउने सरस्वतीको सपना

केही युवाहरूले परिवारको कामलाई अँगालेर व्यावसायिक रूपमा सफलता हासिल गरेका छन् । तिनैमध्येकी एक हुन् सरस्वती राई । 

New generation enterprise flight

सरस्वती काठमाडौंको गोकर्णेश्वरमा बसेर आफ्नो व्यवसाय गरिरहेकी छिन् । उनको कोठाभित्र विभिन्न रङका धागो, प्वाँख, हातले बुनेका धेरै आकृति सजिरहेका छन् । आफ्नो सीप र क्षमताले त्यही कोठाबाट सरस्वतीले दिनहुँ आफ्ना सपनालाई आकार दिइरहेकी छन् । उनले बनाएका ड्रिम क्याचर धेरै ग्राहकको रोजाइमा पर्ने गरेका छन् । त्यसैले उनले बनाएका ड्रिम क्याचर नेपालमा मात्र नभएर क्यानडा, ग्रीस, रोमानिया, हङकङ, अमेरिका आदि विभिन्न देशमा पुगेका छन् । 

सरस्वतीका बुवा हस्तकलामा पोख्त थिए । उनले काठमाडौंमा नै हेम्प अर्थात् गाँजाको डाँठबाट निकालिने प्राकृतिक रेसाको प्रयोग गरेर विभिन्न सामग्री बजाउँथे । उनले ठमेलको एक होलसेल पसलका लागि सामान तयार पार्थे । ती सामग्री ठमेलमार्फत विदेश निर्यात हुन्थे । सरस्वती सानैदेखि आफ्नो बुवाको कामलाई नियालिरहेकी हुन्थिन् । सरस्वतीको बाल्यकाल सामान्य तरिकाले नै बितेको थियो । सरस्वतीले धागो बुन्ने, रङ लगाउने, डिजाइन मिलाउने काम सबै सीप बुवाको काम देखेर नै सिकेकी थिइन् । ‘काम सिक्न खोज्दा झर्को नमानी सिकाउनुहुन्थ्यो । त्यसैले बुवाले गरेको काम र दिएको हौसलाले काम सिक्न सहज भयो,’ उनले भनिन् । New generation enterprise flight

सन् २००३ नेपाली हस्तकला र हेम्पसँग मिसाएर ड्रिम क्याचरलाई सरस्वतीका बुवाले नयाँ स्वरूप दिएका थिए । ‘सुरुवाती दिनमा विदेशीहरू ड्रिम क्याचर मन पराउँथे । विदेश पनि लैजान्थे । तर नेपालीहरू पहिलासम्म पनि खासै जोडिनु भएको थिएन,’ उनले भनिन्, ‘केही समयमा नेपालमा पनि ड्रिम क्याचर किन्ने र सजाउने ट्रेन्ड बढ्यो ।’ त्यतिबेला आफूले अध्ययन गरी बुवालाई सघाउँदै आएकी थिइन् ।

२०७० सालमा उनका बुवाको निधन भयो । त्यसपछि उनले विदेश जाने सोच बनाइन् । ‘केही साथी विदेश गएका थिए । केही नेपालमै जागिर गर्थे । तिमीलाई आफूसँगै सीप भएर कति सजिलो भएको छ । राम्रो गरेकी छौ भन्थे,’ उनले भनिन्, ‘त्यो कुराले विदेशमा पनि कठिन रहेछ भन्ने भयो । त्यसपछि नेपालमै बुवाको कामलाई निरन्तरता दिन्छु भनेर लागें ।’ 

त्यसपछि उनले व्यवसायलाई आफ्नै तरिकाले अघि बढाउन थालिन् । सुरुमा होलसेलमार्फत काम गरे पनि सन् २०२३ देखि उनी सामाजिक सञ्जालमार्फत सक्रिय भएर आफूले बनाएका सामग्रीहरूको भिडियो राख्न थालिन् । ग्राहकहरूलाई उनका सामानले निकै आकर्षित गर्‍यो । उनलाई धेरै अर्डर आउन थाले । अहिले पनि टिकटक र अन्य सोसल मिडियामा उनका भिडियोमा निकै धेरै भ्युज आउँछन् । ‘ड्रिम क्याचर बाई सरस्वती’ नामको उनको टिकटक आइडीलाई धेरैले मन पराइरहेका छन् । जहाँ उनले फरक–फरक रङका ड्रिम क्याचर बनाउँदै गरेको र बनेपछि सजाएको भिडियो पनि देखिन्छन् । उनले बनाएका ड्रिम क्याचरदेखि अन्य सामानले हजारौं मानिसको ध्यान तानेको छ ।

अनलाइनमार्फत बेच्न सुरु गर्दा ग्राहकहरू त्यति राम्रो ड्रिम क्याचर देखाएको मात्र हो कि भनेर सोध्ने गरेको उनले सुनाइन् । ‘ग्राहकहरू सुरुमा स्क्याम त होइन भनेर डराउँथे । तर एकपटक किनिसकेपछि फेरि जन्मदिन, उपहार र घर सजावटका लागि अर्डर गर्न थाले,’ उनले भनिन् । अहिले सामान बिक्री गर्न पहिले भन्दा सहज भएको उनले सुनाइन् ।

साइज र डिजाइन हेरेर ड्रिम क्याचरको मूल्य निर्धारण गर्ने गरेको उनले सुनाइन् । ‘ड्रिम क्याचर एक सय रुपैयाँदेखि सुरु हुन्छ । ठूलो र फरक डिजाइनका लागि तीन हजार आठ सय रुपैयाँसम्म पर्छ,’ उनले भनिन् । ग्राहकको चाहनानुसार डिजाइन तयार पार्ने गरेको उनी सुनाउँछिन् ।

ड्रिम क्याचरमा बनाउन निकै कठिन हुने उनी सुनाउँछिन् । ‘त्यसमा प्रयोग हुने प्वाँख तयार पार्न निकै कठिन हुन्छ । प्वाँखलाई सफा गर्ने, सुकाउने, रङ लगाउने र टिकाउ बनाउने काम आफैं गर्नुपर्छ,’ उनले भनिन्, ‘केही गल्ती भयो भने धेरै दुःख गरेर बनाएको सामान नै बिग्रन्छ ।’ आफ्नो व्यवसायमा परिवारको सहयोग रहेको उनी सुनाउँछिन् ।

सरस्वतीलाई कामको मुख्य आधार ‘क्वालिटी’ र ‘इमानदारी’ हो भन्ने लाग्छ । ग्राहकले तिरेको मूल्यअनुसार सन्तुष्टि दिनु नै आफ्नो कर्तव्य रहेको उनी सुनाउँछिन् । सोही कारणले एकपल्ट सामान किनेका ग्राहकले बारम्बार सामान किन्ने गरेको उनले सुनाइन् । ‘धेरै पहिलेदेखिका ग्राहकहरू छन् । व्यवसाय गर्ने मान्छेलाई सबैभन्दा खुसी लाग्ने क्षण नै ग्राहकहरूको विश्वास लाग्ने रहेछ,’ उनले भनिन् ।

सानो कोठाबाट सुरु भएको उनको व्यवसायले अहिले १२ जनालाई रोजगारी दिएको छ । ‘आगामी दिनमा पनि आफ्नो व्यवसायमा अझ राम्रो तरिकाले लैजान मन छ,’ उनले भनिन्, ‘मेरो काम व्यवसाय मात्र नभएर बुवाको सपना, सम्झना, हस्तकलाप्रतिको प्रेम र नेपाली सीपको पहिचान हो जस्तो लाग्छ ।’

सरस्वती नेपाली सामग्रीलाई नयाँ स्वरूप दिँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने सपना देखिरहेकी छन् । ‘अब मेरो सोच भनेको नेपाली सामानलाई नयाँ ढंगले नेपाली ग्राहक र विश्व बजारसम्म पुर्‍याउने छ,’ उनले भनिन् । 

रिबनमा दिलाशाको सिर्जना

अध्ययनकै सिलसिलामा खाली समयमा नयाँ सीप सिकेर व्यवसाय क्षेत्रमा अगाडि बढिरहेका धेरै युवाहरू छन् । तिनैमध्येकी एक हुन् दिलाशा बासुकला । उनी ११ मा पढ्दै थिइन् । खाली समयमा केही नयाँ काम गरौं भन्ने लाग्यो उनलाई । पसलबाट रिबन किनेर बुके बनाइन् । त्यसलाई साथीको जन्मदिनमा उपहार दिइन् । आफैंले बनाएको भनेपछि साथीहरू दंग परे । ‘मैले बनाएको भनेपछि सबै जनाले प्रशंसा गरे । भेटेको साथीहरू सबैले आफूहरूलाई पनि बनाइदिन भनेका थिए,’ उनले भनिन्, ‘टिकटकमा एउटा भिडियो देखेकी थिएँ । म त्योभन्दा फरक र राम्रो बनाउन सक्छु भन्ने सोचेर बनाएकी थिएँ । साँच्चिकै त्यस्तै भयो ।’

New generation enterprise flight

त्यसपछि साथीहरूले नै उनलाई हौसला दिए । उनको परिवारले पनि आफूले जानेको काम गर्नुपर्छ भनी प्रोत्साहन गरे । ‘आमाबुवा, दिदीहरू र साथीहरूले तिमीले राम्रो गरेकी छौ । खाली समयमा बनाउने गर । राम्रो हो भनेपछि अब त्यही काम सुरु गर्छु भनेर लागें,’ उनले भनिन् । त्यसपछि दिलाशाले ‘फजी ब्लुम’ नामसँगै अनलाइन बिजनेसका लागि पेज बनाइन् ।

सुरुका दिनमा साथी, आफन्त र छिमेकीहरूले रिबनका बुकेहरू अर्डर गर्न थाले । ‘आफ्नै सर्कलले अरूलाई पनि भनेपछि विस्तारै मैले गर्ने कामको बारेमा सबैलाई थाहा हुन थालेको थियो,’ उनले भनिन् । आफ्नो पढाइ सकेर खाली समयमा मात्र बनाउने गरे पनि उनलाई राम्रो फाइदा भएको थियो । ‘कलेजको असाइनमेन्ट सकेर केही समय पढी खाली समयमा बनाउँथें,’ उनले भनिन्, ‘धेरै अर्डर आइरहन्थ्यो । समय मिल्नेबित्तिकै बनाएर दिन्थें ।’

दिलाशाले गरेको कामको प्रशंसा कलेजमा समेत हुन थालेको थियो । ‘कलेजमा पनि सबै साथीले, म्यामहरूले थाहा पाएर प्रशंसा गरेका थिए । त्यस कुराले मैले मेरो कामलाई अझै राम्रो गर्नुपर्छ भन्ने भयो,’ उनले भनिन् । दिलाशाले रिबनका साथै वायरबाट थरीथरीका फूलहरूको आइडिया क्रेट गरी बुके बनाएर बेच्दै आइरहेकी छिन् । उनले सनफ्लावर, लिल्ली, रोज, स्ट्रबेरी, चेरीलगायत बुके बनाएर अर्डरअनुसार बेच्ने गर्छिन् ।

New generation enterprise flight

आफूलाई सबैभन्दा खुसी लाग्ने क्षण भनेको एउटै ग्राहकले बारम्बार आफ्नो सामान अडर गर्नु रहेको उनले सुनाइन् । ‘एकपटक अर्डर गरेपछि प्रडक्ट मन परेर बारम्बार अर्डर गर्छन् । त्यो देखेर सबैभन्दा खुसी लाग्छ,’ उनले भनिन् । खाली समय भएका कारण धेरै अर्डर आउने र बुके बनाएर दिने गरेको उनले सुनाइन् । ‘पढाइ नबिग्रियोस् भनेर प्लस टुको परीक्षा दिने समयमा गरिन् । परीक्षा सकिएपछि फेरि बुके बनाउन थालें । अहिले घरमा बसेर बनाउँछु र अर्डरअनुसार बेच्ने गरेकी छु,’ उनले भनिन् ।

उनको परिवारको डिपार्टमेन्ट स्टोर छ । उनले पसलको एउटा स्थानमा आफूले बनाएका बुके राख्छिन् । त्यहाँ पनि निकै राम्रो व्यापार हुने गरेको उनी सुनाउँछिन् । ‘अनलाइन अर्डर पनि धेरै आउँछ । आमाबुवाले घरकै पसलमा पनि राख धेरैलाई थाहा हुन्छ भनेर सामान राख्ने गरेकी छु । कति छिटो बिक्री हुन्छ,’ उनले भनिन् ।

दिलाशालाई सबैले किन्न सक्ने खालको मूल्य हरेक कुरामा हुनुपर्छ जस्तो लाग्छ । ‘मैले १ सयदेखि माथिका बुके बनाउँछु,’ उनले भनिन्, ‘सबैले किन त्यति धेरै सस्तो भन्नुहुन्छ, मलाई एउटै सामानबाट धेरै पैसा लिएर अर्को पटक ग्राहकले किन्नै नसक्ने बनाउनु नराम्रो हो जस्तो लाग्छ ।’

दिलाशालाई ग्राहकको विश्वास र माया सधैंभरि कमाउनुपर्छ जस्तो लाग्छ । त्यसैले आफूले धेरै नाफा नखाई सस्तो मूल्यमा बेच्ने गरेको उनी सुनाउँछिन् ।

सुरुका दिनमा साथीलाई जन्मदिनमा उपहार दिन रिबनबाट बुके बनाएकी दिलाशाले अहिले १६ वर्षको सानै उमेरमा अनलाइन प्लेटफर्ममार्फत आफ्ना सामान बेचिरहेकी छिन् । दिलाशाले भविष्यमा नेपालमै बसेर व्यवसाय गर्ने र आफ्नो पढाइलाई निरन्तरता दिने सोच रहेको सुनाइन् । उनी बुके मात्र नभएर आफूले नयाँ काम सिकेर नेपालमै व्यवसाय गर्ने सोच रहेको सुनाउँछिन् । 

फूलको रंगपिच्छे फरक कथा बुन्दै दीक्षा

आफूलाई मन पर्ने व्यक्तिले दिएको फूल ओइलिएर जाँदा प्रायः धेरैको मन दुख्छ । तर त्यही फूललाई सँगालीराख्न सकियोस् भनेरै केही युवा आफ्नै उद्यममा लागेका छन् ।  काठमाडौंको एउटा कोठाभित्र, रेजिनको हल्का गन्ध, रंगीन फूलहरू र साना उपकरणहरूबीच फूलका रंगपिच्छे फरक–फरक कथा बुन्दैछिन् दीक्षा खाती । 

New generation enterprise flight

‘फूलहरू छिट्टै ओइलाउँछन्, तर तिनीसँग जोडिएका भावनाहरू अमर हुन्छन् । यही विचारले नै रेजिनमा आर्टमार्फत क्षणहरूलाई स्थायित्व दिने सपना जन्मिएको हो,’ जियाराकी संस्थापक उनले भनिन्, ‘झुम्का, स्टड्स र कस्टम ज्वेलरीहरू बनाउन लागेकी हुँ । फूलहरू ओइलिएर झरेको मन पर्दैनथ्यो । जस्तो अवस्थामा भए पनि संगालेर राख्थें । अहिले फूलहरूकै गहना बनाएर बेच्न पाउँदा खुसी लागेको छ ।’ 

दीक्षा सानैबाट कलात्मक क्षेत्रमा अब्बल थिइन् । उनी फूलका गहना बनाउन भन्दा पहिलै विभिन्न सामग्री समेत बनाउँथिन् । उनी चार कक्षामा पढ्दा लोडसेडिङको समस्या थियो । त्यही बीचमा मैनबत्ती बनाउने प्रयास गरेकी थिइन् । उनी कलात्मक काममा निकै रुचि लाग्ने गरेको सुनाउँछिन् । 

दीक्षाले आफूले जम्मा गरेर राखेका फूलहरू हेरिरहेकी थिइन् । उनको मनमा ‘फूलको टप बनाउन पाए सधैँका लागि हुन्छ’ भन्ने सोच आयो । खाली समयमा सामान किनेर फूलहरूलाई विभिन्न डिजाइनमा परिणत गरिन् । ‘एक–दुईवटा टप आफ्नै लागि बनाएर लगाएकी थिएँ । धेरैले मन पराए । त्यसपछि व्यवसाय गर्ने सोच बनाएकी थिएँ,’ उनले भनिन् । 

उनले फूलका गहनाको व्यवसाय गरेका सुरुवाती दिन भने सहज नभएको सुनाउँछिन् । ‘मैले फूलबाट बनाएका गहना बेच्न सुरु गर्दा कसैले किन गरेको होला भन्थे’ उनले भनिन् । तर दीक्षाले हार खाइनन् । अरुको कुरा नसुनी आफ्नो कामलाई निरन्तरता दिइन् । ‘मैले पहिलो पटक ३० हजार रुपैयाँ लगानी गरेर फूलको टप बनाउने सामान किनेकी थिएँ । अरुले भनेको कुराले डर पनि लागेको थियो,’ उनले भनिन्, ‘मैले राम्रो गर्नुपर्छ भनेर नै अगाडि बढें । नभन्दै दुई महिनामा सोचेभन्दा पनि धेरै नाफा भयो ।’ उक्त क्षणले आफूमा आत्मविश्वास बढेको र आफ्नो कामलाई निरन्तरता दिन हौसला प्रदान गरेको दीक्षा बताउँछिन् ।

New generation enterprise flight 

आफूले बनाएका सामान धेरै ग्राहकको रोजाइमा परेकाले निकै खुसी लाग्ने गरेको र धेरैले उपहार दिनका लागि गहना अर्डर गर्ने गरेको उनी सुनाउँछिन् । ग्राहकले आफ्नो इच्छानुसार झुम्का मगाउँछन् । कोहीले साथीको विवाहमा उपहार दिन, कसैले प्रेमिकासँग माफी माग्न कसैले पहिलो डेटका लागि भनेर विभिन्न रंगका झुम्का अर्डर गर्छन्,’ उनले भनिन्, ‘आफ्ना लागि अर्डर गर्ने पनि धेरै छन् । ‘त्यसैले भनेकी हुँ हरेक झुम्कामा पृथक् कथा समेटिएका छन् ।’ 

काममा निकै दुःख हुने गरेको उनी सुनाउँछिन् । ‘सबै कामका आफ्नै दुःख हुन्छन् । ३/४ घण्टामेहनत गरेर एउटा टप बन्छ । कहिलेकाहीँ घण्टौं रेजिनसँग काम गर्दा हात काटेर अस्पताल पुग्नुपर्ने अवस्था आउँछ’, उनले भनिन्, ‘धेरै मेहनत गरेपछि मात्रै गहना तयार हुन्छन् । त्यो समय सबै पीडा हराउँछन् ।’

उनी व्यवसाय मात्र गर्दिनन्, पत्रकारितामा स्नातकोत्तर गर्दैछिन् । उनी कम्युनिकेसन ट्रेनर पनि हुन् । झापा घर भएकी दीक्षा काठमाडौंमा बसेर व्यवसाय, अध्ययनका साथै जागिर पनि गर्दै आएकी छिन् । आफ्नो व्यवसयमा परिवारको साथ र सहयोग रहेको उनी बताउँछिन् । सामाजिक सञ्जालमार्फत धेरै अर्डर आउने गरेको उनी सुनाउँछिन् । ‘साथी सर्कलबाट पनि धेरै अर्डर आउँछ । तर सोसल मिडियाबाट पनि राम्रो अर्डर आउँछ,’ उनले भनिन् । 

New generation enterprise flight

सन् २०२२ मा मिस युनिभर्स नेपाल टप १० मा परेकी दीक्षा सुन्दरता र विश्वास केवल बाहिर नभएर उद्देश्यसँग जोडिनुपर्छ भन्ने सोच राख्ने गरेको सुनाउँछिन् । त्यसैले दीक्षाले आफ्नो व्यवसायको केही हिस्सा सामाजिक कार्यका लागि समेत खर्चने गरेकी छिन् । ‘गरिब बालबालिकाका लागि नाफाको केही भाग मैले किताब, कापी र खाद्यान्न सहयोग गर्ने गरेकी छु,’ उनले भनिन् ।

दीक्षा आफ्नो कामलाई सधैं निरन्तरता दिने सोच रहेको सुनाउँछिन् । ‘मेरा लागि, जियारा केवल एउटा व्यवसाय मात्र होइन । यसले मेरो साहस, सिर्जनशीलता, भावना, दृढता र उद्देश्यको प्रतिनिधित्व गर्छ,’ उनले भनिन्,‘यो यात्रामा म अझै सिकिरहेकी छु, अगाडि बढिरहेकी छु, र हरेक कदमहरूमा आफ्ना सम्भावना खोजिरहेकी छु ।’

फिचर

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully