कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी : जोगिएनन् औषधि, लत्ताकपडा र किताब कापीहरू

‘बच्चाले लगाएको एउटा कट्टु र जामामात्र बाँकी रह्यो । अब के लगाइदिने हो कुन्नि,’ सावित्रीले सुक्केरासहित भनिन्, ‘अरुभन्दा पनि १२ वर्षअघि मुटुको अप्रेशन गर्दाको कागजात र केही औषधि त्यहिँ छुट्यो ।’

असार २७, २०८३

समर्पण श्री

Flood at Kirtipur Holding Center: Medicines, clothes, and books and notebooks could not be saved

What you should know

काठमाडौँ — बिहान पाँच बजे । जलमग्न कीर्तिपुरस्थित राधास्वामी सतसंग होल्डिङ सेन्टरबाहिर विस्थापित सुकुमवासी अनिँदो आँखा लिएर बसिरहेका थिए ।

गेटनजिकै थुपारिएका लथालिंग सामान हेरेर कोही टाउकोमा हात लगिरहेका थिए त कोही भिजेका कपडा टक्टक्याउँदै थिए । दुईवटा झोला काँधमा भिरेकी गायत्री श्रेष्ठ आँखा मिच्दै गरेकी ४ वर्षीया छोरीको हात समातिरहेकी थिइन् । उनकी छोरी खाली खुट्टाले चिसो भुइँमा उभिएकी थिइन् । ‘यसको जुत्ता चप्पल, लुगा, किताब कापी केही निकाल्न पाइएन । सबै डुबानमा पर्‍यो,’ निन्याउरो अनुहार लगाइरहेकी छोरीलाई हेर्दै गायत्रीले भनिन् ।

गत शुक्रबार साँझदेखि परेको अविरल वर्षाले बागमती खोला बढिरहेको थियो । रातको करिब साढे १२ बजेतिर होल्डिङ सेन्टरभित्र अचानक होहल्ला बढ्यो । मस्त निदाइरहेको गायत्रीको परिवार पनि ब्युँझियो । ‘पानी त माथि माथिसम्म आउन सुरु भइसकेछ । हतार हतार उठ्यौँ । दुईटा ब्याग र अलिअलि कागजात निकालेर बाहिर आयौँ,’ गायत्रीले सुनाइन् ।

Flood at Kirtipur Holding Center: Medicines, clothes, and books and notebooks could not be savedउनका छोरीहरू डराइरहेका थिए । ‘बच्चाले लगाएको एउटा कट्टु र जामामात्र बाँकी रह्यो । अब के लगाइदिने हो कुन्नि,’ सावित्रीले सुस्केरासहित भनिन्, ‘अरु भन्दा पनि १२ वर्षअघि मुटुको अप्रेसन गर्दाको कागजात र केही औषधि त्यहिँ छुट्यो ।’ 

सरकारले बैशाख १२ गते सुकुमवासी बस्ती भत्काएपछि थापाथली र शान्तिनगरका विस्थापितहरूले यहाँको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थिए । उनीहरू टेन्टभित्र बास बस्थे । ‘सरकारले हामीलाई बाढीबाट जोगाउन यहाँ ल्याएको भनेको थियो । तर यहाँको बाढी त त्यहाँको भन्दा नि ठूलो भयो,’ भित्तामा अडेसिएर बसिरहेकी कमली उराउँले भनिन् ।

होल्डिङ सेन्टरभित्र बाढी पसेपछि सुरक्षाकर्मी करिब २ बजे यहाँ आइपुगेको थियो । बिहान डुँगामा तैरिएर केही विस्थापित सुकुमवासीसँगै सुरक्षाकर्मीहरू सामानहरू खोजिरहेका थिए । ५१ वर्षीया कमला राईले वरबाट ठूलो स्वरमा भनिन्, ‘मेरो औषधि छुटेको छ । त्यहाँ छ कि हेरिदिनु त । बरु मै आउँछु । ‘तर उताबाट जवाफ आयो,  ‘औषधि त कामै लाग्ने छैन ।'

Flood at Kirtipur Holding Center: Medicines, clothes, and books and notebooks could not be saved

कमला निराश देखिइन् । ‘प्रेसर, थाइराइड र कोलिस्टोरको औषधि थियो । बिहानै खानुपर्ने । अब न औषधि छ, न त पिउने पानी,’ उनले मलिन स्वरमा भनिन् । कमला होल्डिङ सेन्टर छेउमा रहेको भवनको छतमा टोलाएर बसिरहेकी थिइन् । उनको नजिक भित्तामा अडेसिएर निदाउन खोजिरहेकी महिलाले भनिन्, ‘ए साँच्ची । खानका लागि पानी पनि छैन । दुई चार जार कसैले ल्याइदिए पनि हुने ।’

कमलाले ३ वर्षदेखि नियमित औषधि खाँदै आएकी थिइन् । होल्डिङ सेन्टरमा आएपछि रोगहरूको सूचीमा सुगर पनि थपिएको थियो । ‘अस्ति भर्खर किनेको औषधि । अब फेरि किन्ने पैसा कहाँबाट जुटाउने,’ उनले गलेको स्वरमा भनिन् । कुराकानीकै क्रममा कमलाको आँखा पुन: डुबान भएतिरै पुग्यो । दुई युट्युबर घुँडाघुँडासम्म आउने पानी छिचोल्दै भिडियो कन्टेन्टमा मग्न देखेर उनलाई रिस उठ्यो । ठूलो स्वरमा भनिन्, ‘डुब्नू डुब्नू । हामी भाग्यले डुब्यौँ, तपाईंहरू रहरले डुब्नू ।’   

सँगै रहेकी ३० वर्षीया उपमा मगरले रातिको कहालीलाग्दो कथा फेरि सुनाइन्, ‘मैले थाहा पाएपछि सबैलाई हल्ला गरेँ । त्यतिबेला त कुर्कुच्चासम्म आएको थियो पानी । केहीबेरमै घुँडामाथि आउन थालेपछि आत्तियौँ ।’ अरु भन्दा पनि बालबालिकाको डर बढी भयो उनीहरूलाई । बालबालिकालाई निकालिसकेपछि थप सामान निकाल्न थाले ।

‘सबै जलमग्न भइसकेपछि मात्र बल्ल प्रहरी आए,’ उनले भनिन् । बाँकी निद्राले कहिले ओछ्यान पाउने हो थाहा छैन उपमालाई । छतबाट डुबेको आफ्नो टेन्टभित्रको सामान सम्झिँदै भनिन्, ‘अब पानी सुक्ला । छेउमा जाउँला । लेदो सोरौँला । लुगा पखालौँला । घाम लागे सुकाउँला । बिग्रिएछ भने त्यहीँ छाडुम्ला ।'Flood at Kirtipur Holding Center: Medicines, clothes, and books and notebooks could not be saved

कक्षा ५ मा पढ्ने रिजन लामा दुई महिनाअघि मात्र नयाँ किताब, नयाँ ड्रेस पाएर फुरुंग भएका थिए । तर उनको खुसी लामो समय टिक्न पाएन । रातिको बाढीमा केही पनि बाँकी रहेनन् । होमवर्क गरेर शिक्षकलाई बुझाउने कापी पनि जोगाउन पाएनन् उनले । ‘सुतिरहेको थिएँ । केही निकाल्न पाइनँ । उठेर हिँडें । अहिले नरमाइलो लागिरहेको छ,’ उनले रुन्चे स्वरमा भने ।

डुबान भएको ठाउँतिर हेरिरहेका मनोज महतोले हामीलाई सुनाए, ‘सरकारले भत्काएर बाँकी भएका सामान अलिकति थिए । ती पनि सकिए,’ उनले फिस्स हाँस्दै थपे, ‘मान्छे पानी खोज्दै जान्छन् । पानी भने हामीलाई खोज्दै आउँछ । अचम्म है ।’ उनले आफूहरूलाई ओड्ने ओछ्याउनेहरू व्यवस्थापन गरिदिन आग्रह पनि गरे । 

हामीलाई राति १ बजे फोनमार्फत् बाढी पसेको जानकारी गराएकी गिर्वाणिका थापा पनि १० महिने छोरालाई काँखमा लिएर टुसुक्क बसिरहेकी थिइन् । ‘बच्चाहरू अनिदा छन् । रोइरहन्छन् । न सुताउने ठाउँ छ । मैले कसरी मन बुझाउनु,’ उनले छट्पटाहट सुनाइन् ।

पुनदेवी पासवानका छोराछोरीलाई भने उनले नजिककै स्मृति भवनमा पठाएकी थिइन् । त्यहाँ उद्धार गरेर कतिपयलाई सुरक्षाकर्मीले लगेका थिए । ‘चिसो लुगा छ । त्याँमाथि त्यहाँ पनि सुत्न पाएनन् भनेर रोइरहेका छन्,’ उनले पनि थपिन् । 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार होल्डिङ सेन्टरमा रहेका १ सय ५४ मध्ये ५४ जनालाई उद्धार गरी टियुस्थित स्मृति भवनमा लगिएको छ । ‘अहिले विषयगत क्षेत्र सक्रिय भई खाना, पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापन भइरहेको छ,’ प्राधिकरणले जनाएको छ ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully