पर्यटकीय गन्तव्य बन्दै जुम्ली पाटन

असार लागेपछि गाईभैंसी र भेडाबाख्रा लिएर गोठाला यहाँ आइपुग्छन् । खुला आकाशमुनि फैलिएको विशाल उपत्यका र गोठमा पाकिरहेको दूध–दहीको सुगन्धले गुठीचौरलाई हिमाली संस्कृतिको जीवित संग्रहालय बनाइरहेको भान हुन्छ ।

असार २६, २०८३

डीबी बुढा

Jumli Patan Becoming a Tourist Destination

What you should know

जुम्ला — जुम्लाको नाम सुन्दा विकट भूगोल, अभाव, गरिबी, रोग र कठिन जीवनशैली दिमागमा आउँछ । धेरै वर्ष जिल्लाको यस्तै परिचय बन्यो । अहिले समय फेरियो । अभावका कथा भन्दा अवसर र सम्भावनाका विषयमा बहस हुन थालेको छ ।

राज्यको विकासे मूलधारबाट टाढा भए पनि जिल्लामा प्रकृतिले दिएका अनुपम उपहार थुप्रै छन् । जिल्लास्थित हरिया पाटन अहिले पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेका छन् । 

हिमालको काखमा हरिया पाटन, स्वच्छ हिमखोला, दुर्लभ हिमाली जडीबुटी, जैविक विविधता, गोठालो संस्कृति र मौलिक जीवनशैलीले जिल्लाको नयाँ पहिचान बनिरहेको छ । यहाँस्थित खाली पाटन, गुठी र धिमीचौर पछिल्ला वर्ष आन्तरिक पर्यटकका लागि नयाँ आकर्षण बनेका छन् । घाँसे मैदानका रूपमा रहेका पाटन अहिले पर्यटनका आधारस्तम्भ बनेका छन् । वर्षायाम लागेपछि हरियालीले ढाकिएका विशाल मैदान, रंगीबिरंगी जंगली फूल, लहरै चरिरहेका भेडाबाख्रा, गाईभैंसी र चौंरी, गोठालाको बाँसुरीको धुन तथा हिमालबाट बहने चिसो हावाले जीवन्त प्रकृति अनुभव गर्न पाइन्छ । यस्तै वातावरणले अहिले पर्यटक तानिरहेको छ । रारा आउजाउ गर्ने मार्गअन्तर्गतका पाटन आकर्षक विश्रामस्थल बनेका छन् । फोटो खिच्ने, प्राकृतिक दृश्य अवलोकन गर्ने, जडीबुटी अध्ययनको रोजाइ बनेका छन् । 

गुठीचौरमा गोठालो संस्कृति पनि प्रख्यात छ । असार लागेपछि जाजरकोटबाट गाईभैंसी र भेडाबाख्रा लिएर गोठाला आइपुग्छन् । घोडाका घाँटीमा झुन्डिएका घण्टीको मधुर आवाज, खुला आकाशमुनि फैलिएको विशाल उपत्यका र गोठमा पाकिरहेको दूध–दहीको सुगन्धले गुठीचौरलाई हिमाली संस्कृतिको जीवित संग्रहालय बनाइरहेको भान हुन्छ ।Jumli Patan Becoming a Tourist Destination

सदरमुकाम नजिकैको धिमीचौर युवा, विद्यार्थी र पारिवारिक जमघटका साथै पिकनिक गन्तव्य बनेको छ । साउन–भदौमा यहाँ फक्रिने जंगली फूल, घना जंगल र खुला फाँटले पर्यटकलाई लोभ्याउँछन् । केही वर्षयता सडकको पहुँच, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार र स्वदेशमै घुमफिर गर्ने लहरले पाटनमा पर्यटकको चहलपहल बढेको छ । स्थानीय होटल, होमस्टे, यातायात, कृषि तथा पशुपालनमा सकारात्मक प्रभाव देखिन थालेको छ । रमणीय पाटनमा पुगेपछि जोकोही लोभिने गर्छन् । तर, त्यहाँसम्म पुग्नै चुनौती छ । पर्याप्त पूर्वाधार र व्यवस्थित पदमार्ग अभाव, शौचालय, सूचना केन्द्र र सुरक्षित विश्रामस्थल नहुँदा समस्या छ । प्लास्टिकजन्य फोहर जम्मा हुन थालेको छ । पर्यटन विज्ञका अनुसार प्राकृतिक सम्पदा संरक्षण र स्थानीयको सहभागिताले मात्र पर्यटन दिगो हुन्छ । पूर्वाधार विकास, सरसफाइ, वातावरण संरक्षण र प्रभावकारी प्रचारप्रसारले स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने उनीहरूको भनाइ छ । 

सुर्खेतको वीरेन्द्रनगरबाट गत शनिबार रमेश रोकाया कर्णाली प्रदेशका पर्यटकीय गन्तव्य अवलोकन गर्न निस्किए । अहिलेसम्म रारा ताल, से–फोक्सुण्डो र चन्दननाथ मन्दिर मात्र पर्यटकीय स्थलका रूपमा चिनेका थिए । खलंगा हुँदै राराताल जाने क्रममा खालीपाटन पुगेपछि भने स्वर्ग नै पुगेको अनुभूति गरेको उनले सुनाए । ‘एक पर्यटकीय गन्तव्यदेखि अर्कोसम्म पुग्दा भेटिने पाटन पनि कर्णालीका सुन्दर पर्यटकीय गन्तव्य हुन्,’ उनले भने, ‘एक घण्टा खाली पाटनमा रमाएपछि मात्र राराताल गएँ ।’ पातारासी–७ स्थित खाली पाटन आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा परिचित भइरहेको छ । सदरमुकामबाट उर्थु बजार र पट्मारा हुँदै करिब एक घण्टाको सडक यात्रापछि विशाल हरियो पाटन पुगिन्छ । यो मुगुको प्रसिद्ध रारातालतर्फ जाने मुख्य मार्गअन्तर्गत छ । रारा यात्रामा निस्किएका अधिकांश पर्यटकका लागि खाली पाटन अविस्मरणीय विश्रामस्थल बनिरहेको स्थानीय बताउँछन् । 

वर्षायाम सुरु भएसँगै खाली पाटनमा रंगीबिरंगी जंगली फूल फक्रिन्छन् । चिसो हिमाली हावा, वरिपरिका डाँडा र खुला आकाशले वातावरणलाई असाधारण बनाउँछन् । हिउँद लागेपछि हिमपातले सेताम्मे बन्छ । यहाँ अतिस, सतुवा, पाँचऔंले, कटुको, भुल्ते, बायोजडी, चुक र गन्नाइनोजस्ता बहुमूल्य जडीबुटी पाइन्छन् । सेतो चिमालोसहित दर्जनौं प्रजातिका जंगली फूलले वर्षायाममा पाटनलाई प्राकृतिक बगैँचामा रूपान्तरण गरिदिन्छन् । डाँफे, कालिज, च्याखुरा लगायतका चराचुरुङ्गीको बासस्थान मानिने यस क्षेत्रलाई दुर्लभ रेडपाण्डाको सम्भावित आवास क्षेत्रका रूपमा पनि हेरिन्छ । 

कालिकोटका कर्णबहादुर बस्नेत जुम्लाका खाली पाटनले मनै लोभ्याउने गरेको बताउँछन् । उनका अनुसार त्यहाँ पुग्दा पर्यटकले क्यामेरामा दृश्य कैद गर्छन् । जडीबुटी र वनस्पतिबारे जानकारी लिने धेरै हुने गरेको उनले बताए । सामाजिक सञ्जालमा खाली पाटनका तस्बिर र भिडियो भाइरल हुन थालेपछि पर्यटकको संख्या बढेको उनको भनाइ छ । पाटनको छेउमा होटल खुलेका छन् । तिनले पर्यटनमा टेवा पुर्‍याइरहेका छन् । स्थानीय होटल व्यवसायी ललिता थापाका अनुसार प्रत्येक महिनामा हजारौं आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । असारदेखि असोजसम्म चाप हुने उनले बताइन् । उनका अनुसार पर्यटकहरू प्राकृतिक दृश्य अवलोकन, फोटो तथा भिडियो निर्माण, जडीबुटी अध्ययन र राराको यात्रामा विश्रामका लागि यहाँ रोकिन्छन् ।

कतिपय खाली पाटन पिकनिक गन्तव्यका रूपमा पनि विकास भएका छन् । स्थानीय राममाया बुढाका अनुसार जुम्लाका सरकारी तथा गैरसरकारी कार्यालय, विद्यार्थी र विभिन्न समूहहरूले शनिबार तथा सार्वजनिक बिदाका दिन यिनै पाटन रोज्ने गरेका छन् । विशाल खुला मैदान, शान्त वातावरण र सहज पहुँचका कारण यहाँको आकर्षण निरन्तर बढिरहेको छ । यहाँका पाका पुस्ताका अनुसार तत्कालीन राजा वीरेन्द्रले राराताल सवारीका क्रममा यही क्षेत्रमा एक रात विश्राम गरेका थिए । त्यसैको सम्झनामा मैदानलाई ‘राजा चौर’ पनि भनिन्छ । प्राकृतिक सम्पदाले भरिपूर्ण भए पनि खाली पाटन अझै पर्याप्त प्रचारप्रसारको प्रतीक्षामा छन् । 

चन्दननाथ नगरपालिका–४ स्थित धिमीचौर शान्त गन्तव्यका रूपमा पर्यटकको रोजाइ बनिरहेको छ । सदरमुकाम खलंगाबाट एक घण्टा पैदल यात्रापछि पुगिने विशाल फाँट घना जंगलबीच फैलिएको छ । प्रकृतिको काखमा अवस्थित भएकाले चिसो हावा, चराचुरुङ्गीको स्वर र हरियालीले मनलाई मनमोहक बनाइदिन्छ । तिला–९ का धनबहादुर रावत धिमीचौर कर्णालीको सुन्दर गन्तव्य भएको बताउँछन् । ‘पाटनहरू गौचरनका लागि मात्रै उपयुक्त छैनन्,’ उनले भने, ‘पर्यटक रमाउने खालका छन् ।’ साउन र भदौ महिनामा धिमीचौरले आफ्नो सबैभन्दा सुन्दर रूप देखाउँछ । रंगीबिरंगी जंगली फूलले पाटन ढाकिन्छ, वरिपरिका वनहरू हरियालीले चम्किन्छन् र खुला फाँटले पर्यटकलाई स्वतन्त्रताको अनुभूति गराउँछ । यही प्राकृतिक सौन्दर्यका कारण अहिले प्रत्येक शुक्रबार, शनिबार तथा सार्वजनिक बिदामा यहाँ विद्यार्थी, कर्मचारी, परिवार र युवाहरूको उल्लेख्य भीड लाग्ने गरेको छ । बर्खायाममा गाईगोठका रूपमा प्रयोग हुने धिमीचौर सुक्खायाममा पिकनिक, क्याम्पिङ, फोटोग्राफी र प्रकृतिसँग केही समय बिताउन चाहनेको प्रिय गन्तव्य बनिरहेको छ । 

जाजरकोटको बारेकोटबाट हस्तबहादुर बुढा भैंसीपालन गर्न गुठिचौर आइपुगेको एक महिना बित्यो । उनी भैंसी गोठाला मात्र होइनन् । पर्यटकले माग गरेको दुध र दही उपलब्ध गराउँछन् । खर्कमा दैनिक २० जना भन्दा धेरै पर्यटक दुध र दहीको खोजीमा आइपुग्छन् । ‘पहिले गोठाला मात्र हुन्थे,’ उनले भने, ‘अहिले पर्यटक समेत आइरहेका छन् ।’ हिमालको काखमा फैलिएको हरियो मैदानमा घोडाको घण्टी बजिरहँदा प्रकृतिले आफ्नै लयमा एउटा संगीत सिर्जना गरिरहेको हुन्छ । जुम्लाको गुठीचौर त्यही संगीत सुन्न सकिने दुर्लभ ठाउँमध्ये एक हो । गुठीचौर गाउँपालिका–२ मा अवस्थित गुठीचौर पाटन पछिल्ला वर्षमा जुम्लाको प्रमुख पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । हजारौं बिघामा फैलिएको कचौरा आकारको उपत्यका, चारैतिर हरिया डाँडा, बीचमा फैलिएको घाँसे मैदान र हिमालबाट झरेका स्वच्छ हिमखोलाले यहाँ पुग्ने जो–कोहीलाई पहिलो भेटमै मोहित बनाइहाल्छ ।

असार लाग्नासाथ गुठीचौरको दृश्य फेरिन्छ । विभिन्न जिल्लाबाट गाईभैंसी, भेडाबाख्रा, घोडा र खच्चड लिएर स्थानीय पाटन उक्लिन्छन् । खुला आकाशमुनि बनेका अस्थायी गोठ, ताजा दूध र दहीको सुगन्ध, घोडाका घाँटीमा झुन्डिएका घण्टीको मधुर आवाज र गोठालाको दैनिकीले गुठीचौरलाई जीवित हिमाली संस्कृतिको संग्रहालय बनाएको छ । प्रकृतिको यही अनुपम दृश्यले अहिले आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ । क्याम्पिङ, पिकनिक, फोटोग्राफी र हिमाली जीवनको अनुभव लिन दैनिकजसो पर्यटक यहाँ पुग्छन् । गोठालाको गोठमै पाकेको दूध, दही र स्थानीय परिकारको स्वाद लिँदै पर्यटकले प्रकृतिसँग नजिकिने अवसर पाएका छन् । 

गुठीचौर गाउँपालिकाले पछिल्ला वर्षमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न पहल गरिरहेको छ । प्याराग्लाइडिङको परीक्षण, सडक पहुँच सुधार र पर्यटकीय पूर्वाधार विस्तारले यहाँको सम्भावनालाई अझ उजागर गरेको छ । उत्तरतर्फको लाक्ना डाँडा उक्लिएपछि देखिने काञ्जीरोवा हिमाल र पातारासी हिमशृंखलाको मनमोहक दृश्यले यात्राको थकान क्षणभरमै बिर्साइदिन्छ । गुठीचौर केवल प्राकृतिक सौन्दर्यको गन्तव्य मात्र नभइ स्थानीय अर्थतन्त्रको आधार पनि हो । पशुपालन, दुग्ध उत्पादन, स्थानीय परिकार र पर्यटन एकअर्काका परिपूरक बन्दै गएका छन् । यदि योजनाबद्ध संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गर्न सकियो भने गुठीचौर नेपालको उत्कृष्ट हिमाली पर्यटकीय गन्तव्यहरूमध्ये एक बन्न सक्ने प्रशस्त सम्भावना बोकेको सरोकारवालाहरू बताइरहेका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully