अविच्युरी : सन्त नेता भट्टराईका विश्वासिला सारथी थिए राजेन्द्र खरेल

पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा उनले पटक–पटक गिरफ्तारी भोगे । जेलमा रहेका सहयात्रीहरूलाई चिसोमा ज्याकेट किनिदिने, जुत्ता–चप्पल उपलब्ध गराइदिने, औषधि जुटाइदिने र आवश्यक पर्दा आर्थिक सहयोग गर्ने व्यक्तिका रूपमा पुराना कांग्रेसी नेताहरू आज पनि उनलाई सम्झन्छन् ।

असार १७, २०८३

कुलचन्द्र न्यौपाने

Obituary: Rajendra Kharel was the trusted charioteer of saint leader Bhattarai

What you should know

काठमाडौँ — ‘मलाई ७५ जिल्लामा ७५ जना राजेन्द्र खरेल भए प्रजातन्त्र पुनःस्थापना गर्न कसैले रोक्न सक्दैन’

कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले २०४६ सालअघि विभिन्न प्रसंगमा दोहोर्‍याइरहने यो वाक्य महेश खरेलले आफ्ना बाबुसँग हिँड्दा अनेक पटक आफ्नै कानले सुनेका थिए । अहिले पाँचखाल नगरपालिकाका प्रमुख रहेका महेशलाई त्यसबेला यो एउटा सामान्य प्रशंसाजस्तो लाग्थ्यो । तर बाबु राजेन्द्र खरेलको निधनपछि किरियामा बसिरहेका बेला गणेशमानको त्यो भनाइ बारम्बार स्मृतिमा आइरह्यो । त्यो एउटा व्यक्तिप्रति पार्टीको शीर्ष नेताले राखेको असाधारण विश्वासको अभिव्यक्ति थियो ।

राजेन्द्र खरेल गणेशमान सिंहको साहस र सन्त नेता कृष्णप्रसाद भट्टराईको इमानदारिताबाट प्रभावित भएर कांग्रेस राजनीतिमा लागेका थिए । कांग्रेसवृत्तमा उनी भट्टराईका सबैभन्दा विश्वासिला र असली सारथीका रूपमा परिचित थिए ।

बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि २०४८ र २०५१ सालको निर्वाचनमा पराजित भए पनि उनले राजनीतिक यात्रा रोकेनन् । २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शिक्षा राज्यमन्त्री र त्यसपछि महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बने । तर सार्वजनिक पदमा पुगेर पनि उनको जीवनशैलीमा कुनै परिवर्तन आएन । काठमाडौंमा आफ्नै घर भएकाले सांसदका रूपमा पाउने घरभाडा सुविधासमेत लिएनन् । सार्वजनिक पदबाट व्यक्तिगत लाभ लिनु अनैतिक हुने उनको धारणा थियो । कृष्णप्रसाद भट्टराई कांग्रेस सभापति हुँदा बानेश्वरस्थित उनकै घरबाट पार्टीको केन्द्रीय कार्यालय सञ्चालन भएको थियो ।

भट्टराईले जीवनभर अँगालेको सादगी, इमानदारिता र पदभन्दा सिद्धान्तलाई माथि राख्ने राजनीतिक संस्कारलाई खरेलले पनि आफ्नो जीवनको दर्शन बनाए । सत्ता, पद र व्यक्तिगत लाभको आकर्षणबाट उनी सधैं टाढा रहे । राजनीति सार्वजनिक सेवाको माध्यम हो भन्ने विश्वास उनले आफ्ना सहयात्री र कार्यकर्तामाझ स्थापित गर्न खोजिरहे ।

Obituary: Rajendra Kharel was the trusted charioteer of saint leader Bhattarai

राजनीतिमा धेरै नेता सत्तामा पुगे, मन्त्री बने र प्रभावशाली पदमा रहे । तर धेरैको परिचय पदसँगै सीमित रह्यो । खरेल भने त्यस्ता विरलै राजनीतिज्ञमध्ये पर्छन्, जसको परिचय पदले होइन, चरित्रले बनाएको थियो ।

२०४८ सालपछि इमानदार राजनीतिज्ञका उदाहरणका रूपमा बलबहादुर राई, भीमबहादुर तामाङ, प्रदीप गिरी र राजेन्द्र खरेललाई एकै कोटीमा राखिन्छ । प्रदीप गिरीले पटक–पटक अवसर पाए पनि मन्त्री बन्न अस्वीकार गरे । सांसद र केन्द्रीय सदस्यभन्दा माथिको पदको आकांक्षा पनि उनले कहिल्यै राखेनन् । खरेलले पनि त्यही राजनीतिक संस्कारलाई आफ्नो जीवनमा आत्मसात् गरे ।

उनको सार्वजनिक जीवनको सुरुआत किशोर अवस्थामै सामाजिक सेवाबाट भएको थियो । काठमाडौंको बानेश्वर क्षेत्रमा करिब १३–१४ वर्षको उमेरमै अमेरिकी सहयोगमा सञ्चालित ‘फोर लिफ (चारपाते) क्लब’ स्थापना गरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा सामाजिक अभियान सञ्चालन गरेका थिए । त्यही बेलादेखि उनले समाज परिवर्तन राजनीतिक नाराभन्दा स्थानीय तहको सक्रियताबाट सम्भव हुने निष्कर्ष निकालेका थिए ।

पछि दमननाथ ढुंगानाको नेतृत्वमा सञ्चालित ‘युवा परिचय गोष्ठी’मा आबद्ध हुँदै लोकतान्त्रिक चेतना फैलाउने अभियानमा सक्रिय भए । औपचारिक रूपमा सामाजिक संस्थाका रूपमा सञ्चालन भए पनि त्यस्ता अभियानले तत्कालीन प्रजातान्त्रिक आन्दोलनलाई बल पुर्‍याएका थिए ।

बानेश्वरमै ‘गाउँ फर्क युवा टोली’ गठन गरी रत्न पुस्तकालय स्थापना, भगवती मन्दिर परिसरमा सामुदायिक भवन निर्माणजस्ता सामाजिक काममा पनि उनको अग्रणी भूमिका थियो । विद्यार्थी राजनीतिले उनलाई अझ परिपक्व बनायो । नेपाल विद्यार्थी संघ स्थापना हुनुअघि नै तत्कालीन नेसनल कलेज (हालको शंकरदेव क्याम्पस)मा स्वतन्त्र प्रजातान्त्रिक विद्यार्थी संगठन स्थापना गर्ने अभियानमा उनी अग्रसर थिए । त्यस संगठनमा अर्थशास्त्री विश्वम्भर प्याकुरेल अध्यक्ष हुँदा राजेन्द्र खरेल महासचिव थिए । त्यही समयदेखि उनले संगठन निर्माण, नेतृत्व विकास र लोकतान्त्रिक विचार विस्तारमा आफूलाई स्थापित गरे ।

पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा उनले पटक–पटक गिरफ्तारी भोगे । जेलमा रहेका सहयात्रीहरूलाई चिसोमा ज्याकेट किनिदिने, जुत्ता–चप्पल उपलब्ध गराइदिने, औषधि जुटाइदिने र आवश्यक पर्दा आर्थिक सहयोग गर्ने व्यक्तिका रूपमा पुराना कांग्रेसी नेताहरू आज पनि उनलाई सम्झन्छन् ।

२०३६ सालको जनमतसंग्रह, २०४३ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को जनआन्दोलनसम्म उनी निरन्तर सक्रिय रहे । २०४६ सालको जनआन्दोलन सफल भएपछि काठमाडौंको खुलामञ्चमा आयोजित ऐतिहासिक विजयसभाको सञ्चालन गर्ने जिम्मेवारी पनि उनैले पाएका थिए ।

शिक्षा राज्यमन्त्री हुँदा उनले देशभर करिब एक हजार तीन सय शिक्षक दरबन्दी वितरण गरेर चर्चा कमाए । त्यसमध्ये काभ्रेपलाञ्चोकका विद्यालयका लागि उल्लेख्य दरबन्दी उपलब्ध गराउन उनले विशेष पहल गरेको उनका छोरा महेश खरेल सम्झन्छन् । उनका अनुसार बनेपामा पोलिटेक्निक इन्स्टिच्युट स्थापना, प्राथमिक शिक्षा परियोजना लागू गराउने तथा दोलालघाटस्थित माटेखोला नदीमा पुल निर्माणको पहल उनका स्मरणीय योगदान हुन् ।

द्वन्द्वकालमा माओवादीले कांग्रेस नेता भएकै कारण खरेलथोकस्थित उनको घरमा आगजनी गरेको थियो । तर उनले त्यसको क्षतिपूर्ति मागेनन् । बरु विज्ञप्ति जारी गर्दै माओवादी हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा फर्किए त्यसलाई नै आफ्नो घरको वास्तविक क्षतिपूर्ति ठान्ने बताएका थिए । प्रतिशोधभन्दा मेलमिलाप रोज्ने उनको यही दृष्टिकोणले उनको राजनीतिक उचाइलाई अझ फराकिलो बनायो।

आठ दशकसम्म सादगी, इमान र लोकतान्त्रिक मूल्यप्रति अडिग रहेर राजनीति गरेका राजेन्द्र खरेलको असार ७ गते ८० वर्षको उमेरमा निधन भयो । उनी भौतिक रूपमा बिदा भए पनि सार्वजनिक जीवनमा इमानदारिता, सादगी र सिद्धान्तनिष्ठ राजनीतिका दुर्लभ उदाहरणका रूपमा उनको स्मृति नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनमा जीवित बनाएर गएका छन् ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully