‘हुम्ली बुहारी’को एउटै भिडियोमा झन्डै ३ करोड भ्यूज

हुम्लाकी कल्पनाले मेलापात, खेतबारी, गाउँघर र गाउँले परिवेशका कन्टेन्ट राखेर टिकटकमा मिलियन्स भ्यू पाएकी छन् । उनका २३० भन्दा बढी भिडियोमा एक मिलियनभन्दा बढी भ्यु छन् ।

असार १६, २०८३

आरती पौडेल

What you should know

काठमाडौँ — खेतीपाती, मेलापात, घाँसदाउरा र घरका दैनिक काम । यसरी नै कल्पनाकुमारी सिंहको दैनिकी बितिरहेको थियो । यी कामबाट फुर्सद मिल्दा कहिलेकाही सामाजिक सञ्जाल टिकटकमा सामान्य भिडियो राख्थिन् । यस्ता भिडियो उनले सम्झनामा रहिरहोस् भन्ने उद्देश्यले मात्रै बनाउँथिन् । तर यही भिडियोले उनलाई चर्चित बनाएको छ ।    

मेलापात गर्ने क्रममा उनले एक दिन कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाएकी थिइन् । उक्त भिडियो २ करोड ८० लाखभन्दा बढी पटक हेरिएको छ । यसपछि उनी ‘हुम्ली बुहारी’का रूपमा लाखौँ दर्शकमाझ परिचित बनिन् । आज उनले सामाजिक सञ्जालमार्फत हुम्लाको संस्कृति, जीवनशैली र स्थानीय उत्पादनलाई विश्वसामु परिचित बनाइरहेकी छन् । 

०००

हुम्लाको चंखेली गाउँपालिका मार्सीधारा घर भएकी कल्पना फुर्सद मिल्दा वरपरका दृश्य समेट्दै भिडियो खिच्छिन् । पछिसम्म रहिरहोस् भनेर ती भिडियो टिकटक र फेसबुकमा पनि पोस्ट गर्छिन् । यही क्रममा एकदिन मेला गएको बेला उनले कोदो गोडिरहेको र काम सकेर कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाएकी थिइन् । यो भिडियो ‘एडिट’ गरेर टिकटकमा राखिन् । भिडियो एकाएक ‘भाइरल’ भयो । सामान्य तरीकाले राखेको भिडियोलाई सबैले मन पराए  । ‘फेसबुक, टिकटकमा भिडियो, फोटो राख्यो भने पछिसम्म हेर्न मिल्छ भनेर राखेकी थिएँ,’ उनले भनिन्, ‘एक्कासी सबैले यतिधेरै मन पराउनुहुन्छ भनेर सोचेकै थिइन ।’ उनको उक्त भिडियो अहिलेसम्म २८ मिलियनभन्दा बढीले हेरिसकेका छन् ।

टिकटक भिडियो चर्चामा आएपछि कल्पनाका फलोअर्स एकाएक बढेका छन् । करेन्ट चाउचाउले पनि पैसा र चाउचाउ उपहार स्वरुप पठाएको उनले सुनाइन् । ‘मेलापात गरेको भिडियो बनाएकी थिएँ । कसैको प्रचार त गर्न खोजेको होइन्,’ उनले भनिन्, ‘भिडियो निकै राम्रो भएको भन्दै चाउचाउ कम्पनीले चाउचाउ र नगद पठाउनु भयो ।’ यसपछि कल्पना लाखौँ दर्शकमाँझ परिचित बनिन् । कल्पनाले कहिल्यै कल्पना नगरेको चर्चा सामाजिक सञ्जालले दिएको छ ।Nearly 30 million views in a single video of 'Humli Buhari'

भिडियोको चर्चा र धेरै दर्शकले माया गरेको देख्दा निकै खुसी लागेको उनले सुनाइन् । टिकटकमा उनको भिडियो जस्तै गरी बनाउने ‘ट्रेन्ड’ समेत चलेको थियो । त्यसपछि कल्पनालाई विभिन्न कम्पनीबाट सामानहरूको ‘पेड प्रमोसन’ अफर आउन थाले । ‘मेरो सामानको विज्ञापन गर्दिनु भनेर धेरैले भन्नुहुन्छ,’ उनले भनिन्, ‘तर आफैले सामान प्रयोग नगरी भिडियो बनादिन भन्ने गरेकी छुँ । नराम्रो सामान भए किन अरुलाई मारमा पार्नु भने जस्तो लाग्छ ।’ कल्पना पैसा कमाउनु मात्रै सबैथोक नभएको बताउँछिन् । ‘मेरो ग्रामीण जीवनशैलीलाई दर्शकहरूले मन पराउनु भएको छ । पैसा नै कमाउने चाहना भए विदेश गएर पनि कमाउन सकिन्छ,’ उनले भनिन्, ‘तर कसैको विश्वास कमाउन, माया कमाउन निकै गाह्रो हुन्छ ।’ 

कल्पनाको टिकटकमा हुम्लामा परम्परागत तरीकाले तेल निकालेको, टाउकोमा अम्खरा राखेर नाचेको, खेतबारीमा काम गरेकोदेखि परम्परागत पोशाक लगाएर बनाएका भिडियो, चाउचाउ खाएको, बारीको स्याउ टिपेको, बिहेमा नाचेको, लेकमा गाइवस्तु चराएको, छोराछोरी, श्रीमानसँगको फोटो भिडियो छन् । उनका  २३० भन्दा बढी भिडियोमा एक मिलियनभन्दा बढी भ्युज छन् ।

०००

जाजरकोटको सामान्य परिवारमा जन्मिएकी कल्पनाले लिम्साबाट एसइई उत्तीर्ण गरेकी थिइन् । एसइईपछि उनले बर्दियाको तारातालबाट भेटेनरी पढिन् । यसपछि खलङ्गा र बारेकोट गाउँपालिकामा ३ महिने ‘ओजेटी’ पनि गरेकी थिइन् । सानैदेखि उनमा सरकारी जागिर खाने रहर थियो । यहिक्रममा केही समय लोकसेवा तयारी समेत गरेको सुनाइन् । २०७५ सालमा विवाह भएपछि लोकसेवा तयारी छुट्यो । कल्पना परिवारसँगै हुम्लामा बस्दै आइरहेकी छन् । सुरुसुरुमा हुम्लामा बस्न गाह्रो भए पनि बिस्तारै बानी परेको उनले सुनाइन् । ‘जाजरकोट र बर्दिया बसेकी थिए । हुम्लाको बोलीचाली, रहनसहन, खानपान र काम गर्ने तौरतरिका सबै फरक थियो । बिस्तारै सबै सिक्दै गएँ,’ उनले भनिन् ।

विवाहअघिसम्म कल्पना सामाजिक सञ्जाल चलाउँथिनन् । बिहेपछि उनका श्रीमानले फेसबुक र टिकटक एकाउन्ट खोलिदिएका थिए । सुरुसुरुमा भिडियो नराखे पनि बिस्तारै खेतीपाती, पशुपन्छी, गाईवस्तुका भिडियो राख्न थालिन् । टिकटकमा १६ हजार फलोअर्स पुगेका थिए । तर एक्कासी उनको उक्त टिकटक अकाउण्ट ब्याण्ड भयो । उनले ‘कल्पना४’ नामक अर्को अकाउण्ट खोलिन् । उक्त आइडीबाट उनका टिकटक भिडियोलाई धेरैले मन पराए । वा भनौँ चर्चा कमाइन् । 

कल्पनाले दैनिक कामकाज, लिपसिङ साथै गाउँठाउँको बिहे, पूजा, रितिरिवाज, परम्पराको भिडियो राख्छिन् । भिडियोमा आफ्नै आवाज समेत दिन्छिन् । ‘ठाउँअनुसार परम्पराहरू फरक हुन्छन् । यस्ता भिडियो राख्दा पहिलो पटक थाहा पाएको भन्दै म्यासेज, कमेन्ट गर्नुहुन्छ,’ उनले भनिन्, त्यस्तोभन्दा खुसी लाग्छ ।’ 

कल्पना भिडियो खिच्न एउटा स्थानमा मोबाइल अड्याएर राख्ने गरेको सुनाउँछिन् । उक्त भिडियोलाई घरको काम सकेर बेलुका सम्पादन गरी पोष्ट गर्ने गरेको सुनाउँछिन् । ‘अरु बेला त भ्याउँदैन, धेरै काम हुन्छ । भिडियो बनाउन काम छोड्ने कुरा आउँदैन । त्यसैले बेलुकामा सबै काम सकेर सुत्ने बेला एडिट गर्छु ।  कहिले रातिनै राख्छु । कहिले भोलिपल्ट राख्छु,’ उनले भनिन् । 

हुम्लामा सिजनअनुसार खेतीपाती हुने भएकाले फुर्सदिलो समय निकै कम हुन्छ । ‘गफ गरेर बस्ने, टिकटक बनाउने फुर्सद निकै कम हुन्छ । तेल पेल्नु ( तोरी र ओखर), कोदो, चिनु र फापर गोड्ने जस्ता धेरै काम गर्नुपर्छ,’ उनले भनिन्, ‘एकै सिजनमा कोदोलाई ३–४ पटक गोड्नुपर्छ ।’

काम छोडेर ‘टिकटक लाइभ’ बस्ने नगरेको उनले सुनाइन् । १–२ पटक कोदो टिप्ने बेला लाइभ बसेको उनले सम्झिइन् । टिकटक लाइभमा बस्दा  गायक/कलाकारहरूले आफ्नो गीतमा टिकटक बनाउन अफर गरेको र पैसा समेत दिने बताएको सुनाइन् । 

कल्पनाले फेसबुकमा राखेका रिल्सबाट पनि राम्रो आम्दानी हुने गरेको सुनाइन् । उनको टिकटकमा ५ लाख ८७ हजार फलोअर्स छन् । यस्तै फेसबुकमा ७ लाख ३९ हजार फलोअर्स छन् । टिकटक र फेसबुकबाट भएको कमाइले घर चलाउन सहज भएको र मन परेको सामान किन्न सकेको बताइन् । केही समयअघि मात्रै यही कमाइबाट नयाँ मोबाइल किनेको उनले बताइन् । 

उनले भिडियो बनाएपछि हुम्लाका स्याउको चर्चाNearly 30 million views in a single video of 'Humli Buhari'

सामाजिक सञ्जालले हुम्लामा पनि ठूलो सहयोग पुगेको कल्पनालाई लाग्छ । उनी हुम्ला बिहे गरेर आउने बेला बारीका फलफुल बिक्री नहुने र कुहिएर जाने गरेको सुनाइन् । बल्लबल्ल स्याउ बजार पुर्याए पनि भाउ नपाउने गरेको देख्दा निकै मन दुख्ने गरेको बताइन् । ‘पहिले स्याउहरु त्यसै खेर जाने हुन्थे । स्याउ चोरी पनि हुन्थो । त्यसले किसानलाई दु:ख बाहेक केहि फाइदा भएन भनेर मन दुख्थ्थो,’ उनले भनिन् । त्यसपछि केहि सहयोग हुन्छ कि भन्ने सोचेर कल्पनाले हुम्लाको स्याउको भिडियो बनाएर टिकटक हालिन् । उनले भनिन्, 'यसपछि त  हुम्लामा पनि स्याउ पाइन्छ ? भन्ने धेरै भए ।  मानिसहरूले हुम्लाको स्याउ अर्डर गर्न चाहेको म्यासेज गर्न थाले । बिस्तारै गाउँमै स्याउ लिन आउन थाले । बिस्तारै गाउँमा स्याउ लिन ट्रक नै आउन थाले ।’

यसपछि उनले ओखर, सिमी र कोदोको भिडियो बनाएर प्रचार गर्न थालिन् । ‘अहिले टिकटककै कारण हुम्लामा ओखर, सिमी, चुलिको तेल, फापर, चिनु, आलु र ओखरको तेल पाइन्छ भन्ने धेरैलाई थाहा भएको देख्दा खुसी लाग्छ,’ उनले भनिन् । 

अहिले किसानले उत्पादन गरेका तरकारी फलफुल मात्रै होइन वनमा पाइने तरकारीले पनि बजार पाउन थालेको उनले सुनाइन् । ‘पहिला वनभरि लिउरो (निउरो)हुन्थ्यो । स्थानीयले अलिअलि खाए पनि त्यत्तिकै खेर जान्थ्यो । अहिले गाउँबाट डोकोका डोको निउरो बजारमा जान्छ ।

लिउरो (निउरो)को माग सुर्खेतमा निकै बढेको उनी सुनाउँछिन् । यातायातको सुविधासँगै सामाजिक सञ्जालको प्रयोगले हुम्लाका उत्पादनहरूलाई बजारसम्म जोड्ने पुलको काम गरेको कल्पना सुनाउँछिन् । 

कल्पनाले भिडियोमा लगाएको हुम्लाको परम्परागत पोशाकको पनि सामाजिक सञ्जालमा दर्शकहरूले रुचाइरहेका छन् । जसले त्यहाँको संस्कृतिलाई चिनाउन ठूलो मद्दत गरेको छ । कल्पनाले टिकटक र फेसबुकमार्फत हुम्लाको जीवनशैली, स्थानीय खानपान, खेतीपाती र कृषि, रितिरिवाज, परम्परा, संस्कृति संसारभर पुर्‍याउन भूमिका खेलिरहेकी छन् । ‘मान्छेहरू जता भए पनि भिडियोले गर्दा जुम्लाको बारेमा थाहा पाइरहेको देख्दा खुसी लाग्छ,’ उनले भनिन् । २७ वर्षीया कल्पना आफुलाई परिवारका सबै सदस्यको साथ सहयोग मिलेको सुनाउँछिन् । उनका श्रीमान गाउँमै शिक्षक छन् । उनका एक छोरा र एक छोरी छन् ।

वन्यजन्तु शिकार रोक्ने मन छNearly 30 million views in a single video of 'Humli Buhari'

कल्पनालाई प्रकृति, चराचुरुङ्गी निकै मन पर्ने गरेको समेत बताइन् । ‘टिकटक, फेसबुकमार्फत अझै घरगाउका सम्पूर्ण राम्रा ठाउँ पुगेर सबैलाई भिडियोमार्फत देखाउन मन छ,’ उनले भनिन्, ‘लेकतिर कति राम्रो ठाउँ छन् ओझेलमा परेका छन् । धेरै पर्यटक आउने बनाउन मन छ ।’ अबका दिनमा कल्पना अझ बढी प्रकृतिसँग रमाउन चाहना भएको र गाउँमा वन्यजन्तु शिकार खेल्ने र पासा थाप्ने काम रोक्ने मन भएको सुनाउँछिन् ।  

टिकटकमा सबैलाई सहयोग गर्ने भएको कारण आफुलाई पारस बम ‘कुल ब्वाई’ निकै राम्रो लाग्ने र उनीसँग एकपल्ट टिकटक लाइभमा बस्ने रहर भएको सुनाउछिन् । ‘कुल ब्वाईले टिकटकमार्फत कति धेरै दिन दुःखीलाई सहयोग गरेका छन् । मलाई पनि आफैले कमाएर नसक्नेलाई सहयोग गर्ने मन छ,’ उनले भनिन् । 

कल्पना त्यसरी नै भिडियोमार्फत आफ्नो गाउँ, संस्कार, संस्कृति, परम्परा चिनाउन सधै लागि पर्ने सुनाउँछिन् ।

कर्कलोको पातमा चाउचाउ खाएको सामान्य भिडियोले कल्पनाको जीवन मात्र बदलेन । हुम्लाको संस्कृति, स्थानीय उत्पादन र गाउँको जीवनशैलीलाई लाखौं मानिससम्म पुर्‍याउन मद्दत गर्यो । कल्पना अहिले पनि दैनिक काम गरिरहेकी छन् । गाउँले जीवन रमाइरहेकी छन् । फरक यति मात्र हो कि आज उनको दैनिकीलाई लाखौं दर्शकले भिडियोमार्फत नियालिरहेका छन् । 

फिचर

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully