१४ वर्षीया सुशीलता : बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्वमा

दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाब खेपेकी सुशीलता भन्छिन्- 'मेरो पहिलो लक्ष्य गाउँमा बालविवाह रोक्नु नै हो ।'

असार १५, २०८३

मेनुका ढुंगाना

14-year-old Sushil: Rebelling from the wedding hall under the leadership of the children's network

What you should know

मेल्लेख (अछाम) — अछामको मेल्लेख गाउँपालिका–६ शोडषा, चौताक्रा टोलकी १४ वर्षीया सुशीलता नेपालीको आँखामा यो उमेरमा बालसुलभ सपना र कापी–कलम हुनुपर्ने हो । तर, ७ महिना अगाडि उनको जीवनमा यस्तो आँधी आयो, जसले उनको सुनौलो बाल्यकाल र स्वतन्त्रतालाई निमोठ्न खोज्यो ।

आफ्नै परिवार र समाज मिलेर उनलाई कलिलो उमेरमै जबरजस्ती दुलही बनाएर विवाहको मण्डपमा राख्न खोज्दै थिए । तर, आफ्नो भविष्य र अस्तित्व रक्षाका लागि सुशीलताले साहसी विद्रोह रोजिन् । उनले आफैंलाई मात्र बचाइनन्, सिंगो पालिकाकै बालबालिकाको हकअधिकार रक्षा गर्ने बलियो अभिभावकका रूपमा उभ्याइन् ।

नन्देश्वरी मावि शोडषामा कक्षा ९ मा अध्ययनरत सुशीलताका लागि गएको ७ महिना निकै पीडादायी रह्यो । आफ्नै आमाबुवा र समाज उनको बाल्यकाल खोसेर बिहेको मण्डपमा उभ्याउन यसरी लागिपर्नेछन् भन्ने उनले कहिल्यै सोचेकी पनि थिइनन् । 

यो दुःखद अध्यायको पृष्ठभूमि सुशीलताकी दिदी टंकी नेपालीको असामयिक निधनसँग जोडिएको छ ।

२०८१ असोज १ गते टंकीको बाजुराका जेनिश नेपालीसँग विवाह भएको थियो । तर, नियतिले यो वैवाहिक सम्बन्धलाई लामो समय टिक्न दिएन । बिहे भएको ६ महिनामै अर्थात् सोही वर्षको चैत ९ गते दुवै मिर्गौला फेल भएर भारतको दिल्लीमा टंकीको मृत्यु भयो ।

दिदीको मृत्युले परिवारमा बज्रपात त पर्‍यो नै, त्योभन्दा ठूलो विपत्ति १३ वर्षकी सुशीलताको जीवनमा आइलाग्यो । दिदीको मृत्यु भएको ठिक ६ महिनापछि अर्थात् २०८२ असोजमा भिनाजु जेनिशको घरबाट सुशीलतालाई हात माग्न प्रस्ताव आयो । दिदीको मृत्युपछि साली सुम्पिने समाजको विकृत चलनले उनको घरमा प्रवेश पायो । सुशीलताकी २६ वर्षकी जेठी दिदी  र २२ वर्षकी माइली दिदी अविवाहित नै थिए । तर, केटा पक्षले जेठी र माइली दिदीहरूलाई छोडेर कलिलो उमेरकी कान्छी सुशीलतालाई रोज्यो । सुशीलताका अनुसार दिदीको मृत्युपछि भिनाजुले सालीलाई बिहे गर्ने चलनजस्तै छ ।

‘मेरा जेठी र माइली दिदीहरूले पनि बिहे गरेका छैनन् । भिनाजु र उनको परिवारलाई जुन छोरी मन पर्छ, उसैलाई रोजेर लिन पाउने चलन छ । उनीहरूको रोजाइमा म परेँ । मलाई केही थाहा नदिएर मेरो परिवार र समाजका मान्छेले वैशाख १ गते बिहे गरिदिने निधो गरे,’ सुशीलताले भनिन् ,‘त्यसपछि मेरो बिहेको हल्ला चल्न थाल्यो । दिदी बितेपछि बहिनीले भिनाजुसँग बिहे गर्नैपर्छ भनेर समाजले दबाब दियो । मेरो बुवाआमा र समाज एकातिर, अर्कोतिर म एक्लै भएँ ।’

यो चरम मानसिक दबाब र एक्लोपनका बीच सुस्मिताले हार मानिनन् । उनले रोइकराइ गरिन्, आमाबुवाको अगाडि बिहे नगर्ने ढिपी गरिन् । तर, उनको बाल्यकालको चीत्कारलाई परिवारले परम्पराको आडमा कुल्चिन खोज्यो । ‘बिहे गर्दिनँ भनेर धेरै रोइकराइ गरेँ । बुवाआमालाई सम्झाउन खोजेँ । तर मेरो कुरा कसैले सुन्न खोजेनन् । बिहे हुने दिन जति नजिक आउँदै थियो, त्यति छटपटी मलाई भइरहेको थियो,’ उनले भनिन् ,‘मैले साथीहरूदेखि सरहरूसँग मेरो बिहे रोकिदिनुस् भनेर हारगुहार गरेँ । साथीहरू र सरहरू मेरो घरमा जानुभयो । तर पनि मेरो परिवार र समाज मेरो बिहे रोक्न तयार भएनन् ।’

विद्यालयका शिक्षक र सुशीलताका साथीहरू उनको घरमै पुगेर परिवारलाई सम्झाउने प्रयास गरे । गाउँकै युवा सरमीत खड्काले पनि उनको बिहे रोक्न ठूलो प्रयत्न गरे । तर, सामाजिक कुप्रथाको पर्खाल यति बलियो थियो कि कसैको कुराले काम गरेन । अन्ततः वैशाख १ गते बिहेको सम्पूर्ण तयारी पूरा भयो । सुशीलतालाई बेहुलीका रूपमा सिँगार्ने तयारी हुँदै थियो ।

‘म जसरी पनि मेरो बिहे रोक्न चाहन्थेँ । तर, मेरा सबै प्रयास फेल भए । मलाई बेहुलीको रूपमा सिँगार्न तयारी हुँदै थियो । त्यसैबेला मैले म त महिनावारी भएँ भनिदिएँ,’ सुशीलता भन्छिन्, ‘महिनावारी हुँदा शुभ काम हुँदैन र बिहे रोकिन्छ सोचेरै मैले यसो भनेकी हुँ ।’

परम्परावादी समाजको महिनावारी सम्बन्धी मान्यतालाई नै उनले  रक्षाकवच बनाइन् र तत्कालका लागि बिहे १५ दिन पछाडि धकेल्न सफल भइन् ।

वैशाख १ गतेको संकट त टर्‍यो तर १५ गतेका लागि बिहेको अर्को मिति तय भयो । यो बीचको समय सुशीलताका लागि अस्तित्वको लडाइँ थियो । उनले पहिले गाउँमा आस्था नेपाल र वर्ल्डभिजनद्वारा सञ्चालित ‘रुपान्तरण कक्षा’ लिएकी थिइन् । त्यहाँ उनले बालविवाह गैरकानुनी र घातक हुन्छ भन्ने बुझेकी थिइन् ।

‘यो बीचमा मैले सबैसँग सहयोग मागेँ,’ उनले भनिन् ,‘रुपान्तरण कक्षा दिने सर, मेडमलाई पनि सहयोग मागेँ । उहाँहरूले बिहे रोक्नका लागि हामी सहयोग गर्छौं भन्नुभयो र घरमै गएर सम्झाउनुभयो ।’

14-year-old Sushil: Rebelling from the wedding hall under the leadership of the children's network

संस्थाका प्रतिनिधिहरूको काउन्सिलिङले पनि परिवार पूर्ण रूपमा पग्लिसकेको थिएन । यसैबीच वैशाख २ गते गाउँमा वडास्तरीय बालक्लब गठन हुने कार्यक्रम तय भयो । सुशीलता समस्या बोकेर त्यहाँ पुगिन् । ‘वैशाख २ गते वडास्तरीय बालक्लब गठन हुँदै थियो । त्यता गएर सबै समस्या सुनाएँ । त्यताबाट पालिकास्तरीय बालक्लबको प्रतिनिधि गएँ । सबैले साथ दिन्छौं भनेपछि ममा साहस थपियो,’ उनले थपिन् ।

त्यसपछि वैशाख ७ गते मेल्लेख गाउँपालिकास्तरीय बालसञ्जाल गठनको प्रक्रिया सुरु भयो । गाउँपालिकाका ८ वटै वडाका बाल प्रतिनिधिहरूको ठूलो भेला थियो । सुशीलताले उक्त भेलामा उभिएर आफ्नो कथा, रोदन र बालविवाह रोक्नका लागि गरेको संघर्षको नालीबेली सुनाइन् र नेतृत्वका लागि दाबी गरिन् ।

‘मैले ८ वटै वडाबाट आएका प्रतिनिधिलाई सबै कुरा सुनाएँ र बालसञ्जालको अध्यक्ष हुन चासो देखाएँ,’ सुशीलताले भनिन् , ‘तीन जना अध्यक्षको लागि उम्मेदवार थिए । मेरो समस्या र बालविवाह रोक्नका लागि काम गर्ने कुरा सुनाएपछि म सर्वसम्मत अध्यक्ष भएँ । त्यसपछि वैशाख १५ गते हुने मेरो विवाह सधैंका लागि क्यान्सिल भयो ।’

२७ सदस्यीय बालसञ्जालको नेतृत्व गरिरहेकी सुशीलताको अबको एउटै संकल्प छ– पालिकालाई बालविवाहमुक्त बनाउने । ‘अहिले पालिकाभरि २७ जना सदस्य छन् । मेरो पहिलो लक्ष्य बालविवाह रोक्नु नै हो । बिहेको मण्डपमा बसाउन तयार भएको मेरो परिवार र समाजका अगाडि म अहिले पालिकास्तरको बालसञ्जालको अध्यक्षको कुर्सीमा बसेकी छु ।’

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully