दृष्टिविहीन भन्छन्- हामीलाई देखिसहन्न सरकार

‘सार्वजनिक सवारी साधानले नबोक्ने, अघिल्लो दिन हिँडेको बाटोमा भोलिपल्ट खाल्डो खनेर अलपत्र पारेका हुन्छन्  । जसोतसो काम गरेर खाएका थियौं । त्यहि पनि हरायो । अब के गरेर खाने ?’

असार १२, २०८३

आरती पौडेल

Blind people say - the government does not tolerate us

What you should know

काठमाडौँ — सल्यान वनगाढ कुपिन्डे–११ घर भएका शिवराज विश्वकर्मा जन्मजात दृष्टिविहीन हुन् । बीएड पहिलो वर्षमा अध्ययनरत उनी २ वर्ष अगाडि कामको खोजीमा काठमाडौं आएका थिए । परिवारको आर्थिक अवस्था नाजुक भएकाले उनले गाउँमै काम गदै पढ्ने योजना बनाएका थिए । तर दृष्टिविहिन भएकै कारण उनले केही काम पाएनन् । यसपछि कामको खोजीमा काठमाडौं आउन बाध्य भएको उनले सुनाए । 

शिवराज डेढ वर्षदेखि काठमाडौंको सडकमा गीत गाएर जीविकोपार्जन गरिरहेका थिए । यसरी प्राप्त ८–१० हजार रुपैयाँले उनी पढाई खर्च, कोठाभाडा  र खाना खर्च जुटाइरहेका थिए । प्रशासनले केही महिनादेखि सडकमा गीत गाउन रोक लगाएपछि उनी सकसमा छन् । घर चलाउनै मुस्किल परेको उनले सुनाए । ‘जता जता बसे पनि प्रहरी, नगर प्रहरीले उठाउँछन्,’ उनले दुखेसो पोखे, ‘काम खोज्दा कतै नपाएपछि सडकमा गीत गाउने थालेको थिएँ । त्यहि काम गर्न पनि सरकारले दिएन ।’ 

उनले रेष्टुरेण्टहरूमा गीत गाउने काम खोजे पनि दृष्टिविहीन भएकै कारण नपाएको सुनाए । ‘गीत राम्रै गाउछुँ । कति होटल, रेष्टुरेण्टमा लाइभ गीत गाउन प्रस्ताव गरेँ तर पाइन् । बाध्य भएर सडकमा गाउन थाले पनि बन्द भयो । अब कसरी खर्च जुटाउने सोच्नै सकेको छैन ।’ महिनामा २१ सय रुपैयाँ भत्ता आउने भने पनि त्यसले कोठाभाडा तिर्न समेत नपुग्ने उनी सुनाउँछन् । Blind people say - the government does not tolerate us

सरकारले अपांगता भएकाहरूलाई गाँस, बास, कपासको सुनिश्चितता नगरी सडकबाट हटाएको भन्दै विरोधस्वरुप धर्नामा बसिरहेका छन् । ‘घामपानी धुलोधुवाँ सहनु हाम्रो रहर होइन, बाध्यता हो, विकल्प नदिई सडक छोड्दैनौँ’ भन्दै सडक पेटी केन्द्रीय स्वरोजगारमुलक दृष्टिविहिन व्यवसायीहरूको समूहले ५ दिनदेखि काठमाडौंको माइतीघरमा बिहान ९ देखि दिउँसो १ बजेसम्म धर्ना जारी छ ।

०००

दिउँसोको टन्टरापुर घाममा सेतो छडीको साहारामा धर्ना दिइरहेका थिए, गुल्मी चन्द्रकोट गाउँपालिका–४ घर भएका दृष्टिविहीन दम्पती ३५ वर्षीय मानबहादुर थापा र ३० वर्षीया सरिता चौधरी ।

काठमाडौंको कीर्तिपुरमा कोठा भाडामा लिइ बस्दै आएका उनीहरू दुवैजना कहिले गीत गाएर, कहिले धुप बेचेर घरखर्च चलाइरहेका थिए । ७ वर्षअघि काठमाडौं आएका उनीहरू विहान ७ देखि ९ बजेसम्म र साझ ४ बजेदेखि ७ बजेसम्म कहिले स्वयम्भु, सुन्धारा, लगनखेलमा गीत गाउने गर्थे । कहिले काही धुप पनि बेच्ने गर्थे । केही समययता यी काम गर्न नपाएको मानबहादुरले सुनाए । ‘सडकमा गीत गाएर, धुप बेचेर, मागेर खान पाउँदैन भनेर नगर प्रहरी, नेपाल प्रहरीले उठाउनु हुन्छ,’ उनले भने, ‘हामीलाई ५ पटकसम्म गाडीमा हालेर लगे । २–४ घण्टा राखेर छोडे ।’Blind people say - the government does not tolerate us

प्रहरीको व्यवहारले निकै मन दुखेको मानबहादुरको गुनासो छ । ‘आँखा नदेख्ने भएकाले हाम्रो कमाउने बाटो नै सडकमा गीत गाउने र अगरबत्ती, धुप बेच्ने थियो,’ उनले भने, ‘सरकारले विकल्प नदिइ यो कामबाट लखेट्यो ।’

मानबहादुरको दम्पतीले दिनको ५०० देखि ७०० सम्म सडकमा गीत गाएर कमाउथे । ‘सधैं एकै नास हुँदैन थियो,’ उनले भने, ‘पैसा भएको बेला घर खर्चको लागि पीर हुँदैनथ्थो । कहिलेकाही गाउँमा भएकी आमालाई पनि पठाउँथे । अहिले त कोठा भाडा पनि अरुसँग मागेर तिर्न पर्ने अवस्था हुन्थ्यो ।’ 

मानबहादुरले बीए पास गरेका छन् । सरिताले १२ कक्षा पास गरेकी छन् । सरकारले अपांगता भएका व्यक्तिलाई उपयुक्त तरिकाले व्यवस्थापन गरोस् भन्नेमा रहेको मानबहादुर बताउँछन् । ‘अन्तराष्ट्रिय अपांग महासंघ सन्धि लागु होस् । देशमा दृष्टिविहिनहरूलाई गाँस, बास, कपास र रोजगारको उचित व्यवस्था हुनुपर्यो,’ उनले भने ।

सरिता दृष्टिविहीनहरूको दैनिकी निकै कष्टकर रहेको बताउँछिन् । ‘सार्वजनिक सवारी साधानले नबोक्ने, अघिल्लो दिन हिँडेको बाटोमा भोलिपल्ट खाल्डो खनेर अलपत्र पारेका हुन्छन् ,’ उनले भनिन्, ‘जसोतसो काम गरेर खाएका थियौं । त्यहि पनि हरायो । अब के गरेर खाने ?’

सरिता पनि सरकारले विकल्प दिए हुने बताउँछिन् । ‘आँखा देख्ने भएको भए अन्य काम गरेर पनि खान्थ्यौँ होला । उपाय नभएर नै त्यस्तो गरेका हौँ,’ उनले भनिन्, ‘सरकारले हाम्रो आवाज सुनोस् ।’

०००

धर्नामा दृष्टिविहिनहरूको व्यवस्थापन सरकारले गर्नुपर्ने माग गरिरहेका थिए ४२ वर्षीय हेम थापा मगर । सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–३ घर भएका हेम १० वर्षदेखि परिवारसँग काठमाडौंको कीर्तिपुर बस्दै आएका छन् । हेम सडकमा काम गर्न नपाएपछि अब परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । ‘मैले अगरबत्ती मार्केटिङ गरेर घर चलाउँथे । छोराछोरीलाई पढाउने, कोठाभाडा तिर्ने सबै एक्लैले गर्थे । अब काम गर्न नपाएपछि के गरेर बाँच्ने ?,’ उनले भने । हेमकी श्रीमती पनि जन्मजात दृष्टिविहिन हुन् । उनका २ सन्तान भर्खरै स्कुल पढ्दै छन् । हेम एक्लैले धुप बेच्न नसक्ने सुनाउँछन् । ‘धुप बेच्न जाँदा आँखा देख्ने साथीको आवश्यक पर्छ । Blind people say - the government does not tolerate us

०००

सिन्धुली तीनपाटन–७ घर भएका २७ वर्षीय वासुदेव लुगेंली मगर ८ महिना अघि धेरै सपना बोकेर काठमाडौं आएका थिए । तर काठमाडौं आएको केहि समय नबित्तै सबै सपना चकनाचुर भएको उनी सुनाउँछन् । ‘मसँग निमावि तहको टिचिङ लाइसेन्स पनि छ । आयोग लड्दैछु । जागीर नहुने बेलासम्म काम गरेर खान पर्यो, बुढा भएका बाआमासँग खर्च माग्ने कुरा भएन भनेर सडकमा गीत गाउथेँ,’ उनले भने, ‘सडकमा गीत गाउन पनि नपाउने भएपछि कसरी पैसा कमाएर कोठा भाडा तिर्ने, परीक्षाको तयारी गर्ने, आमाबालाई के पठाउने तनाब बढेको छ ।’ Blind people say - the government does not tolerate us

सरकारले अपांगता भएका हरेक व्यक्तिको क्षमताअनुसार काम दिन आवश्यक रहेको उनी सुनाउँछन् । ‘सरकारले पढे लेखेकालाई रोजगारको व्यवस्था गर्नुपर्छ । नपढेका साथीहरूलाई पनि क्षमताअनुसार व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘कुनै व्यवस्थाबिना हरेक ठाउँबाट निकाल्नु गलत हो ।’

०००

दृष्टिविहीनको लागि सरकारले वैकल्पिक व्यवस्था नगरी सडकबाट उठाउनु नहुने भन्दै माइतीघर आन्दोलनमा सहभागी छन् । २२ वर्षीय गौरव बोहोरा क्षेत्री । कैलालीका  उनी आधुनिक गीत गाउन रुचि राख्छन् । सडकमा गीत गाएरै उनले केही समय अगाडिसम्म आम्दानी गर्थे । गीत गाइरहेको स्थानबाट निकालिएपछि आन्दोलनमा आएको क्षेत्री बताउँछन् । काम गर्न, मागेर खान नदिएपछि सरकारले आफूहरूको व्यवस्था गर्नुपर्ने उनी बनाउँछन् । ‘हामीलाई कि भने सरकारले रोजगारी दिनुपर्यो । नत्र २० देखि २५  हजार रुपैयाँ महिनाको दिन पर्यो,’ उनले भने, ‘यो हाम्रो बाध्यता हो । आँखा देख्ने भएको भए सडकमा धुप बेचेर, गीत गाएर बस्नु पर्दैन थियो । जस्तो काम गरेर भए पनि खान्थ्यौ ।’Blind people say - the government does not tolerate us

०००

सडकमा विभिन्न काम गरेर घर धानिरहेका दृष्टिविहिनहरूको आम्दानी हुने बाटो सरकारले बन्द गर्दा मारमा परेको बताउँछन् संयोजक सुदीप ओली । ‘कोहि साथीहरू धुप बेच्नुहुन्थ्यो । कोहि गीत गाउनु हुन्थ्यो । मैले पनि धुप बेच्थे । यसरी नै जीविकोपार्जन भएको थियो,’ उनले भने, ‘त्यो राज्यले बन्द गरेको छ । त्यसैको विरोधमा अब हामीलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगारमा राज्यले ग्यारेण्टी गर्नुपर्‌यो । भनेर धर्ना कार्यक्रमलाई अगाडि बढाएका हौं ।’ Blind people say - the government does not tolerate us

काठमाडौंका विभिन्न स्थानका सडकमा काम गरेर खाने दृष्टिविहीनहरू कतै पनि काम गर्न नपाएको ओली सुनाउँछन् । ‘पशुपति क्षेत्र, जमल, स्वयम्भु, बौद्ध चारैतिरबाट हामीलाई विकल्प नदिई धरपकट गरेर निकालियो,’ उनले भने, ‘विकल्प दिएको भए मान्थ्यौं  । तर नदिइ लखेटेको अवस्था छ । अब हामीलाई त्यत्तिकै छोड्दिन मिल्दैन ।’ माग पूरा नभएसम्म धर्ना निरन्तर गर्ने ओली सुनाउँछन् । ‘सरकारबाट धरपकट भएको छ । गरिरहेको काम पनि गर्न पाएका छैनौँ,’ उनले भने, ‘राज्यले वास्ता गरेन भने हामी भोकै बस्नुपर्ने अवस्था आउँछ । हामी कोही पनि भोकै मर्यौँ भने सरकार जिम्मेवार हुन्छ ।’  

सुदीप पनि धुप बेचेर घर चलाउँदै आएका थिए । उनकी श्रीमती पनि दृष्टिविहिन हुन् । ओलीका २ वर्षका छोरा छन् । धुप बेचेर महिनाको ८-९ हजारदेखि १३-१४ हजारसम्म कमाइरहेका थिए । ३३ वर्षीय उनी एक्लैले कमाएर घर चलाइरहेका थिए । तर अहिले आफूलाई अप्ठ्यारो परेको सुनाउँछन् । ‘अहिले बच्चालाई डाइपर किन्न पनि सकेको छैन । मेरो घरमा अब ३ दिन पुग्ने मात्र चामल छ,’ उनले भने ।

बस्ने व्यवस्था गरिदिँदा पनि मान्दैनन : महानगर प्रहरी बल

काठमाडौं महानगरपालिका महानगर प्रहरी बल प्रमुख प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशी भने दृष्टिविहीनहरूको लागि बस्ने व्यवस्था गरिदिँदा पनि बस्न नमानेको बताउँछन् । ‘सडक पेटीमा माग्न बस्ने भनेको गाँस, बास, कपासको लागि हो । काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरेर दृष्टिविहीनहरूका लागि गाँस, बास, कपासको सपूर्ण व्यवस्था गरेको छ,’ उनले भने, ‘उहाँहरुलाई सबै व्यवस्था हुँदाहुँदै त्यसलाई लत्याएर सडकमै आउने, वातावरण प्रदुषण गर्ने, होहल्ला गर्न पाउनुपर्यो भन्न मिल्दैन ।’ व्यवस्था गर्दा पनि सडक ओगटेर बस्न नमिल्ने उनी सुनाउँछन् । ‘सडक सवारी साधनलाई होला, फुटपाथ पैदलयात्रीको लागि, मठमन्दिर दर्शन गर्नेहरूको लागि हो । त्यही ठाउँहरूमा कोही पनि अतिक्रमण गरेर बस्न पाइदैन ।’

महानगरपालिकाले सडकमा बस्न नपाइने सूचना निकाले पनि उनीहरूका लागि गाँस, बास र कपासको व्यवस्था गरेको जोशी बताउँछन् । ‘हामीले उहाँहरूको लागि बस्ने, खाने व्यवस्था गरेर मात्र सडकमा बस्न पाइदैन भनेको हो,’ उनले भने, ‘मानव सेवा आश्रम, नेपाल प्रहरी, काठमाडौं महानगरपालिकाको पहलमा उहाँहरू केहीलाई आश्रम पुर्‌याका छौं । कतिपय गएर फर्कनु भएको छ । केही जान मान्नु भएको छैन ।’ महानगरले पीडितको सहजताको लागि नै काम गरेको जोशी बताउँछन् । ‘सडकमा बस्दा उहाँहरूको धुलो धुवाँ र प्रदुषणका कारण स्वास्थ्य खराब हुने भएर साथै, सर्वसाधारणलाई हिडडुल गर्दा अवरोध हुने त्यस्ता धेरै कारणहरुले गर्दा नै उहाँहरुको सहजताको लागि काम गरिएको हो,’ उनले भने ।  

 दृष्टिविहीनहरूले भने आश्रममा एक्लै राख्ने तर आफूहरू परिवार समेत रहेको बताएका छन् । जाशी भन्छन्,‘ अरुको व्यवस्थापन त संघीय सरकारले गर्ला । स्थानीय सरकारले स्थायी आवास, बालबच्चा, परिवार सबैको व्यवस्था गर्न सक्दैन,’ उनले भने, ‘सम्बन्धित जो पीडित हो उसलाई मानव सेवा आश्रममा राख्ने सहकार्य गरेको हो । अरु संघीय सरकारले गर्ने बाँकी होला ।’

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully