बेलायती पर्वतारोही केन्टन कुलले सगरमाथाको शिखरमा २० पटक पुग्दै सबैभन्दा बढी पटक आरोहण गर्ने गैरनेपाली पर्वतारोहीको कीर्तिमान स्थापना गरेका छन्।
What you should know
काठमाडौं — बेलायती पर्वतारोही केन्टन कुल ३३ वर्षअघि (सन् १९९३) पहिलोपटक लुक्ला विमानस्थलमा ओर्लिँदा त्यहाँको धावनमार्ग अहिलेको जस्तो पक्की थिएन । केवल घाँसे मैदान । खुला चौरजस्तो । त्यतिबेला उनी २० वर्षका थिए, आर्थिक रूपमा कमजोर र युवावस्थाको साहसले भरिभराउ । साथीहरूसँग मिलेर ६ हजार ३६७ मिटर उचाइको कुसुम काङ्गुरु हिमालतर्फ प्रस्थान गर्दा उनीहरूसँग न त भान्साका लागि टेन्ट थिए न भरिया । न त आजका जस्ता हिमाली अभियानहरूमा देखिने विशाल व्यवस्थापक टिम । 'हामी जवान थियौ, अलि मूर्ख र निकै लापरवाह थियौं,' पहिलो नेपाल यात्रा सम्झँदै कुल भन्छन,' तर, त्यही बेला म नेपालसँग प्रेममा परें ।'
५२ वर्षीय कुल अक्सफोर्डमा बसोबास गर्ने अनुभवी पर्वतारोही तथा गाइडका रुपमा परिचित छन् । यसपटकको वसन्तकालीन हिमाल आरोहण सिजनमा पुनः सगरमाथाको चुचुरोमा पुग्दै उनले २०औँ सफल आरोहण पूरा गरेका छन् । यससँगै उनी सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने गैरनेपाली पर्वतारोही बनेका छन् । आरोहण सकिएपछि काठमाडौंको याक एन्ड यति होटलमा भेटिएका उनले बेलायत फर्किनुअघि आफ्नो कीर्तिमानबारे भन्दा पनि जलवायु परिवर्तन र नेपालप्रतिको आत्मियताबारे खुलस्त कुरा गरे ।
यसपटकको वसन्तकालीन सिजन सुरुमा खासै उत्साहजनक थिएन। बैशाखको अन्त्यसम्मै आइपुग्दा काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्म चिन्ता र अनिश्चितता व्याप्त थियो । सगरमाथा आधार शिविरमाथि खुम्बु आइसफलमा विशाल सेराक (हिमढुंगा) र अस्थिर अवस्थाका कारण बाटो खुलाउने काम रोकिएको थियो । करिब ३ सातासम्म ‘आइसफल डाक्टर’हरूले सुरक्षित बाटो पहिल्याउन सकेका थिएनन् । धेरैले त यस वर्षको सिजन नै रद्द हुन सक्ने अनुमान गर्न थलिसकेका थिए ।
'मे को सुरुतिर सबैले सिजन सकियो भनेर भन्न थालेका थिए,' कुलले हिमाल आरोहण सिजनको सुरुवाती दिन सम्झिए । तर, त्यसपछि जे भयो, त्यसलाई कुल ऐतिहासिक वर्ष एवं सबैभन्दा महत्वपूर्ण उपलब्धि मान्छन् । व्यावसायिक प्रतिस्पर्धा र व्यक्तिगत अहंकारलाई पन्छाउँदै शेर्पा टोलीहरू, आरोहण अभियान सञ्चालक र पर्वतारोहण सञ्चालक संघ एकजुट भए ।
'यस वर्षबाट सिक्नुपर्ने सकारात्मक कुरा छ भने सबै टोली एक ठाउँमा उभिएर समस्या समाधान खोज्ने क्षमता हो,' कुल भन्छन् । शेर्पा समुदाय र नेपाली आरोहण अभियान सञ्चालकहरूले मिलेर काम गरे र सफल बनाए । उनले भने, 'मेरो लागि यो वर्षको सबैभन्दा ठूलो उपलब्धि यही हो । २०औँ आरोहण वा कुनै नयाँ कीर्तिमानभन्दा पनि त्यो ठूलो विषय थियो । यसले मलाई २ दशकअघिको समयमा पुर्यायो । त्यसबेला आरोहण टोलीहरूबीच यस्तै सहकार्य हुन्थ्यो ।'
पादावा र कामीरिताबाट प्रेरणा लिन्छु, प्रतिस्पर्धा होइन
२० पटक सगरमाथा आरोहण गरिसकेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले कुललाई प्रायः कामीरिता शेर्पा वा पासाङ दावा शेर्पाजस्ता नेपाली पर्वतारोहीहरूसँग तुलना गर्छन् । तर, उनी भने यस्तो तुलना अस्वीकार गर्छन् । 'होइन, म यी व्यक्तिहरूसँग प्रतिस्पर्धा गरिरहेको छैन । वास्तवमा कसैसँग पनि प्रतिस्पर्धा गरिरहेको छैन,' उनले स्पष्ट पारे । उनले २६ वर्षअघि अमाडब्लम हिमालमा पादावा शेर्पासँग भएको पहिलो भेट सम्झिए । 'त्यतिबेला उनी २६ वर्षका थिए, म २८ वर्षको थिएँ । उनले त्यसअघि नै सगरमाथा आरोहण गरिसकेका थिए । पादावा एकै सिजनमा दुई पटक सगरमाथा चढ्छन् र अझै पनि निकै ताजा देखिन्छन् । कामीरिता अद्भुत व्यक्ति हुन् । म उनीहरूसँग प्रतिस्पर्धा गर्दिनँ, बरु उनीहरूबाट प्रेरणा लिन्छु । बरु यी व्यक्तिहरू मेरो लागि प्रेरणाका स्रोत हुन् ।'
कुलका लागि सगरमाथा नेपालसँगको सम्बन्धलाई निरन्तरता दिने माध्यम हो । 'म नेपाल, हिमालहरू, यहाँका मानिस, संस्कृति र खाना मन पराउँछु । सगरमाथाले मलाई यहाँ आउने कारण दिन्छ र मानिसहरूसँग भेट्ने अवसर दिन्छ,' केन्टन कुलले भने ।
सन् १९९३ यता लगभग प्रत्येक वर्ष नेपाल आइरहेका कुलले खुम्बु क्षेत्रको तीव्र परिवर्तन नजिकबाट देखेका छन् । पुरानो समयको शान्त वातावरण उनलाई अझै सम्झना आउँछ । नेपालले आफ्नो सबैभन्दा महत्वपूर्ण प्राकृतिक सम्पत्तिबाट आम्दानी गर्नु स्वाभाविक भएको उनी बताउँछन् ।
सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति १५ हजार अमेरिकी डलर रोयल्टी शुल्कबारे केही विदेशीले आलोचना गर्ने विषयमा उनको दृष्टिकोण फरक छ । 'बेलायत वा युरोपमा मानिसहरूले आल्प्स हिमशृङ्खलामा रहेको सबैभन्दा अग्लो हिमाल मोन्ट ब्लाङ वा स्कटल्याण्डको हाइल्याण्ड क्षेत्रमा रहेका बेन नेभिस निःशुल्क चढ्न सक्छन्,' उनी भन्छन् । 'तर, नेपाल धनी देश होइन । यहाँ विश्वकै उत्कृष्ट हिमालहरू छन् । यदि ५०० जना मानिस सगरमाथा चढ्न १५ हजार डलर तिर्न तयार छन् भने नेपालले त्यसबाट आम्दानी किन नगर्ने ? त्यो पैसा ठमेलका व्यवसाय, होटल, शेर्पा गाइड र स्थानीय अर्थतन्त्रमा जान्छ । सरकारले त्यसलाई सही ढंगले प्रयोग गरेसम्म म यसमा कुनै समस्या देख्दिन ।' 
२० वर्षअघि आरोहण सिजनभर हिमनदीहरू प्रायः जमेकै हुन्थे । अहिले सिजन सुरु हुँदा आधार शिविरदेखि क्याम्प-२ सम्म नदीझै पानी बगिरहेको देखिन्छ । यो हिमालमा काम गर्ने हामी सबैका लागि गम्भीर चिन्ताको विषय हो ।तर, हिमालसँग सम्बन्धित अर्थतन्त्रभन्दा ठूलो चिन्ता उनलाई जलवायु परिवर्तनले दिएको छ । 'पहिले बरफले ढाकिएका ठाउँमा अहिले धेरै पानी देखिन्छ,' कुल भन्छन्, 'हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । २० वर्षअघि आरोहण सिजनभर हिमनदीहरू प्रायः जमेकै हुन्थे । अहिले सिजन सुरु हुँदा आधार शिविरदेखि क्याम्प-२ सम्म नदीझै पानी बगिरहेको देखिन्छ । यो हिमालमा काम गर्ने हामी सबैका लागि गम्भीर चिन्ताको विषय हो ।'
नेपालप्रतिको कुलको प्रेम अहिले पारिवारिक सम्बन्धमा पनि रूपान्तरित भइसकेको छ । कोभिड–१९ महामारीका बेला सन् २०२१ मा उनले पत्नी र दुई सन्तानलाई नेपाल ल्याएका थिए । परिवारले पोखरा, नाम्चे बजार र खुम्जुङ क्षेत्रमा एक महिना ट्रेकिङ गरेको थियो । उनका १३ वर्षीय छोरा अक्सफोर्डस्थित घरमै म:म बनाउन सक्ने भइसकेका छन् । उनको पर्वतारोहण यात्राको अन्तिम अध्याय भने बिस्तारै नजिकिँदै छ । कुलले २०२७ र २०२८ मा पनि सगरमाथामा आफ्ना केही ग्राहकलाई नेतृत्व गर्ने योजना बनाएका छन् । तर, त्यसपछि सगरमाथाबाट विश्राम लिने संकेत दिएका छन् ।
'सायद सन् २०२८ पछि मेरो सगरमाथा यात्रा समाप्त हुनेछ,' उनले होटलको लबिमा शान्त स्वरमा भने । 'तर, म नेपाल आउन छोड्ने छैन । म ट्रेकिङ गर्न आउनेछु, साथीहरूलाई भेट्न आउनेछु र अन्य हिमालहरू चढ्नेछु । बेलायतपछि मैले सबैभन्दा धेरै समय बिताएको देश नेपाल नै हो ।' कुराकानीको अन्त्यमा कुलले नेपाली पर्वतारोहण समुदायप्रति गहिरो कृतज्ञता व्यक्त गरे । 'मेरो सम्पूर्ण करियर नेपालकै देन हो,' उनले भने, 'म शेर्पा टोलीहरू र यस देशका सम्पूर्ण मानिसहरूलाई हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरू अत्यन्त उदार, सहयोगी र अद्भुत हुनुहुन्छ,' भारतको दिल्ली हुँदै बेलायत उड्नुअघि उनले भने, 'यो यात्राको हिस्सा बन्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो ।'
