२० पटक सगरमाथा आरोहण गरेका केन्टन भन्छन्- कामीरितासँग मेरो प्रतिस्पर्धा छैन

बेलायती पर्वतारोही केन्टन कुलले सगरमाथाको शिखरमा २० पटक पुग्दै सबैभन्दा बढी पटक आरोहण गर्ने गैरनेपाली पर्वतारोहीको कीर्तिमान स्थापना गरेका छन्।

जेष्ठ २४, २०८३

सुरज कुँवर

Kenton, who has climbed Mount Everest 20 times, says - I have no competition with Kami Rita

What you should know

काठमाडौं — बेलायती पर्वतारोही केन्टन कुल ३३ वर्षअघि (सन् १९९३) पहिलोपटक लुक्ला विमानस्थलमा ओर्लिँदा त्यहाँको धावनमार्ग अहिलेको जस्तो पक्की थिएन । केवल घाँसे मैदान । खुला चौरजस्तो । त्यतिबेला उनी २० वर्षका थिए, आर्थिक रूपमा कमजोर र युवावस्थाको साहसले भरिभराउ । साथीहरूसँग मिलेर ६ हजार ३६७ मिटर उचाइको कुसुम काङ्गुरु हिमालतर्फ प्रस्थान गर्दा उनीहरूसँग न त भान्साका लागि टेन्ट थिए न भरिया । न त आजका जस्ता हिमाली अभियानहरूमा देखिने विशाल व्यवस्थापक टिम । 'हामी जवान थियौ, अलि मूर्ख र निकै लापरवाह थियौं,' पहिलो नेपाल यात्रा सम्झँदै कुल भन्छन,' तर, त्यही बेला म नेपालसँग प्रेममा परें ।' 

५२ वर्षीय कुल अक्सफोर्डमा बसोबास गर्ने अनुभवी पर्वतारोही तथा गाइडका रुपमा परिचित छन् । यसपटकको वसन्तकालीन हिमाल आरोहण सिजनमा पुनः सगरमाथाको चुचुरोमा पुग्दै उनले २०औँ सफल आरोहण पूरा गरेका छन् । यससँगै उनी सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने गैरनेपाली पर्वतारोही बनेका छन् । आरोहण सकिएपछि काठमाडौंको याक एन्ड यति होटलमा भेटिएका उनले बेलायत फर्किनुअघि आफ्नो कीर्तिमानबारे भन्दा पनि जलवायु परिवर्तन र नेपालप्रतिको आत्मियताबारे खुलस्त कुरा गरे ।

यसपटकको वसन्तकालीन सिजन सुरुमा खासै उत्साहजनक थिएन। बैशाखको अन्त्यसम्मै आइपुग्दा काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्म चिन्ता र अनिश्चितता व्याप्त थियो । सगरमाथा आधार शिविरमाथि  खुम्बु आइसफलमा विशाल सेराक (हिमढुंगा) र अस्थिर अवस्थाका कारण बाटो खुलाउने काम रोकिएको थियो । करिब ३ सातासम्म ‘आइसफल डाक्टर’हरूले सुरक्षित बाटो पहिल्याउन सकेका थिएनन् । धेरैले त यस वर्षको सिजन नै रद्द हुन सक्ने अनुमान गर्न थलिसकेका थिए ।

'मे को सुरुतिर सबैले सिजन सकियो भनेर भन्न थालेका थिए,' कुलले हिमाल आरोहण सिजनको सुरुवाती दिन सम्झिए  । तर, त्यसपछि जे भयो, त्यसलाई कुल ऐतिहासिक वर्ष एवं सबैभन्दा महत्वपूर्ण उपलब्धि मान्छन् । व्यावसायिक प्रतिस्पर्धा र व्यक्तिगत अहंकारलाई पन्छाउँदै शेर्पा टोलीहरू, आरोहण अभियान सञ्चालक र पर्वतारोहण सञ्चालक संघ एकजुट भए ।

'यस वर्षबाट सिक्नुपर्ने सकारात्मक कुरा छ भने सबै टोली एक ठाउँमा उभिएर समस्या समाधान खोज्ने क्षमता हो,' कुल भन्छन् । शेर्पा समुदाय र नेपाली आरोहण अभियान सञ्चालकहरूले मिलेर काम गरे र सफल बनाए । उनले भने, 'मेरो लागि यो वर्षको सबैभन्दा ठूलो उपलब्धि यही हो । २०औँ आरोहण वा कुनै नयाँ कीर्तिमानभन्दा पनि त्यो ठूलो विषय थियो । यसले मलाई २ दशकअघिको समयमा पुर्यायो । त्यसबेला आरोहण टोलीहरूबीच यस्तै सहकार्य हुन्थ्यो ।'

पादावा र कामीरिताबाट प्रेरणा लिन्छु, प्रतिस्पर्धा होइन

२० पटक सगरमाथा आरोहण गरिसकेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले कुललाई प्रायः कामीरिता शेर्पा वा पासाङ दावा शेर्पाजस्ता नेपाली पर्वतारोहीहरूसँग तुलना गर्छन् । तर, उनी भने यस्तो तुलना अस्वीकार गर्छन् । 'होइन, म यी व्यक्तिहरूसँग प्रतिस्पर्धा गरिरहेको छैन । वास्तवमा कसैसँग पनि प्रतिस्पर्धा गरिरहेको छैन,' उनले स्पष्ट पारे । उनले २६ वर्षअघि अमाडब्लम हिमालमा पादावा शेर्पासँग भएको पहिलो भेट सम्झिए । 'त्यतिबेला उनी २६ वर्षका थिए, म २८ वर्षको थिएँ । उनले त्यसअघि नै सगरमाथा आरोहण गरिसकेका थिए । पादावा एकै सिजनमा दुई पटक सगरमाथा चढ्छन् र अझै पनि निकै ताजा देखिन्छन् । कामीरिता अद्भुत व्यक्ति हुन् । म उनीहरूसँग प्रतिस्पर्धा गर्दिनँ, बरु उनीहरूबाट प्रेरणा लिन्छु । बरु यी व्यक्तिहरू मेरो लागि प्रेरणाका स्रोत हुन् ।'

कुलका लागि सगरमाथा नेपालसँगको सम्बन्धलाई निरन्तरता दिने माध्यम हो । 'म नेपाल, हिमालहरू, यहाँका मानिस, संस्कृति र खाना मन पराउँछु । सगरमाथाले मलाई यहाँ आउने कारण दिन्छ र मानिसहरूसँग भेट्ने अवसर दिन्छ,' केन्टन कुलले भने ।

सन् १९९३ यता लगभग प्रत्येक वर्ष नेपाल आइरहेका कुलले खुम्बु क्षेत्रको तीव्र परिवर्तन नजिकबाट देखेका छन् । पुरानो समयको शान्त वातावरण उनलाई अझै सम्झना आउँछ । नेपालले आफ्नो सबैभन्दा महत्वपूर्ण प्राकृतिक सम्पत्तिबाट आम्दानी गर्नु स्वाभाविक भएको उनी बताउँछन् ।

सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति १५ हजार अमेरिकी डलर रोयल्टी शुल्कबारे केही विदेशीले आलोचना गर्ने विषयमा उनको दृष्टिकोण फरक छ । 'बेलायत वा युरोपमा मानिसहरूले आल्प्स हिमशृङ्खलामा रहेको सबैभन्दा अग्लो हिमाल मोन्ट ब्लाङ वा स्कटल्याण्डको हाइल्याण्ड क्षेत्रमा रहेका बेन नेभिस निःशुल्क चढ्न सक्छन्,' उनी भन्छन् । 'तर, नेपाल धनी देश होइन । यहाँ विश्वकै उत्कृष्ट हिमालहरू छन् । यदि ५०० जना मानिस सगरमाथा चढ्न १५ हजार डलर तिर्न तयार छन् भने नेपालले त्यसबाट आम्दानी किन नगर्ने ?  त्यो पैसा ठमेलका व्यवसाय, होटल, शेर्पा गाइड र स्थानीय अर्थतन्त्रमा जान्छ । सरकारले त्यसलाई सही ढंगले प्रयोग गरेसम्म म यसमा कुनै समस्या देख्दिन ।' Kenton, who has climbed Mount Everest 20 times, says - I have no competition with Kami Rita

 २० वर्षअघि आरोहण सिजनभर हिमनदीहरू प्रायः जमेकै हुन्थे । अहिले सिजन सुरु हुँदा आधार शिविरदेखि क्याम्प-२ सम्म नदीझै पानी बगिरहेको देखिन्छ । यो हिमालमा काम गर्ने हामी सबैका लागि गम्भीर चिन्ताको विषय हो ।तर, हिमालसँग सम्बन्धित अर्थतन्त्रभन्दा ठूलो चिन्ता उनलाई जलवायु परिवर्तनले दिएको छ । 'पहिले बरफले ढाकिएका ठाउँमा अहिले धेरै पानी देखिन्छ,' कुल भन्छन्, 'हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । २० वर्षअघि आरोहण सिजनभर हिमनदीहरू प्रायः जमेकै हुन्थे । अहिले सिजन सुरु हुँदा आधार शिविरदेखि क्याम्प-२ सम्म नदीझै पानी बगिरहेको देखिन्छ । यो हिमालमा काम गर्ने हामी सबैका लागि गम्भीर चिन्ताको विषय हो ।' 

नेपालप्रतिको कुलको प्रेम अहिले पारिवारिक सम्बन्धमा पनि रूपान्तरित भइसकेको छ । कोभिड–१९ महामारीका बेला सन् २०२१ मा उनले पत्नी र दुई सन्तानलाई नेपाल ल्याएका थिए । परिवारले पोखरा, नाम्चे बजार र खुम्जुङ क्षेत्रमा एक महिना ट्रेकिङ गरेको थियो । उनका १३ वर्षीय छोरा अक्सफोर्डस्थित घरमै म:म बनाउन सक्ने भइसकेका छन् । उनको पर्वतारोहण यात्राको अन्तिम अध्याय भने बिस्तारै नजिकिँदै छ । कुलले २०२७ र २०२८ मा पनि सगरमाथामा आफ्ना केही ग्राहकलाई नेतृत्व गर्ने योजना बनाएका छन् । तर, त्यसपछि सगरमाथाबाट विश्राम लिने संकेत दिएका छन् ।

'सायद सन् २०२८ पछि मेरो सगरमाथा यात्रा समाप्त हुनेछ,' उनले होटलको लबिमा शान्त स्वरमा भने । 'तर, म नेपाल आउन छोड्ने छैन । म ट्रेकिङ गर्न आउनेछु, साथीहरूलाई भेट्न आउनेछु र अन्य हिमालहरू चढ्नेछु । बेलायतपछि मैले सबैभन्दा धेरै समय बिताएको देश नेपाल नै हो ।' कुराकानीको अन्त्यमा कुलले नेपाली पर्वतारोहण समुदायप्रति गहिरो कृतज्ञता व्यक्त गरे । 'मेरो सम्पूर्ण करियर नेपालकै देन हो,' उनले भने, 'म शेर्पा टोलीहरू र यस देशका सम्पूर्ण मानिसहरूलाई हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरू अत्यन्त उदार, सहयोगी र अद्भुत हुनुहुन्छ,' भारतको दिल्ली हुँदै बेलायत उड्नुअघि उनले भने, 'यो यात्राको हिस्सा बन्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो ।'

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully