नयाँ पुस्ताको संलग्नता नहुँदा अजिरकोटका खर्कमा गोठको संख्या घट्दै गएको छ । पाका उमेरकाले मात्रै गोठ परम्परा धानिरहेका छन्।
What you should know
गोरखा — कछाडमाथि पटुकी बाँधेर इस्टकोट भिरेका पदमबहादुर गुरुङ अघि लागेपछि गोठका भेडा लस्करै चरनमा निस्किन्छन् । भेडीगोठमा पहराका लागि पालिएका कुकुरहरु पदमबहादुरको इसारा अनुसार भेडाका अघि–पछि कुद्छन् ।
साइत जुराएर वैशाख ११ मा आफ्नो गाउँ घ्याच्चोकबाट एक दिनको पैदलयात्रा पछि पुगिने नागेपुरी खर्कमा उनले गोठ सारिसकेका छन् । अब चिसो सुरु भएपछि असोजमा मात्र ७ वटा भैंसी र १ सय वटा भेडाको बथान लिएर पदमबहादुर बेंसी झर्नेछन् ।
अजिरकोट गाउँपालिका–१ घ्याच्चोकका पदमबहादुरले यसरी नै दैनिकी बिताएको ७५ वर्ष भयो । अहिले पदमबहादुर ८२ वर्ष लागे । उनी सात वर्षको उमेरदेखि गोठमा हिँड्न थालेका हुन् । पदमबहादुरलाई सहरबजारको बाहिरी संसारभन्दा नागेपुरीको खर्क नै प्यारो लाग्छ । भन्छन्,‘खर्कमा बेस्मारी दुःख छ तर बिहान बेलुकी दुध, मोही, घ्यू खाँदा सबै भुलिदो रहेछ ।’
बावुबाजेको पुर्ख्यौली पेशा अंगाल्दै उनी घ्याच्चोकबाट ४ दिन पैदलपछि पुगिने मार्कसियु, मितोडाँडासम्मका खर्कमा भेडा डुलाउँछन् । पछिल्ला वर्ष भने अजिरकोटमा भेडीगोठ नासिँदै जाँदा चरन क्षेत्र खोज्दै पदमबहादुरलाई खर्क चाहर्नुपर्ने बाध्यता छैन । ‘पहिले गोठ राख्ने खर्क नै पाउँथेन, सिम्जुङ, मूलपानी, घ्याच्चोक, धनसिराका गोठले खर्क भरिएका हुन्थे,’ उनले भने,‘अचेल गोठ बस्ने बुढापाका बित्दै गए, छोरानातिले पेशा बदले, अहिले दुःख गरेर गोठमा बस्ने मान्छे नै छैन ।’
दुई दशकयता नागेपुरी खर्कमा क्रमशः गोठको संख्या घट्दै गएको उनले बताए । पदमबहादुरको गोठमा केही वर्ष अघिसम्म दुई सय बढी भेडा थिए । गोठमा २०/२५ सम्म भैंसी थिए । ‘यही खर्कमा ८ भैंसी लैनो थिए, दिनभर दुध दुहुनमै ठिक्क हुन्थ्यो । दुध मोही, घ्यू छेलोखेलो थियो,’ उनले भने,‘अहिले भैंसी, भेडा घटाउँदै लगेको छु, यो गोठालो हुन सारै दुःख पनि छ ।’
भेडा वा घरपालुवा जनावरले बाली नास गरे जरिवाना तिर्नुपर्ने स्थानीयले नियम बसालेका छन् । ‘चौपायाले अन्न खाइदिएको दण्ड अन्न नै तिर्नुपर्यो, कसैले त पैसा पनि माग्छन्,’ उनले भने,‘पानी पर्छ, कहिले भेडा भीरमा गइदिन्छ्, कोही छल्लीन्छन्, यसको पछि पछि कुद्नै पर्यो ।’
उनले गोठबाट घ्यू बिक्रिका लागि भच्चेक बजारसम्म पुर्याउने गरेका छन् । गोठबाटै भेडा २० देखि ३० हजारसम्ममा बिक्री गर्छन् । पदमबहादुरले गोठमा बस्दा खाने अन्नदेखि नुनसम्म घ्याच्चोकबाट बोकेरै पुर्याउँछन् । खर्कमा भेडाको पछि दर्गुदै दैनिकी बिताउँदा उनलाई सन्तोष मिलेको छ । ‘बाबुबाजेले यही गरे, म पनि यसमै लागे । काठमाडौं, पोखरा पनि पुगेको छैन,’ उनी भन्छन्,‘२०१७ सालतिर नुन बोक्न दुई पटक ठोरी झरेको छु, बाटो खुलेपछि नारायणगढबाट नुन बोकेको सम्झना छ । जमाना फेरिए पनि यही ठाउँ प्यारो लाग्छ ।’
पदमबहादुरका तीन छोरा र दुई छोरी छन् । जेठा छोरा डिलबहादुरले भेडा पालनमा साथ दिएका छन् । भच्चेकबाट एक दिन पैदलमा नागेपुरीको खर्कमा उनकोसहित अहिले पाँच वटा गोठ रहेका छन् ।
नागेपोखरी पदयात्रामा पुग्ने पदयात्री बास बस्नुपरे यीनै गोठमा पुग्ने गरेका छन् । नागेपुरी खर्कमा पदमबहादुरको नजिकै घ्याच्चोककै ७३ वर्षीय मनराज गुरुङको गोठ छ । उनी पनि पुर्ख्यौंली पेशा अंगाल्दै गोठ बस्न थालेको ४० वर्ष भयो ।
उनका बावु खट्टुको गोठमै १२ वर्षअघि ९२ वर्षको उमेरमा निधन भएको थियो । मनराजको गोठमा ९० भेडा र १३ भैंसी छन् । उनलाई यस क्षेत्रमा पछिल्लो समय गोठ मासिँदै गएकोमा चिन्ता छ । ‘केटाहरु विदेश भन्छन्, बुढाहरुले सधैं यो भीरपाखामा हिँड्न सके पो,’ उनले भने,‘गोठको जिन्दगी सोचेजस्तो सुख पनि छैन, पानी परेपछि भेडा खोज्दै दौड्नुपर्छ, चितुवाले खायो कि भालुले झम्टियो हेर्नुपर्छ, यस्तो दुःखको काममा छोरानातिले चासो देखाएनन् ।’
पछिल्लो पुस्तालाई पशुपालनमा ल्याउन सरकारले पनि ध्यान दिन नसकेको उनले बताए । जिल्लाको अजिरकोट, धार्चे, चुमनुब्री क्षेत्रका खर्कमा घुम्ती भोडीगोठ, गाई, चाैंरीका गोठ छन् । धार्चे गाउँपालिकाको लापु, गुम्दा, लाप्राक, लप्सीबोट, एमागाउँलगायतका क्षेत्रमा गोठ समितिको निर्णय अनुसार गोठ सार्ने प्रचलन रहँदै आएको छ । यस क्षेत्रम चाैपाया बाँधेर नराखी चरिचरनका लागि खर्क पुर्याउने प्रचलन छ ।
दुई दशकअघिको तुलनामा अजिरकोट क्षेत्रमा ७५ प्रतिशतले खर्कमा गोठ राख्नेको संख्या घटेको अजिरकोट–३ लप्सीबोटका यदु अधिकारीले बताए । आकर्षण घटे पनि खर्कका गोठबाट किसानको आम्दानी भने राम्रो रहेको उनले बताए । उनका अनुसार अजिरकोटका खर्कमा गाई, भैंसी र भेडाका गोठ राखिँदै आएको छ । भैंसी पनि खुल्ला रुपमा खर्कमा चरिचरनका लागि छाड्ने प्रचलन रहेको उनले सुनाए । ‘भैंसीलाई नुन १५/१५ दिनमा धनीले एउटा ठूलो ढुङ्गामा राखेर छाडिदिने प्रचलन छ,’ उनले भने । भैंसीपालकले दुध, घ्यू, मासुका लागि पाडा बिक्री गर्दै आएको उनले सुनाए । ‘यहाँका खर्कको घ्यू काठमाडौंसम्म पुग्छ, मानाको एक हजारदेखि १५ सय रुपैयाँमा बिक्री हुन्छ, एउटा भैंसी बेच्न परे मूल्य १ लाख पुगेको छ, रागोको ७०/८० हजार पर्छ,’ उनले भने,‘यस क्षेत्रमा पशुपालनमा दुःख हो, कमाई राम्रो हुन्छ ।’ पहिले स्थानीय बजारको मात्र भर पर्ने किसान अहिले भोडा तथा घ्यू बिक्रीका लागि काठमाडौंसम्म पठाउने गरेका छन् ।
गाईगोठका किसानले भने बहर, बाच्छो बेचेर आम्दानी लिने गर्छन् । भोडा गोठबाट उन बिक्री हुन्छ भने छुर्पी भेडाको साड बिक्री गरिन्छ । एउटै साडको ३० हजार रुपैयाँसम्म बिक्री हुने गरेको स्थानीय बताउँछन् । ‘भेडाको दुधबाट घ्यू पनि बनाइन्छ । भेडाको दुधबाट बनेको घ्यू आगोले पोलेको औषधिको रुपमा पनि प्रयोग हुन्छ,’ अधिकारीले भने ।
खर्कमा गोठ राख्ने चलन प्रोत्साहन गर्न गाउँपालिकाले पनि गोठ सुधारको कार्यक्रम संचालन गर्दै आएको छ । खर्कमा रहेको गोठमा सोलार, त्रिपाल, फिल्टर, टर्च लाइट, स्लिपिङ ब्याग जस्ता सामग्री वितरण गर्दै आएको अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए । परम्परागत तवरले खर्कको पशुपालनलाई ब्यावसायीकरणमा पनि जोड गरिएको उनको भनाई छ । ‘अहिले गुजारा गर्ने तवरले मात्र पशुपालन भइरहेको छ,’ उनले भने,‘किसानलाई सचेतना गर्दै साझेदारीमा लगानीमैत्री वातावरण वनाउन खोजेका छौं ।’ भेडाको ऊनलाई प्रशोधन गर्ने, खेर गइरहेको मलको रुपमा प्रयोग गरे आम्दानी लिने जस्ता अन्य विषयलाई जोड दिने तवरले किसानलाई प्रोत्साहन गर्न लागिएको उनको भनाई छ ।
