[अर्काइभ] सत्तामोहले सूर्यबहादुर र लोकेन्द्रबहादुरलाई छुट्याएको त्यो घटना 

२०४७ जेठमा राष्ट्रिय प्रजातन्त्र पार्टी(थापा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) दुई पार्टी एकै दिन घोषणा गरिएको थियो ।

जेष्ठ २२, २०८३

कान्तिपुर संवाददाता

[Archive] The incident where the lust for power separated Surya Bahadur and Lokendra Bahadur

What you should know

काठमाडौं — २०४६ को राजनीतिक परिवर्तनपछि पूर्वपञ्चहरूले एउटै पार्टी गठन गर्ने प्रयत्न गरेका थिए । तर, पूर्व पञ्चहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द एउटै पार्टीमा नअटाउने परिस्थिति बन्यो । त्यसैले ०४७ जेठमा राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) दुई पार्टी एकै दिन घोषणा भए ।

खासमा पञ्चायतदेखि नै थापा र चन्दको दुई धार थियो । त्यसैले उनीहरू एउटै संगठनमा बसेर राजनीति गर्ने अवस्थामा थिएनन् । ०४८ को संसदीय निर्वाचमा राप्रपा (चन्द)ले ३ र राप्रपा(थापा)ले १ सिट सांसद जितेका थिए । भर्खरै प्रजातन्त्र आएकाले जनताहरू कांग्रेस र कम्युनिष्टमा विभाजित भएकाले ३० वर्ष शासन गरेका पञ्चहरूको संगठन विस्तार सहज थिएन । पञ्चहरू विभाजन हुँदा निर्वाचनमा कमजोर भएको महसुस गरेर ०५१ मा २ राप्रपाले पार्टी एकीकरण गरेका थिए । उनीहरूले ०५१ को मध्यावधी निर्वाचनमा २० जना सांसद जितेका थिए । 

त्यतिबेलाको प्रतिनिधिसभामा कुल २०५ जना सांसद हुन्थे । तर, एमाले र कांग्रेसले २० सांसद भएको राप्रपाको सहयोगबिना सरकार गठन नै गर्न नसक्ने अवस्था बनेको थियो । एमाले र कांग्रेस मिलेको अवस्थामा बाहेक सरकार बन्न नसक्ने भएपछि राप्रपा सरकार गठनको ‘मुख्य साँचो’ बनेको थियो । त्यही मौका छोपेर २० सिट भएको राप्रपाका नेताहरू लोकेन्द्रबहादुर र सूर्यबहादुरले पालैपालो प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । राप्रपाका मन्त्री नहुने सांसद नै थिएनन् । एमालेले लोकेन्द्र र कांग्रेसले सूर्यबहादुर च्यापेर बहुदल आएको ८ वर्षमा पञ्चायतका २ हस्तीलाई दुई पटक प्रधानमन्त्री सुम्पेका थिए । पञ्चायतमा सांगठानिक सोचभन्दा पनि व्यक्तिगत संस्कार र राजाको निगाहमा पद पाउने संस्कारमा हुर्केका पञ्चहरूले एकले अर्कोलाई स्वीकार्न नसक्दाको परिणाम राप्रपा पार्टी बन्न सकेको थिएन । त्यसैले लोकेन्द्रबहादुरले सूर्यबहादुर र सूर्यबहादुरले लाेकेन्द्रबहादुर कमजोर बनाउने खेल निरन्तर चलिनै रह्‌यो । त्यही खेलले ०५१ देखि ०५४ सम्मको संसदीय अभ्यास निकै ‘विकृत र कालो इतिहास’ बनेको उदाहरण थुप्रै छन् । त्यसको मुख्य जड कांग्रेस र एमालेबीचको शत्रुतापूर्ण सम्बन्ध र राप्रपाको सत्तामोह नै थियो । 

प्राय: पार्टीहरूमा आन्तरिक द्वन्द्व थियो । तर, राप्रपामा देखिएको गुटगत विभाजनले मन्त्री हुने र त्यही सरकार ढाल्न अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने राप्रपा सांसदहरूको दोहोरो चरित्र नै अस्थिरताको जड बनेको थियो । राप्रपा संसदीय दलका नेता लोकेन्द्रबहादुरले भने झैं ‘डुंगामा प्वाल पार्ने सांसदहरू’ नै अस्थिरता निम्त्याउने कारक देखिएका थिए ।[Archive] The incident where the lust for power separated Surya Bahadur and Lokendra Bahadur

एमालेको ९ महिने सरकार ढलेपछि ०५२ भदौमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राप्रपाले सहयोग गरेको थियो । १९ महिनापछि अर्थात ०५३ फागुनमा देउवा ढालेर लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाउन राप्रपाका बहुमत सांसद नै एमालेको पक्षमा लागेका थिए । त्यसको ८ महिनापछि राप्रपाका बहुमत सांसदहरूले चन्दविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । उनीहरूले फेरि लोकेन्द्रबहादुरलाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेसलाई सघाएका थिए । कांग्रेसको समर्थनमा सूर्यबहादुर ०५४ असोजमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बनेको ६ महिना नबित्दै सूर्यबहादुर हटाउने खेल सुरु भएको थियो । उक्त खेलमा राप्रपाका सांसदहरूले सहयोग गर्ने भएपछि एमालेले सूर्यबहादुरविरुद्ध अविश्वास प्रस्ताव ल्याउन प्रतिनिधिसभाको विशेष महाधिवेशन माग गर्दै ०५४ पुस २४ मा दरबारमा समावेदन पत्र दर्ता गराएको थियो । उक्त पत्रमा राप्रपाका २० सांसदमध्ये ९ जनाले हस्ताक्षर गरेका थिए । राप्रपाका ११ सांसद सूर्यबहादुर हटाउने पक्षमा रहेको दाबी गरिएको थियो । 

लोकेन्द्रबहादुरपक्षले सूर्यबहादुर पक्षलाई जसरी पनि हटाउने भन्दै पार्टी नै विभाजन गर्ने निर्णय गरेका थिए । एउटै पार्टीमा बस्दा ह्वीप पालना गर्नुपर्ने र केन्द्रीय समितिले कारबाही गर्न सक्ने भएकाले कानुनी रुपमा फुट्ने निर्णय लोकेन्द्रबहादुर पक्षले गरेको थियो । त्यसका लागि पार्टी अध्यक्ष सूर्यबहादुर पक्षको केन्द्रीय समितिलाई मान्यता नदिएर पार्टीको केन्द्रीय नेतृत्व र पदाधिकारीसहितको नयाँ समिति गठन गरेको सूचना निर्वाचन आयोगमा दर्ता गरेको थियो । सूर्यबहादुरलाई हटाएको भन्दै ३५ सदस्यीय केन्द्रीय समितिको अध्यक्षमा राजेश्वर देवकोटा, नेतामा लोकेन्द्रबहादुर र सहअध्यक्षमा पद्मसुन्दर लावतीलाई चयन गरिएको थियो । राप्रपाको वीरगन्जमा भएको दोस्रो महाधिवेशनमा राजेश्वर अध्यक्षका प्रत्यासी थिए । उक्त अधिवेशनबाट लावती केन्द्रीय सदस्य निर्वाचित भएका थिए । लोकेन्द्रबहादुर भने उक्त महाधिवेशनमा उपस्थित भएका थिएनन् । महाधिवेशन भएको २ महिना नबित्दै राप्रपामा विभाजन सुरु भएको थियो । 

सूर्यबहादुरको अध्यक्षतामा बसेको राप्रपा केन्द्रीय समितिको बैठकले लोकेन्द्रबहादुर र राजेश्वरलाई निलम्बन गरेको थियो । दलबदल ऐनअनुसार संसद्‌मा ४० प्रतिशत सांसदले चाहे अलग हुन सक्ने व्यवस्था थियो । तर, छुट्टै दलको विषयमा भने कानुनी व्यवस्था थिएन ।[Archive] The incident where the lust for power separated Surya Bahadur and Lokendra Bahadur

केन्द्रीय समितिका ४० प्रतिशत सदस्य फुटेर दल बन्न सक्ने भएकाले नयाँ दलले मान्यता पाउने विषय भने अन्यौल थियो । लोकेन्द्रबहादुर समूहले सभामुख रामचन्द्र पौडेललाई ४० प्रतिशत सांसद पार्टीबाट अलग हुने सूचना दिइसकेको थियो । उक्त सूचनाका आधारमा सभामुख पौडेलले राप्रपाका लोकेन्द्रबहादुर समूहका सांसदहरू संसद्‌मा छुट्टै बस्न सक्ने जानकारी दिएका थिए । लोकेन्द्रबहादुरको नेतृत्वमा राप्रपाका ९ सांसदले गरेको हस्ताक्षरको आधारमा संसद्‌मा उनीहरूले छुट्टै दलको हैसियतमा बस्न पाउने भएका थिए । संसद् सचिवालयले ०५४ माघ ३ मा चन्द समूहलाई उक्त जानकारी दिएको थियो ।

त्यतिबेला प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरेर राप्रपाका २३ सांसद थिए । ४० प्रतिशतले अलग हुन चाहेमा वा अन्य पार्टीमा समाहित भएमा पनि सांसद पद कायम रहने व्यवस्था थियो । लोकेन्द्रबहादुर पक्षले जसरी पनि सूर्यबहादुरलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने एकसुत्रीय अडानमा संसदीय दल नै विभाजन गरेको थियो । एमालेको साथ पाएका लोकेन्द्रबहादुर पक्षका राप्रपा सांसदहरू सूर्यबहादुरलाई हटाउन पाए सत्तामा हालीमुहाली हुने चाहना राख्थे । किनकी राप्रपाका सबै सांसदले जो प्रधानमन्त्री भए पनि केही न केही पाएकै हुन्थे । 

अवस्था कस्तो बनेको थियो भने आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन राप्रपा संसदीय दलका नेता लोकेन्द्रबहादुरले नै राजालाई पेस गरिएको समावेदन पत्रमा हस्ताक्षर गरेका थिए । हुनत त्यो लोकेन्द्रबहादुरले बदला लिएका थिए । किनकी लोकेन्द्रबहादुरलाई हटाउनेबेला कांग्रेसको सहकार्यमा सूर्यबहादुर थापा अविश्वास प्रस्तावको पक्षमा उभिएका थिए । [Archive] The incident where the lust for power separated Surya Bahadur and Lokendra Bahadur

संसदीय दल विभाजन भएपछि सूर्यबहादुर पक्षका डा. प्रकाशचन्द लोहनीले लोकेन्द्रबहादुर पक्षका राप्रपा फुटेर होइन चोइटिएर जाने बताएका थिए । उनले भनेका थिए, ‘लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाउन मैले पञ्चायतमा पनि सघाएको हो । त्यतिबेला उहाँको सालीनता र चरित्रबाट म प्रभावित थिएँ । अहिले उहाँमा त्यो सबै हराएर गएको छ ।’ राप्रपा एक प्रकारले पार्टी बन्न नसकेको र आफैंभित्रको लडाइले एउटाले अर्कोलाई सिध्याउने खेलमा संसदीय दल नै विभाजित भएको सन्दर्भमा तयार गरेको समाचार कान्तिपुर दैनिकले ०५४ माघ ४ ‘राप्रपाको चन्द गुटलाई संसद्‌बाट दलको मान्यता’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । सत्ताको खेलमा राप्रपा फुटको संघारमा पुगेको भन्दै कान्तिपुरले सातासम्म लगातर ‘राप्रपामा औपचारिक विभाजन सुरु,’ ‘चन्द र देवकोटा निलम्बित, मध्यावधी सिफारिसलाई अनुमोदन’ शीर्षकमा समाचारहरू प्रकाशन गरेको थियो । कान्तिपुरले राप्रपाको सम्बन्धमा व्यंग गर्दै ०५४ पुस २७ मा कार्टुन प्रकाशन गरेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully