सरकारको विरोध होइन, ह्युम्यानिटी खोजेको हो : सरिस्मा थापा 

सरकारले सुकुमवासी बस्तीमा डोजर चलाएर विपत्ति निम्त्याएको भन्दै विरोधमा उत्रिएकी सरिस्मा थापाले पत्रकारको प्रश्नको डटेर तथ्य र तर्कपूर्ण जवाफ दिएकोमा प्रशंसा पाइरहेकी छन् । सरकारको कदमको समर्थन गर्नेहरूले भने उनको आलोचना गरिरहेका छन् ।

वैशाख २६, २०८३

आरती पौडेल

Not opposing the government, seeking humanity: Sarisma Thapa

What you should know

काठमाडौँ — गत आइतबार दिउँसो माइतीघर मण्डलमा पत्रकारले एउटी युवतीलाई आग्रह मिश्रित प्रश्न गर्छन् - '३५ वर्षसम्म उनीहरूले सुकुमवासीलाई राखे । त्यतिन्जेल तपाईंहरूले किन प्रश्न गर्न सक्नुभएन ? अहिले बालेन हत्यारा हो, राजीनामा दिनुपर्छ भन्नुहुन्छ । यो कस्तो माग हो ?'

धीरतापूर्वक प्रश्न सुनेकी युवती जवाफमा फर्काउँछिन्- ‘आजको गलतलाई गलत भन्नु भनेको हिजोको गलतलाई सही भनेको होइन । हिजो पनि शोषण भएको थियो र अहिले पनि शोषण गर्ने ?’

पत्रकार जिद्दी गर्छन्- ‘विकासको कुरा गर्दा चीन, इन्डिया वा अमेरिकाको तुलना गरिन्छ नि ?’

युवती झन् दृढ सुनिन्छिन्- 'तुलना गर्ने भन्दैमा इक्वालिटी र इक्विटीको फरकै नबुझ्ने ? नयाँ सरकार हामीले लडेर, गुड गभर्मेन्सको लागि ल्याएको हो, बच्चाबच्ची मारेर ल्याएको सरकार हो । यसले पनि गलत नगरोस् भन्ने मात्र हो ।'

यस्तै सवाल जवाफ समेटिएको करिब आठ मिनेटको भिडिओ यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ छ । वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुमवासी बस्तीमा डोजर चलाएर विपत्ति निम्त्याएको भन्दै विरोधमा उत्रिएकी सरिस्मा थापाले पत्रकारको प्रश्नको डटेर तथ्य र तर्कपूर्ण जवाफ दिएकोमा प्रशंसा पाइरहेकी छन् । सरकारको कदमको समर्थन गर्नेहरूले भने उनको आलोचना गरिरहेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा रहेको सुकुमवासी बस्तीमा डोजर चल्नुअघि र चलिरहेका बखत दुई जनाले आफ्नै ज्यान समेत लिए । त्यसै क्रममा सरकारको कदम गलत भएको भनी उनी माइतीघर मण्डलमा आन्दोलन गर्न पुगेकी थिइन्, २४ वर्षीया सरिस्मा थापा । समाजमा भएका नराम्रो कुराबारे आफूले सधैं आवाज उठाउँदै आएको र त्यसबेला पनि पीडितको बारेमा बोलेको बताउँछिन् । ‘सरकारले व्यवस्थापन पछि मात्र भत्काएको भए हामी केही बोल्दैन्थ्यौँ । हामीलाई पनि देश विकास होस् । देशको राम्रो होस् भन्ने छ,’ उनले भनिन्,‘तर बिना केही व्यवस्थापन, बिना सूचना एकैचोटि गएर डोजर चलाएको देख्दा आवाज उठाएकी हुँ ।’ सुकुमवासी बस्ती हटाउने क्रममा सरकारले गरेको लापरबाहीको कारण दुई जनाको ज्यान गएको उनलाई लाग्छ । ‘दुई जना व्यक्तिले आफ्नो घर भत्किएपछि आत्महत्या गरेको कुरा सामान्य होइन । बालबालिका, मानिसहरूको मानसिक स्वास्थ्यमा परेको असर सम्झनुहोस् त ? मैले त्यही कुरा झकझकाउन खोजेकी हुँ,’ सरिस्मा आफूले भनेको कुरालाई दोहोर्‍याइन्,‘हो मैले फेरि भन्छु, आजको गलतलाई गलत भन्नु भनेको हिजोको गलतलाई सही भनेको हैन ।’

सरिस्मा विस्थापित परिवारलाई भेटेपछि आफूलाई निकै गाह्रो भएको बताउँछिन् । ‘थापाथलीमा बस्दै आएका दुई जिउका दिदीहरू, सुत्केरी दिदीहरू त्यहीँ प्रसूति गृहमा उपचार गराउँदै आउनु भएको रहेछ । एक्कासि कहीँ व्यवस्था नभई कता कता पुर्‍याउँदा त्यो दिदीहरूले भोगेको पीडा देखेर झन् गाह्रो भयो,’ उनले भनिन् ।

सरिस्मा आफू सधैँ सत्यको लागि बोल्दै आएको र सत्यको लागि बोल्न जुनै सरकार आए पनि नडराउने बताउँछिन् । ‘धेरै सोसल अनजस्टिस भएका छन् । हिजोको सरकारले नराम्रो गरेको कुरामा बोलेको हो । आन्दोलन नै गरेको हो,’ उनले भनिन्, ‘अहिलेको सरकारले गलत गर्दा चुप लागेर बस्न हामी सक्दैनौँ । गलतलाई गलत भन्न नकस्ने त्यो मान्छेको कमजोरी हो ।’

उनी बिना हिचकिचाहट कसरी सडकमा आफ्नो आवाज राख्न सक्ने भइन् त ? हाम्रो प्रश्नमा उनले जवाफ दिइन्,‘म पनि सानो हुँदा सोसल अनजस्टिसमा परेको थिएँ । बिस्तारै ठूलो भएपछि सत्यका लागि बोल्न र लड्न कहिल्यै पछाडि पर्नु हुँदैन भन्ने भएर नै म अहिले अरूका लागि बोल्दै आएकी छु ।’  

उनी आफ्नो बाल्यकालतर्फ फर्कन्छिन् ।

सरिस्मा सानै थिइन् । परिवारसँग बसेर रमाइरहेकी थिइन् । त्यसै बेला बुबा र ममीको डिभोर्स भयो । बाल्यकालमै आमाबुबाको माया पाउनबाट वञ्चित भइन् । सरिस्मा आफ्नो बाल्यकाल निकै पीडादायी रहेको सुनाउँछिन् । ‘मेरो ममी बाबाको डिभोर्स भयो । त्यसपछि उहाँहरू छुट्टाछुट्टै बस्नुभयो । म हजुरआमासँग बस्थेँ । बाबाले, हजुरआमाले माया गर्नुहुन्थ्यो,’ उनले भनिन्,‘तर समाजले मलाई मेरो ममीले इन्फ्लुएन्स गराएर पठाउनु भएको भनेर भन्थे । ममीले छोडेको भनी निकै नराम्रो गाली गर्ने गिज्याउने गर्थे । समाजमा मलाई प्रयोग भएका त्यो शब्दहरू सम्झँदा पनि गाह्रो हुन्छ ।’

समाजले गरेको व्यवहार सम्झँदै उनी फेरि सुकुमवासी बस्तीलाई नै सम्झन्छिन् र भन्छिन्, ‘आफूले बाल्यकालमा भोगेको पीडा अझै पनि सम्झँदा गाह्रो हुन्छ,’ उनले भनिन्, ‘त्यो सुकुमवासी बस्तीमा बसेको बाबुनानीहरुलाई अहिले के बितेको होला ? घर पनि भत्कियो, स्कुल भत्कियो, आफ्नो फोटो भिडियो सामाजिक सञ्जालभरि छ । सुकुमवासी बस्तीमा बसेको भनेर उनीहरूलाई हेर्ने तरिका नै छुट्टै छ ।’

सबै मानिससित आ-आफ्नै संघर्षको कथा हुने सरिस्मालाई लाग्छ । ‘एभ्रिबडी ह्याब देयर डिफरेन्ट स्ट्रगल इन देयर लाइफ अरूका लागि के महत्त्वपूर्ण छ ? उनीहरूको पीडा के हो भन्ने हामीले बुझेको हुँदैनौँ । तपाईं, म, हामी सबै जना अपर्चुनिटी खोज्नको लागि काठमाडौंमा आएको मान्छे हौँ,’ उनले भनिन्,‘अरूचाहिँ किन आए । किन सुकुमवासी बस्तीमा बसे भनेर प्रश्न गर्नु अगाडि नेपालको धेरै ठाउँहरू भूगोलको हिसाबले पनि पिछडिएको ठाउँ छन् । सामाजिक न्याय त अझै धेरै गाउँमा छैन भन्ने बुझ्नुपर्छ ।’

गाउँघरमा अझै पनि भेदभाव हुने उनी बताउँछिन् । ‘अहिले पनि गाउँमा दलित भनेर भेदभाव गरेका घटनाहरू आएका छन् । अनि केही नहुनेहरू सहर आउन बाध्य भएर आउने हुन्,’ उनले भनिन् । त्यसै सिलसिलामा अन्य स्थानमा बस्न नसक्ने भएर नै मानिसहरू सुकुमवासी बस्तीको आश्रय लिन पुगेको उनको ठम्याइ छ । ‘त्यही सुकुमवासी बस्तीमा झुपडी हाल्नको लागि उसले त्यो कहाँ–कहाँबाट टिनहरू खोजेर ल्याएको छ । त्यो टिनको पनि माया हुन्छ । जस्तोसुकै किन नहोस्- घरको महत्त्व छुट्टै हुन्छ,’ उनले भनिन्,‘तर, अरूको पीडा नबुझी मान्छेले सुकुमवासीको मजाक बनाएको देख्दा दुःख लाग्छ ।’

सरिस्मा आफू प्रधानमन्त्रीको विरोधी नभएको प्रस्ट पार्छिन् ।

‘हामीले प्रधानमन्त्रीको विरोध गरेको हैन । उहाँ सबैको प्रधानमन्त्री हो । सुकुमवासीको पनि र हामी सबैको । कुनै एउटा पार्टीको मात्र होइन,’ उनले भनिन्, ‘गरिबलाई आशा देखाएर, उनीहरूको गीत गाएर सरकारमा पुगेपछि चमेलीलाई व्यवस्थित नगरी बेघर बनाउँदा चित्त नबुझेको हो । सरकारको विरोध गरेको छैन । तर, ह्युम्यानिटी भन्ने कुरा सरकारबाट खोजेको हो ।’

सुकुमवासीलाई गरेको व्यवहारप्रति असन्तुष्टि आफ्नो मात्र नभएर धेरै जेन–जीको रहेको उनले सुनाइन् । ‘अनि उहाँहरूले पनि हिजोको सरकारले भनेको जस्तै पहिला २४ आउँछ अनि २३ भनेको जस्तै गर्नुभयो । आफ्नो बुँदामा पनि पहिला भत्काउने अनि व्यवस्थापन गर्ने भन्ने तरिकाले लानुभयो ।’

सरकारले सडकमा आएमा मानिसहरूको आवाज सुन्नुपर्ने र न्याय दिनुपर्ने सरिस्मालाई लाग्छ । ‘जो व्यक्तिहरू सडकमा आए उनीहरूको प्रश्न त सुन्नु पर्‍यो नि सरकारले,’ उनले भनिन्, ‘सबै जनताको आवाज सुन्नुपर्‍यो । सडकमा आउने बित्तिकै सरकार विरुद्ध गयो । यो सरकार विरोधी हो । अरू पार्टीको झोले हो भनेर उनीहरूको चरित्र हत्या गर्ने गर्न भएन ।’ आफ्नो विचार राख्दा सरकारलाई झकझकाउँदा आफूलाई निकै नराम्रा गालीगलौज गर्ने गरेको उनले सुनाइन् । उक्त कुराले मानिसको सोचाइ देखेर अचम्म लाग्ने गरेको सरिस्मा बताउँछिन् । जनताप्रति उत्तरदायी हुन सरकार बोल्न आवश्यक रहेको उनलाई लाग्छ । ‘गभर्मेन्ट जब बोल्दैन गभर्मेन्टको डिफेन्डरहरू क्रिएट हुन्छन् । अहिले त्यही भइरहेको छ,’ उनले भनिन् ।

०००

सरिस्मा सुकुमवासी बस्तीको लागि मात्र आवाज उठाएर त्यहाँसम्म आएकी भने होइनन् । उनी जेन–जी आन्दोलनको समयमा सरिक भएर आवाज बुलन्द पार्दै सहिदको, घाइतेको लागि न्याय माग्दै आएकी मध्येकी एक हुन् ।

परोपकार स्कुलमा प्लस टुसम्म अध्ययन गरेकी सरिस्मा माल्दिभ्समा बार टेन्डरको रूपमा काम गर्थिन् । ३ वर्षसम्म बार टेन्डरको रुपमा कार्यरत उनी बेला बेला नेपाल आउजाउ गरिरहन्थिन् । २०८१ चैत पहिलो साता मात्रै माल्दिभ्सबाट फर्किएर नेपाल आएकी थिइन् । उनी सोही कामको सिलसिलामा दुबई जाने तयारीमा थिइन् । नयाँ खुल्ने कम्पनीबाट अफर लेटर समेत आएको थियो । त्यही समयमा जेन–जी आन्दोलन भयो । आन्दोलनमा उनी निकै सक्रिय भएर लागेकी थिइन् । उनले सहिद र घटनामा घाइते भएकाको लागि विभिन्न मागहरूसहित आवाज उठाउँदै आएकी थिइन् । उनको जेन–जी आन्दोलनको केही दिनमा दुबईको फ्लाइट थियो । तर, उनी गइनन् । उनले बाबाले भनेको एक शब्दले फेरि विदेश जाने आँट नगरेको कुरा भावुक हुँदै सुनाइन् ।

‘सहिदहरू त सबै जना मरे । अब तिनीहरू बोल्न सक्दैनन्, तिमीहरू त देशमै बसेर बोल्नु पर्छ नि- बुबाले भनेको त्यो कुराले र घाइते दाइ, भाइलाई देखेर फेरि विदेश जान सकिनँ,’ उनले भनिन् ।

उदयपुरको घर भएकी सरिस्मा काठमाडौं कालीमाटी बस्दै आएकी छन् । अब नेपालमै बस्ने बताउने सरिस्माले राजनीतिकशास्त्रमा स्नातक गर्ने आफ्नो सोच रहेको सुनाइन् ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully