चुरे क्षेत्रमा नदीजन्य पदार्थको अत्यधिक उत्खनन, बढ्दो मानवीय गतिविधिलगायत कारणले पानी जमिनमा सोसिने प्राकृतिक प्रणाली नै कमजोर बनाउँदै लगेको छ। जसले चुरे–भावरबाट दक्षिणमा पानीको संकट बढ्दै गएको छ।
What you should know
काठमाडौँ — तराईका लागि पानी भरण महत्त्व रहेको चुरे क्षेत्रमा विनाशसँगै समथर उर्वर जमिन ‘मरुभूमि’ मा परिणत हुन थालेको छ । चुरे क्षेत्रमा बढ्दो माटो कटान, पहिरो र नदीजन्य पदार्थ (बालुवा, गिट्टी) को अत्यधिक उत्खननका कारण भूमिगत पानी (भू–जल) घट्ने जोखिम तीव्र बन्दै गएको हो । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले प्रकाशित गरेको अनुसन्धान संक्षेप २०२३ अनुसार चुरे क्षेत्रको कमजोर भू–संरचना र मानवीय गतिविधिले पानी जमिनमा सोसिने प्राकृतिक प्रणाली नै कमजोर बनाउँदै लगेको छ, जसले चुरे–भावरबाट दक्षिणमा पानीको संकट बढ्दै गएको छ ।
कम वर्षा, एकैपटक ठूलो वर्षा (जसले पानी जमिनमुनि पुग्नै सक्दैन), चुरे क्षेत्रको दोहन र चुरेको फेदीमा भइरहेको तीव्र बस्ती विकासले जमिनमा पानी सञ्चय हुन छाडेको हो । गत वर्ष असारमै वीरगन्ज र जनकपुरजस्ता मधेश क्षेत्रमा पिउने पानीको संकट भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गत वर्षको ७ साउनमा लामो समयदेखि सुक्खाग्रस्त भएपछि मधेश प्रदेशलाई नै विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
तराई–मधेशमा खानेपानीका लागि चापाकलमै अधिकांश निर्भर छन् । परम्परागत कुवा, इनार प्रयोगविहीन बनेसँगै चापाकल पनि सुक्दा मधेश काकाकुल बन्दै गएको छ । समितिका भूगर्भविद् प्रेमनाथ पौडेलका अनुसार जमिनमुनि पानीको सतह घट्दै जाँदा तराईका अधिकांश हातेपम्प (ट्युबवेल) बाट पानी आउन छाडेको छ । मझौला र डिप बोरिङ प्रयोग गरेर सिँचाइ गर्ने किसानहरू मर्कामा पर्न थालेका छन् । ‘×गत वर्ष तराईका धेरै जिल्लामा पानीको हाहाकार नै भयो । तराईमा पानी आउन चुरे रिचार्ज हुनुपर्छ । अहिले चुरे कम रिचार्ज भइरहेको छ । अबका दिनमा झनै पानीको समस्या बढ्ने देखिन्छ,’ उनले भने ।
कान्छो पहाडका रूपमा चिनिने चुरे शृंखलालाई ‘सिवालिक’ पनि भनिन्छ । चुरे शृंखलाले पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लाको ८ सय किलोमिटर भूभाग समेटेको छ । मुलुककै कुल भूभागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्छ । लुम्बिनीमा दाउन्ने पश्चिमको बर्दघाटदेखि बर्दियाको चिसापानी पुलसम्म पर्छ । उत्तर–दक्षिण चौडाइ डाँडाअनुसार १० देखि ५० किलोमिटरसम्म छ । तराईबाट उत्तरतर्फ देखिने होचा पहाडका शृंखला हुँदै दक्षिणतिरका होचा पहाड, समथर मैदानी भाग, खोच र दुनलाई चुरे क्षेत्रका रूपमा संरक्षण नगर्दा विनाश र दोहन बढिरहेको भूगर्भविद् पौडेल बताउँछन् । भावर भनेर पनि चिनिने उक्त क्षेत्रमा सडक र सहरको विस्तारका साथै अव्यवस्थित उत्खननका कारण बर्सेनि जल संकट बढ्दै गएको छ ।
वातावरणविज्ञ विजय सिंह दनुवार मलेरिया उन्मूलनसँगै तराईमा ल्याइएको पुनर्वास कार्यक्रमका कारण चुरे विनाश, पूर्वपश्चिम राजमार्ग निर्माण गरिँदा भएको वन फँडानी, क्रसर उद्योग र डोजर जथाभाबी सञ्चालन जस्ता कारणले पानीको स्रोत सुक्दै गएको बताउँछन् । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रमका अनुसार जथाभाबी चुनढुंगा उत्खननले पनि चुरेका डाँडामा भूक्षय बढेको छ । चुरेबाट रसाउने पानीलाई बस्ती विकासका क्रममा बनेका कंक्रिट भवन र कालोपत्र सडकले खोलामा मिसाइदिने गरेका छन् । जसले गर्दा पानी सोझै बगेर जान्छ, जमिन सिञ्चित हुँदैन । ‘यसले दुईखाले संकट ल्याएको छ । एउटा पानी रिचार्ज हुन पाएन । अर्को खोलामा पानीको बहाव बढ्दा बाढी र पहिरो निम्त्याएको छ,’ दनुवारले भने ।
पहिले चुरे क्षेत्रमा हरियाली हुँदा २०/२५ फिट पाइप गाडेपछि जमिनमुनि पानी भेटिन्थ्यो । अहिले १ सय १० फिटसम्म तल पुगिसकेको चुरे फेदीमा बसोबास गरेकाले अनुभव गरेका छन् । चुरेमा हरियाली घटेसँगै पानीका मूल सुक्न थालेको रूपन्देही तिलोत्तमा–६ का अर्जुन उपाध्यायले बताए । ‘चुरेमा कटान र ढलानले स्रोत सुकेपछि पानी रिचार्ज हुन पाएन,’ उनले भने, ‘तराई मरुभूमितर्फ धकेलिएको छ ।’ पहिले ३० फुट पाइप गाडेपछि आउने पानीका लागि हिजोआज कम्तीमा ७० फुटसम्म गाड्नु परिरहेको उनले बताए ।
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङका वरिष्ठ हाइड्रोजियोलोजिस्ट नमराज भट्टराईले चुरे क्षेत्रको विनाश र खेतीयोग्य जमिनको प्लटिङको प्रभाव भूमिगत पानीमा परेको बताए । ‘१० वर्षअघिसम्म चुरे क्षेत्रबाट बग्दै आएको पानी फेदमा रहेको हजारौं बिघा जमिनमा फैलिन्थ्यो । हप्तौं झरी पर्थ्यो । पानी जमिनमुनिको सतहमा जम्मा हुन्थ्यो,’ उनले भने, ‘तर, अहिले न चुरेमा रिचार्ज गर्ने गरी जंगल छ, न त्यसको फेदमा समथर जमिन । सबै कंक्रिटका घरले जमिन ढाकिएपछि बगेर आएको पानी पनि ढल र नालीमार्फत सिधै खोलामा पुग्न थालेपछि जमिनमुनि कसरी पानीको सतह भेटिनु ?’
उनका अनुसार अहिले रूपन्देही, कपिलवस्तु, दाङलगायतका तराईका जिल्लाका खेतीयोग्य जमिनमा सबैभन्दा धेरै समस्या देखिन थालेको छ । चुरे शृंखला आफैंमा पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टानले बनेको क्षेत्र हो । सानै पानीले चट्टान काट्छ । माटो बग्छ । त्यसैले प्राकृतिक रूपमा अत्यन्तै संवेदनशील मानिन्छ ।
चुरेको संवेदनशीलतालाई बेलैमा बुझ्न नसके त्यसले ठूलो मानवीय विपत्ति निम्त्याउने वातावरण अध्येता युवराज कँडेलले बताए । उनले चट्टान काट्न र माटो बग्न रोक्न चुरेमा वृक्षरोपण गर्नुपर्ने र भएका रूखबिरुवा जोगाउनुपर्ने बताए ।
थुप्रिँदै गेग्य्रान, सुक्दै नदीहरू
बाराको दुधौरा पुलदेखि झन्डै एक सय मिटर उत्तर–पश्चिम क्षेत्रमा चौबीसै घण्टा पानी हुन्थ्यो । पानी पिउन हूलका हूल वन्यजन्तु आउने गरेको बारास्थित पिलुवाका दुर्गा वाइवाले बताए । ‘आजकाल चुरेका मुहान सुक्न थालेपछि दुधौरा नदीमा पानी छैन,’ वाइवाले भने, ‘एक दशकअघिसम्म वर्षभरि पानी बगिरहन्थ्यो । अहिले बालुवाबाहेक केही देखिन्न ।’
पूर्व–पश्चिम राजमार्गअन्तर्गतका बाह्रैमास बग्ने खोला/नदी यतिबेला बालुवा र गेगरका थुम्कामा परिणत भएका छन् । चुरेमा बढ्दो अतिक्रमण, अनियन्त्रित ढुंगा–गिट्टी उत्खनन र वन विनाशले मूल सुकेपछि यस्ता नदी/खोलाको अस्तित्व संकटमा परेको हो । सप्तरीदेखि बारासम्मका एक सय हाराहारी साना ठूला नदी छन् ।
दशकअघिसम्म पानीको बहाव नघट्ने नदी अहिले पूरै सुक्खा छन् । चुरेको काखबाट निस्किने बाराका दुधौरा, पसाहा, बकैया तथा रौतहटका धन्सार, चादी र पौराई नदीमा अहिले पानी बग्दैन । धनुषाको कमला, सिरहाको घुर्मी खोला, बताहा जस्ता नदीहरू पछिल्लो एक दशकदेखि सुक्न थालेका छन् ।
चुरेको शिरमा वर्षा भयो भने मात्र यी नदीमा पानीको भेल बग्छ । चन्द्रनिगाहपुरका डा. शालिग्राम उपाध्यायले चुरे क्षेत्रको संरक्षणमा राज्यले ध्यान नदिँदा समस्या देखिएको सुनाए । ‘हामीले कहिल्यै नसुक्ने नदीहरू सुकेको देख्नुपर्ने दिन आयो । यसको एउटै प्रमुख कारण चुरेको छातीमाथि गरिएको निर्मम उत्खनन हो,’ उनले भने, ‘चुरेमाथि डोजर चल्नु भनेको तराईको घाँटी निमोठ्नु हो ।’
तराईको मुख्य आधार कृषि हो । पम्पबाट पानी नआउँदा र नदीमा पानी नहुँदा खेत बाँझो रहन थालेको रौतहटको वृन्दावन नगरपालिका–१ का ७० वर्षीय किशान बुटु महतोले बताए । ‘आकाशे पानीको भर पर्दा समयमा खेत रोप्न सकिएन । बोरिङको भर पर्दा जमिनमुनि सुक्खा भएर पानी आउँदैन,’ उनले भने, गत वर्ष धान उत्पादन नै कमी भयो ।’
सरकारले चुरे संरक्षणका लागि ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ मार्फत बर्सेनि ठूलो धनराशि खर्च गर्दै आएको छ । आर्थिक वर्ष २०६६/६७ बाट सरकारले यो कार्यक्रम सुरु गरेको हो । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति खुमलटारका सूचना अधिकारी शरदबाबु पंगेनीले मधेश प्रदेशका ८ जिल्लामा चुरे संरक्षणका लागि आर्थिक वर्ष २०८०/०८१ मा २५ करोड १९ लाख, ०८१/०८२ मा ३० कोड ४६ र चालु आर्थिक वर्षका लागि २४ करोड ९० लाख बजेट विनियोजन भएको जानकारी दिए । सूचना अधिकारी पंगेनीका अनुसार चुरेको माथिल्लो भेगमा खोल्सी, गल्छी नियन्त्रण, हरियाली प्रवर्द्धन, जलाशय बनाउने, तालतलैया निर्माण, वृक्षरोपण, नदी र चुरेको मुहानको संरक्षणलगायत कामका लागि बजेट खर्च भइरहेको छ । तर यति धेरै बजेट खर्च गरेर पनि उपलब्धि नभएको भन्दै अभियन्ताले विरोध जनाउँदै आएका छन् ।
मूल नै सुकेपछि समस्या
चुरे क्षेत्रका मूल सुक्न थालेपछि वन्यजन्तुका लागि पानी अभाव भएको छ । फागुनदेखि जेठसम्म पानीको अभाव हुने गरेको छ । भूगर्भविद् पौडेलले चुरेमा पानीको मूल सुक्दै गएपछि मानिसलाई मात्रै समस्या भएको जस्तो देखिए पनि यसको असर पर्यावरणमा परेको बताए । ‘हामी मानवीय दृष्टिकोणबाट मात्रै हेर्छौं तर जलचर र थलचरलाई नै प्रभाव पारेको छ । पानीका मूल र पोखरी सुकेका छन् । सुक्खा मौसममा यी सबै प्राणीलाई पानीले व्याकुल बनाएको छ, ’ उनले भने । यसका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग मिलेर रिचार्ज पोखरी (पुनर्भरण) बनाइराखिएको पौडेल बताउँछन् ।
तालतलैया र पोखरी सुक्दा जमिन सुक्खा हुने र चैत, वैशाख र जेठमा ठूला आगलागी हुने जोखिम हुने उनको भनाइ छ । उनले पछिल्लो केही वर्ष चुरे जंगलमा लामो समय डढेलो लाग्ने गरेको बताए । ‘पानी भएका तालले वरपर चिस्यान बनाइराख्छ । जसले गर्दा सुक्खायाममा पनि ओसिलो हुन्छ । तर ताल, पोखरी सुक्दा सुक्खा भएपछि आगलागी बढी हुन्छ,’ उनले भने ।
‘चुरे क्षेत्रमा भूक्षय र पहिरोका कारण पानीका मुहानहरू पुरिएका छन्, कतिपय सुकेका छन्,’ कञ्चनपुरस्थित चुरे संरक्षण सञ्जालका कार्यक्रम संयोजक करन भट्टले भने, ‘खोला–नाला पनि सुक्दै गएका छन् ।’ उनका अनुसार केही वर्षयता जिल्लास्थित खन्या र कामीकाटे खोलामा हिउँदमा पानी सुक्ने गरेको छ । मुहान संरक्षण नहुँदा पानी अभाव भएको हो । बर्सेनि लाग्ने डढेलोले पनि मुहान सुक्न थालेको उनले बताए । ‘चुरेमा पानीको रिचार्ज कम भइरहेको छ,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘जलवायु परिवर्तनको असरसँगै वर्षा अनियमित बनेको छ, एकैपटक ठूलो वर्षा हुने र त्यसले बाढीपहिरो जाने गरेको छ ।
उनका अनुसार हिउँदमा वर्षा निकै कम हुने, बर्खामा पनि छोटो समयमा धेरै वर्षा हुने गरेका कारण जमिनले पानी सोस्न नपाउने भएकाले पनि अहिले मुहानहरू सुक्न थालेका हुन् । डिभिजन वनले पानीका मुहान संरक्षणसँगै कृत्रिम पोखरी निर्माणका लागि तयारी गरिरहेको जोशी बताउँछन् । उनका अनुसार चुरेमा मात्रै होइन, लाभलाडी मोहना संरक्षित क्षेत्रको वनमा समेत पानीको अभाव भएका कारण उक्त क्षेत्रमा माटोका कृत्रिम पोखरी निर्माण गर्ने योजना डिभिजन वन कार्यालयले बनाएको छ । चुरेको रौटेला क्षेत्रको बह्रकुण्डामा बाह्र वटा ताल थिए । सबै तालमा पानी भरिभराउ हुन्थ्यो । अहिले दुई वटामा मात्रै पानी टिक्छ । ‘चुरेमा मुहान धेरै छन्, तर संरक्षणको अभाव छ, मर्मत पनि गर्नुपर्नेछ,’ चुरे संरक्षण सञ्जालका अध्यक्ष रवीन्द्र कुँवरले भने, ‘हामीले मुहानबाट पानी ल्याएर वन्यजन्तुका लागि केही पोखरीहरू पनि बनाएका छौं ।’ उनका अनुसार चुरे क्षेत्रमा ८ वटा पोखरी र तालहरू निर्माण गरिएका छन् ।
झापा–इलामका चुरेमा यतिबेला दोहोरो संकट छ । एकातिर नदीजन्य वस्तुको अवैध उत्खनन तीव्र छ । अर्कातिर स्थानीयले त्यसैको प्रत्यक्ष प्रभाव भोगिरहेका छन् । चुरेको चरम दोहनले उक्त क्षेत्रमा मुहान सुक्दै गएको छ । इलामको रोङ गाउँपालिका र झापाको मेचीनगर जोड्ने चुरे क्षेत्रमा नदीजन्य पदार्थ उत्खननमा कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि ढुंगा, गिट्टी र बालुवाको व्यापक दोहन भइरहेको छ । स्थानीयका अनुसार वर्षौंदेखि जारी यो अवैध गतिविधिले नदी गहिरिँदै गएको छ । जंगल मासिँदै गएको छ । जसले सिंगो वातावरणीय सन्तुलन बिग्रिँदै गएको छ ।
यसको प्रभाव चुरे क्षेत्रका बस्तीमा प्रत्यक्ष देखिन थालेको छ । मेचीनगर–३ को गोलाटारमा मूल सुकेका छन् । स्थानीय हर्कबहादुर दर्जी भन्छन्, ‘गाउँमा पानीको संकट देखिएको धेरै भइसक्यो ।’ भूकम्पपछिको भूगर्भीय परिवर्तन, चुरे क्षेत्रमा सडक निर्माणका क्रममा डोजर प्रयोग, वन विनाश र अत्यधिक उत्खननले पानीको प्राकृतिक चक्रमा अवरोध सिर्जना गरेको देखिन्छ । पहिले वर्षैभरि बग्ने खोलाहरू अहिले हिउँद लागेपछि पूर्ण रूपमा सुक्छन् ।
बाहुनडाँगी–१ र इलामको रोङ–६ पाटापुर आसपासका चुरे क्षेत्रमा जोडिएका गाउँमा पनि पानीको संकट देखिन थालेको छ । चुरे विज्ञ डा. विजयकुमार सिंहका अनुसार चुरे क्षेत्रको संरचना यस्तो हुन्छ कि त्यहाँको ढुंगा, बालुवा र गिट्टीले पानी सोस्ने र भण्डारण गर्ने काम गर्छ । तर, जब यिनै सामग्री अनियन्त्रित रूपमा निकालिन्छन्, जमिनको पानी धारण गर्ने क्षमता घट्छ । सरकारले चुरे क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरे पनि कार्यान्वयन कमजोर देखिन्छ । सीमित क्षेत्रमा मात्र अनुमति दिइएको उत्खननभन्दा बाहिर व्यापक रूपमा अवैध गतिविधि भइरहेको स्थानीयको आरोप छ । स्थानीय तहहरूबीच समन्वय अभाव, निगरानी कमजोरी र राजनीतिक इच्छाशक्तिको कमीले समस्या थप जटिल बनाएको विज्ञहरूको भनाइ छ ।
स्थानीयको आरोपलाई स्वीकार्छन् अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन । ‘स्थानीय सरकारको प्रयत्नले मात्रै चुरे दोहन रोक्न सम्भव देखिँदैन’, उनी भन्छन्,‘स्थानीयवासीकै तदरुकता जरुरी पर्छ ।’ राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अनुसार झापाको कुल क्षेत्रफलमध्ये करिब २०–२५ प्रतिशत भूभाग चुरेमा पर्छ । झापाको क्षेत्रफल १ हजार ६ सय ६ वर्ग किलोमिटर छ । २०७८ सालको जनगणनाअनुसार झापाको कुल जनसंख्या ९ लाख ९४ हजार ९० पुगेको छ । जसमध्ये ठूलो हिस्सा चुरे नजिकका संवेदनशील क्षेत्रमा बसोबास गर्न थालेको देखिन्छ । विशेषगरी दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, मेचीनगर, अर्जुनधारा र बुद्धशान्ति गाउँपालिकाका उत्तरी वडामा चुरे क्षेत्रभित्रै हजारौं घरधुरी फैलिएका छन् । झापामा करिब ३९ हजार १ सय ५४ घर धुरी चुरे क्षेत्रमा छ । जसमा १ लाख ६९ हजार ९ सय ९ जनसंख्या आश्रित छन् ।
संकटमा देवी ताल
चुरेको आडमै चितवन निकुञ्जभित्र देवी ताल छ । निकुञ्जको ठूलो यो ताल जोगाउने चुनौती बढेको छ । चुरेको गेग्रान तालमा आएर थुप्रिन्छ । साथै मिचाहा प्रजातिका झारले ताल ढाकिएको छ । पानी कम छ । ताल हो कि चौर छुट्याउन मुस्किल पर्छ । निकुञ्जको योजना शाखाका संरक्षण अधिकृत हेमराज आचार्यले गेग्रानसँगै पूर्व र पश्चिम सिमानामा रहेका दुईवटा खोल्साले पनि बालुवा भर्ने गरेको बताए । तालको क्षेत्रफल लगभग ४२ हेक्टर जति छ । अहिले पानी देखिने पाँच हेक्टर जतिमा मात्रै हो ।
‘गैंडा आहाल खेल्ने, अन्य जनावरहरूले पानी खाने निकुञ्जको पश्चिम क्षेत्रको एउटा निकै महत्त्वपूर्ण ताल हो यो । यो आजभन्दा २०/२२ वर्ष अघिदेखि बेलाबेलामा सफा गरे पनि पुरिँदै आएको छ’ चितवन निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने । ताल सफा गर्न बजेटको अभाव रहँदै आएको निकुञ्जका अधिकारीहरू बताउँछन् । चितवन निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले यस पटक ९ लाख ९८ हजार रुपैयाँ खर्च गरेर ताल सफा गरेको बताए । गत वर्ष ताल सफा गर्न बजेट नै आएको थिएन ।
‘सफा गर्नुका साथै यसको पूर्व र पश्चिम सिमानामा जुन खोल्साहरू छन् त्यसले यसमा समस्या ल्याएको छ । ती खोल्साहरूमा अलि राम्रो बाँध बनाउन पाए यो ताल जोगिन्थ्यो कि’ पन्तले भने । भूगर्भविद् पौडेलका अनुसार चितवनमा मात्रै होइन चुरेभित्र रहेका साना–ठूला तालतलैयाहरू सुक्दै गएका छन् । यसलाई फेरि पहिलेकै अवस्थामा ल्याउन समितिले काम गरिरहेको दाबी गरे । भवानी भट्ट (कञ्चनपुर), घनश्याम गौतम (बुटवल), शिव पुरी (रौतहट), पर्वन पोर्तेल (विराटनगर) र रमेशकुमार पौडेल (चितवन)
