हराए स्टुडियोका रंगीन पर्दा, सार्वजनिक स्थानतिर सरे डिजिटल क्यामेरा

स्मार्टफोन र डिजिटल प्रविधिको विकाससँगै फोटो खिचाउने तरिका अछामका पुराना फोटो स्टुडियोका संचालकहरु  ।

चैत्र २८, २०८२

मेनुका ढुंगाना

The colorful screens of studios have disappeared, digital cameras have moved to public spaces.

What you should know

अछाम — ६० वर्षीय धनबहादुर बोहराको मानसपटलमा अझै ताजा छ, भारतबाट फर्कँदा बोकेको त्यो ‘क्यानन इओएस १०००’ क्यामेरा । २०५१ सालतिर जतिबेला ११ हजार भारुमा तराईमा एक कठ्ठा जग्गा किन्न सकिन्थ्यो, त्यो समयमा चौरपाटी गाउँपालिका–४ पायलका धनबहादुरले जग्गा रोजेनन्, बरु सपना रोजे- 'फोटोग्राफी'। 

भारतमा ७ वर्षको व्यावसायिक अनुभव र फोटोग्राफी सम्बन्धी एक वर्षसम्म विशेष तालिम लिएर फर्किएका उनले २०५१ सालमा मंगलसेनमा ‘ध्रुवतारा फोटो स्टुडियो’ खोले । यो नाम बिस्तारै अछामकै एउटा भरोसायोग्य ‘ब्रान्ड’ बन्यो, अछामका लागि 'सेलिब्रिटी' जस्तै थिए धनबहादुर । 

धनबहादुर अछाम फर्किएको त्यो समय सरकारले भर्खरै ज्येष्ठ नागरिकका लागि बृद्धभत्ता दिने निर्णय गरेको थियो । भत्ताको फारम भर्न अनिवार्य रूपमा फोटो टाँस्नुपर्थ्यो, तर गाउँगाउँका बुढापाकाले लागि फोटो खिच्न धेरै संघर्ष गर्नुपर्थ्यो । त्यतिबेला अछामका ग्रामीण भेगका कतिपय ज्येष्ठ नागरिकले आफ्नो जीवनको पहिलो फोटो धनबहादुरकै क्यामेराबाट खिचेका थिए । ‘गाउँका कतिपयले त क्यामेरा देखेकै थिएनन्, उनीहरूको सहजताका लागि मै क्यामेरा बोकेरै गाउँपुग्थें,’ धनबहादुर सम्झन्छन्, ‘आफ्नो पहिलो फोटो खिचाएर बृद्धभत्ताको कार्ड बनाउँदा उनीहरूको अनुहारमा देखिने त्यो चमक अहिलेका महंगा डिजिटल फोटोमा कतै भेटिँदैन ।’

अहिलेको डिजिटल युगमा एकै सेकेन्डमा सयौं तस्बिर खिच्न सकिन्छ । तर धनबहादुरको त्यो समय एउटा रिल पाउनै कठिन थियो । एउटा रिलबाट जम्मा ३६ वटा तस्बिर खिच्न मिल्थ्यो । ‘अन्दाजको भरमा फोटो खिच्नुपर्थ्यो, कति फोटो त बिग्रन्थे,’ धनबहादुर सम्झन्छन्, ‘तर मान्छेहरूमा आफ्नो तस्बिर देख्दाको खुसी अर्कै हुन्थ्यो ।’

उनका अनुसार त्यतिबेला रिल पाउनै मुस्किल थियो । फोटो खिचेपछि त्यसलाई धुलाउन (डेभलप गर्न) झन् ठूलो संघर्ष हुन्थ्यो । रंगीन फोटो खिचाउने सौखिनहरूले आफ्नो अनुहार हेर्न ६ महिनासम्म पनि प्रतीक्षा गर्नुपर्थ्यो । ‘नेगेटिभ रिललाई नेपालगन्ज, काठमाडौं पठाउनुपर्थ्यो । त्यहाँबाट फोटो फिर्ता आउँदा आधा वर्षनै बितिसक्थ्यो,’ उनी भन्छन्,‘एउटा ब्ल्याक एन्ड हृवाइट फोटोको मूल्य त्यतिबेला एक सय रुपैयाँ पर्थ्यो । त्यो सय रुपैयाँमा एउटा फोटोमा महिनौंसम्मको धैर्यता र उत्साह पनि मिसिएको हुन्थ्यो ।’

धनबहादुरको व्यवसायिक यात्रा सहज भने रहेन । ०५८ सालमा तत्कालीन विद्रोही माओवादीबाट सदरमुकाम मंगलसेनमा भएको भीषण आक्रमणको असर फोटो स्टुडियोमा पनि पर्यो । ०५८ देखि ०६३ सालको पाँच वर्ष धनबहादुरका लागि निकै कष्टकर रहृयो । सुरक्षाको कारण देखाउँदै तत्कालीन शाही सेनाले उनको व्यावसायिक क्यामेरा नै थुतेर राखिदियो । ‘पाँच वर्षसम्म मेरो क्यामेरा सेनाको ब्यारेकमा रहृयो । त्यो बीचमा व्यवसाय पूरै ठप्प भयो,’ उनले भने,‘०६३ को शान्ति सम्झौतापछि मात्रै क्यामेरा फिर्ता पाएँ । कोरोना महामारीले गर्दा पनि उनको स्टुडियो लामो समय बन्द भयो ।’ यी दुई ठूला कालखण्डले उनको व्यावसायिक जीवनलाई पटकपटक पछाडि धकेल्ने काम गरे ।

०५० को दशकमा ध्रुवतारासँगै अन्य फोटो स्टुडियोले पनि मंगलसेनमा राम्रो बजार लिएका थिए । गाउँगाउँबाट नागरिकता बनाउन फोटो खिच्न आउनेहरूको गन्तव्य यीनै स्टुडियो हुने गरेको उनले बताए । ‘त्यतिबेला फोटो खिच्नु उत्सव जस्तै हुन्थ्यो । मान्छेहरू निकै गम्भीर भएर स्टुडियो आउँथे । ती फोटोमा ग्रामीण परिवेश झल्क्थ्यिो।’

अहिले स्टुडियोका चम्किला बत्ती र रंगीन पर्दा इतिहास बनिसकेका छन् । हाल ध्रुवतारा फोटो स्टुडियोकी सञ्चालक रहेकी धनबहादुरकी बुहारी दुर्गा बोगटी बोहराका अनुसार मंगलसेनमा अहिले स्टुडियो व्यवसाय पूर्णरूपमा संकटमा छ । ‘४ वर्षदेखि हामीले फुल साइजको फोटो खिच्ने कामनै बन्द गर्नुपर्यो,’ बोहरा भन्छिन्, ‘अहिले त नागरिकता बनाउन आउनेका लागि पासपोर्ट साइजको फोटो खिच्ने मात्र काम हुन्छ ।’ स्टुडियो बन्द हुनुको मुख्य कारण सबैको हातहातमा पुगेको ‘एन्ड्रोइड’ प्रविधि र उच्च गुणस्तरका स्मार्टफोन हुन् । 

अहिलेको भीड स्टुडियोभित्र होइन, मंगलसेन दरबार क्षेत्र र सार्वजनिक खुला स्थानहरूमा देखिन्छ । अचेल डिजिटल एसएलआर क्यामेरा बोकेर मंगलसेनको दरबार क्षेत्रमा फोटो खिच्न सुरु गरेको उनले बताइन् । ‘प्रविधिले फोटोलाई प्रिन्टको दुनियाँबाट डिजिटलमा पुर्‍याइदिएको छ,’ दुर्गा भन्छिन्, ‘अहिले फोटो खिचेर केही सेकेन्डमै मोबाइलमा ट्रान्सफर’ गरिदिनुपर्छ ।’

ध्रुवतारा स्टुडियोको अँध्यारो कोठामा आफ्नो जीवनकै पहिलो फोटो खिचेकी मंगलसेन नगरपालिका-१ की ६० वर्षीया धनसरा साउँद शुक्रबार मंगलसेनको खुलामञ्चमा क्यामेरा अगाडि उभिँदा दंग भइन् । खिच्ने बित्तिकै फोटोग्राफरले मोबाइलमा फोटो पठाइदिँदा उनले अचम्म मानिन् । ‘६ महिना कुरेको त्यो समय र अहिले सेकेन्डमै हातमा फोटो पाउँदाको खुसी त लाग्यो । समय त साँच्चै बदलिएछ,’ उनले भनिन् । 

पहिले एउटा तस्बिरका लागि एक सय रुपैयाँ तिर्ने ग्राहकहरू अहिले सस्तोमा फोटो र भिडियो खोज्छन् । मंगलसेनका सार्वजनिक स्थलहरूमा अहिले व्यावसायिक फोटोग्राफरहरूले प्रतिफोटो २० रुपैयाँ र प्रतिभिडियो ५० रुपैयाँ लिने गरेका छन् ।  खिच्ने बित्तिकै डाटा केबल, सेयरइट, वाइफाईजस्ता माध्यमबाट ग्राहकको मोबाइलमा फोटो पुग्छ । ‘परिस्थितिले हामीलाई स्टुडियो बाहिर निस्किएर फोटो खिच्न सिकायो । स्टुडियोभित्र ग्राहक कुरेर बस्ने दिन अब रहेनन्,’ दुर्गा भन्छिन्, ‘अहिले फोटोग्राफरहरू मेला, महोत्सव, विवाह र सार्वजनिक कार्यक्रममा क्यामेरा बोकेर पुग्नुपर्ने अवस्था छ ।’ अहिले फोटो खिचेर पसलकाे भाडा उठाउन समेत मुस्किल भइरहेकाे उनले बताइन् । 

३० वर्षअघि भित्र्याइएको त्यो ‘क्यानन इओएस’ क्यामेराले अछामी समाजलाई आधुनिकताको स्वाद चखाएको धनबहादुर दाबी गर्छन् । ‘अहिले खिच्ने २० रुपैयाँको फोटो र ५० रुपैयाँको भिडियोमा ग्ल्यामर होला । तर त्यो समयमा खिचेका ती पुराना तस्बिरमा जस्तो महत्तव मैले दखेको छैन,’ उनले भने,‘प्रविधिको विकासले फोटो खिच्ने प्रक्रियालाई सरल त बनायो, तर यसले एउटा पुरानो पेसा र त्यससँग जोडिएको भावनात्मक सम्बन्धलाई भने निकै टाढा धकेलिदिएको छ ।’ मानिसमा तस्बिर खिच्ने मोह नघटेको, शैली र प्रविधिमात्रै भने फेरिएको उनको बुझाइ छ । 

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully