सर्लाहीमा जन्मिएकी, इजरायलमा १४ वर्ष काम गरेकी र लैंगिक पहिचान बदलेपछि मार्ने धम्की पाएकी सरिन तामाङ ज्यान जोगाउनकै लागि धरान सरेकी थिइन् । यही सहरले उनलाई पहिलो चुनावमा १६ हजार र दोस्रोमा २७ हजार मत दियो । प्रत्यक्ष निर्वाचनमार्फत कुनै समलिंगी व्यक्ति अहिलेसम्म संसद् पुग्न सकेका छैनन् तर धरानमा सरिनले पाएको मत त्यस दिशामा अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो ।
What you should know
धरान — प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको भोलिपल्ट २२ फागुन दिउँसो मात्र धरान सभागृहमा मतगणना सुरु भयो । १, २ र ३ वडाको गणना सकिँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा (सरिन) तामाङले अग्रता लिइरहेकी थिइन् । ‘पहिलो चरणको अग्रताले जित्छु भन्ने आशा थियो तर ढुक्क भने थिइनँ,’ सरिनले त्यो दिन सम्झिइन्, ‘किनभने अझै २४ वडाको मत गन्न बाँकी नै थियो ।’
धरान उपमहानगरपालिका र आसपासका अन्य क्षेत्र पर्ने सुनसरी–१ मा सबै मतगणना गरिसक्दा सरिनले २७ हजार २ सय ४९ मत पाइन् । तर, त्यो जितका लागि पर्याप्त भएन । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका पूर्वमेयर हर्क साम्पाङले ८ हजारभन्दा बढी मत ल्याएर सरिनलाई हराए । सरिन जितको नजिक पुगिन् तर सफल हुन सकिनन् ।
सरिन यो निर्वाचनका थोरै समलिंगी उम्मेदवारमध्ये एक थिइन् । अन्य निर्वाचन क्षेत्रका समलिंगी उम्मेदवारले अत्यन्त कम मत पाउँदा धरानमा सरिनले पाएको समर्थनले यो सहरको उदारताको झल्को दिएको अधिवक्ता सागर चेम्जोङले बताए । ‘यौनिक अल्पसंख्यक समुदायकी उम्मेदवारले यति ठूलो समर्थन पाउनुले नै धरानको छुट्टै परिचय दिएको छ,’ चेम्जोङले बताए ।
नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व अझै सीमित छ । २०६४ को संविधानसभामा नेकपा संयुक्त पार्टीबाट समानुपातिक प्रणालीतर्फ निर्वाचित भएका सुनीलबाबु पन्त पहिलो समलिंगी सांसद थिए । पन्तले नै पुस २०६४ मा समलिंगी विवाहलाई मान्यता दिन सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यतिबेला सर्वोच्चले पहिचानसहितको नागरिकता, यौनिक तथा लैंगिक अल्पसंख्यकमैत्री कानुन निर्माण र समलिंगी विवाहबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । पछि अर्को रिटमा सर्वोच्च अदालतले जेठ २०८० मा नेपालमा समलिंगी विवाहलाई मान्यता दिने ऐतिहासिक फैसला गरेको थियो ।
पन्तपछि १८ वर्षसम्म उक्त समुदायबाट कोही पनि व्यक्ति संघीय संसद्मा पुग्न सकेनन् । हालैको निर्वाचनमार्फत भूमिका श्रेष्ठ संसद् पुगेकी छन् । सिंहदरबार पुग्ने पहिलो ‘ट्रान्सवुमन’ श्रेष्ठ पनि पन्तझैं समानुपातिक प्रणालीबाटै संसद् पुगेकी हुन् । तर, प्रत्यक्ष प्रणालीबाट भने अहिलेसम्म कोही पनि निर्वाचित भएका छैनन् । यस पटक काठमाडौं–१, रूपन्देही–२, मोरङ–४, ओखलढुंगा–१ र काभ्रे–१ मा समलिंगी व्यक्तिहरू प्रतिस्पर्धामा रहे पनि अपेक्षाकृत मत पाउन सकेनन् । तर, धरानमा भने सरिन त्यस्तो ऐतिहासिक जितको धेरै नजिक पुगिन् ।
समाजमा समलिंगी व्यक्तिलाई पहिचानको समस्या मात्र छैन, उनीहरूले समाजमा भोगिरहेको विभेद, भेदभाव र दुर्व्यवहारहरू अनगिन्ती छन् । ब्लु–डाइमन्ड सोसाइटी र यूएन वुमनले दुई वर्षअघि गरेको एक अध्ययनले नेपालमा यस समुदायका ८१ प्रतिशत व्यक्तिले जीवनकालमा कम्तीमा एक पटक कुनै न कुनै प्रकारको हिंसाको अनुभव गरेको देखाएको छ । त्यस्तो हिंसाको स्वरूप शारीरिक, मानसिक, यौनजन्य र आर्थिकलगायत विविध प्रकारका छन् । समलिंगी व्यक्तिहरूले सुरुमा परिवारबाटै, त्यसपछि समाज, विद्यालय, स्वास्थ्य क्षेत्र र प्रहरीबाटै पनि दुर्व्यवहार र हिंसा भोग्नुपरेको विभिन्न अध्ययनले देखाएका छन् ।
त्यस्तो दुर्व्यवहार भोगेकीमध्ये एक हुन्, नमस्ते श्रेष्ठ । निजी विद्यालयमा शिक्षक रहेकी उनले लैंगिक पहिचानकै कारण सहकर्मी र प्रशासनका व्यक्तिहरूबाट निरन्तर अपमान र दुर्व्यवहार भोगेपछि पेसा छाडिन् । रोजगारीको अन्य विकल्प नभएपछि यौन व्यवसायमा लागिन् । तर, गत भदौमा उनी प्रहरीबाटै दुर्व्यवहारमा परिन् । हिरासतमा प्रहरीले उनको शारीरिक बनावटमाथि अपमानजनक टिप्पणी गरेको र यौन संकेतसहित प्रश्न सोधेको उनी बताउँछिन् ।
सरिन पनि समाजमा यस्ता दुर्व्यवहारबाट अछुतो भने थिइनन् । घुम्टोभित्र बुहारी बनेर देखिएकी गोमा, आफ्नो लैंगिक पहिचान बदल्दै सरिनकुमार बनेपछि झन् दुर्व्यवहारको सिकार बनिन् । सर्लाहीको मोतिहारमा २०३० मा जन्मिएकी उनी दुई सन्तानकी आमा हुन् । वैदेशिक रोजगारीका क्रममा इजरायलमा १४ वर्ष बसेपछि उनी नेपाल फर्किइन् । दाम्पत्य जीवनमा असमझदारीपछि श्रीमान्सँग सम्बन्धविच्छेद गरी उनले देविका कार्कीसँग समलिंगी विवाह गरिन् । लैंगिक पहिचान बदलेपछि उनी बढी स्वतन्त्र र आफ्नो वास्तविक पहिचानको अनुभूत गरेको बताउँछिन् ।
मतदाताले मेरो लैंगिक पहिचान हेरेर अस्वीकार गर्नु भएन । बरु मेरो काम र योजनालाई मन पराइदिनुभयोलैंगिक पहिचान फरक भएकाले नै आफूलाई मार्ने धम्कीसम्म आएपछि ज्यान जोगाउन धरान सरेको उनी सुनाउँछिन् । २०७५ मा उनी आफ्ना आमाबुबा र दाजुभाइ बस्दै आएको धरानमै बस्ने निधो गरिन् । लगत्तै सुरु भएको कोरोना महामारीमा उनी विभिन्न सामाजिक सेवाका कार्यमा सरिक भइन् । त्यही सामाजिक अभियानबाट उनको राजनीतिक यात्रा सुरु भएको हो ।
२०७९ को प्रतिनिधिसभा सदस्यमा उनले रास्वपाको उम्मेदवारका रूपमा सुनसरी–१ बाट उम्मेदवारी दिएकी थिइन् । त्यतिबेला जसपा नेपाल र एमालेका गठबन्धन उम्मेदवार अशोक राईसँग ४५३ मतले पराजित भइन् । उनले १६ हजार ६ सय ६ मत प्राप्त गरेकी थिइन् । झिनो मतान्तरले पराजय हुँदा दुःखी त उनी थिइन् । तर, जुन मत पाइन्, त्यसले उनलाई जितेको महसुस दिएको उनी सुनाउँछिन् । ‘मतदाताले मेरो लैंगिक पहिचान हेरेर अस्वीकार गर्नु भएन । बरु मेरो काम र योजनालाई मन पराइदिनुभयो,’ उनी भन्छिन्, ‘जनताको त्यो मायाले मलाई हौसला दियो र राजनीतिमा लागिरहन प्रेरित गर्यो ।’
उनले आफू धरानमा सरेपछिको चार वर्षमै यहाँका जनताबाट यत्तिको माया पाउँछु भन्ने सोचेकी थिइनन् । ‘त्यसअघि भोगेको दुर्व्यवहारका कारण यहाँका मान्छेहरूले पनि चरित्र हत्या गर्लान् कि भन्ने डर थियो । त्यसले हतास पनि बनाउँथ्यो,’ उनले भनिन्, ‘पहिलो पटक उम्मेदवार हुँदा नै जनताले मेरो पहिचान यति सहजताका साथ रुचाइदिनुभयो, त्यो नै मेरा लागि गर्वको कुरा हो ।’
चुनावको मिति नजिकिँदै जाँदा उनीमाथि सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, लैंगिक रूपमा असंवेदनशील टिप्पणी तथा घृणित अभिव्यक्तिहरू दिने क्रम भने बढेको थियो । ‘फेक आईडीबाट चरित्र हत्या गर्ने प्रयास गरे पनि मतदाताले त्यस्तो व्यवहार गर्नु भएन,’ उनले भनिन् । चुनावी अभियानका क्रममा उनी स्थानीय समस्या, विकास योजना, शिक्षा, रोजगारी र सामाजिक समावेशिताका मुद्दा लिएर मतदाताको घर–घर गइन् । सरिन भन्छिन्, ‘मेरो पहिचानभन्दा पनि योजना के छन् भनेर मतदाताले सोध्नुभयो, आफ्ना समस्या सुनाउनुभयो,’ उनले भनिन्, ‘यसबाट मैले बुझें, मतदातामा देश परिवर्तनको चाहना कति धेरै रहेछ ।’
सरिनले अघिल्लो निर्वाचनभन्दा करिब ११ हजार बढी मत पाइन् । मतमा भएको यो बढोत्तरी धरानमा सरिनको स्वीकार्य र समर्थनको दायरा बढेको हो कि रास्वपाको पक्षमा देशभर देखिएको लहरको परिणाम हो ? ‘रास्वपाको लहर हुन्थ्यो भने त मेरो जित हुन्थ्यो होला,’ उनले भनिन्, ‘यो सरिनलाई दिएको मत हो । अघिल्लो पटकभन्दा बढी पाएँ, यही नै मेरो जित हो ।’
धरान पूर्वी नेपालको उदार सहरका रूपमा उदाउनुमा यहाँको शिक्षा, सैन्य भर्तीमार्फत भएको अन्तर्राष्ट्रिय सम्पर्क तथा यहाँको जनसांख्यिक विशेषताले योगदान गरेको महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रमुख सहप्राध्यापक चन्द्र राई बताउँछन् । उनका अनुसार २०१० तिर ब्रिटिस गोर्खा भर्ती केन्द्र स्थापना भएपछि धरानमा बसोबास, रोजगारी र आर्थिक गतिविधि उल्लेख्य रूपमा बढ्न थाल्यो । यसले धरानलाई केवल सैन्य भर्तीको केन्द्र मात्र होइन, पूर्वी पहाड र तराई जोड्ने महत्त्वपूर्ण ट्रान्जिट सहरका रूपमा विकास गर्यो ।
ब्रिटिस गोर्खा भर्ती प्रक्रियामार्फत बेलायती सैनिक अधिकारी तथा नेपाली युवाबीचको अन्तर्राष्ट्रिय सम्पर्कले धरानमा विदेशी संस्कृति, जीवनशैली र उदार दृष्टि अन्य क्षेत्रभन्दा छिटो भित्रिएको सहप्राध्यापक राईले बताए । वैदेशिक रोजगारीबाट फर्किएका लाहुरेहरूले आधुनिक जीवनशैली, फेसन, भाषा र व्यवहारमा नयाँपन भित्र्याए । यहाँको खुलापन, लैंगिक तथा सामाजिक विविधतालाई स्वीकार गर्ने प्रवृत्ति र शिक्षाप्रति झुकावले धरानलाई अन्य सहरभन्दा फरक पहिचान दिएको उनले बताए । जसका कारण लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति पनि अपेक्षाकृत खुला र स्वीकार्य दृष्टिकोण विकसित भएको राईले बताए । ‘त्यस्तो दृष्टिकोण निर्वाचनमार्फत अभिव्यक्त भएको छ,’ उनले भने ।
धरान–१२ की ५४ वर्षीय पुनम राई भन्छिन्, ‘हामीलाई अहिले विकास, रोजगारी र पारदर्शिता चाहिएको छ । उम्मेदवार को हो, उसको लैंगिक के हो भन्ने कुरा महत्त्वपूर्ण छैन ।’ त्यस्तै स्थानीय ४० वर्षीय रघु लिम्बू ठूलो संख्याका मतदाताले सरिनको पहिचानभन्दा पनि उनको क्षमता र योगदान हेरेर उनलाई मत दिएको बताए । ‘उनले जित्न त सकिनन् । तर, हामीले उनको क्षमता र विकास गर्नर् ेहुटहुटी देखेर मतदान गर्यौं,’ उनले भने, ‘स्वतन्त्र भएर बाँच्न पाउनु उसको अधिकार हो । त्यसैले उसको लैंगिक पहिचानभन्दा पनि उसको क्षमता हेर्ने हो ।’
सामाजिक अभियन्ता लीला भुजेल धरानका मतदाताले उम्मेदवारको क्षमता र निरन्तरको समाज सेवा हेर्ने गरेको बताइन् । भुजेलले धरानमा सरिनले पाएको मतले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यले देशभर भोगिरहेको उपेक्षाभन्दा हामी फरक छौं भनेर धराने मतदाताले भनेको बताइन् ।
