नेपालको नक्कली उद्धार उडानको जालो

२६ सेप्टेम्बर २०२५ मा देशभक्त जेनजी नामक नागरिक समुहले उजूरी दर्ता गरेपछि पछिल्लो अनुसन्धान सुरु भयो ।

चैत्र १४, २०८२

संगम प्रसाई

Nepal's fake rescue flight network

काठमाडौँ — नेपालमा हेलिकोप्टरमार्फत गरिने उद्धार जीवन बचाउने कार्य हो । उच्च हिमाली क्षेत्रमा अक्सिजन कम हुन्छ र कुनै चेतावनी बिना नै मौसम परिवर्तन भइदिन्छ ।

समस्यामा परेका पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरेर ल्याउने सामथ्र्यले धेरैको ज्यान जोगिएको छ । त्यही नाममा उद्धारको नाटक गरेर बिमा कम्पनीहरुबाट मोटो रकम असुल्ने कार्य पनि चलिरहेको छ ।

नेपालको नक्कली उद्धार धन्दा नौलो होइन । द काठमाडौं पोस्टले सन् २०१८ मा पहिलोपटक यसलाई उजागर गरेको थियो ।

केही महिनापछि सरकारले छानविन समिति गठन गरेर ७ सय पृष्ठको रिपोर्ट निकाल्यो । अनि, सुधारको घोषणा गर्‍यो । तर कहिल्यै कार्यान्वयन भएन । यही विषयमा फेब्रुअरी २०१९ मा द काठमाडौं पोस्टमा लामो अनुसन्धानात्मक रिपोर्ट प्रकाशित गर्‍यो ।

गत वर्ष नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो फाइल फेरि खोल्यो । यसक्रममा ठगी रोकिएको होइन, उल्टै बढेको सीआईबीको अनुसन्धानले देखाउँछ ।

कसरी चल्छ ठगी धन्दा ?

नक्कली उद्धारको जालो सक्रिय छ । संयन्त्र सीधा छ : पहिले बिरामी परेको नाटक गराइन्छ÷गरिन्छ, हेलिकोप्टर बोलाइन्छ, पर्यटकलाई अस्पताल लगिन्छ र बिमा दाबी गर्नका लागि आवश्यक कागजात तयार गरिन्छ ।

तर यो प्रक्रियाको हरेक चरणमा गरिएको धाँधली र यसको जालो पत्ता लगाउन जटिल छ । अस्टे्रलिया वा बेलायतबाट सञ्चालित बिमा कम्पनीहरुले ३ हजार मिटरभन्दा माथिका हिमाली उपत्यकामा के भइरहेको छ भनेर पुष्टि गर्न उत्तिकै चुनौतीपूर्ण छ ।

सीआईबीको अनुसन्धानले ‘इमर्जेन्सी’ नाटक मञ्चनका दुईवटा प्रारम्भिक उपाय पत्ता लगाएको छ । पहिलो हिंडेर फर्कन नचाहने पर्यटकलाई प्रयोग गरिन्छ ।

उदाहरणका लागि, सगरमाथा आधार शिविरमा लामो ट्रेक गरिसकेपछि यस्ता पर्यटकलाई हिंडेर फर्कन मन लाग्दैन । पथप्रदर्शकले उनीहरुलाई बिरामी परेको नाटक गर्ने सुझाव दिन्छन् । त्यसपछि हेलिकोप्टर आउँछ । पथप्रदर्शकले नै बाँकी कुरा मिलाउँछन् ।

दोस्रो उपाय केही कठिन छ । ३ हजार मिटरभन्दा माथिको उचाईमा लेक लागेको हल्का संकेत देखिनु स्वभाविक हो । रगतमा अक्सिजनको मात्रा कम हुनसक्छ, हात वा खुट्टा झम्झाउनसक्छ, टाउको दुख्नसक्छ ।

तर, पथप्रदर्शक र होटलका कर्मचारीले यस्तो घडीमा पर्यटकलाई उल्टै आतंकित पार्ने काम गर्छन् । सीआईबीका अनुसार उनीहरुले ती पर्यटक मृत्युको जोखिममा रहेको बताउँछन् । त्यसपछि तत्काल उद्धार गर्दामात्रै उनीहरुको ज्यान जोगिने बताउँछन् ।

केही अवस्थामा लेक लाग्नबाट जोगिनका लागि प्रयोग गरिने डियामक्स (एसिटाजोलामिडे) चक्कीलाई अत्यधिक पानीसँगै प्रयोग गरेको पाइयो । जसले खराब लक्षण देखाउँछ र उद्धारका लागि फोन गर्न बिरामी बाध्य हुन्छ ।

एउटा अवस्थामा बेकिङ पाउडरलाई खानामा मिलाएर पर्यटकलाई खुवाइएको पाइयो, जसकारण पर्यटक शरीरिक रुपमा कमजोर हुन्छ र उद्धार उडान बोलाउन पाइन्छ । 

जब उद्धार उडान बोलाइन्छ, त्यसपछि आर्थिक नाटक सुरु हुन्छ । एउटा हेलिकोप्टरले धेरै यात्रु बोकेको हुन्छ । तर, हरेक यात्रुका बिमा कम्पनीमा पूर्णः रकमको बिल दाबी गरेर पठाइएको हुन्छ । मानौं, उनीहरुले एक्लै उडान चाटर्ड गरेका थिए । ४ हजार तिरिएको चार्टर उडानको बिमा दाबी १२ हजार डलर बन्छ ।

अस्पतालमा मेडिकल अधिकृतहरुले वरिष्ठ चिकित्सकहरुको डिजिटल हस्ताक्षर दुरुपयोग गरेर डिस्चार्ज दस्तावेज बनाउँछन् । जबकी, ती चिकित्सक कहिल्यै यस घटनामा संलग्न नै भएका हुँदैनन् । कतिपय अवस्थामा ती डक्टरहरुलाई नै थाहा दिएर यस्तो नक्कली काम गरिएको हुन्छ ।

उपचारका लागि भर्ना भएका भनिएका पर्यटक नै अस्पतालको क्यान्टिनमा बियर पिएर बसिरहेको उदाहरण पनि  सीआईबीको अनुसन्धानले देखाएको छ ।

श्रीद्धी अस्पतालमा एकजना कार्यालय सहायकले आफ्नो एक्स रे रिपोर्ट नै एक वर्षअघि फरक अस्पताललाई दिएको बताए । उक्त रिपोर्ट विदेशी ट्रेकरले उपचारमा प्रयोग गरेजस्तो देखाएर बिमा दाबी गरेको उनले बताए ।

प्रहरी अनुसन्धानले ठगीको जालो सञ्चालन गर्नेहरुको कमिशन संरचनाबारे प्रस्ट उजागर गरेको छ । अस्पतालहरुले २० देखि २५ प्रतिशत रकम ट्रेकिङ कम्पनीहरुलाई बुझाउने गरेका छन् । थप २० देखि २५ प्रतिशत हेलिकोप्टर सञ्चालन गर्नेहरुलाई दिन्छन् ।

चर्को बिल बनाएर पठाइएको हुन्छ । जसबाट पथप्रदर्शक र उनीहरुका कम्पनीहरुले फाइदा लिन्छन् । केही अवस्थामा पर्यटकलाई नै नक्कली उद्धारमा सहभागी भएबापत पैसा दिइएको हुन्छ ।

कतिसम्म ठगी भएको थियो ?

सीआईबीको अनुसन्धानले देखाएअनुसार २०२२ देखि २०२५ सम्म ४ हजार ७ सय ८२ जना विदेशी बिरामीले विभिन्न अस्पतालमा उपचार गराएका थिए ।

यसमध्ये १ सय ७१ वटा घटना पूर्णतः नक्कली उद्धार सम्बन्धी थिए । उक्त अवधिमा एरा इन्टरनेशनल अस्पतालमा १ करोड ५८ लाख ७० हजार अमेरिकी डलर यस्ता गतिविधिबाट जम्मा भएको थियो । श्रीद्धी अस्पतालले १२ लाख २० हजार अमेरिकी डलर प्राप्त गर्‍यो ।

अपरेटरमध्ये माउन्टेन रेक्स्यु सर्भिसले कुल १२ सय ४८ मध्ये  १ सय ७१ वटा ठगी उडान सञ्चालन गर्‍यो । यसमध्ये झन्डै १ करोड ३ लाख १० हजार डलर बिमा कम्पनीबाट लियो । नेपाल चार्टर सर्भिसले ४ सय ७१ फ्लाइटमध्ये ७५ वटा ठगी उद्धार उडान चलायो । झन्डै ८२ लाख दाबी गर्‍यो ।

एभरेस्ट एक्सपेरियन्स एन्ड एसिस्टेन्सका ६ सय १ उडानमध्ये ७१ वटा उडान शंकास्पद छन् । बिमा दाबी १ करोड १० लाख ५ हजार अमेरिकी डलर छ । प्रहरीका अनुसार एकपटक एउटा उडानबाट चार पर्यटकलाई उद्धार गरिएको छ ।

तर बिमा दाबी फरक–फरक उडानबाट उनीहरुलाई एक्लाएक्लै ल्याइएको  भनेर गरिएको छ । कुल उद्धार बिल ३१ हजार १ सय अमेरिकी डलर छ । अतिरिक्त ११ हजार ८ सय ९० अमेरिकी डलर अस्पताल खर्च भनेर पेस गरिएको छ ।

श्रीद्धी अस्पतालका डा. गिर्वाणराज तिमिल्सिनाले बयानका क्रममा एउटै घटनामा आफ्नो अस्पतालले नेपाल चार्टर सर्भिसलाई झन्डै ९१ लाख रूपैयाँ, हेलि अन कललाई १५ लाख रूपैयाँ र थप १५ लाख रूपैयाँ ट्रेकिङ अपरेटरहरूलाई कमिसन बुझाएको बताए ।

‘मेरो अस्पतालले व्यवसाय प्रवद्र्धन गर्न आफ्नै आम्दानीबाट ट्रेकिङ कम्पनी र रेस्क्यु कम्पनीहरूलाई पनि कमिसन दिएको छ ,’ उनले बयान दिएका छन् ।

के सबै पर्यटकमाथि ठगी भएको छ ?

नेपाल आउने सबै विदेशी पर्यटक ठगीको शिकार होइनन् । सीआईबीको अनुसन्धानअनुसार उनीहरुमध्ये केही पर्यटक आफैं यस्तो धन्दामा सहभागी हुन्छन् ।

अनुसन्धानका क्रममा अध्ययन गरिएको ह्वाट्स एप म्यासेजमाटमा जर्मन पर्यटक पेट्रा होमेन्सले नेपाल चटर्ड सर्भिसका अध्यक्ष रविन्द्र अधिकारीसँग आफ्नो दोहोरो बिल बनाइएको गुनासो गरेकी छिन् ।

‘तिम्रो कम्पनीले डबल पैसा लियो !!,’ उनले च्याटमा लेखेकी छिन्, ‘मेरो बिमादाताले हेलिकोप्टरको रकम सीधै पहिल्यै तिरिसकेको रहेछ ।’ अधिकारीले त्यसमा दोहोरो चार्ज लागेको भेटिएपछि पैसा फिर्ता गर्ने प्रस्ताव गरेका छन् ।

यो संवाद यसकारण महत्वपूर्ण छ किनकी यसले हेलिकोप्टरको बिल बिमा प्रयोजनका लागि बढाएर राखिएको पुष्टि गर्छ । र, त्यस्तो गुनासो गर्ने होमेन्स आफैं नक्कली उपचार दाबीसँग जोडिएका छन् ।

अर्कोतर्फ क्यानाडेली पर्यटक सिल्भी मेरी हेलेने र कारिन चासाग्नीले सीआईबिमा २०२५ को अन्त्यतिर उजूरी दिएका छन् । उनीहरुले आफ्नो नोभेम्बर ट्रेकका दौरान नक्कली उपचार उद्धार गरिएको आरोप लगाएका छन् ।

उनीहरुको उजूरीमा सबैको बुझेको प्याट्रनको वर्णन छ । उनीहरुको आरोपअनुसार बिमा कम्पनीलाई अक्सिजनको लेभल निकै कम (५० देखि ५१ प्रतिशत) रहेको देखाइएको थियो, अनावश्यक सिटी स्क्यान र आईसियू भर्नाको दाबी गरिएको थियो, र अस्पतालले आफ्नो कागजातलाई पुष्टि गर्न अवस्थालाई बढाईचढाईं गरेको थियो ।

के प्रणाली ठिक हुने आँकलन गरिएको थियो ?

नयाँ अनुसन्धानले नेपालको प्रणालीगत असफलता देखाउँछ । सन् २०१८ मा द काठमाडौं पोस्टमा समाचार प्रकाशित भएपछि सरकारको जाँचबुझ समितिले १० वटा हेलिकोप्टर कम्पनी, ६ अस्पताल र ३६ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सीबारे महिनौं अनुसन्धान गर्‍यो । 

७ सय पृष्ठको रिपोर्ट तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई बुझाइयो । यसमा एकल हेलिकोप्टर उडानको दाबीसहित धेरैजनाको बिमा दाबी गरिएको कागजात, ट्रेकरलाई अनावश्यक एयरलिफ्टका लागि सहमत गराउन दिइएको दबाब र पर्यटकलाई बिरामी बनाउन अखाद्य खाना खुवाएको आरोप समावेश थियो ।

कमिटीले सबै हेलिकोप्टर कम्पनी, अस्पताल, टुर अपरेटर र बिमा कम्पनीहरुले उद्धार उडान र उपचारको बिस्तृत विवरण पर्यटक खोजी तथा उद्धार कमिटी, पर्यटक प्रहरी र पर्यटन विभागलाई बुझाउनुपर्ने सुझाव दिएको थियो ।

बिचौलियालाई हटाउने र टुर अपरेटरहरुलाई आफ्ना ग्राहकप्रति भ्रमण अवधिभर जिम्मेवार बनाउने लक्ष्य राखिएको थियो । तर यी उपाय कार्यान्वयनमा आएन ।

‘लापरवाहीपूर्ण कार्यका कारण यो ठगीले निरन्तरता पायो,’ सीआईबीका प्रमुख मनोजकुमार केसीले पोस्टसँगको पछिल्लो अन्तर्वार्तामा भनेका छन्, ‘जब अपराधविरुद्ध कदम चालिदैंन । तब यो मौलाउँछ । बिमा ठगी पनि यहीकारण मौलायो ।’

२६ सेप्टेम्बर २०२५ मा देशभक्त जेनजी नामक नागरिक समुहले उजूरी दर्ता गरेपछि पछिल्लो अनुसन्धान सुरु भयो । सीआईबिमा परेको यस उजूरीमा वर्षौंदेखि थन्किएको फाइललाई पुनः खोल्न माग गरिएको थियो ।

बिमा दाबी पुष्टि गर्न कति कठिन किन हुन्छ ?

अधिकांश भ्रमण बिमा नीतिहरुमा कुनै पनि उद्धार हुनअघि बिमा प्रदायकसँग सम्पर्क गर्नुपर्ने उल्लेख हुन्छ । तर, हिमाली क्षेत्रबाट सम्पर्क गर्नु चुनौतीपूर्ण हुन्छ । कतिपय ठाउँमा फोनको सिग्नल नै राम्रोसँग टिप्दैन । बिमा प्रदायकलाई जानकारी पुग्दासम्म उद्धार भइसकेको हुन्छ ।

बिरामी हिमाली क्षेत्रबाट निकै पर राजधानी काठमाडौंस्थित अस्पतालमा आइसकेको हुन्छ  । स्थानीय उद्धार कम्पनी वा ट्रेकिङ अपरेटरले कागजात तयार गर्न थालिसकेका हुन्छन् ।

ठूला बिमा प्रदायकले आफ्नो चौबिसै घण्टाको आपतकाल रेस्पोन्स टोली बनाएका हुन्छन् । साना प्रदायकहरुले यही काम वैश्विक सहायता कम्पनीहरुसँग मिलेर गर्छन् । जब नेपालबाट कुनै घटना आउँछ, तब यी वैश्विक कम्पनीहरुको प्रतिनिधित्व गर्दै स्थानीय नेपाली सहायता कम्पनीहरुले  खर्च विवरण, मेडिकल रिपोर्ट र उडानको विवरण संकलन गर्छन् ।

ठगी धन्दा यहाँ लुकाउन सहज हुन्छ । स्थानीय सहायता कम्पनीले पनि अस्पताल र उद्धार अपरेटरहरु जसरी नै बिचौलियासँग मिलेर दस्तावेज तयार गरेका हुन्छन् । जबकी, विदेशमा बसेका बिमा प्रदायकले स्थानीय व्यापार साझेदारले पठाएको दस्तावेजलाई नै विश्वास गर्छन् ।

उद्धार कम्पनीहरुले हरेक उडानमा धेरैभन्दा धेरै मानिस ल्याउँछ, तर बिमा प्रदायकलाई हरेकका फरक–फरक बिल पठाउँछन् ।

ट्रेकिङ कम्पनीहरुले त्यही उद्धार अपरेटर प्रयोग गर्न सिफारिस गर्छन्, जसले धेरै कमिशन दिएको हुन्छ । अस्पतालले बिरामी भर्ना गर्छ, अनावश्यक चेकजाँच गर्छ र त्यस्ता अपरेटरहरुसँग सम्बन्ध राख्छ, जसले उनीहरुलाई व्यापार दिन्छन् ।

यो चक्रमा त्यस्तो कुनै पक्ष छैन, जसको स्वार्थ बिमा दाबीको रकम तिर्ने प्रदायक कम्पनीसँग जोडिएको होस् ।

यसै महिनाको सुरुवातमा दर्ता भएका अभियोगपत्रबाट यसको गतिलो संकेत मिल्छ । १२ मार्च २०२६ मा सीआईबीले ३२ जना व्यक्तिहरुबीच संगठित अपराध मुद्दा चलाएको छ । यसमध्ये ९ जना पक्राउ परे, बाँकी फरार छन् ।

तीनवटा हेलिकोप्टर कम्पनी (माउन्टेन हेलिकोप्टर्स, बेसक्याम्प हेलिकोप्टरका रुपमा रिब्रान्ड गरिएको मनाङ एयर र अल्टिट्युड एयरमा काम गर्ने अपरेटर तथा कर्मचारी यस्तो अभियोग लाग्नेको सुचीमा छन् । यसमा स्वाकन अन्तर्राष्ट्रिय अस्पताल, श्रीद्धि अन्तर्राष्ट्रिय अस्पताल र एरा अन्तर्राष्ट्रिय अस्पतालका फिजिसियन तथा प्रशासक पनि छन् ।

अनुसन्धानका क्रममा सीआईबीले त्यस्ता सीसीटीभी फुटेज फेला पारेको थियो, जसमा गम्भीर बिरामी भएर उपचारका लागि अस्पताल भर्ना भएको भनिएका व्यक्ति एक क्याफेमा बियरको चुस्की लिदैं थिए । उक्त क्याफे अभियोगपत्र दर्ता भएका फिजिसियनमध्ये एकले सञ्चालन गरेका थिए ।

नेपालको ट्रेकिङ उद्योगमा यसको असर कस्तो हुन्छ ?

यस अनुसन्धानले अन्तर्राष्ट्रिय बिमा प्रदायक, नेपालमा पर्यटक पठाउने टुर अपरेटर्स र ट्रेकिङ एजेन्सीसामु असहज प्रश्नहरु तेर्साएको छ । 

सीआईबीले पत्ता लगाएको ठगी केही खराब व्यक्तिहरुको कामले मात्रै संभव भएको होइन । यो एउटा संरचनात्मक, कमिशनमा आधारित सञ्जालले गरिरहेको धन्दा थियो ।

यस सञ्जालले वर्षौसम्म खुलेयाम काम गर्‍यो । बिरामीको सेवा गर्नुपर्ने लाइसेन्सप्राप्त स्वास्थ्यकर्मीहरु यसमा संलग्न छन् । दर्ता भएका कम्पनीले करोडौं नेपाली रुपैयाँ औपचारिक बैंक च्यानलमार्फत पठाएका छन् ।

२०१८ मा ठगी धन्दा उजागर भएपछि राम्रो मनसाय राखेर सुधारका उपाय घोषणा गरिएको थियो । तर कहिल्यै कार्यान्वयनमा भएन ।

अहिलेको अनुसन्धान र अभियोजन परिणामुखी हुनका लागि विभिन्न आधारहरु चाहिन्छ । यो व्यवसाहिक हिसाबलाई उल्ट्याउनका लागि नेपालको अदालतले जरिवनाको व्यवस्था गर्छ वा गर्दैन ?

पर्यटन विभागले कुनै पनि रकम भुक्तानी हुनअघि यसको बढाई–चढाइँ दाबीलाई जाँचबुझ गर्ने संयन्त्र गठन गर्नसक्छ वा सक्दैन भन्ने पनि उत्तिकै महत्वपूर्ण छ ।

भर्खरै नयाँ सरकार गठन भएको छ । यस्ता घटनालाई सरकारले कसरी हेर्छ र यस्ता अनुसन्धानको नतिजाले निष्कर्ष पाउँछ वा पाउँदैन भन्ने विषयमा धेरैको नजर छ ।  

संगम प्रसाई काठमाडौं पोस्टका संवाददाता हुन् । उनी उड्डयन, पर्यटन, कृषि, पूर्वाधार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully