जेन-जी आन्दोलनमा छोरा गुमाएकी रचना खतिवडा समानुपातिक सांसद बनेर सहिद र पीडित परिवारको आवाज संसद्मै उठाउने जिम्मेवारीमा पुगेकी छन् ।
What you should know
काठमाडौँ — रचना खतिवडालाई यतिबेला आफन्त र शुभेच्छकहरुबाट बधाईको ओइरो लागेको छ । तर यतिबेला खुसी कसरी हुने ? थाहा छैन उनलाई ।
गत भदौ २३ को जेन-जी आन्दोलनमा सहिद भएका काभ्रेका २३ वर्षीय रसिककी आमा हुन् उनी । रचनाको नाम आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसदको सूचीमा सार्वजनिक भयो । आफन्तहरू खुसी भएर फोन मेसेज गरिरहँदा रचनाका आँसु भने केहीबेर थामिन पाएनन् ।
‘म जहाँ पुगे पनि मेरो कलिलो छोरा फर्केर त आउँदैन नि,’ रचना भावविह्लल स्वरमा भन्छिन्, ‘त्यसकारण म एक थोपा खुसी छैन ।’
जेन-जी घाइते र सहिद परिवारको तर्फबाट रचना एक्ली सांसद हुन् । रास्वपाले जेनजी घाइतेको तर्फबाट बन्दसूचीमा प्रकाश बोहोरा र पवन शाहीको नाम राखेको थियो । तर परिणाम उनीहरूको हातमा आइपुगेन । बरु, रचनालाई लागेको छ, ‘अब मैले सदनमा बोल्न पाउँछु ।’
रचनाका छोरा रसिक न्याय र सुशासनको माग राख्दै बानेश्वर सडकमा निस्किएका थिए । तर उनीहरूको आवाजविरुद्ध राज्यले गोली बर्सायो । रसिकहरूले अन्तिम आवाज त्यहीँ बिसाए । रचना सन्तानहरूको ‘हत्यारा’विरुद्ध अझै आन्दोलित छिन् । ‘म संसद्मा पनि उनीहरूविरुद्ध आवाज उठाउँछु । मेरो अन्तिम श्वास रहुन्जेल छोराहरूलाई न्याय दिलाउन लागिपर्छ,’ उनी निर्धक्कका साथ भन्छिन् ।
भदौ २३ अघिसम्म रचनाको जीवनलय बेग्लै थियो । उनी सामान्य गृहणी थिइन् । देशको राजनीतिप्रति उनको कहिल्यै चासो थिएन । २१ वर्ष किराना पसल गरेरै रचना दम्पतीले छोरी रसिला र छोरा रसिक हुर्काएका थिए । रसिला अस्ट्रेलिया थिइन् । रसिक पनि उतै जाने तयारीमा थिए ।
तर २३ गते रसिक खाँदाखाँदैको खाना छाडेर आन्दोलनमा निस्किए । उनी भने दिनभरि छोरा आउने बाटो हेरिरहिन् । साँझ पर्यो । आमालाई चिया बनाउन आउँछु भनेर गएका छोरा त्यसपछि कहिल्यै फर्किएनन् । भदौ २३ पछिका दिन उनका निम्ति कम पीडादयी र संघर्षपूर्ण छैनन् ।
त्यसपछि उनी छोराको न्यायको माग गर्दै कहिले सिंहदरबार त कहिले बालुवाटारको गेटमा धर्ना बसिन् । सडकमा न्याको याचना मागिन् । ‘हाम्रा आवाजहरू दबिएका थिए । हामी यो सरकारसँग १४ बुँदे माग राखेर गएका थियौँ । तर महत्त्वपूर्ण कुरा पूरा भएन,’ उनी भन्छिन्, ‘हामीलाई न्याय चाहिएको थियो । तर त्यही दिन सक्नुभएन ।’
रसिक अस्ट्रेलियाको भिसा पर्खेर बसिरहेका थिए । तर भिसा आइपुग्दा रसिकले संसार छाडिसकेका थिए ।
‘केही साताअघि मात्र बाबुको अस्ट्रेलियाको भिसा आयो,’ कात्तिक दोस्रो साता टेकुस्थित घर जाँदा रचनाले सुनाएकी थिइन् ।
रसिकका बा पुरुषोत्तम खतिवडा जहिल्यै बिहान नुहाईवरी माल्यार्पण गरिएको छोराको फोटो नजिक बलिरहेको दियोमा तेल थप्थे । भिसा लागेको खबर सुन्दा भने उनले गह पुछ्दै श्वामश्वेत तस्बिरमा भएका रसिकलाई सुनाएका थिए, ‘बाबु, तिम्रो त भिसा लाग्यो।’
छोरा नहुँदाको घाउले उनीहरूलाई यतिसम्म पोलेको थियो, थुप्रै दिन र रातहरू असह्य पीडामा गुज्रिरहेका हुन्थे । रास्वपा सभापति रवि लामिछाने सहिद परिवारलाई भेट्न बबरमहल पुगेका थिए । त्यतिबेला उनले रचनाको कारुणिक कथा सुनेका थिए । 'उहाँले मेरा भिडियोहरू पनि हेर्नुभयो। मेरो कुरा सुनेर रुनु पनि भयो,' रचना भन्छिन् ।
त्यसपछि रास्वपाबाट रचनासँग निरन्तर सम्पर्क भइरहेको थियो । समानुपातिक सूचीमा नाम राख्ने विषयमा पनि उनीसँग छलफल भएको थियो । 'उहाँहरूले मसँग कागजात मागिरहनुभएको थियो, मैले पठाएकी थिएँ,' उनी सुनाउँछिन् ।
नभन्दै उनको नाम समानुपातिक सूचीको खस आर्य महिला क्लस्टरमा अटायो ।
‘मलाई सांसद हुन्छु भन्ने पनि थिएन । म पीडित थिएँ । न्याय चाहिएको थियो । न्यायका लागि लडिरहेकी थिएँ,’ रास्वपाले समानुपातिक सांसदमा उनको टुंगो लगाइसकेपछिको कुराकानीमा रचना भन्छिन्, ‘अब पनि म न्यायकै लागि लड्छु ।’
उनी रवि लामिछाने र बालेन्द्र शाहप्रति आशावादी छिन् । ‘रवि र बालेनले अब पहिलो मुद्दा नै सहिद परिवारको अगाडि सार्नुपर्छ,’ उनी भन्छिन् ।
हिजोसम्म रचना एउटी छोराकी आमा थिइन् । जोसँग छोरा गुमाएको गहिरो चोट आलो थियो । उनी छोराको न्यायका निम्ति अनवरत लडिरहेकी थिइन् । तर अब उनको काँधमा समग्र सहिद परिवार र घाइतेहरूको मुद्दा छ । ‘शरीरमा अझै गोली बोकेर हिँडेका भाइबहिनी छन् । मजस्तै सहिदका परिवारका थुप्रै आँसु छ । यसका लागि पनि सदनमा मेरो आवाज सुनिनुपर्छ,’ उनी भन्छिन् ।
चुनावअघि रचनाले भनेकी थिइन्, ‘ हामीले नै पहिले पुरानोलाई भोट दिएर जितायौं । उहाँहरूले उल्टै हाम्रै बच्चा मारिदिनुभयो। अब नयाँलाई साथ दिऊँ । यदि म त्यहाँ पुगेँ भने दुई शब्द बोल्न त पाउँछु ।’
अब उनी त्यो बोल्ने र सुनुवाइ हुने ठाउँमा पुगेकी छन् । अब सदनमा पुगेकी रचनाले सडकमा भएका आवाजहरुलाई कसरी समेट्लिन् ? त्यो भने हेर्न बाँकी छ ।
